• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. बद्री विनाडी
२०७६ माघ २५ शनिबार १०:२८:००
फिल्म

डेउडाको काव्यिक महत्व

२०७६ माघ २५ शनिबार १०:२८:००
डा. बद्री विनाडी

काली–कर्णाली लोकसंस्कृति र लोकसाहित्यको उर्वर क्षेत्र हो । यहाँ मनाइने विभिन्न चाडपर्व नेपाली संस्कृतिका अमूल्य निधिका रूपमा छन् । चाडपर्व, उत्सव र कार्य सम्पन्न गर्दा मात्र होइन वनजंगल, भिरपाखामा कोइलीको झैँ विरही स्वर र भाकामा गाइने डेउडा गीत सर्वाधिक लोकप्रिय विधा मानिन्छ । डेउडा गीतका सम्बन्धमा लोक साहित्यका संकलक÷विश्लेषकले विभिन्न अर्थ र परिभाषा दिएको  पाइन्छ । ती परिभाषामा डेउडाको वास्तविक र गम्भीर अर्थ नआइसकेको लाग्छ । 

डेउडालाई कहीँ देउडा, कहीँ डेउणा, कहीँ न्याउल्या, कहीँ गुन्जाउ र कहीँ तिउणा भनेको सुनिन्छ । ‘गुन्जाउ’ शब्द दार्चुला जिल्लाको मार्मातिरका लोकजीवनले प्रयोग गर्दै आएको सुनिन्छ । नारी–पुरुषको मधुर स्वरले वरपरको वातावरण गुन्जायमान हुने भएकाले ‘गुन्जाउ’ नाम रहन गएको दार्चुलाका दिलानन्द जोशी बताउँछन् ।

बझाङ जिल्लाको केही भागमा डेउडालाई ‘तिउणा’ भनेको सुनिन्छ । ‘तिउणा’ भनिनुको कारणबारे डा. लक्ष्मी पण्डित भन्छन्, ‘एउटा चरणलाई पूरै गायन गरेलगत्तै त्यही चरणको पूर्वार्ध भागलाई पुनः लयका साथ गाइन्छ । यसरी दुई चरणलाई डेढ–डेढपटक गाउँदा पूरै चरण दुईपटक र आधा–आधा चरणलाई पुनः आवृत्ति गर्दा तीन हुने भएकाले ‘तिउणा’ भनिएको हो ।’ बैतडी, दैलेख र कुमाउतिर ‘न्याउल्या’ भनिन्छ । यसो भनिनुको कारण ढप÷भाका र खासगरी न्याउली चरीको स्वरमा जसरी विरह, वेदना लुकेको हुन्छ, त्यसैगरी डेउडा गीतका माध्यमबाट स्रष्टाले आफ्ना मनका विरह, वेदना, अभाव र पीडालाई व्यक्त गर्छ । 

जनककुमार शाह (अछाम)का अनुसार ‘देउडा’ शब्द ‘देउ’ र ‘दा’ मिलेर बनेको हो । ‘देउ’ को अर्थ देवीदेवता, ‘दा’ को अर्थ जन्मभूमि र समाजलाई भनिने अर्थमा उनी अथ्र्याउँछन् । र, गीतको चरणलाई एकपटक गाएर पुनः आधा चरण गाइने भएकाले देउडा भनिएको हुन सक्ने भन्ने विचार राख्छन् । सुरतबहादुर शाह(अछाम) लेख्छन्, ‘दे–देवता, उ–उपासना र डा–डाक्ने अर्थात् देवता डाक्ने अथवा उपासना गरी तिनलाई आह्वान गर्न गाइने गीत देउडा हुन् ।’ देवी–देवता जुन गीतलाई सुनेर उड्दै आउँछन् भन्ने अर्थमा शाह देउडालाई अथ्र्याउँछन् । 

डोटेली संस्कृतिका अध्येता डा. जयराज पन्त लेख्छन्– ‘गायकहरू गोलाकार घेरामा ड्यौडा चालमा एक पाइला अगाडि र आधा पाइला पछाडि चाल्दै गाउने हुनाले डेउडा भनिएको हो ।’ उनले गायन अवसर, गायक, शैली र समयजस्ता कारणबाट चोरगीत, भगनेउला, वनगीत, डेउडा भनिन्छ भनेर वर्गीकरणसमेत गरेका छन् । डोटेली संस्कृतिका अर्का अध्येता वासुदेव भाइसाबले डेउडी परेका गीत भएकाले ड्यौडा नाम दिइएको हुन सक्ने उल्लेख गरेका छन् ।  

विद्वान्का उपर्युक्त विचारलाई मनन गर्दा ‘गुन्जाउ’ शब्दले श्रुतिमधुरतालाई संकेत गर्छ । ‘तिउणा’ले गायन शैलीको बोध गराउँछ । अनि न्याउल्या शब्दले विरह, वेदना र बिछोडको पीडाले द्रवीभूत हृदयबाट प्रस्फुटित अभिव्यक्ति विशेषलाई जनाउँछ । डेउडा शब्दले पनि प्रस्तुतीगत शैलीलाई नै जोड दिएको बुझिन्छ । 

०००

डेउडा/ड्यौडा/देउडा खेल नभएर गीत हो । त्यसैले, डेउडा गीत भनिन्छ । जब ती गीतलाई विभिन्न लयका साथ गाउँदै खेलिन्छ अनि त्यो डेउडा खेल हुन्छ । डेउडा गीतलाई एक्लै वा सामूहिक रूपमा जुनसुकै ठाउँमा गाउन सकिन्छ । सामूहिक रूपमा खेल्दाखेल्दै पनि गाइन्छ । तसथ यसको अर्थ अभिधामूलक नभई व्यञ्जनामूलक अर्थ वहन गर्दछ । 

काली–कर्णाली क्षेत्रको लोकजीवनमा प्रचलित शब्द डेणो, डेउणो, डेण्या, डेउणे सुनिन्छ । जसको अर्थ टेढो, बांगो, घुमाउरो भन्ने लाग्छ । साहित्यमा यसप्रकारको अर्थ दिने शब्दशक्तिलाई व्यञ्जना भनिन्छ । अतः उपर्युक्त डेउडा आदि शब्दले प्रस्तुतीगत शैलीलाई मात्र नबुझाई व्यञ्जनाशक्ति भएको विशिष्ट लोक कविता भन्ने बुझिन्छ । यसो हेर्दा डेउडामा पहिलो चरणको अर्थ सामान्यतया अभिधामूलक रहे पनि दोस्रो चरणको कथ्य विषय लक्षणा र व्यञ्जनायुक्त विशिष्ट गीतलाई नै उत्कृष्ट डेउडा मानिन्छ । 
काली–कर्णाली क्षेत्रका लोकजीवनका हृदयबाट लोककविताका रूपमा प्रस्फुटित हुने डेउडा स्रष्टाद्वारा तत्काल रचना गरिन्छ । यस क्षेत्रको लोकसाहित्यका अन्य विधाहरू जस्तैः चाँचरी, भोलाउलो, भारत आदिका प्रस्तोता र स्थान भिन्न भए पनि पाठमा खासै अन्तर पाइँदैन । डेउडाले  समयसामयिक परिस्थिति र प्रवृत्तिवारे पनि बोलेका हुन्छन्, जस्तैः
कैलालिउनु गयो कालो हात्ती खैरो घोणो ।
कति विकास भयो मैलाको अधिकार आयो ।
स्रष्टाद्वारा हालसालै रचिएको यस गीतमा देशमा राष्ट्रपतिसमेत महिला छन्, महिलाहरूले पर्याप्त अधिकार पाएका छन्, सबै क्षेत्रमा महिलाहरू क्रियाशील हुँदा देशमा कति विकास भयो भनी छोरेट्टाले सोध्दा छोरेट्टीले यस्तो उत्तर दिन्छिन्–
मेरा मन धोका साइ क्यान बनाउन लागि ।
पुरुष हुन् कि भोका भ्रष्टाचार गरेर खान्या ।
अर्थात् देशको सर्वोच्च पदलगायत सबै क्षेत्रमा महिला सहभागिता भए पनि भ्रष्टाचार गरी खाने त पुरुष नै हुन्जस्तो लाग्छ । यसरी समसामयिक विषयलाई सशक्त ढंगले प्रस्तुत गर्न सक्ने डेउडाका विशेषता नै हुन् । 
प्रेम, मिलन, बिछोड, आर्थिक, सामाजिक, राजनीतिक र जीवनदर्शनजस्ता अनेकौँ विषय रहने लोककविताका उत्कृष्ट रूप डेउडा हुन् । भाव गाम्भीर्यका दृष्टिले यी निकै उत्कृष्ट रचनाका रूपमा रहेका छन् । निम्नलिखित ड्यौडाको भावलाई हेरौँ–
भन् पल्टन् भनी हाल पन यता जाऊँ कि उता ।
धेक्यापछि पैरुँ मान्नु सुर्जे फूल्का घुत्ता ।।
प्रेमीले चाहना व्यक्त गर्छ– ‘हे सूर्य फूल । तिमीलाई देखेर पहिरन मन लाग्छ ।’ तर, सामान्यतया सूर्यफूल सुन्दर देखिए पनि त्यसलाई कान वा कपालमा सिउरेको चाहिँ देखिँदैन । त्यसैगरी, यहाँ पनि प्रेमीले ‘जातीय कारण’ले हुन सक्छ उपयोग गर्न नसकेको ! हेर्दा अति सुन्दरी भए पनि सामाजिक कारणवश भोग्न नपाइने बाध्यतालाई निम्नलिखित गीतले थप प्रस्ट पार्छ –
धेक्दाइबार पापी मन क्यान प डुली होई ।
धेक्नु छ पैरनु छैन, फूल क्यान फुली होई ।।
गीतमा दुवै चरण सार्थक देखिन्छन् । यस गीतमा पनि जातीय विभेदका कारण प्रेमलाई दमन गरेर पश्चात्तापको आगोमा बल्नुको विकल्प देखिँदैन । प्रेमिकालाई देख्नेबित्तिकै मन त साह्रै चञ्चल हुन्छ । तर, विडम्बना देख्नु मात्र छ उपयोग गर्नु छैन । मेरा लागि यस्तो फूल किन फुल्यौ, आफ्ना अभिशप्त चाहनालाई धिक्कारेको 
छ, प्रेमीले । 
यसैगरी, निम्नलिखित गीतमा आफ्नो भावलाई प्रतीकात्मक रूपमा यसरी व्यक्त गर्छन् –
क) अगासउणो घुमिरन्या बाजको चल्लो हुँ ।
     खान जान्या मेरा साइले नौलीको डल्लो हुँ ।।
ख) बतु भैंसा भोगाइ रन्ना रुख नजा फिर्का ।
     माछीलाई मर्दैन कैलै पानी खान्या तिर्खा ।।
ग) भोट्याकी भोटेनी जोइ त मूल बाटाउनी गैछ ।
     मैले त दिन जाना मान्याँ जोवन जान्या रैछ ।।
माथिका तीनवटा गीतका अन्तिम हरफमा विभिन्न भाव, विचार व्यक्त भएको छ । गीत संख्या १ मा मलाई उपभोग गर्न जान्नुपर्छ, त्यस्तो गुण भएको व्यक्तिका लागि तुरुन्त पग्लिने आफ्नो मनलाई नौनीको डल्लोसँग तुलना गरिएको छ । दोस्रोमा प्रेमले मानिस कहिल्यै तृप्त हुँदैन । जसरी माछालाई पानीको तिर्खा मर्दैन त्यसैगरी मेरो जीवन पनि तिम्रो प्रेम प्राप्तिका लागि सधैँ आतुर छ र मेरा लागि त्यो निकै महत्वपूर्ण रहेको छ । तेस्रो गीतमा चाहिँ जीवनबोधसम्बन्धी ज्ञान व्यक्त गरिएको छ । समान्यतया मानिस दिन बित्छ भन्छन्, तर दिन त फेरिफेरि आइरन्छन्, वास्तवमा जोवन÷जीवन पो जाने रहेछ भन्ने यथार्थलाई साहित्यिक शैलीमा अभिव्यक्त गरिएको छ । 

यसरी विषयवस्तु र भावका दृष्टिले माथिका डेउडा गीतका माध्यमबाट प्रेम, समसामयिक विषय र जीवनदर्शनलाई काव्यात्मक भाषाशैलीका माध्यमबाट भनिएको छ । काली–कर्णाली क्षेत्रको डेउडा एकल र सामूहिक रूपमा गाइने÷खेलिने लोकसाहित्यको महत्वपूर्ण विधा हो । 

स्थानअनुसार डेउडाका अनेकौँ नाउँ प्रचलित भए पनि डेउडाको वास्तविक अर्थचाहिँ काली–कर्णाली क्षेत्रका लोकस्रष्टाद्वारा रचित १४(८+६) अक्षरीय संरचना भएको र शब्दशक्ति (अभिधा, लक्षणा, व्यञ्जना)मध्ये व्यञ्जनामध्ये कतिपय ठाउँमा अभिधा, लक्षणा आएका पाइन्छन् । तापनि व्यञ्जनामूलक डेउडालाई उत्कृष्ट लोकरचना मानिन्छ । व्यञ्जनाशक्तिका माध्यमबाट आफ्नो भावनालाई प्रकट गर्दै मनोरञ्जन प्रदान गर्ने र मनका बह–व्यथा पोख्ने सशक्त माध्यम हो । विभिन्न लय वा भाकाका माध्यमबाट सांगीतिक आनन्द दिने काव्यात्मक अभिव्यक्ति नै डेउडा हो ।