मातृत्व बच्चाको जन्म र हेरचाहमा मात्र सीमित छैन । आमा र युद्धसँग पनि मातृत्व उत्तिकै सम्बन्धित छ । मातृत्व र युद्धबारे महिलाको दुईवटा भूमिकाको विशेष चर्चा हुने गर्छ । एक, सन्तान जन्माई हुर्काई युद्धको लागि तयार पार्ने ‘आदर्श’ आमाको भूमिका । जसले सशरीर संलग्नताविना पनि मातृत्वको माध्यमबाट युद्धमा योगदान पुर्याउँछन् । अर्को, प्रत्यक्ष युद्धमा संलग्न भई मातृत्वको समेत दायित्व बोक्ने ‘योद्धा आमा’को भूमिका । यी दुई भूमिका आफैँमा अति जटिल कार्य हो ।
पछिल्लो भूमिकाचाहिँ अति जोखिमपूर्ण पनि हो । दशवर्षे माओवादी ‘जनयुद्ध’ताका यी दुवै भूमिका निर्वाह गर्ने महिला धेरै थिए, छन् । ‘आदर्श’ आमाको भूमिका निर्वाह स्वेच्छा वा सचेत रोजाइमा भएको थिएन । ‘योद्धा आमा’को भूमिका भने धेरथोर सचेत रोजाइ र स्वेच्छामा भएको थियो । पार्टी, युद्ध र नेपाली समाजबीचको तीन फरक लैंगिक संरचनाका कारण उनीहरूको मातृत्व अनुभव अकल्पनीय र अति कष्टकर रह्यो ।
गर्भधारणको कुरा
माओवादी पार्टीले एकनिष्ठ प्रेमविवाह र वैवाहिक यौनसम्बन्धलाई सांस्कृतिक संहिता मान्यो । सोही संहिता पालना गर्दै महिलाहरूले युद्धकालमा गर्भधारण गरे । बच्चा जन्माए । त्यसबखत बच्चा जन्माउने वा नजन्माउने, कतिवटा जन्माउने, कहिले जन्माउने भन्ने विषयमा दम्पतीबीच आपसी कुराकानी गर्नु अनेक कारणले सहज थिएन । युद्धको चटारोमा कतिपयले पत्तो नपाइकनै गर्भधारण गरेका थिए । युद्धमा होमिएकाहरूको पेटमा बच्चा हुर्कंदै गर्दा नियमित जाँच र पौष्टिक आहार ‘अतिरिक्त सहुलियत’को विषय थियो । आराम, विश्राम अनुपयुक्त विषय थियो ।
सिन्धुपाल्चोककी कल्पना न्यौपानेले गर्भ बसेको कुरा ४ महिनापछि थाहा पाइन् । त्यत्ति थाहा पाउनलाई उनले सिन्धुली, भोजपुर, खोटाङ हुँदै विराटनगरसम्मको यात्रा तय गर्नुपर्यो । उनको स्वभाव, रुचि र शारीरिक अवस्थामा एक्कासि परिवर्तन भएपछि आफू गर्भवती भएको हो कि भन्ठानिन् । सिन्धुलीमा छँदा खाना नरुच्ने, बान्ता हुने लक्षण देखापर्यो । एक त खानपिनको जोहोमा कठिनाइ हुने, त्यसमाथि अरुचि भएपछि उनी शारीरिक रूपमा कमजोर बनिन् । त्यसवेला घुम्ती रेडियो सञ्चालनमा खटिएकी उनले ५० किलोको जेनेरेटर फेदीबाट फिक्कलको डाँडासम्म डोकोमा बोकेर पुर्याइन् । उनको योनिबाट रगत बग्न सुरु भयो । तैपनि खटिइरहिन् । तर, बच्चाको तन्दुरुस्तपनमाथि शंका उब्जियो । र, काठमाडौंसम्म आइन्– सांगो नरहेको खण्डमा गर्भपतन गराउने हेतुले । गर्भको बच्चाको तन्दुरुस्तीपनको पक्कापक्कीपछि पुनः कार्यक्षेत्रमा खटिइन् ।
२०५१ सालमा पार्टीकै रोहबरमा जनवादी विवाह गरेकी स्याङ्जाकी अमृता थापा २०५४ मा गर्भवती भइन् । आफू गर्भवती भएको कुरा ५ महिनापछि मात्रै थाहा पाइन् । उनी नियमित साइकल चलाउँथिन् । एक दिन खाना खाँदै गर्दा एक्कासि अमन भएर बान्ता भएपछि आफू गर्भवती भएको शंका गरिन् । उनका बुबाले दिएको १ तोलाको सुनको बेरुवा औँठी धितो राखेर जँचाउन गइन् । आफू गर्भवती भएको पक्का गरिन् । उनी त्यतिवेला संगठन निर्माणको काममा पूर्व धरानमा खटिएकी थिइन् । ‘त्यसवेला बजारमा झुन्ड्याएर राखेको मासु देख्दा नै चिथोरेर खाइहालू झैँ लाग्थ्यो, तर पाए पो खानु !’ उनले भनेकी थिइन् ।युद्धमा होमिएका महिलाका लागि युद्ध र पार्टीबाहेकका सबै कुरा गौण लाग्थे । बरु असाधारण संघर्ष, पौरुषेय कार्य प्रदर्शन र मृत्युसमेत स्वीकार्य थियो । उनीहरूका लागि पार्टीको आदेश, लडाइँ, भिडन्त, सहादत र समग्रमा युद्ध नै सम्पूर्ण कुरा बन्यो ।
रुकुमकी कमला रोका दुई महिनाको बच्चा पेटमा बोकेर लिस्ने भिडन्तमा गएकी थिइन् । गर्भमा रहेको बच्चाको जाँच संयोगवश दुईपटक गराएकी थिइन् । युद्धमा होमिएका ‘योद्धा आमा’हरू गर्भको भ्रूणसँगै आफ्नो ज्यान उच्च जोखिममा राखेर हिँड्थे । अधिक शारीरिक श्रम, अव्यवस्थित र अपुग खानपान, व्यावहारिक ज्ञानको कमी, हरेक हिसाबले प्रतिकूल परिस्थिति आदिका कारण युद्धकालीन गर्भको बच्चा तुहिने, आमाको स्वास्थ्यमा दीर्घकालीन असर पर्ने र मृत्युसमेत हुने गरेको अध्ययनले देखाएको थियो ।
चुनौतीमा ‘सुत्केरी योद्धा’
प्रायःजसो जंगल, झाडी, बगर, खेतबारी, खोल्सादेखि युद्धरत भिडन्तको स्थलसमेत गर्भवती योद्धाको प्रसूतिको थलो बनेको थियो । अस्पतालमा प्रसूति गराउने पनि नभएका होइनन् । तर, जहाँ भए पनि तत्कालीन अवस्थामा ‘जे पर्छ, त्यही टर्छ’ शैलीमा बच्चा जन्माउने गरेका थिए । कमला रोकाले २०५९ मा भएको अर्घाखाँचीको आक्रमण सकिनासाथ पोस्टमा घाइते स्याहार्दास्याहार्दै बच्चा जन्माइन् । बिहान साढे चार बजे बच्चा त जन्मियो, तर दिनभरि साल अड्कियो । उनी भोको पेट थिइन् । दिनभरि भोकै बसिन् । राति एम्बुलेन्सबाट अस्पताल गएर साल झिकेपछि तुरुन्तै पोस्टमै फर्किइन् ।
२०६२ साल कात्तिक । व्यथाले च्यापेपछि कल्पना न्यौपाने अस्पताल पुगिन् । साथमा एक पैसा थिएन । जुटाउन सक्ने अवस्थामा पनि थिइनन् । विनापैसा अस्पतालले उपचार थालेन । संयोगवश सेनाले बेपत्ता पारेको भाइ छुट्यो र केही पैसा डिपोजिट गर्न आइपुग्यो । उनी त्यसवेला शारीरिक र मानसिक रूपमा शिथिल थिइन् । बेहोस अवस्थामै उनको गर्भको बच्चा पम्पले तानेर बाहिर निकालियो । आइसियूमा राखियो । उनलाई देखाउन ल्याउँदा बच्चाको मुखमा रगत देखिन् । लमतन्न परेर ओछ्यानमै लडिरहिन्, मौन । आसपासका सुत्केरीका स्याहारसुसार, खुसी र उत्साह नियाल्दै केही दिन अस्पतालको ओछ्यानमा बिताइन् । नाकमा पाइप लगाएर दूध खुवाउँदै गरेको बच्चा छाडेर उनी अस्पतालबाट चुपचाप निस्किइन्– बच्चाकै मायाले । उपचार खर्च तिर्न नसक्दा बच्चाको ज्यान जोगाउन अपनाएको उपाय थियो त्यो । पूर्ण रूपमा स्वस्थ नभईकनै पछि उनको सासुले अस्पतालबाट बच्चा निकालेर घर लगिन् ।
बाराकी ज्वाला साहले सुरक्षाकै खातिर २०६१ पुसमा भारतमा गएर बच्चा जन्माइन् । बच्चा र आफ्नो अवस्था नाजुक रहे पनि कार्यक्षेत्रमा नखटेको वेला समातिएमा पार्टीले उचित मूल्यांकन नगर्न पनि सक्छ भन्ने चिन्ता थियो उनीमा । त्यसो भइहालेमा, मधेसी मूलकी आफू, पहाडी मूलकासँग बिहे गरेको हुँदा पनि सहयोद्धाबाट भरथेग होला–नहोला भन्ने डर पनि थियो । त्यसैले बच्चा जन्माएलगत्तै नेपाल फर्किइन् । कार्यक्षेत्रमा बच्चासँगै पुनः खटिइन् ।
२०५६–२०५७ तिर । आशा महाताराको लिखित मातृत्व अनुभवअनुसार, सुत्केरी व्यथाले च्यापेर रक्तमुच्छेल हिँडिरहिन्, मानव बस्ती भेट्न । बस्ती त भेटिन्, तर दलित भएकैले घरभित्र पस्न पाइनन् । गहुँको नल बिच्छ्याएर गाईगोठमा रात काटिन् । उज्यालो भएलगत्तै व्यथासँगै पुनः अर्को गाउँतिर लम्किइन् । हिँड्दाहिँड्दै रुकुम मालुबेलाको एउटा खोलाको बगरमा बच्चा जन्माइन् । गोठाला आएकी एकजना गाउँले महिलाले बच्चाको नाभी काट्न सहयोग गरिन् । १ घन्टा त्यहीँ विश्राम लिइन् र पुनः हिँडिन् अर्को गाउँ । त्यस गाउँमा सुरक्षाकर्मीले माओवादीको खोजतलास थाले । नौ दिनको बच्चा लिएर उनी फेरि ठाउँ सर्न बाध्य भइन् ।
‘शिशु योद्धा’सँगै
शिशुहरूले युद्धरत आमाको गर्भमा हुर्किनुको मूल्य गर्भदेखि नै चुकाए । आमाहरू सँगसँगै शिशुहरूले समेत युद्ध लड्नुको विकल्प थिएन । त्यसैले आमासँगै ‘गर्भे’ र ‘काखे’ योद्धा पनि उत्पादन गरिए । बच्चा भएपछिका सम्पूर्ण जिम्मेवारी र व्यवस्थापनको कठिन कार्यभार आमामाथि नै थोपरिएको थियो । सुरक्षा र स्वास्थ्यका हिसाबले पनि आमा र बच्चामा बढ्दै चुनौती थपिएको थियो ।
ज्वाला साहको बच्चा डेढ महिनाको थियो । मकवानपुरको झुरझुरे घटना सफल भयो, तर क्षति पनि उत्तिकै भयो । उनकै सामुन्ने सहयोद्धाहरूले प्राण त्यागे । कोही रगतको आहालमा लतपत थिए । त्यहीवेला हेलिकोप्टरले बम खसाल्यो । बम पड्किएको आवाजले बच्चा एक्कासि बेहोस भयो । एकातिर, अनेक उपाय लगाउँदा पनि बच्चा ब्युँझिएन । अर्कातिर, बिँड फुटाएर हँसियाको चुच्चो आगोमा तताउँदै एउटा साथीले अर्को साथीको जिउबाट गोली झिक्दै थियो । अर्का एकजना घाइते साथीले हेर्दाहेर्दै प्राण त्यागे ।
युद्धरत महिलाहरू गर्भसँगै युद्धमा खटे । खट्दाखट्दै बच्चा जन्माए । बच्चा पिठ्युँमा बोकेर युद्धमै टिकिरहे । कतिपय बच्चाले बाबु चिन्ने अवसरै पाएनन् । कतिपय बाबुले आफ्नो बच्चा जन्मेको सुन्नसमेत पाएनन् ।
लल्याकलुलुक भएको बच्चा, साथीहरूको अधमरो र मृत्युवरणको अवस्थामा सम्हालिन उनलाई हम्मे पर्यो । उनी धरधरी रोइन् । चर्को आवाजमा चिच्याइन् । गाउँकी एकजना भाउजूले धामीको झारफुकको जोहो गरिन् । माक्र्सवादी सिद्धान्त मानेर ‘नाइँ’ भन्ने आँट उनले गरिनन् । धामीले बच्चाको नाडी छामी हेर्यो । संयोग ! केहीबेरमै बच्चाको आँखा पिर्लिक्कै खुल्यो ।
कमला रोकाले बच्चा जन्माएको एक साता विश्राम गरिन् । त्यसपछि मंसिर महिनाको हिउँ छिचोल्दै रोल्पाको बैठकमा सामेल हुन पुगिन् । कठ्यांग्रिने चिसोमा हिँडेपछि कामज्वरो उब्जियो । बच्चालाई पखालाले च्याप्यो । कामज्वरो खेपेरै बिरामी बच्चासहित बैठकमा सम्मिलित भइन् । आफू र बच्चाको अस्वस्थपनको बाबजुद बैठक सम्पन्न गरेको सन्तोषले उनलाई राहत दिएको थियो । भेटेको वेलामा खायो, नभेटेमा भोकै हिँड्यो गर्दागर्दै उनको दूध सुक्यो । उनकै शब्दमा ‘जनता’कोमा जे भेट्यो त्यही खुवाउँदै बच्चा हुर्काइन् । बच्चा डेढ वर्ष नपुगुन्जेल साथै लिएर हिँडिन् । त्यसपछि सहिदहरूको परिवार मिलेर बनाएको सामूहिक परिवारमा बच्चा छाडेर आफू मात्रै युद्धमा खटिइन् ।
आमा र बच्चाका लागि जंगल वा गाउँ मात्रै युद्ध मैदान थिएन । प्रहरी वा सेनाको हिरासत र जेल पनि युद्ध मैदान नै बन्यो । एक वर्षको बच्चासहित दाङकी दामा शर्मा २०५५ सालमा जेल परिन् । यातनास्वरूप अन्धकार कोठामा थुनिँदा बच्चा आत्तिएर चिच्याउँथ्यो । आमालाई पीडा दिनकै लागि बच्चालाई समेत जानीजानी दुःख दिने गर्थे सुरक्षाकर्मीहरू । काखे बच्चा छाड्न बारम्बार दबाब झेलिन् । तैपनि, उनले बच्चा साथै राखिन् । काखे बच्चाकै कारणले उनलाई जेलमै मार्ने र बेपत्ता पार्ने प्रयत्न असफल भएकोसमेत उनको ठम्याइ थियो ।
स्वास्थ्यमा असर
गर्भधारणदेखि सुत्केरी अवस्था पार गरुन्जेलसम्मको अवधिमा उचित औषधोपचार, आवश्यक पौष्टिक आहार, चाहिँदो आरामलगायत कुराहरू महत्वपूर्ण मानिन्छन् । आमा र बच्चा दुवैको स्वस्थ दीर्घजीवनका दृष्टिले यी पक्षहरूको विशेष महत्व छ । तर, युद्धका समयमा गर्भधारण, सुत्केरी ज्यान र बच्चाको स्याहारसुसारजस्ता कुरामा ध्यान दियो भने पार्टी र क्रान्तिको यात्रामा पछि परिने बुझाइ सिर्जना गरिएको थियो । पार्टी र नेतृत्वले कार्यकर्तामा क्रान्ति र युद्ध अलावा अरू सबै कुरा तपसिलको विषयवस्तुका रूपमा हेर्ने मानसिकताको विकास गर्न सफल भएको थियो । त्यसैले महिला ‘मर्न जान नपाए रुने जात’ भन्ने उपमा आफूले आफँैलाई दिँदै सहिदमा दरिन तँछाडमछाड गर्थे ।
युद्धकालमा आमा बन्नुलाई स्वयं आमाहरूले एक ‘सामान्य’ र स्वाभाविक प्रक्रियाका रूपमा लिए । त्यसवेला अपनाउनुपर्ने सावधानी वा ख्याल राख्नुपर्ने सबैजसो कुराको जानीनजानी बेवास्ता गरेर वा परिआएकै बखतमा जसोतसो टारेर उम्किए । कतिपयले आफ्नो उच्च मनोबलले त्यस्ता अप्ठ्यारा पचाएका थिए । तर, त्यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पा¥यो । केही माओवादी महिलाले सुत्केरी अवस्थामा उचित स्याहारको अभाव हुँदा रोगी बन्नुपरेको स्विकारेका थिए । त्यस्तै, उचित हेरचाहको अभावमा हुर्किएका बच्चामा पनि मानसिक र शारीरिक समस्या देखापरेको अनुभव सुनाएका थिए ।
मातृत्वसम्बन्धी माओवादी दृष्टिकोण
एल–सल्भाडोरको सशस्त्र संघर्षमा विवाह, गर्भधारण र सन्तान जन्माउन निरुत्साहित गरी महिलाको मातृत्वमाथि नियन्त्रण गरिएको थियो । नेपालको माओवादीले फरक नीति अपनायो । प्रेम–अन्तरजातीय (पुन) विवाह प्रोत्साहित गर्यो । महिलाकै वृत्तिविकासमा असर पुग्छ भन्दै बच्चा जन्माउन भने कम्तीमा बिहे भएको दुई वर्ष पर्खने प्रशिक्षण दियो । तर, बच्चा जन्माउन निषेध भने गरेन । युद्धरत महिलाले पनि मातृत्वको भूमिका सशक्त ढंगले निर्वाह गरे । गर्भसँगै युद्धमा खटे । खट्दाखट्दै बच्चा जन्माए । बच्चा पिठ्युँमा बोकेर युद्धमै टिकिरहे । कतिपय बच्चाले बाबु चिन्ने अवसरै पाएनन् । कतिपय बाबुले आफ्नो बच्चा जन्मेको सुन्नसमेत पाएनन् ।
मातृत्वमा माओवादीले ‘गर्दै सिक्दै’को नीति अपनायो । कुनै निश्चित नीति थिएन । महिलाको विशिष्ट अवस्थाबारे सम्बन्धित नेतृत्वमा संवेदनशीलता र व्यावहारिक कठिनाइप्रतिको पर्याप्त ज्ञानको कमी पनि थियो । शिशु स्याहारको व्यवस्था र बच्चाको पालनपोषणका लागि एकतिहाइ आमा र दुईतिहाइ बाबुको जिम्मा हुने नीति माओवादीले २०५८ मा ल्यायो । सुत्केरी र शिशु व्यवस्थापनका लागि एकजना सहयोगी दिने प्रावधान बनायो ।
व्यवस्थापन र कार्यान्वयन पक्ष भने सधैँ कमजोर नै रह्यो । अधिकांश आमा बनेका महिलाले आफ्नै बलबुतामा आफ्नो र शिशुको रेखदेख गर्दै युद्धप्रतिको जिम्मेवारी पूरा गरे । बच्चा जन्माएबापत महिलाको पदसमेत घटुवा गरिएको अमृता थापाको अनुभव थियो । युद्धमा महिला सहभागिता बढेसँगै वैवाहिक सम्बन्ध र सन्तान जन्मिनुमा वृद्धि हुनु स्वाभाविक थियो । तर, आमा–बच्चालाई बोझ ठानेर पाखा लगाउने प्रयास पनि गरिन्थे ।
सामाजिक–सांस्कृतिक कुरीति तोड्ने र ‘साहसी आमा’ कहलाउन प्रेरित गर्दै महिलाको ‘विशिष्ट’ अवस्थामा उत्पन्न कठिनाइ/चुनौतीलाई गौण ठानियो । फलस्वरूप, मातृत्वलाई जोड दिँदा युद्धजीवनमा पछि परिने, क्रान्तिप्रतिको आफ्नो प्रतिबद्धतामाथि प्रश्नचिह्न लाग्ने भय बोकेर बसे । माओवादीले युद्धरत महिलाको मातृत्वमा निषेध गर्नुको साटो मातृत्वलाई कुनै न कुनै तबरमा नियन्त्रित गरी युद्धकै खातिर खर्चिन भने भरपुर प्रयत्न गर्यो । त्यसैले युद्धको सुरुदेखि अन्त्यसम्म महिलाले मातृत्वको भूमिका निर्वाह गर्दा भोग्नुपर्ने कठिनाइ कम भएन । न त बच्चा पालनपोषणको जिम्मेवारी नै कम भयो । बरु चुनौतीका स्वरूप बद्लिँदै गए । जसलाई महिलाले आफ्नै तजबिजमा सम्हाले ।
विशिष्ट अनुभव, गौण विषय
एक अध्ययनअनुसार ‘जनयुद्ध’मा संलग्नमध्ये ५५% भन्दा बढी माओवादी महिलाले बच्चा जन्माए । तैपनि मातृत्व युद्ध जीवनको व्यवस्थापनको प्राथमिक विषय कहिल्यै बनेन । विवाह, प्रेमलगायत कुरा भने पार्टीको नीतिगत दायरामा समेटिए । किनकि, त्यस्ता सम्बन्धमा महिलासँगै पुरुष पनि बाँधिएका थिए । त्यसैले पनि नियमन गर्नु पार्टीको आवश्यकता रह्यो । मातृत्वको सन्दर्भमा पुरुषको जैविक सम्बन्धले नै कालान्तरसम्म अधिकार स्थापित गरिरहने हुँदा त्यसलाई औपचारिक नीतिगत दायरामा ल्याउने खाँचो परेन । बरु त्यो कम महत्वको वा बाधाको विषय हो भन्ने सोचको विकास माओवादीले अनौपचारिक तबरमै गर्यो ।
युद्धको खाँचो टार्ने ‘मस्कुलिन’ आचरण, विचार र अभ्यासमा बढ्तै जोड दिइएको हुँदा पनि मातृत्वको विषय त्यस्तो आचरण र अभ्यासको खाकाभित्र अटाएन । उक्त खाका माओवादीभित्रै र बाह्य समाजका लागि पनि ‘आकर्षक’ र ‘नौलो’ विषय बन्यो । त्यसमा समावेश हुनकै लागि पनि सुत्केरी हुनुअघि र पछि केही हप्ता पार्टीले दिएको आरामको समयलाई समेत केहीले युद्धकै निम्ति सुम्पिए । धेरैले भने त्यस्तो सुविधा उपभोगको प्रतिकूल परिस्थिति भोगे । तिनलाई व्यक्तिगत समस्याकै रूपमा टारे ।
(२०६८–२०६९ सालमा माओवादी महिलाका युद्धकालीन संस्मरणसम्बन्धी गरिएको अनुसन्धानबाट उत्पादित लेख ।)