• वि.सं २०८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
डम्बर चेम्जोङ
२०७६ फाल्गुण ३ शनिबार ०८:२८:००
समाज

बदलिँदो नातेदारी व्यवस्था

समाज

२०७६ फाल्गुण ३ शनिबार ०८:२८:००
डम्बर चेम्जोङ

नातेदारी व्यवस्था समाजलाई कुल र कुटुम्बमा विभक्त गर्ने एउटा सामाजिक संस्था हो । समाजमा दुईखाले समूह हुन्छन्, एउटा कुलतिरको र अर्को कुटुम्बतिरको । कुटुम्बतिर जानेबित्तिकै नयाँ नाता सम्बन्ध सुरु हुन्छ । व्यक्तिको विवाह नभएसम्म सम्बन्ध कुलतिर मात्रै हुन्छ ।  नाता व्यवस्था मानव समाजको निर्माण र निरन्तरताको निम्ति प्रमुख सामाजिक संस्था हो । यसले नै समाजलाई कुल र कुटुम्ब भनी सामाजिक रूपमा विभक्त गर्छ । नाता व्यवस्था नभई समाज चल्दैन । नाता सम्बन्ध मानव समाजको सुरुवाततिर व्यवस्थित थिएन । पछि, हाडनाताभित्रको यौन सम्बन्धलाई वर्जित गरेपछि नाता सम्बन्ध अलि व्यवस्थित भयो । यसरी नातेदारी व्यवस्थाको सिलसिला सुरु भयो । 

नातेदारी व्यवस्था सामाजिक संरचना भएकाले संरचनाभित्र व्यक्तिलाई बाँधिराख्ने, त्यहाँबाट भरसक उम्कन नदिने काम यस व्यवस्थाले गर्छ । नातेदारी व्यवस्था मानव समाजको प्रमुख सामाजिक संगठन हो । विवाह गर्नेबित्तिकै व्यक्ति नयाँ नातासम्बन्धमा गाँसिन्छ । हिजोको नातासम्बन्धबाट अर्को नाता पनि थपिन्छ । 

महत्वपूर्ण सामाजिक संस्था 
एक समय हाडनाताबाहेक अन्यसँग जहाँ पायो त्यहीँ यौनसम्बन्ध राख्ने पनि गरिन्थ्यो । जब समाजमा जनसंख्या बढ्दै गयो, समाज विकसित हुँदै गयो र समाज यौनसम्बन्धको मामिलामा व्यवस्थित हुँदै गयो । विवाह संस्थाको उदय भयो । समूह–समूहमा विवाह हुन थाल्यो । एक महिला धेरै पुरुष र धेरै पुरुष एक महिलाबीचमा विवाह पनि भयो । पछि, त्यस्ता विवाहहरू कानुनले वर्जित गरेर, सामाजिक नैतिक बन्धनहरूका कारण कम हुँदै गए । त्यसपछि एक महिला र एक पुरुषबीचको विवाह मात्रै अलि धेरै हुन थाल्यो । 

एक महिला र एक पुरुषबीच मात्रै विवाह हुन थालेपछि त्यहीअनुसारको सामाजिक मूल्य र नातेदारी संस्थाको विकास भयो । त्यसले व्यक्ति–व्यक्तिबीच सम्बन्ध स्थापित गराई सामाजिक अन्तरक्रियालाई निरन्तरता दियो । नाता व्यवस्थालाई बुझ्न परिवार र विवाह संस्थालाई पनि सँगै राखेर हेर्नुपर्छ । किनकि, नाता व्यवस्थाको जन्म नै विवाह र परिवारबाट हुन्छ । यस्तो परिवर्तन नेपालमा मात्रै नभई विश्वभर भइरहेको छ । छिमेकी मुलुक भारतीय समाजमा पनि यस्तै हँुदै गएको छ ।

नातेदारी व्यवस्थाविनाको समाज
नातेदारी व्यवस्था संसारभरका समाजमा एकै किसिमको पाइन्न । फरक–फरक समाजमा फरक–फरक नातेदारी व्यवस्था अभ्यास भइरहेको छ । नेपालका विभिन्न जातजातिभित्र भिन्नभिन्न किसिमका नातेदारी व्यवस्था छन् । हरेक समाजको नातेदारी पद्धतिका आफ्नै खालका नियम छन् । समाज अघि बढ्दै जाँदा फरक समुदायले आफ्नै किसिमको नातेदारी व्यवस्थाको विकास गरे । भिन्न जाति र समुदायले भिन्न किसिमको नातेदारी व्यवस्था सुरु गर्नुको कारण उनीहरूको उत्पादन प्रणालीसँग सम्बन्धित छ । जीवन निर्वाह गर्न उनीहरूले कस्तो किसिमको प्रणाली अपनाए भन्ने कुराले उनीहरूको नातासम्बन्ध कस्तो हुने भन्ने निर्धारण गर्छ । 

आदिम साम्यवादी समाजमा नातेदारी व्यवस्था फरक थियो होला । समाजमा बिस्तारै तहगत संरचनाहरू विकसित भयो । त्यसले फरक खालको नातेदारी व्यवस्था विकसित ग¥यो । नेपाली समाजभित्रको विशिष्टता हेरियो भने फरक–फरक प्रकृतिको नातेदारी व्यवस्था पाउँछौँ । नेपालमा कतिपय समुदायमा फुपू–मामा चेली विवाह हुन्थ्यो । त्यो क्रम अहिले घट्दो छ । सात पुस्ता हेरेर कुनै पनि नाता नपर्नेसँग विवाह गर्ने चलन पनि छ । फुपू चेली मामा चेला विवाह गर्ने चलन पनि कुनै एकतर्फी र कुनै दुईतर्फी हुने गर्छ । जस्तैः मगरमा एकतर्फी छ । त्यसैले नाता व्यवस्था कुन कालखण्डमा आएर विकसित भयो भन्दा पनि कुन विशिष्ट समाजमा आएर विकसित हुँदै आयो भन्ने हेर्नुपर्छ । समाज निर्माणको निरन्तरताको सबैभन्दा बलियो जग नातेदारी व्यवस्था हो ।  नेपालको सन्दर्भ हेर्दा नातेदारी व्यवस्थाले राजनीति व्यवस्थामा पनि प्रभाव पारेको देखियो । विभिन्न नीति, नियम, राजनीतिक चलन, राजनीतिक संगठनमा को हाबी हुने, कसलाई च्याप्ने, कसलाई पाखा लगाउने भन्ने कुरा नातेदारी व्यवस्थाबाट प्रभावित भएको देखिन्छ । राज्य व्यवस्थामा नातेदारी व्यवस्थाको प्रभाव एकदमै भएको देखिन्छ । 

बलियो भएर जाँदै छ नातेदारी व्यवस्था 
नेपाली समाजको चरित्र हिजोको तुलनामा आज बदलिएको छ । काम गर्न सक्ने जनशक्ति आधाभन्दा धेरै विदेशमा छन् । वैदेशिक रोजगारले हाम्रो बसोवासमा परिवर्तन ल्याएको छ । कामको खोजीमा, अवसरको खोजीमा, राम्रो पढाइको खोजीमा मानिस गाउँबाट सहरमा सर्ने क्रम बढेको छ । गाउँ छाडेर राजधानी र सदरमुकाममा मानिसहरू आउने क्रम हिजोभन्दा आज धेरै बढेको छ । आफ्नो थातथलोबाट मानिसहरू बाहिर निस्किएपछि नातेदारी व्यवस्थामा पनि परिवर्तन देखिन थाल्यो । हिजोको जस्तो तोकिएकै व्यक्तिसँग मागी विवाह गर्ने चलन हराउँदै गयो । यसले जात व्यवस्थालाई धक्का थियो ।

सजातीय विवाह मात्रै गर्नुपर्छ भन्ने मान्यता भंग हुँदै छ । आफ्नै जातिसँग मात्रै विवाह गर्नुपर्छ भन्ने मान्यता तोडिँदै गयो । घरबाट टाढा भएपछि मानिसहरू स्वतन्त्र रहन थाले, आफ्नो निर्णय गर्न मानिसहरू स्वतन्त्र हुँदै गए । विवाहमा व्यक्तिगत चहानाले प्रधानता पाउँदै गयो । इत्यादि परिवर्तनले नातेदारी व्यवस्थालाई परिवर्तन गर्दै छ । त्यो हुनुको कारण माक्र्सका अनुसार उत्पादन प्रणालीमा देखिएको परिवर्तनको असर हो । यो बदलाव आउनुको कारण उत्पादन प्रणालीमा आएको फेरबदल नै हो । 

कतिपयले अहिले नातेदारी व्यवस्था धराशयी भएको भनिरहेका छन्, तर त्यस्तो होइन । अहिले नातेदारी व्यवस्था झनै बलियो हुँदै छ । आर्थिक लगानी गर्ने क्षेत्रमा पनि एकता देखिँदै छ । जस्तैः आफ्नै दाजुभाइ, परिवार, घर, मावली मिलेर उत्पादनका काममा सहभागी हुने गरेका छौँ । नातेदार मात्रै मिलेर बैंक खोल्ने, उद्योग खोल्ने, व्यवसाय गर्ने काम भइरहेको छ । जस्तैः ‘लिम्बू होटेल’, ‘सुब्बा ट्रेडिङ सेन्टर’, ‘तामाङ कुदाप’, ‘पौडेल किराना पसल’ आदि खुलेका छन् । 

चिनियाँ पुँजीवादलाई हेर्ने हो भने परिवार परिवारभित्रको लगानीबाट एसियाभरी चीनको पुँजीवाद फैलिएको छ । नेपालमा पनि त्यो परम्परा फैलिएको छ । जस्तैः ‘ज्योति समूह’, ‘चौधरी गु्रप’ । यो खास एउटा परिवारभित्रको व्यापार हो । यसले नातेदारी प्रथालाई मलजल गरेको छ । राजनीतिक सन्र्दभमा, आर्थिक लगानीको सन्दर्भमा, उत्पादनका सम्बन्धमा पनि नातेदार मिलेर काम गर्ने परम्परा अझै विस्तार भयो । त्यसैले नाता व्यवस्थामा देखिएको परिवर्तनलाई सहज रूपमा लिनुपर्छ । हिजोकै नातेदारी व्यवस्था रहिरहोस् भनेर हुँदैन । 
(मानवशास्त्री चेम्जोङसँग शान्ति तामाङले गरेको कुराकानी)