• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नवीन विभास
२०७६ फाल्गुण ३ शनिबार ०८:४५:००
समाज

तीन दाजुभाइ युद्धमा मारिए पुत्र खाडीमा

चार भाइमध्ये बचेका अमर पुन पनि भतिजाहरूसहित खाडीमा छन्

२०७६ फाल्गुण ३ शनिबार ०८:४५:००
नवीन विभास

कुइनेटो

जेई जेठी भाउजू र माहिली भाउजूले कति माओवादीलाई खाना खुवाए ? रोल्पाको पश्चिम कुनामा उभिएको त्यो घरमा कति माओवादीले ‘सेल्टर’ लिए ? लेखाजोखा छैन । ठुल्दाजु कृष्णबहादुर महराका विद्यार्थी, गाउँको मास्टर र गाउँ अगुवा भएकाले मात्र होइन, हाम्रो गाउँबाट रुकुम, सल्यान र थबाङ जानलाई बाटो पर्ने भएकाले पनि हाम्रो घरलाई माओवादीले सेल्टर बनायो । बर्कोले छोपी आफूले मात्र देख्ने गरी टर्च बाल्नुपर्ने र आफूले नै मुस्किलले सुन्ने गरी फुस्फुसाउने अनौठो मौसमको कुरा हो । अर्थात् माओवादीले ‘जनयुद्ध’ थाल्नुअघि र थालेको सुरुवातीयामको कुरा हो यो । 

पाँचफिटे पातला, पिठ्युँमा ठूलो रुक्स्याक झोला, कम्मरमा खुकुरी भिरेका एक अधबैँसे हाम्रो घरमा आउँथे । ती कहिलेकाहीँ रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरा, नन्दबहादुर पुन ‘पासाङ’, सन्तोष बुढामगरहरूका साथमा हुन्थे । छिमेकी गाउँका पाछाबाङे भेना (कमरेड बेहोसी उर्फ नन्दबहादुर बुढामगर), पाहाबाङे भुरे मास्टर, आकर्षण (हर्कबहादुर रोकामगर), नफ्याल पोस्टबहादुर बुढामगर (कमरेड रणदीप), पाहाबाङका नर्जित दमाईं र थुनीका थमे सुनारहरू त हुने भइहाले । करिब दुई घन्टा पैदल दक्षिण–पश्चिममा ठिंग उभिएको राँक्माधुरी । त्यही धुरीमुन्तिरको ओका थिए, ती पातला अधबैँसे । पूर्वझाँक्री ती पातला मान्छेलाई हामी ‘ओयाल झाँक्री काकु’ भन्थ्यौँ । 

सेल्टर लिएको घरमा ती काकु र पाछाबांङे भेनाले दाम्लो बाट्थे । बर्रे बुन्थे । कुचो बाट्थे । सायद यसैले होला, रोल्पाली पुराना माओवादी कार्यकर्ता दिलमा बादल वास बसेजसरी हाम्रो परिवारको मनमा झाँक्री काकु र पाछाबांङे भेना बसेका थिए । अहिले पनि जेईले तिनका सन्चोबिसन्चो सोध्छिन् । तिनै ओयाल झाँक्री काकुका कान्छा भाइ अमर काकुसितको ‘मुखबुक’ भेटमा कतिखेर झाँक्री काकु आए त कतिखेर माइला काकु त कतिखेर साइँला काकु कतिखेर आइन् जुरेली फुपू । समुद्रपार मुग्लानरत अमर काकु, जो चार भाइमध्ये एक्लो बचेका छन्, दाजु अभावले भक्कानिए । आफूजस्तै खाडीरत भतिजाहरू सम्झिएर सुकसुकाए । 

।।१।।
मारीखोलाबाट जुरुक्क उठेको रातो पहरको टाउकोलाई राँक्माधुरी भन्छन् । त्यही धुरीको घाँटीमा छ, सुकीदह । जंगलको बीचमा माओवादीले पहिलोपालि देशभरका छापामार भेला गराएरतालिम गर्दाखेरि पुलिस आक्रमण भयो । ११ जना माओवादी मारिए ।मारीखोलाबाट उठेको उही राँक्माधुरीको छातीमा एउटा गाउँ छ, ओ । रोल्पाको साबिक इरिबाङ गाविस वडा नम्बर १ (हाल परिवर्तन गाउँपालिका वडा नम्बर ६) । १०० वटा घर हाराहारीको ओको माथिल्लो भागमा विश्वकर्मा बस्छन् । बाँकी मगर । मगरमध्ये रामजाली बुढा, रामजाली पुन र घर्ती छन् । बर्खेबाली ठीकठीकै फले पनि हिउँदे कम फल्छ । त्यसैले खेतीपातीले नपुगेपछि खानलाउन, चाडपर्वमा चरीमासु खान, नुनतेल जोहो गर्न गाउँले खयर काट्न खयरझाला जान्थे । त्यसपछिका लापार (भारत) । अहिले पाका काला पारिन्छन् भने युवा खाडी ।

।।२।।
नजिकको स्कुलनाफे पुग्न पैदल एक घन्टा लाग्थ्यो । ६ देखि सात कक्षा पढ्ने स्कुल बागमारा पुग्न तीन घन्टा पैदल दूरी । घामको झुल्कासँगै बोल्ला(गाँजाको रेसाबाट बनेको लुगा)को झोलामा खाजा, टेरिकट कमिज, डबलनेटको झाङे र बाटा चप्पल लगाएर अमर स्कुलिन्थे । साँझ घामको ओइपा हेर्दै फर्कन्थे । सदरमुकाम लिबाङ पुग्न एक दिनको पैदल दूरी छ । अहिले गाडी चल्छ । 

‘कापी–कलम किन्न र भर्ना शुल्क तिर्न टेरिकटको कमिज र डबलनेटकोे झाङे लाउन मकैको सिला (मकै भित्र्याउँदा छुटेका) खोज्थेँ । जेईले चाखीमा दलेर जाँड बनाउँथिन् । केही समयपछि जाँडबाट रक्सी । रक्सी बेचेको पैसा स्कुल खर्च हुन्थ्यो,’ गरिबीमा गुडेको अमरले औपचारिक अध्ययन स्मरण गरे । जेठा गाउँ–गाउँमा झाँक्री बस्न जाँदा समाजसँग घुलमिल भए । झैझगडा मिलाउन बोलाउँथे । जेठा त गाउँका ‘भलार्मी’ थिए, जसको बोली गाउँमा बिक्थ्यो । ०४६ को राजनीतिक परिवर्तनपछि पासाङ कमरेडको संगतमा परे । कम्युनिस्ट राजनीतिमा लागे । माइला र साइलाले जसरी उनले पनि जेठालाई पछ्याए । एक दिनको कुरा हो । छिमेकी गाउँबाट एकजना ओ पुगे । चिठी हात पार्दै भने, ‘जेठा दाजुलाई दिनू ।’

‘प्रापक’को नाम थियो, ‘कमरेड लखन्टे ।’
साँझ ढलेपछि दाजु घर पुगे । चिठी हात पारे । 
खाना खाएपछि भने, ‘मसँग हिँड् ।’

जुनेली रातमा मारीखोला तरेर उकालिँदै नन्दबहादुर पुन (अहिले उपराष्ट्रपति) घर भनभने पुगे । कृष्णबहादुर महरा पनि थिए । केही समयपछि कार्यकर्ता भेलामा पनि सामेल भए । ‘कसैको नाम लम्फु, कसैको झोला त कसैको दारासिङ,’ आफू त्यही भेलाबाट अमरदास पुनबाट कमरेड पाण्डव भएको सम्झिए । त्यसवेला नै थाहा पाए, जेठा दाजुको नाउँ रहेछ, लखन्टे । पुलिस पछि लागेपछि अमर ‘अर्ध भूमिगत’ भए । त्यसपछि उनको औपचारिक पढाइमा बिर्को लाग्यो । ‘पैसा र पहुँच भए सहर गएर पढ्थेँ हुँला । गरिबी र राजनीतिले पढाइ तुहियो,’ अमरले भने ।

।।३।।
०४८ को संसदीय चुनावमा रोल्पाको दुवै क्षेत्र संयुक्त जनमोर्चा, नेपालले जित्यो । क्षेत्र नम्बर १ बाट वर्मन बुढामगर र २ बाट कृष्णबहादुर महरा सांसद बने । हेर्दाहेर्दै गाउँ कम्युनिस्ट र कांग्रेसमा ध्रुवीकृत भयो । जसलाई २०४९ को स्थानीय निकाय चुनावले दोब्बर बनायो । बूढापाकाजति कांग्रेस त जवानजति जनमोर्चा देखियो । अमर आँगनमा हँसिया हथौडा अंकित झन्डा फहरायो । टेप्रिकाँटमा क्रान्तिकारी गीत बज्न थाले । स्थानीय चुनावमा जेठा संयुक्त जनमोर्चाको तर्फबाट उपाध्यक्ष उम्मेदवार भए । कांग्रेसलाई मनोनयन दर्ता गर्न नदिएपछि अध्यक्षसहित सबै पदमा जनमोर्चा नेपाल निर्विरोध भयो । 

राँकुली चौरमा साइँलालाई गोली
०५१ मंसिर ९ गते । स्थानीय राँकुली चौर (चप्का र नाफेखोला मेला पनि भन्छन्) मेला । ओयाल झाँक्री र पासाङ अर्ध भूमिगत थिए । भनभनेबाट पासाङसहित दलबल गुर्कुच्यान गर्दै मेला झ-यो । पैसरी नाच्न पासाङ ठूलो मादल कम्मरमा भिरी बजाउन थाले भने पिता रामसुर अगुवा नाच्न ओबाङ प्रहरीचौकीका रक्सीले झुल पुलिस हुल पासाङले मादल बजाउँदै नाचिरहेको ‘थला’मा पस्यो । होहल्लाबीच ड्याम्म आवाज आयो । कसैले भने, ‘गोली चल्यो ।’ छिनमै झन् ठूलो ढुम्म सुनियो ।

पाखुरामा पेस्तोल गोली लागेका पासाङ बचाउन भन्दै प्रतिकारमा उत्रिएका साइँला दाजु त ढलिसकेका थिए । जनमोर्चा युवा बन्दुकविरुद्ध लाठीले प्रतिकार गर्दै थिए । ‘मेरो आँखैमा राइफल गोलीले मेरो साइँलादाइ ढले । लोकबहादुर घर्तीमगर त त्यसअघि नै पेस्तोलको गोलीले ढलिसकेका रहेछन्,’ राँकुलीचौरको मेला आँखामा उनेर अमर भन्छन्, ‘हेर्दाहेर्दै मेला रणमैदान बन्यो । जत्रालुु तितर–बितर भए । छिनमै चौर खाली भयो ।’

 साइँला मेलामा ढलेपछि नेताले ‘युगाैँयुग बाँच्ने सहिद भए’ भने । ‘सपना पूरा गर्नेछौँ’ ‘हत्याको बदला लिन्छौँ’ ‘शोकलाई शक्तिमा बदल्न र हत्या बदला लिन जनयुद्ध तयारीमा छौँ’ भने । नभन्दै माओवादीले ०५२ फाल्गुन १ गते जनयुद्ध थाल्यो । साइँलालाई पछ्याउँदै बचेका जेठा, माइला र कान्छा जनयुद्धमा हिँडे । ‘गमबुट(प्लास्टिक जुत्ता) र सिल्पट बुट्कामा पिसाब फेरेर फाल्थिम्,’ अमरले जनयुद्ध सुरुवातीकालका कुरा सम्झिए । राँकुलीचौर काण्डले माओवादी जनयुद्धमा विशेष ‘अर्थ’ राख्छ । ‘बन्दुकसँग लड्न बन्दुक नै चाहिन्छ’ भन्ने घटनाले सन्देश प्रवाह गर्‍यो । बन्दुकवाल पुलिससँग जनमोर्चाका जवान लाठीले प्रतिकार गरेका थिए । नेतालाई जनयुद्ध थाल्न काण्डले चर्को दबाब पनि दियो । 

जेठा बेपत्ता
०५८ मंसिर २५ गते अर्थात् माओवादीले घोराही शाही सेना ब्यारेक हानेको १७ दिन पुगेको थियो । संकटकाल घोषणासँगै शाही सेना गाउँ–गाउँ परिचालित थियो । अँ, त्यस दिन छुट्टी लिएर घर अर्थात् ओ पुगे, जेठा । त्यस दिन घरभन्दा मास्तिर फुपूपुत्रको बिहे थियो । गाउँ बिहेमा सामेल थियो । बिहे खान हिँडेका रिठाबोटे दलबहादुरसँग जेठा आँगनमा गफिँदै थिए । ठीक त्यसैबेला अमर आँगन डिलमा पुगे । ‘शाही सेना छिमेकी आँगनमा सुन्तला खाइरहेछन् । दाजुलाई ‘सेना आइसक्यो’ भनेँ । दाइ भिरकुनातिर भाग्नुभयो, जहाँ मानिस बस्न मिल्ने ओडार पनि छ । राति त्यहीँ सुत्नुहुन्थ्यो,’ अमरले घटना सुनाए । सेना समूह–समूह बनाएर गाउँ पुगेका थिए । 

‘दाजुले ओढेको नीलो ज्याकेट, गोली, खुकुरी आँगनमै थियो । उठाएर चितुको घारमा फालेर घर फर्केँ ता कि भाग्यो भनेर गोली नचलाओस् र दाइतिरको ध्यान मतिर मोडोस्,’ उनले सुनाए । तर, डाँडापारिको शाही सेनाले भाग्दै गरेका दाजु देख्यो । ओडार घेर्‍यो । दाजुलाई समात्यो । त्यसपछि ओडारमा आगो लगायो । छिमेकी मस्तबहादुर र जेठालाई सीधै ओबाङ लग्यो भने अमरसहित बाँकीलाई बिहेघर ।

जेठासहित १२ जनालाई ओबाङ अस्थायी क्याम्पमा राख्यो । तीन दिनपछि घर्तीगाउँ सार्‍यो ।  ‘स्याङखोलादेखि घर्तीगाउँ उकालो उकालिँदा घुम्तीमा आक्कल–झुक्कल देखादेख हुन्थ्यो । किनकि, हामी सबैलाई एक्ला–एक्लै बीच–बीचमा राखेर हिँडाएको थियो,’ उनले भने । घर्तीगाउँ पुगेपछि फेरि आँखा छोप्यो । जेठा र आठ पढिरहेका जेठापुत्र नरहरि र अमरलाई अलग–अलग राख्यो । चर्को मानसिक र शारीरिक यातनापछि अमर र नरहरि तारिखमा छुटे । अन्तमा, जेठाबाहेक सब छुटे । 

‘सबभन्दा पछि छुटेका सिंहबहादुर बुढामगरले ‘केही दिनअघि जेठालाई हेलिकोप्टरमा लग्यो’ भन्थे । पछि दाङको ब्यारेकमा यातना दिएर मार्‍यो भन्ने अपुष्ट खबर सुनिम्,’ अमरले भने । नरहरि कमरेड दिलीप भए । कमान्डर नेपबहादुर केसी परिवर्तनको स्टाप बने । कपिलवस्तुमा प्राविधिक दुर्घटनामा परी कमरेड परिवर्तन मरे । उनी मुस्किलले बाँचे । 

माइला पनि मारिए
सायद २०६१ वैशाख ।

म्याग्दी सदरमुकाम बेनी आक्रमणबाट अमर फर्केका थिए । माओवादीले २०६० चैत ३० गते बेनी हानेको हो । त्यसैवेला नाफेको ढुंगाखानीनजिक प्राविधिक दुर्घटना परे । उपचारका लागि लग्दालग्दै दाङमा बिते । माइला अर्थात् कमरेड अख्तियार जनसरकार प्रमुख थिए । गाउँमा वृक्षरोपण अभियान चलाए । त्यसवला रोपिएका रूख अहिले तन्नेरी भएका छन् । गाउँ तिनै रूखले भरिलो भएको छ । ‘रूख देख्दा माइलादाइ उभिएजस्तो लाग्छ,’ दाजु यादमा अल्झँदै अमरले भने ।

प्रचण्ड बस्ने जुरेली पोस्ट 
अमरकी दिदी फाँचीको बिहे भएको छ, छिमेकी गाउँ नाफेमा । ६५ वर्षकी फाँची पूर्वमन्त्री जयपुरी घर्तीमगर, पूर्वसभामुख ओनसरी घर्तीमगर र पूर्वसांसद तारा घर्तीमगर स्कुलमा पढ्दा कमरेड जुरेली भएर सक्रिय राजनीति गर्थिन् । साइँला भाइ राइफल गोली लागी ढल्दा राँकुलीचौर मेलामा जुरेली एक्लै ‘ठिंग’ उभिएकी थिइन् । सबका सब भागिसकेका थिए । 
तीन भाइका रगत खेर जान नदिने भन्दै पूर्णकालीन भएकी उनै जुरेलीले त माओवादीको सुरुवाती हतियार ‘लाठी’ तयार पारेकी थिइन् । जंगलमा गएर लाठी बनाएकी थिइन् । 

उनै जुरेलीघरमा माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ झन्डै एक वर्ष बसे । भारतविरुद्ध ‘सुरुङ युद्ध’ लड्ने भन्दै भारतबाट नेपाल पसेका प्रचण्ड रोल्पा पसेका थिए । त्यसवेला नाफेका पाँच र केवरीका दुई घर सेल्टर थिए । माओवादी नेता/कार्यकर्ता पुग्दा तिनै घरमा वास बस्थे । नाफेका पाँचमध्ये दुईवटा घर उनै जुरेलीका थिए । ती घर शाहीसेनाले घर ध्वस्त पार्‍यो । माओवादीले सेल्टरका रूपमा प्रयोग गरेका ती घरलाई माओवादी नेता/कार्यकर्ताले नाउँ दिएका थिए, ‘जुरेली पोस्ट’ । 

जुरेलीलाई सञ्चार विभागको जिम्मेवारी थियो । जंगलको बाटो प्रयोग गरेर माओवादी चिठी ओसार–पसार गर्थिन् । उनी रुकुम, सल्यानसम्म पनि चिठी बोकेर पुग्थिन् ।  ‘माओवादीका चिठी बोकेँ । के लेखिएको छ, थाहा हुँदैनथ्यो । मैले ती चिठी चुल्ठामा लुकाएर एक ठाउँबाट अर्को ठाउँ पुर्‍याएँ,’ जुरेलीलाई उद्धृत गर्दै पत्रकार महेश न्यौपाने लेख्छन् । 

।।४।।
साइँला मनबहादुर, जेठा खर्कबहादुर र माइला खर्कसिंह क्रमशः २०५१, २०५८ र २०६१ मारिए । १० कक्षा पढेका अमरका सहिद साइँला दाजु निरक्षर थिए भने माइला साक्षर । जेठा ‘जैसी’ अर्थात् ज्योतिष काम जानेका थिए । ती–तीन सदस्य गुमाउँदा पुन परिवारलाई सम्हाल्न धौ–धौ भयो । ‘जेई र हामी साउनेगौँडामा गएर साइँला देखिन्छ कि भनी राँकुलीचौरतिर हेरिरन्थिम्,’ राँकुलीचौर मेलामा मारिएका साइँला दाजु सम्झँदै अमर भन्दै थिए । ‘ती–तीन छोरा गुमाएको पीडा मेरा बाबै र जेईलाई मात्र थाहा छ । कलिलैमा एकल जीवनयात्रा मेरा भाउजूलाई मात्र थाहा छ । पिता अभाव मेरा भतिजा–भतिजीलाई मात्र थाहा छ । ती–तीन दाजु गुमाउँदाको चोट मलाई मात्र थाहा छ,’ अमर भन्दै थिए ।

सयौँ मन, खर्क र जुरेलीका बलिदानले न उदाएको हो, गणतन्त्र र लोकतन्त्र घाम । तपाईंलाई लागेको होला, पुन परिवार यतिवेला बलिदान फुलेको घाममा मुस्कुराइरहेको होला । होइन, घामको झुल्कामुल्का नै देख्न पाएको छैन । घामको असली हकदार परिवारका पुरुष सदस्यजति अरबरत छन् । जस्तोः जेठा लखन्टे जेठापुत्र नरहरि जिउमा जनयुद्ध छर्रा बोकेर कताररत छन् । कान्छा गिरिमान मलेसियामा । माइला अख्तियार कान्छा पुत्र भरत दुबईमा छन् भने जेठा उमेश कतारमा थिए । मारिएका तीन दाजुका कान्छा भाइ अमर चिलीमा छन् ।

जुरेलीलाई साँझ–बिहानको जोहो गर्नमै बाह्र बजेको छ । रोजगारका लागि भारत गएका छोराले पैसा नपठाउँदा हुन् त कसरी दिन गुजार्थिन् ? उनलाई नै थाहा छैन । आँ गर्दा अलंकार बुझ्ने तपार्इंलाई भन्नै परेन, गणतन्त्र र लोकतन्त्र घाम उनै ‘बासी’ अनुहारले कसरी तापिरहेछन्? जेईले भने ओयाल झाँक्री काकु र पाछाबांङे भेनाका सन्चोबिसन्चो सोध्न छाडेकी छैनन्, ‘काँ गयान हाँ कान्छा, झाँक्री सनौसी र पाछाबाङ भान्जा ?’