• वि.सं २०८१ मङ्सिर ७ शुक्रबार
  • Friday, 22 November, 2024
अरुण गुप्तो काठमाडाैं
२०७५ चैत १६ शनिबार ०७:३९:००
इतिहास

देवीका विरोधाभास

२०७५ चैत १६ शनिबार ०७:३९:००
अरुण गुप्तो काठमाडाैं

देवी संवाद १
नवजातिको विकासक्रममा सबैभन्दा पहिलो तथा महत्वपूर्ण मानिने अनुकूलन ‘हन्टर–ग्यादरर’ अवधारणाको विस्तृत अध्ययन गर्दै जाँदा थाहा लाग्छ– यसका विविध आयामले महिलालाई जीवनको मात्र होइन, ज्ञानको पनि जननीका रूपमा उभ्याएको छ । अन्य जनावरका भाले–पोथी दुवै सिकारका लागि जान्थे । मानव मात्रै यस्तो प्रजाति हो, जसका पुरुष समकक्षी मात्र सिकार खेल्न जान्थे, महिला समकक्षी घरमै बस्थे । 

जैविक विकास–सिद्धान्त अध्ययन गर्दा थाहा हुन्छ– मानव शरीरको विकास हुँदै  जाने क्रममा यस प्रजातिको कोखको आकार पनि सीधा हुँदै गयो । मानवको कोख सीधा भएपछि जन्मिएका बच्चाका ३० प्रतिशत तन्त्र–कोषिकामा क्षति पुग्यो । मानिसका बच्चालाई कुद्न, चल्न समय लाग्छ । तर, अन्य पशुका बच्चा जन्मनेबित्तिकै कुद्ने, चल्न थाल्छन् । बच्चाका तन्त्र–कोषिकामा क्षति भएर त्यस्तो भएको हो । बच्चाको हेरचाह अत्यावश्यक भएकाले महिला घरमै बसेका हुन् । 

आफ्ना बालबच्चाले व्यक्त गर्न खोजेका कुरा बुझ्न  र त्यसैअनुसार अअन्तर्क्रिया गर्ने क्रममा भाषाको उत्पत्ति भएको भनेर धेरै विद्वान्ले उल्लेख गरेका छन् । दिनभरि सिकार गरेर बेलुका घर फर्केका आप्mना परिवारजनका उपचारका लागि मानिस आफू  वरपर सजिलै पाइने झारपात प्रयोग गर्थे । हर्बल उपचार पद्धति त्यहीँबाट सुरु भएको हो ।  मातृत्वले भाषा जन्मायो, परिवारको मायाले औषधोपचार विधि । त्यसैले हिन्दु परम्परामा देवीलाई उच्च स्थानमा राखिने चलनले मलाई अचम्भित तुल्याउँदैन । 


दक्षिण एसियाली सभ्यताले देव होइन, देवीलाई विद्याकी खानीका रूपमा चित्रित गर्नुको कारण हुन सक्छ– परिवारमा बच्चाले आमाबाटै धेरै कुरा सिक्नु ! त्यसैगरी सरस्वतीलाई विद्याकी देवी भनी पूजा गरिन्छ । यो प्राकृतिक चेतनाले उत्पन्न गराएको सांस्कृतिक चेतना हो । प्रकृति नैतिक प्रशिक्षण, धैर्य, संवेदनाका पाठ सिकाउने पहिलो गुरुआमा हुन् । ‘हन्टर–ग्यादरर’कै अवधारणा हेर्ने हो भने पुरुषपक्ष सिकार खेल्न जाँदा बच्चासँग नजिक हुने भनेका तिनका आमा हुन् ।

०००
मैले आफ्नो पुस्तक ‘गडेसेज् अफ काठमान्डु भ्यालीः ग्रेस, रेज, नलेज’मा देवी स्थापना परम्परालाई पारिस्थितिक तथा नारीवादी दृष्टिकोणबाट केलाएको छु । पुस्तक हेर्दा कट्टर धार्मिक पक्षको वकालत गरेजस्तो देखिन्छ तर वास्तविकता फरक छ । पारिस्थितिक र नारीवादी चेतनाले समाजले देवीलाई हेर्ने दृष्टिकोणमा के–कस्ता प्रत्यक्ष–परोक्ष प्रभाव पर्छ भन्ने विषयमा पुस्तक केन्द्रित छ । देवी परम्परालाई विश्वका अन्य स्थानमा कसरी हेरिन्छ र त्यो दक्षिण एसियाका तुलनामा के–कति कारणले भिन्न छ भनी प्रस्तुत गर्ने जमर्को हो, ‘गडेसेज् अफ काठमान्डु’ । देवीहरूलाई लिएर राष्ट्रियता तथा जातीयताका डिस्कोर्समाथि पनि किताबमा चर्चा गरिएको छ । 

यस पुस्तकको सिक्वेलका रूपमा आउन लागेको मेरो अर्को पुस्तकमा मैले तीन देवीका प्रसंग उठाएको छु– बाराही, मातृका तथा महाविद्या देवी । काठमाडौंका विभिन्न दिशामा वाराहीका पीठ तथा मन्दिर छन् । उनलाई काठमाडाैंकी रक्षकका रूपमा चित्रण गर्ने गरिन्छ । भक्तपुरका सन्दर्भमा हेर्ने हो भने त्यहाँ चारै दिशामा वृत्ताकार परिधिमा वाराही देवीका पीठ छन् । त्यसभित्रको वृत्तमा तीनै पीठका मन्दिर छन् । यी सबका बीचमा त्रिपुरा सुन्दरी तथा दश महाविद्याको मन्दिर छ । 

सहर बुझ्न  मिथक र वास्तुकलाको अध्ययन आवश्यक छ । वास्तुकलाले हाम्रा सीप देखाउँछन् भने तीसँग सम्बन्धित मिथकले हाम्रा संस्कृति तथा सभ्यताको आधार । यसले सहरका मानिसको देवीप्रतिको झुकाव बुझ्न  मात्र मद्दत गर्दैन, हाम्रो संस्कृति कति विकसित छ भनी जान्नसमेत सहयोग गर्छ । वाराही मातृकामध्येकी एक हुन् । कला, सौन्दर्यशास्त्र, नाट्यशास्त्र अदिका सन्दर्भमा सबैले सम्झने भनेकै मातृकाहरूलाई हो ।

नेपालमा बसोवास गर्ने हिन्दू तथा बौद्ध धर्मावलम्बीहरू मातृकालाई आफ्ना  रक्षकका रूपमा पनि पूजा गर्छन् । अष्टमातृकाका विभिन्न पीठ तथा मन्दिर काठमाडौैं उपत्यकामा मात्र नभएर बाहिर पनि बनाइएका छन् । भक्तपुरको बाहिरी वृत्तका आठ दिशामा यिनका प्रतिमा स्थापित छन् । आठवटै दिशाबाट यिनले भक्तपुरको संरक्षण गरिरहेको मानि“दै आएको छ । दिक्पाल, लोकपाल तथा क्षेत्रपालका रूपमा यिनलाई हेरिने गरेको छ । अर्काथरी हुन्, दश महाविद्या देवी । मैले अध्ययन गरिरहेका यी तीनै प्रकारका देवी एकअर्कासँग सम्बन्धित छन् । उपत्यकामा विद्याकी देवीको पूजा गर्ने परम्परा सयाैँ वर्षअघिदेखिको हो, जुन सभ्यताले विद्याकी देवीलाई यति सम्मान दिन्छ, त्यो सभ्यता कति विकसित छ भनी त्यहीँबाट थाहा हुन्छ । 

सरस्वती मात्र विद्याकी देवी होइनन् । यो विषय हामीले बुझ्न जरुरी छ । त्यसो त दश महाविद्या मात्र पनि होइनन् । अन्य पनि छन् । तर, हामीले सरस्वती मात्र देख्यौँ । यी सबैले थरीथरीका ज्ञानको प्रतिनिधित्व गर्छन् । सभ्यताका क्रमागत उन्नतिको इतिहास हेर्ने हो भने धेरैजसो परम्परामा देवभन्दा देवी नै हाबी छन् । विद्याका देवीको अध्ययन गर्दै जाने क्रममा मैले धेरै विषय थाहा पाएँ । बगलामुखीको अनुहार सारसको जस्तो छ । तर, उनी विद्याकी देवी हुन् । जनावर वा चराकोजस्तो अनुहार भएकी देवीलाई किन विद्याकी देवीका रूपमा पूजा गर्ने ? यस्तो प्रश्न मेरा मनमा नआएको होइन ।

सहर बुझ्न मिथक र वास्तुकलाको अध्ययन आवश्यक छ । वास्तुकलाले हाम्रा सीप देखाउँछन् भने तीसँग सम्बन्धित मिथकले हाम्रा संस्कृति तथा सभ्यताको आधार । यसले सहरका मानिसको देवीप्रतिको झुकाव बुझ्न मात्र मद्दत गर्दैन, हाम्रो संस्कृति कति विकसित छ भनी जान्नसमेत सहयोग गर्छ ।

यसलाई नारीवादी चेतनासँग दाँजेर हेर्न सकिन्छ । कसैको पूजा उनको रूप राम्रो हुँदैमा गरिने होइन । त्यसो त राम्रो र नराम्रो भन्ने दृष्टिकोण पनि व्यक्तिपिच्छे फरक पर्ने कुरा हुन् । सारसको जस्तो अनुहार हुनुले हाम्रो पारिस्थितिक चेतना कति उच्च छ भन्ने पनि देखाउँछ । विद्याकी देवीको अध्ययन गर्दा मैले यही ‘लिबरल इकोलोजिकल थट’ अध्ययन गरेको हुँ । सामान्यतया सबैले सुन्दर भनी परिभाषित गर्ने देवी त प्रशस्त छन् । तीबारे थुप्रैले थुप्रै कुरा लेखेका पनि छन् । विद्याकी देवीबारे पनि लेखिएका छन् । तर, तुलनात्मक हिसाबले ती कम छन् । ‘तान्त्रिक भिजन्स अफ द डिभाइन फेमिनिन’ मा डेभिड किंग्सलेले यस विषयको मूलसम्म पुग्ने प्रयत्न गरेका छन् । 

तर, यति हुँदाहुँदै पनि हाम्रा संस्कृति र सभ्यतालाई रुढिवादी भन्ने मानिस नभएका होइनन् । कोही राक्षसजस्ता त कोही किरा–फट्याङ्ग्राजस्ता, कोही पशुजस्ता तथा त कोही के हो भनी निक्र्योल नै गर्न नसकिने प्राणीजस्ता कुरालाई हामी भगवान् भनी पुज्छौँ । केही ठूला संस्थागत धर्मका अनुयायीले समेत यिनलाई कुरीति भन्ने गरेको पाइन्छ । तर, यसलाई राम्ररी बुभ्mन सक्नेले हाम्रो चेतनाको स्तर पहिलेदेखि नै कति विकसित थियो भन्ने कुराको अनुमान सजिलै लगाउन सक्छ । 

हामी वायु तथा आगोलाई सम्मान दिन्छौँ । प्रकृतिका विभिन्न आयामको मान गर्छौँ । ती विशेषतालाई चित्रण गरेर यदि कुनै संस्कृतिले त्यसको देवत्वकरण गर्नेसम्मको सम्मान दिन्छ भने त्यो त धेरै विकसित संस्कृति हो । यस्तो संस्कृतिले धेरै कुरा निकै गम्भीर रूपमा बुझेको हुन्छ । हाम्रा संस्कृति तथा परम्परा निर्माण भएका जगमा समाज तथा प्रकृतिका विभिन्न आयाम छन् । ती सबैलाई सम्मानका साथ हेरिएको छ । यसलाई कसरी रुढिवादी भन्न मिल्छ ?

पूजापाठ गर्नु भनेको त्यस्ता चरित्रलाई सम्मान गर्नु हो । तिनको नाम राख्नु भनेको तिनलाई कुनै मानक परिचय दिनु हो । यो कुरा मलाई रोचक लाग्यो । र, थप अध्ययन गर्ने सोच लिएँ । मेरो आगामी पुस्तक यिनकै अध्ययनमा केन्द्रित छ । कतिका बारेमा त हामी अझै  अनभिज्ञ छौँ । म यसमा थप अध्ययन आवश्यक देख्छु । यी सबै पक्षलाई मिथकका रूपमा पनि चित्रित गरेको पाइन्छ ।

मिथकलाई कथाका रूपमा पनि बुझिन्छ, परम्पराका रूपमा पनि बुझिन्छ । तिलस्मी वा पारालौकिक तत्वका रूपमा पनि बुझिन्छ । त्यही मिथका कथा, घटना, चरित्र तथा देवीदेवतालाई जुन रूपमा अहिलेको समाजले हेरिरहेको छ, त्यसमा केही समस्या पनि देखा परेका छन् । धेरैले मिथका कुरालाई इतिहाससमेत मान्ने गरेका छन् । जस्तैः राम मिथक चरित्र हुन् । केवल कथाका पात्र हुन् । पुरातत्व शास्त्र वा इतिहासले उनको उपस्थिति सावित गर्दैन । तर, समाज भने उनलाई एक आदर्श चरित्रका रूपमा हेर्ने गर्छ । उनी साँच्चै जन्मेका थिए, उनको सुखी घरपरिवार थियो भनी धेरैले मान्ने पनि गरेका छन् । सीता पनि मिथक मात्र हुन् । तर, सीता साँच्चै थिइन् भनेर जब राजनीतिक डिस्कोर्स हुन्छन्, खास समस्या त्यहाँ देखापर्छ । 

मिथकलाई इतिहासका रूपमा हेरिन्छ । इतिहासलाई पनि मिथ बनाइन्छ । बुद्ध ऐतिहासिक मान्छे हुन्, तर उनीबारे पनि मिथक बनाइएको छ । जन्मनेबित्तिकै हिँड्न सुरु गरे, हिँड्नेबित्तिकै कमलका सात फूल  फुले भन्नेजस्ता मनगढन्ते किंवदन्ती निर्माण गरिन्छन् । भारतमा त्यही समस्या भइरहेको छ । राम भारतमा जन्मिएका हुन् र उनका थुप्रै मन्दिर बनाउनुपर्छ भन्नेजस्ता कुरा हुन्छन् । राम जन्मेको प्रमाण खोज्न जाँदा रिसाउँछन् । केहीले त आक्रमण नै पनि गर्छन् । अन्तर्राष्ट्रिय तत्वको संज्ञासमेत दिन्छन् । हामीले देवता भनी पूजा गर्ने चरित्रलाई इतिहासका रूपमा लिँदा कुनै समस्या छैन । तर, इतिहासका पात्रका रूपमा लिँदा पनि एकदम ‘कन्क्रिट’ रूपमा चित्रण गर्दा त्यहाँ ‘मास्कुलिनिटी’को सिर्जना हुन्छ । राम र हनुमानलाई लिएर यी हाम्रा ‘मास्कुलिन’ भगवान् हुन्, यिनले गर्न नसक्ने केही पनि छैन, पहिले पनि गरेका थिए भन्दा त्यसले विवादको रूप पक्कै लिन्छ । 

महाभारतका भीमका बारेमा पनि त्यस्तै कुरा छन् । धार्मिक तथा काल्पनिक कुरालाई ऐतिहासिकीकरण गर्न नहुने होइन । तर, कतिपय व्यक्ति त्यतिमा मात्र रोकिँदैनन् । भारतमा यस्ता विमर्शले कहिलेकाहीँ आक्रामकताको बाटो समात्ने गरेको पनि देखिएको छ । यस्ता समस्या नेपालमा भने त्यति स्पष्ट रूपले देखिइसकेका छैनन् । ‘यी हाम्रा देवता हुन् । यी देवता हाम्रो भूमिमा जन्मिएका थिए’ जस्ता कुरा त सधैँ भइरहेकै हुन्छन् । हुँदाहुँदा देवीदेवतालाई जातमा लगेर जोड्ने गरेको पनि पाइन्छ । ‘यी तल्ला जातका देवता हुन्, हिन्दू मानक परम्परामा यिनको स्थान छैन, यी दलितका देवता हुन्’ भन्ने पनि छन् । कुनै व्यक्तिविशेषले पूजा गर्ने देवताका आधारमा उसको जातीय वर्गीकरण गर्ने चलन पनि हाम्रो समाजमा व्याप्त छ । यसले राष्ट्रियतालाई त छोएको थियो नै, जातीयता पनि यसबाट अछुतो छैन । देवतालाई लिएर ‘आइडेन्टिटी’ का कुरा अपाच्य भइरहेका वेला ‘एग्रेसन’ का समेत कुरा आउनु सानो समस्या होइन । देवदेवीका कुरा गर्दा कला, मिथक र संस्कृतिको कुरा पनि गर्न सकिन्छ, समाजवादी विवेचना पनि गर्न सकिन्छ । तर, यस्ता विमर्शमा सबै कुरा सकारात्मक नै आउँछन् भन्ने पनि छैन । 

हामी चण्डीपाठको कुरा गरौँ । दुर्गाले महिषासुर तथा अन्य राक्षसको संहार गरेको प्रसंग हामी सबैले सुनेका छौँ । एउटा घटना यस्तो पनि छ— दुर्गाले असुरहरूसँग लड्दा एक आमा चरित्रको रूप धारण गरिन् । ममताले जस्तोसुकै नकारात्मक शक्तिलाई पनि परास्त पार्न सक्छ भनी उनले चालेको यो कदम विफल भइदियो किनभने असुरहरू छलकपटयुक्त रणनीतिमा निकै सिद्धहस्त थिए । यस कथालाई युद्धको रणनीतिका नमुनाका रूपमा पनि हेर्न आवश्यक छ । जति गर्दा पनि नभएपछि दुर्गाले आप्mना शरीरबाट नकारात्मक शक्ति पैदा गरिन् । मातृकालगायत विभिन्न प्रकारका देवी उनको शरीरबाट निस्किए । केही रगत चुस्ने देवी थिए भने केहीले कंकाल धारण गरेका थिए । यसले ‘ल अफ सिमिलिया’ अर्थात् उस्ताउस्तैका नियमलाई जन्म दियो । जस्तो आक्रमण, त्यस्तै प्रत्याक्रमण पनि हुने भयो । महिषासुर तथा अन्य असुरको संहार देवीले यसरी गरेकी हुन् भन्ने पढ्न–सुन्नमा आउने गरेका छन् । 

यी देवीहरूसँग सकारात्मक पक्ष त थिए नै, नकारात्मक गुणको पनि कमी भने थिएन । समाजले सजिलै पूजा तथा सम्मान नगर्ने भन्न पनि सक्थ्यो, थुप्रै आधार पनि थिए । त्यसैले पनि हाम्रो परम्परा गजबको छ । परम्पराका कोही सिर्जनाकार हुँदैनन् । नकारात्मक ऊर्जाले समेत ओतप्रोत त्यस्ता देवीलाई कला तथा सौन्दर्यका देवीका रूपमा धेरैले सीमित राख्न खोजे । कला र साहित्यका विधामा यिनलाई उभ्याइयो भने मान्छेले एक प्रकारको सम्मान दिन्छन् भनेर यिनलाई त्यता ढालियो । नकारात्मक ऊर्जाले सम्मान पाउनै हुँदैन भन्ने पनि होइन । यस्तो ऊर्जाको अस्तित्व पनि सत्य नै त हो । 

महाविद्यामध्येकी एक छिन्नमस्तालाई नै हेरौँ । उनका दुई सेवक डाकिनी र वर्णिनीले एक दिन भोक लाग्यो भनी कराउँदा आफ्नै घाँटी काटेर त्यहाँबाट आएको रगत खान दिइन् । उनका चित्र वा मूर्ति नै हेर्ने हो भने पनि उनले टाउको काटेको र डाकिनी र वर्णिनीले छेउमा बसी रगतको धार दुई दिशाबाट थापिरहेको देख्न सकिन्छ । एकातिर अन्नपूर्णा देवी पनि छिन्, उनले खान दिन्छिन् । यसले ज्ञानलाई वितरित ऊर्जाका रूपमा परिभाषित गर्न पनि सहयोग गर्छ ।

टाउको काटेर रगत निकाल्नमा मात्र छिन्नमस्तालाई आफूलाई सीमित राखेको देखिँदैन । त्यस घटनापछि उनले शिवसँग सम्भोग गरेको बताइन्छ । सुरुमा त उनले टाउको काटेर रगत दिइन्, शरीरका विकार निस्किएकाले असीम आनन्दको अनुभूति गरिन् । अनि त्यही खुसीले उनलाई सम्भोग गर्नतर्फ  डो-यायो । यौनक्रियालाई कसरी चरम सुखसँग दाँजेर हेर्ने गरिन्छ भन्ने प्रश्नको जवाफ छिन्नमस्ताको कथाले दिन्छ । 

हामीमाझ परिचित अर्को उदाहरण हो, काठमाडौँका विभिन्न स्थानमा देखिने महाकालका मन्दिर तथा मूर्ति । बज्रयोगिनीका पनि डरलाग्दा मूर्ति छन् । तर, ती करुणाका पनि देवी हुन् । महाकालको बिकराल मूर्तिमा पनि हात भने मुटुमा रहेको हुन्छ । बिकरालभित्र त्रास मात्र होइन, सौन्दर्य पनि छ । नेपालमा मात्र होइन, दक्षिण एसियाका अन्य राष्ट्रमा समेत बिकरालता र सौन्दर्य मिलेर बसेका छन् । केही कुरा बिकराल हुँदाहुँदै पनि ज्ञान र करुणाको प्रतिनिधित्व गर्छन् । बिकराल हुँदैमा नराम्रो र सुन्दर हुँदैमा केही कुरा राम्रो हुन्छ गलत धारणाका लागि यी कडा जवाफ हुन् । बिकराल रूपकी कालीलाई माताका रूपमा लिइन्छ, उनको पूजा गरिन्छ, उनको सम्मानमा विभिन्न चाडसमेत मनाइन्छ । बिकरालमा सौन्दर्य र सौन्दर्यमा बिकराल कसरी अन्तर्निहित भएर बसेका छन् भन्ने थाहा पाउन तन्त्र परम्पराको अध्ययन गर्नुपर्ने देखिन्छ । त्यहीँबाट यसको जवाफ आउ“छ । म अहिले यसमा थप अध्ययन गर्दै छु ।

हाम्रा हजारौँ वर्ष पुराना योग र तन्त्रका परम्परा छन् । यिनको अध्ययन गर्दा हिन्दू धर्मका मात्र होइन, बुद्ध धर्मका पनि देवीहरूबारे थाहा पाउन सकिन्छ । हेर्दा डरलाग्दा देखिने देवीका हातमा पनि पुस्तक भने देखिन्छ । यो समिश्रण तथा विरोधाभास निकै रोचक छ । यसको कारण जान्न भने गहन अनुसन्धान नै गर्नुपर्छ । केही न केही कारण त पक्कै छन् भन्ने थाहा छ तर किन छन् भन्नेमा अध्ययन गर्न खोजिरहेको छु । सारसजस्तो अनुहार हुँदाहुँदै पनि विद्याकी देवी हुनु, सुँगुरजस्तो अनुहार भए पनि संरक्षण गर्ने सामथ्र्य राख्नुले नै यस विषयलाई रोचक बनाएका हुन् । यी विरोधाभास नै नेपाली कला र मिथका विशेषता हुन् । 
कुराकानी : विभु लुइटेल