• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
बेनुका राई
२०७६ फाल्गुण १० शनिबार ०७:०४:००
फिल्म

दयाको फिल्म हेर्दा लाज लाग्छ

सम्बन्ध

२०७६ फाल्गुण १० शनिबार ०७:०४:००
बेनुका राई

दया (दयाहाङ राई) मभन्दा अलि ढिला आए काठमाडौं । म भने आएर संगीतमा केही काम गरिसकेकी थिएँ । संगीत क्षेत्रमा म अलि–अलि भए पनि चिनिन थालेकी थिएँ । मेरो एल्बम ‘पर्खाइ’ आइसकेको थियो । ‘आऊ न ठूले, फर्की आऊ’ गीतलाई स्रोताले मन पराइदिनुभएको थियो । केही कन्सर्ट भ्याइसकेकी थिएँ । ०५९ सालमा रेडियो नेपालमा पहिलोपटक प्रतिस्पर्धा गर्दा नै शीर्ष तीनमा परेर पुरस्कार पाएकी थिएँ । त्यो वेला मलाई बधाई दिन दया पनि आइपुगेका थिए । 

अहिले पनि म त्यो पहिलो भेट सम्झन्छु । दया मेरा साथीहरूसँग आएका थिए । त्यो वेला उनले उद्घोषण पनि गर्थे । गीत लेख्थे । साहित्यिक कार्यक्रमहरू धाइरहन्थे । दयाले मलाई प्रेम प्रस्ताव राखे । मैले स्वीकार गरेँ । उनको प्रस्ताव म स्विकार्दिनँ पनि थिएँ होला । तर, संगतले नजिक बनायो । म संगीतमा लागिरहेको मान्छे । उनलाई पनि संगीतमा औधि रुचि रहेछ । गीतचाहिँ गाउँदैनथे, उनको स्वर मीठो थिएन । तर, गीतको शब्द, संगीत र स्वरबारे उसलाई थाहा हुन्थ्यो । सुरेशकुमारको त हरेक गीत कण्ठ थियो उनलाई । म गीत गाउने, उनी गीतमा चासो राख्ने । हामीबीच बढीजसो गीत–संगीतबारे नै कुरा हुन्थ्यो । मैले पहिलो एल्बम गर्दा उनले खुब सल्लाह दिए, सहयोग गरे । मलाईजस्तो गीत मन पथ्र्यो, उनलाई पनि त्यस्तै मन पर्दोरहेछ । यही कारण पनि उनको सल्लाहलाई नकार्न सकिनँ । 

पहिलो एल्बम ०६२ सालमा ल्याएँ, ‘पर्खाइ’ । प्रेम सम्बन्धमा रहेपछि हाम्रो डेटिङ स्पट थियो– सहरका लाइब्रेरी, किताब विमोचनका कार्यक्रम । कुनै पार्क या अन्त कतै गएनौँ । सायद फुर्सद र रुचि पनि थिएन, अन्त जान । उनी किताब खुब पढ्ने । मलाई पनि साहित्यप्रति रुचि थियो । कहिलेकाहीँ फिल्म हेर्न पनि गयौँ । ०६५ सालमा विवाह ग¥यौँ । विवाह आफूले बुझेको र आफूलाई बुझेको मान्छेसँग नै गर्ने हो । हामी प्रेम सम्बन्धमा बसेको पनि ६ वर्ष भइसकेको थियो ।

सामान्यतया २५/२६ वर्षको भएपछि परिवारबाट विवाहका लागि दबाब आउँछ । दयालाई घरमा भनेछन्, ‘तैँले खोजेको छस् भने ल्या, नत्र हामी खोजिदिन्छौँ ।’ म त झनै छोरी । मेरो घरबाट त लगातार दबाब आइरहन्थ्यो ।  त्यो वेला म चलिसकेकी गायिका थिएँ । दुवैलाई घरबाट दबाब आएपछि विवाह त गर्नैपर्ने भयो । मैले दयालाई भनेको कुरा सम्झँदा अहिले हाँसो उठ्छ, लाज पनि लाग्छ । विवाहअघि मैले दयालाई भनेकी थिएँ, ‘अब त मेरा गीत चल्छन् । गीत चलेपछि प्रोगाममा हिँडिरहनुपर्छ । तिमीलाई समय दिन पनि सक्दिनँ होला । तिम्रो परिवारले कसरी बुझ्ला ? नमान्ला पनि ।’ 

‘तिमी गीत गाउने मान्छे हो । आमाबाउले मान्छन् ।’ उनले भनेका थिए । अहिले त विवाह भएको पनि ११ वर्ष भयो । यसबीचमा धेरै परिवर्तन भए । मैले उनलाई जे भनेकी थिएँ, अहिले ठीक विपरीत भएको छ । उनी व्यस्त छन्, यताउता गइरहन्छन् । म घरतिरै हुन्छु । कहिलेकाहीँ उनलाई मैले त्यो वेला भनेको कुरा सम्झाउँछु । जिस्काउँछु पनि । उनी हाँस्छन् । मलाई पनि हाँसो उठ्छ । त्यो वेला कति इनोसेन्टली भनेकी थिएँ । त्यो वेला गीत–संगीतमा लाग्छु नै भनेर लागेकी भए अहिले हिँड्नु पनि पथ्र्यो होला । तर म ब्याक भएँ ।

सबै कुरा आफ्नो अनुकूलतामा मात्र पनि नचल्ने रहेछ । मैले सांगीतिक यात्रालाई निरन्तरता दिन सकिनँ । तर, यसमा दुःख छैन । तर संगीतमै मास्टर्स गरेँ । अहिले पनि संगीत नै पढाइरहेकी छु । सिकिरहेकी छु । मैले संगीत एकेडेमिक हिसाबले पढ्नुमा संगीत अध्ययनप्रतिको रुचि हो । एल्बम ल्याएपछि स्टेज पाइरहेकी थिएँ । बीचमा पढाइलाई अलि डिस्टर्ब भयो । कार्यक्रममा जान कम गरेर ब्याचलर सकाएँ । पछि बच्चा भएपछि मास्टर्स सकाएँ । दया पनि रंगमञ्च र सिने क्षेत्रमा संघर्ष गरिरहेका थिए । मैले कम्प्रोमाइज गरेँ । त्यो मैले गर्नु पनि पथ्र्यो । कम्प्रोमाइजले मेरो क्षमतामा ह्रास आएको या म पछि परेजस्तो लाग्दैन । 

यदि दया अफिस गर्ने, १०–५ काम गर्ने भएको भए म गीत–संगीतमा पूरा समय दिन्थेँ होला । तर, उनको कामको ठेगान हुन्न । कहिले ६ महिनामा आउँछन्, कहिले तीन महिनामा । उनको पेसा नै त्यस्तै छ । कति समाचार पनि आए, दया यस्तो, बेनुका यस्तो भनेर । अनि दुवैजना बाहिर जाने भएको भए घर कसरी चल्थ्यो होला र ! सबैभन्दा सुन्दर कुरा त खुसी हो, जो घर परिवार र सम्बन्धसँग जोडिएको हुन्छ । 

०६५ सालमा विवाह गर्दाताकाको दया र अहिलेको दयामा धेरै परिवर्तन छ । अहिले व्यस्त छन् । स्टार भएका छन् । सबैले चिन्छन् । तर, मेरा लागि त्यो वेलाको दया र अहिलेको दयामा कुनै परिवर्तन छैन । उनको आनीबानीमा कत्ति पनि परिवर्तन भएको छैन । फरक यति मात्र छ कि पहिला कमले चिन्थे, अहिले धेरैले चिन्छन् । भनिन्छ, श्रीमान्लाई महिलाहरू शंकाको नजरले हेर्छन् । मैले पनि गर्नुपर्ने हो । तर, शंका केमा गर्ने हो र ! शंका गर्ने ठाउँ नै उनी कहिल्यै दिँदैनन् । न कुनै परिवर्तन नै भएको छ । ङिच्च हाँस्छन् मात्र । बाहिर जतिसुकै चर्चा–परिचर्चा भए पनि घरमा आउँदा सोझो र पुरानो दया नै भएर आउँछन् । व्यवहारमा कुनै फरक छैन । परिवारका सबै सदस्यसँग उनी मिलनसार व्यवहार गर्छन् ।

साथीहरू, भन्छन्, ‘तेरो बूढो यस्तो मान्छे हो, ढुक्कले नबस् ।’ आफन्तहरू भन्छन्, ‘छोरा जहिल्यै हिँड्छ, अलि–अलि सोधीखोजी गर्नुपर्छ ।’ माइतीतिरका पनि भनिरहन्छन्, ‘ढुक्कले नबस् है । के–कसो हो, चियोचर्चा गर्नुपर्छ । आँखा चिम्लेर बस्नुहुन्न ।’ त्यस्तो कुराले मलाई रिस उठ्छ । दयाले सकेर काम गरिरहेको छ कि नसकेर गरिरहेको छ, त्यो मलाई थाहा छ । मैले सात वर्ष चिनेर विवाह गरेकी हुँ । 

बाहिर जतिसुकै चर्चा भए पनि घरमा आउँदा उनी उही सोझो र पुरानो दया बनेर आउँछन् । व्यवहारमा कुनै फरक हुँदैन ।

उनी कामलाई एकदम धेरै माया गर्छन् । कुनै समय त ज्वरो आइरहेको हुन्छ, तर काममा भने जसरी पनि समयमा पुग्छन् । अलि–अलि घमन्ड पनि देखाउँथे होला, तर राति जति बजे सुते पनि बिहान ६ बजे सुटिङका लागि भ्यान आउँदा तयार भएर जान्छन् । दयाको प्रायः फिल्म प्रिमियरमा हेर्छु । केही समय अघि आएको ‘कबड्डी कबड्डी कबड्डी’ भने छोरा बिरामी भएकाले पछि हलमा हेर्न गएँ ।  दया नाच्न जान्दैनन् । तर, जब नाच्छन्, दर्शकहरू हुटिङ गर्छन् । त्यो दयाले पाएको माया हो ।  दयाको प्रायः फिल्म हेर्दा सुरुमा चाहिँ मलाई लाज लाग्छ, आफ्नो मान्छे भएकाले होला । बिस्तारै फिल्म चल्दै गएपछि उनले यो कुरामा सुधार गरेको भए हुने, यो सिनमा यसो गरेको भए हुने भन्ने लाग्छ । फिल्ममा डुब्दै गएपछि भने उनी मेरो श्रीमान् हुन् भन्ने नै बिर्सन्छु । 

दयाको फिल्म हेर्दै गर्दा उनको दुःखप्रति सहानुभूति पनि जाग्छ । ‘लुट’मा सौगात मल्लसँगको बधशालाको फाइटको सिनमा उनले हाफपाइन्ट लगाएका थिए । राँगाको मासुले हानाहान गर्दा कति दिन त मासु नै खाएनन् रे । घरमा आउँदा उनको पाखुरामा चिरचिर घाउ भएको थियो । त्यस्तो देख्दाचाहिँ अलि इमोसनल हुन्छु । अस्ति मुस्ताङको सुटिङमा पनि गालाको छाला डढेको थियो । त्यो फिल्ममा पनि देखिन्छ । त्यस्तो कुराले माया लाग्छ । उनी स्टार हुँ भनेर बाहिर कहिल्यै देखाउँदैनन् । त्यस्तै नै भइरहून् भन्ने कामना छ ।  

(गायिका राईसँग नवीन प्यासीले गरेको कुराकानीमा आधारित)