• वि.सं २०८१ असोज २१ सोमबार
  • Monday, 07 October, 2024
राजु आचार्य
२०७६ फाल्गुण १० शनिबार ०७:२५:००
पर्यावरण

ध्वाँसे बिरालोको नालीबेली

प्रकृति

२०७६ फाल्गुण १० शनिबार ०७:२५:००
राजु आचार्य

०४५ सालमा चितुवाजस्तो देखिने शरीरभरि कालो धब्बा भएको जन्तु पोखरानजिकै मृत अवस्थामा भेटियो । वनविज्ञान अध्ययन संस्थान पोखरामा प्राध्यापन गराउने डा. जयनारायण मेहताले सो जन्तुको छाला हामी विद्यार्थीलाई देखाएर चिन्न लगाए । हामीले त्यो छाला कुन जन्तुको भनेर चिन्न सकेनौँ । विद्यार्थी मात्र होइन, अनुसन्धानकर्मी पनि झुक्किनेखालको थियो त्यो जन्तु । 

पछि पत्ता लाग्यो, वन्यजन्तु ध्वाँसे चितुवा रहेछ । डा. मेहताले भनेका थिए, ‘यो जीव तल्लो क्षेत्रमा बस्छ । पोखरामा यो जीव नदेखिनुपर्ने हो । यता बहुलाएर आएको हो या वियोग परेको हुन सक्छ ।’ प्रवीणता प्रमाणपत्र तहमा पढ्ने हामीले उनको विश्वास ग-यौँ । 

घटनाको करिब ३० वर्षपछि रारा राष्ट्रिय निकुञ्ज परिसरमा ध्वाँसे चितुवाको छाला राखिएको खबर आयो । ध्वाँसे चितुवाको अनुसन्धान टोलीका नेतृत्वकर्ता तथा युवा अनुसन्धानकर्मी यादव घिमिरेले सो छालाको फोटो मगाए । पछि थाहा भयो सो छाला ध्वाँसे चितुवाको नभएर चरीबाघको थियो । घिमिरेको अनुसन्धान समूहले सन् २०११ देखि २०१४ सम्म कास्कीका कहलिएका सिकारीलाई सो प्रजातिको फोटो देखाउँदा कसैले पनि चिनेनन् ।                

यो कस्तो बिरालो ?
नेपालमा जम्मा १२ थरीका वन बिराला पाइन्छन्, जुन विश्वभरिको झन्डै ३० प्रतिशत हुन्छ । वैज्ञानिकहरूले अरू बिराला प्रजातिजस्तै चरीबाघ, ध्वाँसेचितुवा, हिउँचितुवा, चिता आदि पनि घर बिरालोसँग नजिक छन् भन्ने प्रमाण जुटाइसकेका छन् । हालसम्म ध्वाँसे चितुवा संसारभर १३ देशमा अभिलेख गरिएको छ ।  ध्वाँसे चितुवा यसको शरीरमा भएको ध्वाँसाजस्ता पाटाका कारणले एकदम आकर्षक देखिन्छ । यसका छोटा खुट्टा, चौडा पन्जा र लामो पुच्छरका कारण सजिलै रूखमा चढ्न र त्यहीँ खेल्न सक्छ । यसको आहारा प्रजाति भनेको बाँदर, मृग, लोखर्के तथा चराहरू हुन् । बाघभन्दा करिब १० गुना सानो भए पनि यसका दाह्रा बाघबराबर हुन्छन् ।  यसले एकदेखि पाँचवटासम्म बच्चा पाउने गर्दछन् । यसको पुच्छर र शरीरको लम्बाई बराबर हुन्छ । यिनीहरूको तौल २२ केजीसम्म अभिलेख गरिएको छ ।  

नेपालमा जम्मा १२ थरीका वन बिरालाका प्रजाति पाइन्छन्, जुन विश्वभरिको झन्डै ३० प्रतिशत हुन्छ

महत्व
यो रूखमा बाँदरझैँ चढ्ने, उफ्रने तथा झुन्डिने गर्न सक्छ । बाँदरको संख्या नियन्त्रणमा यसलाई सहयोगी मानिन्छ । यो स्तनधारी हो । वन विनाश, डढेलो, चोरीसिकारी आदि कारणले अप्ठेरोमा पर्दै गएको छ । यिनलाई हेर्न र फोटो खिच्न मानिसहरू लालायित हुन्छन् । बोर्नियो र थाइल्यान्डमा यिनको फोटो खिच्नका लागि मानिसले लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन् ।

 हालसम्मका खोजहरू 
नेपालमा सबैभन्दा पहिला सन् १८५३ मा काठमाडौंमा छालाको अभिलेख गरिएको थियो । प्राध्यापक करणबहादुर साहले संखुवासभा जिल्लामा सन् १९९१ मा छाला भेटेका थिए । सन् १९९४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी हुन लागेको अवस्थामा तीनवटा ध्वाँसे चितुवाका बच्चा बरामद गरिएको थियो ।  सन् २०१० मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा विष्णु पाण्डेको नेतृत्वमा गरिएको अध्ययनले शिवपुरी क्षेत्रमा सबैभन्दा पहिला स्वचालित क्यामरामा यसलाई पारेको थियो । सन् २०१४ र ०१५ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रयोग गरिएको स्वचालित क्यामेरामा पनि यिनीहरू परेका थिए । दुई वर्षअघि ध्वाँसे चितुवा अनुसन्धानकर्मी यादव घिमिरेद्वारा लेखिएको लेखमा ३२ वटा स्थानमा प्रत्यक्ष/अप्रत्यक्ष यिनको उपस्थितिको उल्लेख गरिएको छ । 

संरक्षणको प्रयास 
नेपालमा यो प्रजातिलाई संकटापन्न सूचीमा राखिएको छ । नेपाल सरकारले यो प्रजातिलाई संरक्षित प्रजातिमा सूचीकृत गरेको छ । यसलाई मारे, घाइते बनाए वा यिनको अंगको व्यापार गरेमा पाँच लाख देखि १० लाखसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । नेपालमा स्थापना भएका संरक्षण क्षेत्रमा (करिब २४ प्रतिशत) अन्य जनावरसँगै यिनको पनि संरक्षण हुँदै आएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकाले आफ्नो स्थानीय जनावरका रूपमा यसलाई घोषणा गरेको छ । ‘यिनको संरक्षणका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नेछ’ भनेर हालै गाउँपालिकाको बैठकमा अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले जानकारी गराए । 

यिनको संरक्षणका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत सिक्लेस र ताङतिङमा छिट्टै संरक्षण परियोजना सञ्चालन हुँदै छ । लाङटाङ राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र र शिवपुरीमा यिनको अध्ययन गरिएको छ । संसारमै पहिलोपटक यिनको घाँटीमा रेडियो कलर लगाएर चितवनमा अध्ययन थालिएको थियो । अहिलेसम्म यो नेपालको काठमाडौं, कास्की, लमजुङ, गोरखा, रसुवा, ताप्लेजुङ, संखुवासभा, सुनसरी तथा पर्सा जिल्लाबाट अभिलेख भएको छ ।

केही रमाइला कुराहरू 
-रूखका टोड्कामा बस्ने भएकाले चितवनका उत्तरी भागमा यसलाई टोड्के बाघ भनिन्छ ।


-नेपालमा यो प्रजातिको पहिलोपटक तस्बिर फोटोग्राफर उज्जल उपाध्यायले खिचेका छन् । 


-विश्वभर यिनको तस्बिर बिरलै खिचिएका छन् ।


-नेपालको रातो सूचीमा यो प्रजातिलाई संकटापन्न समूहमा राखिएको छ ।  


-यो प्रजातिले भुइँमा भन्दा रूखमा धेरै समय बिताउने गर्दछ, यो जाति राम्रो पौडीबाज पनि हो ।


-यसको दुइटा प्रजातिहरू अभिलेख गरिएको छ । नेपालसहित एसियामा पाउने ‘ध्वाँसे चितुवा’ र बोर्नियो तथा सुमात्रा क्षेत्रमा पाउने ‘सुन्डा ध्वाँसे चितुवा’ ।


-ताइवानबाट ध्वाँसे चितुवा लोप भइसकेको छ । 


-यिनीहरू चिडियाखानामा १७ वर्षसम्म बाँचेको अभिलेख छ । प्राकृतिक वासस्थानमा ८÷१० वर्ष बाँच्ने अनुमान गरिन्छ ।

 
-पोथीभन्दा भालेको तौल बढी हुने गर्छ ।

-यिनीहरू २० देखि ५० वर्ग किलोमिटरसम्मको क्षेत्रमा विचरण गर्ने गर्छन् । 


-करिब ३ महिना गर्भाधारण गरिसकेपछि धेरैजसोले २ वटा बच्चा जन्माउने गर्छन् । 


-चीनमा यसलाई पुदिना बिरालो र मलेसियामा रूख बाघसमेत भनिन्छ । 


-नेपालभरि यिनको संख्या करिब १ सयभन्दा कम रहेको अनुमान छ ।


-सन् १९८० को दशकमा नेपालबाट यो प्रजाति लोप भएको अनुमान गरिन्थ्यो । 


-अन्नपूर्ण संरक्षण क्षेत्रको भुजुङदेखि ताङतीङसम्म कम्तीमा ४ वटा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ ।

 प्रजातिहरूको जानकारी समयअनुसार परिवर्तन भइरहन्छन् । अहिले यो प्रजाति ३८२४ मिटरसम्म भेटिएको छ । ३० वर्षअगाडि वनविज्ञान अध्ययन संस्थामा पढिएको त्यो जानकारी अपुरो रहेछ भनेर बल्ल थाहा हुँदै छ । अहिलेका जानकारी पनि अबका ३० वर्षमा त्यस्तै नहोला भन्न सकिन्न ।