• वि.सं २०७७ फाल्गुण २३ आइतबार
  • Sunday, 07 March, 2021
वैरागी काइँला
२०७६ फाल्गुण १० शनिबार ०८:५०:००
साहित्य

भाषा मर्‍यो भने !

भाषा मर्दा एउटा जाति मर्छ, जातिसँगै एउटा सम्पदा मर्छ

२०७६ फाल्गुण १० शनिबार ०८:५०:००
वैरागी काइँला

सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस

हरेक वर्ष फेब्रुअरी २१ मा ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस’ मनाइन्छ । सन् २००० मा संयुक्त राष्ट्र संघले मातृभाषालाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेपछि नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाउन थालियो । यही सन्दर्भमा ‘झन् नयाँ’ले मातृभाषाबारे केही आलेखहरू प्रस्तुत गरेको छ :
 

भाषा हो सभ्यता हाम्रो 
सारा उदय उन्नति 
(बालकृष्ण सम)

भाषा अर्थात् मातृभाषाका लागि जीवनलाई बलिदान दिने महान् आत्माहरू सबै संसारको समुदायमा हुन्छन् । लिम्बू जाति र भाषाकै सन्दर्भमा पनि तेअङ्सी सिरिजंगा (सन् १७०४–१७४१) मातृभाषा र लिपि प्रचारकै क्रममा राज्यसत्ताबाट प्रताडित भएर सहिद भएका हुन् । यसबाट मातृभाषाको महत्व बुझ्न सकिन्छ । हिजोअस्तिकै (सन्) कुरा हो, ढाका विश्वविद्यालयका विद्यार्थीले मातृभाषाका लागि जीवन बलिदान दिएको फरबरी २१ का दिन । यही दिनको सम्मानमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन थालिएको छ । हुन पनि भाषा कुनै पनि समुदायको पहिचान हो, प्राण हो ।राणाकालीन समयका त कुरै नगरौँ, सात सालको क्रान्तिले ल्याएको प्रजातान्त्रिक समयमा पनि एक देश, एक भाषाको नीतिले नेपालमा बोलिने धेरै मातृभाषा लोप हुन पुगे र धेरै मातृभाषा संकटग्रस्ट छन् ।

मातृभाषा संकटग्रस्त भएपछि यसले वहन गरेर ल्याएको सभ्यता संस्कृति सबै लोपको अवस्थामा पुग्ने नै भए र पुगे पनि । यसरी पहिचान नै लोप हुन थालेपछि विविधताले युक्त नेपालमा विविध जातले पहिचान जोगाउने संगठित अभियान र आन्दोलन थाले । यस्तो संगठित आन्दोलन निरंकुश पञ्चायतकालीन नेपालमा राजधानी काठमाडौं उपत्यकमा सुरु भएको नेवार मातृभाषाभाषीको मंकाखल (विं सं.२०२२ साल) अभियान सशक्त उदाहरण हो ।

भाषा अर्थात् मातृभाषा 
यसरी निरंकुश पञ्चायतकालमा पद्मरत्न तुलाधरलगायतले सुरु गरेको  मातृभाषाको आन्दोलन बिस्तारै देशव्यापी हुन पुग्यो । मंकाखलले नेवार मातृभाषासँगै नेवारी संस्कृति र सभ्यताको संरक्षण र संवद्र्धधनलाई पनि अगाडि बढायो । मंकाखलले जस्तै अन्य विभिन्न जातिगत संस्थाले पनि संस्थाहरू निर्माण गरेर मातृभाषाको प्रवद्र्धधनमा लागि परे भन्दा हुन्छ ।सुदूर पूर्वतिर लिम्बू र राई तथा मध्यपहाडी भूभागतिर तामाङले संस्थाहरू निर्माण गरेर पहिचान जोगाउन मातृभाषा आन्दोलन सुरु गरेको यथार्थ हो । यसरी आआफ्ना जातिको संस्कृति, धर्म, भाषा, साहित्य संकटमा परेको चेतना विस्तार भयो । 

हुन त संसारैभरि नै आआफ्ना जातिको जरा खोज्ने समय पनि थियो त्यो । हामी कहाँबाट आयौँ, कहाँ र कहिले उत्पन्न भयौँ, किन आज नेपाली भयौँ भनेर सोच्ने र जरा खोज्ने अवस्था नेपालमा पनि आइसकेको थियो । ०४६/०४७ को आन्दोलनपछि त जातीय चेतना, आफ्नो भाषाप्रतिको जागरुकता, वेशभूषाप्रति चासो सतहमाथि नै देखा परेर मुखरित भयो ।
नेपालका मातृभाषाहरूको दुरावस्थाका कारण मातृभाषीहरू आफँैले अनुभूत र बोध गरे । मातृभाषाको दुरावस्थाको कारण राज्य, सरकार, नेपाली भाषाको हैकम त थियो नै मातृभाषीको उदासीनता हो भन्ने पनि बुझे । 

सात सालपछिकै कुरा गर्दा पनि राजाको निरंकुशता र निर्दलीय पञ्चायती व्यवस्थाको विरोधको सन्दर्भमा मातृभाषा आन्दोलनले पाउनुपर्ने प्राथमिकता पाएन । हो, ०४६ को जनआन्दोलनबाट बहुदलीय संसदीय व्यवस्था पुनस्र्थापना भएपछि विभिन्न जातजाति आआफ्नो मुद्दा लिएर अगाडि आए । मान्छेको पहिचान लुगाफाटो र खानपानले मात्रै नभई भाषा पनि हो भन्ने बुझे । त्यसैबाट पहिचानको राजनीतिले गति लियो पनि ।

मातृभाषाको पुनरोत्थान गर्ने भन्दै ०४६ को जनआन्दोलनपछि आदिवासी जनजाति लागे । जनजातिहरूको महासंघ नै खुल्यो । त्यसपछि विभिन्न जातीय संगठन सतहमा देखिए । ती संगठनको काम जातीय अस्तित्व संकटमा परेको आधारभूत कारणलाई अगाडि ल्याउनु थियो र निराकरणका लागि लड्नु थियोे । यसरी मातृभाषा आन्दोलनको सबैभन्दा महत्वपूर्ण उपलब्धि पहिचानको राजनीति भयो । तर पनि मातृभाषा संकटग्रस्त हुनुका कारण राज्यको एकभाषिक नीति, असहिष्णुता र असंवेदनशीलता मात्र थिएन, मातृभाषीको विवशता र उदासीनता पनि हो । एकातिर राज्यको एकभाषिक नीति र अर्कोतिर मातृभाषीले मातृभाषा बोल्न छाड्दै जानुजस्ता कारणले मातृभाषा संकटग्रस्त हुन लागेको कटु यथार्थ पनि हो । 

मातृभाषाहरू संकटग्रस्त हुन लागेको कटु यथार्थले जातीय अस्तित्वमाथि नै गम्भीर प्रश्न उठाएपछि मातृभाषीले आफ्नो भाषा जोगाउन मातृभाषामा शिक्षा दिनुपर्छ भन्ने विषय सतहमा ल्याए । तत्कालीन श्री ५ को सरकारले (नेपाल सरकारले) पनि ०५० जेठमा ‘राष्ट्रिय भाषा नीति सुझाब आयोग’ गठन गरेको पनि हो । आयोगले प्राथमिक शिक्षामा मातृभाषा शिक्षा दिँदा कसरी दिनुपर्ने तथा मुलुकको राष्ट्रिय भाषानीति कस्तो हुनुपर्ने भन्नेबारेमा सुझाब दिएको थियो । तर, सो आयोगले पेस गरेको सुझाबसहितको प्रतिवेदन एक कुनामा थन्क्याएर राखियो । देखिने उपलब्धि भनेको ऐच्छिक विषयका लागि कक्षा ५ सम्मको पाठ्यसामग्री निर्माण र ०५१ जेठदेखि रेडियो नेपालले मातृभाषामा पाँच मिनेटको समाचार प्रसारण गर्नु मात्र भयो । 

माथि उल्लेख गरिएको आदिवासी जनजाति आन्दोलन ०४७ सालतिरदेखि ०५५/०५६ सम्म सबैभन्दा प्रभावशाली भयो । पछि दोस्रो जनआन्दोलनताका र संविधानसभाको निर्वाचनताका जनजातिको पहिचानको आन्दोलन निकै प्रभावशाली भएको पनि हो । तर, बिस्तारै आदिवासी जनजाति मूलधारको राजनीतिबाट धेरै नै प्रभावित हुँदै जानु जटिल समस्या हुन पुग्यो । 

अर्को कुरा, हाम्रा बीचमा प्राथमिकताका कुरा पनि थिए । शिक्षामा प्रयोगमा लाँदा मातृभाषालाई विषयका रूपमा लाने कि माध्यमका रूपमा ? यसमा मतभिन्नता थिए । मेरो केही भिन्न धारणा थिए । त्यसवेला मैले भनेको थिएँ– थोरै भए पनि अवसरको फाइदा लिऊँ । हाम्रो मातृभाषाको ज्ञानले मात्रै पनि हाम्रो जस्तो बहुभाषिक मुलुकमा काम चल्दैन । तत्कालका लागि विषयका रूपमा भए पनि मातृभाषाको पठनपाठनमा जाऊँ । तर, धेरै आदिवासी जनजाति अभियन्ताले समर्थन गर्न मानेनन् । यसरी मातृभाषालाई माध्यमको रूपमा पढाउने कि विषयकै रूपमा पढाउने भन्ने पनि जनजाति अगुवामा एकरूपता भएन ।

मेरा विचारमा हामीलाई भाषाको संरक्षणपछि विकास गर्नु मुख्य कुरा थियोे । विषयगत रूपमै भाषा पढाइँदा पनि विद्यार्थीले मातृभाषामा लेख्न सिक्छ, भाषा बाँच्छ र त्यसपछि साहित्यको विकास हुन्छ । साहित्यको विकास नभई भाषाको विकास हुन्न । तर, मेरो विचार धेरैलाई स्वीकार्य भएन उसवेला ।हुन त पाठ्यक्रम विकास केन्द्र सानोठिमीले ऐच्छिक विषयका रूपमा पठनपाठनमा लान पाठ्यपुस्तक निर्माण गराउन थालेको पनि हो । त्यसपछि शिक्षा महाशाखाले बहुभाषिक शिक्षा भनेर कार्यक्रम सुरु पनि गरेको थियोे । 

बहुभाषिक शिक्षा पनि मातृभाषामा शिक्षा नै हो । विभिन्न मातृभाषी विद्यार्थी एउटा कक्षामा हुन्छन् । ती हरेक विद्यार्थीले उसको मातृभाषामा सिक्न पाउनुपर्छ भन्ने कुरा सिद्धान्ततः सही छ । शिक्षकका लागि सरकारले नयाँ लगानी गर्नु परेन । तर, एउटा शिक्षकले कतिवटा भाषा जानेको हुन्छ र ? यस्तो स्थितिमा सरकारले रमिता मात्रै हेरेर बस्यो ।आजको अवस्था त झन् अत्यासलाग्दो छ । समुदायमा पसेर जातीय हितका कुरा उराल्ने अनि व्यवहारमा आआफ्ना दलगत सिद्धान्तमा उभेर आआफ्ना दलले निर्देश गरेका कामकुरा मात्र मान्ने । बाहिर–बाहिर पहिचान भनेर कराउँछन्, भित्र पार्टीको ह्विप मान्छन् । हालैको कुरा १ नं प्रदेशको बागमती प्रदेश नामकरण गर्दा पनि पार्टीको ह्विप कसैले नाघ्नै सकेनन् ।

राज्यको चरित्र असहिष्णु, असहयोगी, उदासीन छँदै छ, त्यसमाथि मातृभाषी अगुवाले चुरो समस्या बुझ्दै बुझेनन् वा नबुझेको भान पारिरहे । उनीहरूले मुलुकमा विद्यमान तत्कालीन राजनीतिको विरोध गर्न रणनीतिका रूपमा मात्रै माातृभाषी शिक्षाको मागलाई अगाडि सारेको देखियो । यहीँ समस्या भयो । राजनीतिक दल र तिनका नेता–कार्यकर्ताले हामीलाई झुक्याइरहे, हामीले आफ्नो समस्या खुट्याउनै सकेनौँ । ‘गाँडमाथि गलगाँड’ भनेजस्तो सरकार असहयोगी रह्यो र मातृभाषी स्वयंको उदासीनता र अस्पष्ट दृष्टिकोणले समस्या जहाँको तहीँ रह्यो ।माथि इंगित समस्यालाई पहिला हटाउनुपर्छ । नत्र केही एक्टिभिस्टले जाँगर चलाइन्जेल मात्रै मातृभाषा आन्दोलन चल्छ तर अघि बढ्दैन ।

भाषाको मृत्यु कसरी ?
राज्यको एकभाषिक नीति र मातृभाषाहरूप्रति असहिष्णु दृष्टिकोणले मातृभाषाहरू मृत्युउन्मुख हुन्छन् नै । तर, मातृभाषीको आफ्नै उदासीनताले भाषा छिटो मर्छ । मेरो अनुभव छ कि मातृभाषा आन्दोलनताका आफ्नो मातृभाषाप्रतिको प्रतिबद्धता गहिरो हुँदा म आफैँ पनि मेरो मातृभाषा राम्रो बोल्न सक्ने भइगएको थिएँ । हामी लिम्बूहरूले आफ्नो जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङको सभापति हुनलाई लिम्बू भाषा बोल्न जानेकै हुनुपर्छ भन्ने नियम पनि बनायौँ । मातृभाषा लेख्न–बोल्न जानेकै हुनुपर्छ पनि भनियो । तर, नियम लागू हुन सकेन । एकात्मक राज्यले गर्दा मात्रै हाम्रो भाषा नष्ट भएको रहेछ त ? हामीलाई कसले छेक्यो आफ्नो भाषा बोल्न ? पञ्चायत कालमा छेक्यो रे, तर ०४६ सालपछि आफ्नो भाषा बोल्न कसले छेक्यो ? हामी आफैँले बोलेनौँ । समुदायले नै आफ्नो भाषा बोल्न छाडेपछि कसको के लाग्छ । 

हो, नेपाली बोल्नुपर्छ । अंग्रेजी पनि सिक्नुपर्छ । तर, मातृभाषालाई सँगसँगै बोलेर लगेको भए के हुन्थ्यो ? भाषाको मृत्यु वक्ताले बोल्न छाडेपछि नै हुने हो । आफैँले बोल्नुपर्छ भन्दा मसँग धेरै मातृभाषी आन्दोलनकारी रिसाए । मातृभाषा संरक्षण र विकासका लागि सरकारले त अनुदान दिने हो, उसले बोल्ने त होइन नि ! सिंहदरबारमा मन्त्रीले वा सचिवले, हाम्रो भाषा बोल्दैनन् नि, बोल्ने त हामीले नै हो । तर, हामी किन बोल्दैनौँ ? किन लेख्दैनौँ ? समस्या यहीँ छ ।

त्यसकारण नीतिगत र कार्यान्वयनको दोष मात्रै राज्यको हो, व्यावहारिक दोष हाम्रो हो । जति नै दुःख पाए पनि आफ्नो भाषा त हामी जीवित राख्न सक्छौँ नि । त्यो भएकै छैन । हामी कतै भेला हुँदा मातृभाषा अतिकति बोल्छौँ अनि नेपालीमै बोल्न थाल्छौँ । किन ? कसले छेकेको छ, आफ्नो मातृभाषामा हामीलाई एकअर्कामा बोल्न ? जति बोलिचालीको तहमा भाषा जीवित राख्छौँ, उति भाषा जीवन्त हुन्छ । नेपालमा धेरैवटा मातृभाषा बोलिन्छन् । सबैको जनसंख्या थोरै छ । एक लाखदेखि माथिको जनसंख्याले बोल्ने भाषाहरू पन्ध्रभन्दा केही बढी होलान् । एक लाखदेखि पचास हजार, पचास हजारदेखि एक हजारको बीच जनसंख्याले बोल्ने भाषाहरू धेरै छन् । हाम्रो  देशमा अधिकांश मातृभाषाका वक्ता न्यून हुनु अभिशाप भयो । वक्ताको संख्या ठूलो भएको भए र एकै ठाउँ भएको भए मातृभाषाहरू बाँच्ने थिए ।

तर पेटका लागि, जागिरका लागि बसाइँ सर्दैै जाँदा आज हाम्रो समाज सबै मिश्रित समाज भएको छ । मिश्रित समाजमा सम्पर्क भाषाको रूपमा कुनै एउटा भाषा रोज्नैपर्छ । सबैलाई सजिलो हुन थालेको सम्पर्क भाषा रोज्दा नेपाली भाषा रोजियो । त्यसपछि सम्पर्क भाषा बनेको नेपाली भाषा बलियो हुँदै गयो । मातृभाषा कमजोर हुँदै गए । 

भाषा मर्दा
भाषा मर्दा सम्पदा पनि मर्छ । सम्पदाभित्र भाषा, साहित्य, संस्कृति, सभ्यता सबै पर्छन् । एउटा जातिको उत्थान, पतन भाषाको मृत्युबाटै हुन्छ । भाषालाई पुनर्जीवित गर्न गाह्रो हुन्छ । भाषा संस्कृतिको वाहन हो । वाहन नै बिग्रियो भने मानिसलाई चाहिने खाद्यान्न एक ठाउँबाट अर्को ठाउँमा बोकेर लैजान सकिँदैन । खानै नपाएपछि मानिसको ज्यान बाँच्ने कुरा आएन । त्यसपछि एउटा भाषाको मृत्युले एउटा जातिलाई नै मृत बनाउँछ ।

उदाहरणका लागि पहिलो विश्वयुद्धअघि अंग्रेजहरूले पक्रेर लगेका नेपालीहरू फिजीमा छन् भनिन्छ । उनीहरूलाई सपनाजस्तो झिनो सम्झना छ– हामी नेपालका हौँ रे ! तर को हुँ, कहाँको हुँ, कुन जातिको, कुन मातृभाषा बोल्ने केही पनि थाहा छैन । सबै विस्मृतिमा गइसक्यो । अब उनीहरूले नयाँ जातिको स्थापना गर्लान् । एउटा जातिको सभ्यता र संस्कृति नष्ट भइसकेपछि उनीहरूको जात, थर जे राखिदिए पनि भयो ।

त्यसैले ढ्यांग्रो हरायो भने बनाउन सकिन्छ, च्याब्रुङ हरायो भने बनाउन सकिन्छ, तर भाषा मर्‍यो भने त्यसलाई पुनर्जीवित गर्न एकदमै गाह्रो हुन्छ । मान्छेको प्रयत्न र राज्यको पनि सहयोग भयो भने भाषा पुनर्जीवित गर्न पनि सकिन्छ । यसको उदाहरण हिब्रु भाषालाई लिन सकिन्छ । इजरायलीहरूले हिब्रु भाषा बचाए । त्यस्ता कैयौँ ससाना भाषा बचाउँदा बाँचेको इतिहास छ । 
भाषा पहिचानको ठूलो अस्त्र हो । अस्त्र गुमायौँ भने हाम्रो सुरक्षा कसले गरिदिने ? हामी असुरक्षित हुनु भनेको हाम्रो समाप्ति हो । मान्छेको रूपमा बाँचौँला, तर आत्मसम्मानसहित बाँच्न सक्दैनौँ । कुनै पहिचान नै नभएपछि ‘भक्तपुरमा मखुन्डो लगाएर लाखे नाचे जस्तो’ मात्रै हुन्छौँ । मान्छे त रहन्छौँ, तर पहिचानरहित ।

भूमण्डलीकरण र मातृभाषा
त्यसो त नेपाली भाषाको व्यापकताले मुलुकभित्रका सबै ससाना मातृभाषालाई नष्ट गर्न लाग्यो भनेर तर्क गरेको पनि सुनिन्छ । तर, भूमण्डलीकरणले ससाना मातृभाषालाई मात्रै होइन, औपचारिक कामकाजको माध्यमको रूपमा रहेको नेपाली भाषालाई नै खाएको हो । यो भूमण्डलीकरणको प्रभाव हो । ग्लोबलाइजेसनबाट ससाना मातृभाषा त झन् घुन पिसिए जसरी पिसिने भए नै । त्यसो त राष्ट्रिय र भूमण्डलीकरणको मुद्दाले ससाना मातृभाषालाई सबभन्दा बढी नकारात्मक प्रभाव पारेको छ ।

काठमाडौंका नेवारलाई सांस्कृतिक रूपमा बलियो भन्छौँ, तर उनीहरू पनि अब अंग्रेजी मात्र बोल्ने भइसके होलान् जस्तो छ । नेपालीहरू विदेशमा काम गर्न जाने अवस्था आएपछि यहाँको भाषाले विदेशमा काम पाउने कुरा भएन । कहीँ जान नसक्ने र सबभन्दा गरिब र दीनहीनले मात्रै आफ्नो ठाउँमा बसेर मातृभाषामा बोलिरहेका छन् । संसारमा बढी बोलिने ठूला भाषामध्येमा हामीलाई सजिलो अंग्रेजी भयो । हामीलाई ‘ग्लोबल फेनोमेना’ले पनि संकट थपेको छ । त्यसमाथि देशकै राष्ट्रिय अवस्थाले साना–साना जाति र भाषामाथि अझै संकट उत्पन्न गराएको छ । हामी काम गर्न जहाँ पनि नपुगी नहुने अवस्था आयो । जहाँ पुग्छौँ, त्यहाँको भाषा सिक्नुपर्‍यो । त्यही समुदायको संस्कृति र मानिससँग घुलमिल गर्नुप¥यो । त्यहाँ त भाषा मात्रै होइन, हामीले संस्कृति पनि बिर्सिन थालेपछि अझै चौतर्फी घेराबन्दीमा परेजस्तो भएका छौँ । त्यो घेराबाट बाहिर निस्किन सकेनौँ ।

अब के गर्ने ? 
भाषा प्रवद्र्धधनका लागि हाम्रो सरकार ‘फर्मल एजुकेसन’मा गएन । मातृभाषी आन्दोलनकारीले घातक राजनीति मात्रै गरिरहे । आफ्नो जातिको नारा लियो, अनि पार्टीको आदेश पालन गर्‍यो । जुन पार्टीमा उनीहरू लागिरहेका छन्, त्यो पार्टीको नेतृत्वमा ‘जनजातिलाई अधिकार नदिनू’ भन्नेहरूको बाहुल्य छ । मातृभाषी आन्दोलनकारी तिनीहरूकै पक्षपोषणमा काम गरिरहेका छन् । यस्तो अवस्थामा व्यक्तिगत रूपमा काम गर्न सकिने एउटै काम भनेको साहित्य रहेछ । कमसेकम बोलिचालीमा भाषा मासिए पनि लेख्य रूपमा त बाँच्छ । आफ्नो तर्फबाट चाहिँ केही नगर्ने अनि बाहुनले गर्दा भनेर गाली मात्रै गरिरहने ? गाली गरेर भाषा बाँच्छ ? त्यसको लागि त कि बोल्न थाल्नुपर्छ कि लेख्न थाल्नुपर्छ । त्यसैले लाइब्रेरीमा रह्यो भने भविष्यका लागि एक दिन त काम लाग्छ नि । आ–आफ्नो भाषामा साहित्य रचना गरेर राख्न सकियो भने त्यो भविष्यका लागि एउटा निधि हुन्छ । 

(नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काइँलासँग चन्द्रवीर तुम्बापो र राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)