
२५फागुनको ‘कान्तिपुर’मा तुलसी प्रवासको ‘गल्लैलाहुरे’शीर्षकको लेख पढेपछि मलाई पनि गण्डकी क्षेत्रका लोकगीतमा लाहुरेका अर्थ–सन्दर्भमाथि कलम चलाउन जोस चल्यो । किरेडाँडाबाट गीत र कविताको परख गर्दै काठमाडौं पसेका पर्वते–मित्र सङ्गीत श्रोताको केही समयअघिदेखि यसैमा जोडबल पनि थियो । एकपटक पत्रकार तथा लेखक जनकराज सापकोटाले पनि लाहुर र रेल जोडिएका गीतबारे मलाई भएको जानकारीबारे खै गरेका थिए । तर, मलाई लाहुर या लाहुरेसँग गाँसिएका र नामै राखिएका लोकगीत पनि छन् भन्ने थाहा थिएन ।
लोकगीतको परिभाषा गर्ने क्षमता र योग्यताको पारखी म अवश्य पनि होइन । लोकगीत सुन्छु, मन पराउँछु, गुनगुनाउँछु । मिल्दो हो त बागबजार–पुतलीसडकमा एक्लै हिँड्दा पनि सुसेल्दो हुँ, जसरी घाँसदाउरा गर्दा या गोठालो जाँदा गाउँघरमा सुसेलिन्थ्यो । वीरबलको भाषामा गधाको जस्तो स्वर भए पनि चर्कै स्वरमा गाइन्थ्यो । बिमाकुमारी दुरा, खड्ग गर्बुजा, बमबहादुर क्षेत्री, हरिदेवी कोइराला, नारायण रायमाझी, शर्मिला गुरुङ, पुरुषोत्तम न्यौपाने, राजु परियार आदि कतिकति लोकगायक सुन्छु र आनन्दित हुन्छु । लोकगीत र त्यसका भावले खुसी र दुःख दुवै समयमा साथ दिन्छन् । यी गीतमा केवल मनोरञ्जन मात्र हुन्नन् ।
न त प्रेम र रतिरागात्मक भावहरूको अभिव्यक्ति मात्र हुन्छ । लोकगीत आफ्नो समयको समाजको ऐना पनि हो । समाजको चित्र हुन्छ, आर्थिक र सामाजिक, पारिवारिक सम्बन्धका दुःखसुख हुन्छन्, पिर र आक्रोश हुन्छन्, खुसी र वेदना हुन्छन् । एकजना दिदी थिइन्, केही दिन माइत आएका वेला बाख्रा चराउन जाँदा गाएकी थिइन्– चौतारीको के राम्रो छपनी, घर बिग्रेर माइतै छु म पनि । यहाँ चौतारीको छपनी केबल भन्न खोजिएको दोस्रो पंक्तिका लागि सहयोगी मात्र बनेको छ, मूल भाव त घर बिग्रनु र माइत बस्न पर्नुमा छ । पछि था भो भेनाले अर्की ल्याएका रहेछन् ।
यो आलेख भने नेपाली लोकगीतमा लाहुरे र लाहुरेसँग गाँसिएका अर्थराजनीतिक पक्षबारे बढी केन्द्रित हुनेछ । आरम्भमा गल्लैलाहुरेबारे थोरै टिप्पणी ।
प्रवासले लेखेजस्तो गल्लैलाहुरेको लयमा गाउने चलन हाम्रोतिर पनि थियो । हाम्रोतिर अर्थात् पश्चिम लमजुङ या पुर्वोत्तर कास्कीको मकैखोला, गोर्जे रतारकाङतिर पनि । जस्तो ः
खोलापारि सिम्ले
मायाँ मा¥यौ दाइ तिम्ले ।।
भेटै हुन पनि
धौलाशिरी धौ भयो ।।
प्रायः कसैकहाँ पूजा या धार्मिक कर्म भएको साँझ पहिले सन्ध्या (सञ्जे) जगाउने भजनकीर्तन गर्ने र पछि गाउँका पुरुषले बिस्तारै प्रेम र वासनाका प्रस्ताव युवती या महिलाप्रति लक्षित गरेर उही लयमा गाउने गर्थे ।
ख्याली खेरै गयो
को भएर के भयो
यसरी यता गल्लैलाहुरे भनिने भाकामा हाम्रातिर चाहिँ ख्याली र चुड्का पनि भनिँदो रहेछ भन्ने थाहा भयो । विषय प्रवेश गर्नुअघि यति भूमिका मात्रै बाँधिएको हो ।
०००
लाहुर हाम्रो केवल धन कमाउन जाने सामान्य अर्थराजनीतिक अवस्थाको चित्रण या बिम्ब मात्र होइन, लोकजीवनको एउटा अभिन्न अंग र संस्कृतिसमेत हो । यो दसैँकोे टीकामा दिइने आशीर्वादमा पनि भेटिन्छ– चाहे लप्टन–कप्तान भएस् भनेर किशोरलाई दिने आशिष होस् या लाहुरे लोग्ने परोस् भनेर किशोरीलाई दिने आशिष । यसमा लप्टन–कप्तान हुनुले वीरता र बढी कमाइ या पेन्सनको अपेक्षा देखाउँछ, लाहुरे लोग्ने पाएस् भन्दा गाउँघरमा ढाक्रेसँग बिहे भयो भने गाउँबेँसी, मेलापात गर्दै या मलको डोको बोक्दैमा जीवन जान्छ, बरु लाहुरेसँग बिहे भए त अलि सुख पाउली भन्ने अर्थ बोक्छ । यसको अर्थ हो, लाहुर धन आर्जनसँग जोडिएको छ । सरदार भीमबहादुर पाँडेका शब्द पैँचो लिँदा ऋणले लपेटेर जीजिविषाको खोजीमा लाहुर पस्नु हाम्रो समाजको ऐतिहासिक बाध्यता थियो । भारतमा अंग्रेजहरूले व्यापार र उद्योगका महानगरहरूको निर्माण र रेलसेवाको विस्तार गरेपछि गोर्खा भर्ती या सेनामा मात्र होइन, कोइलाखानीदेखि सहरका दरबान र कुल्ली बन्नसम्म नेपालीहरू बाहिरिए । दुई सय वर्षदेखिको यो परम्पराका प्रभाव हाम्रा लोकगीतमा पर्याप्त परेको पाइन्छ ।
सरदार भीमबहादुर पाँडेका शब्द पैँचो लिँदा ऋणले लपेटेर जिजीविषाको खोजीमा लाहुर पस्नु हाम्रो समाजको ऐतिहासिक बाध्यता थियो । भारतमा अंग्रेजहरूले व्यापार र उद्योगका महानगरको निर्माण र रेलसेवाको विस्तार गरेपछि गोर्खा भर्ती या सेनामा मात्र होइन, कोइलाखानीदेखि सहरका दरबान र कुल्ली बन्नसम्म नेपालीहरू बाहिरिए । दुई सय वर्षदेखिको यो परम्पराका प्रभाव हाम्रा लोकगीतमा पर्याप्त परेको पाइन्छ ।
मानव सभ्यताले वस्तु विनिमय प्रणालीमार्फत व्यापार गर्न र नगर सभ्यताको विकास हुन थालेदेखि नै धन कमाउन बिदेसिने चलन चलेको हुनुपर्छ । अरेबियन नाइट्सका कथा, बहुचर्चित रेशम मार्ग, साल्ट रुटहरूका सन्दर्भ हेर्दा र उहिल्यै–उहिल्यै नगर सभ्यताका लागि श्रम आपूर्ति गर्न गाउँबाट सहर झर्ने चलन रहेको देखिँदा पुरुषहरू पारिवारिक दायित्व निर्वाह गर्न आवश्यक धनको जोगाड लामो समय परदेसिएर गर्थे भन्ने नै बुझिन्छ ।
मार्कोपोलोको यात्रा, कोलम्बसको अमेरिका यात्रा होस् या उपनिवेशकालमा उद्योग, व्यापार, शासन प्रशासन चलाउन लामो समय युरोप छाडेर एसिया, अफ्रिका र ल्याटिन अमेरिका बस्नेहरूको ताँती अधिकांशले धन कामउनकै लागि घर छाड्थे । साम्राज्यकालीन सैनिकहरूको जीवन पनि परदेशमा बित्थ्यो । यसैले नेपालमा हामी जेलाई लाहुर भन्ने गर्छौं, त्यो मानव सभ्यताको इतिहासजत्तिकै पुरानो प्रथा हो । रवीन्द्रनाथ टैगोरको काबुलीवाला पनि आखिर एकजना अफगानी लाहुरेको कथा हो । नेपाली लोकगाथामा आधारित मुनामदन पनि धन कमाउने परदेसिने युवाकै कथा हो । यहाँ चर्चा गर्न लागिएको भने लोकगीत र भाकामा अभिव्यक्त भएको लाहुरे र लाहुर जनाउने सन्दर्भहरू कसरी आउने गरेका छन् भन्ने हो ।
नेपालको आधुनिक इतिहास लाहुरे बन्ने परम्परा थालनी गरेर आरम्भ हुन्छ र अहिले त्यो झन् विस्तारित भएको छ । त्यसैले लाहुर र परदेशी हाम्रो लोकजीवनका अनिवार्य हिस्सा हुन पुगेका छन् । लोकले आफ्नो जीवन व्यतीत गर्दा व्यहोर्ने पारिवारिक सामाजिक सम्बन्ध, प्रेम, विवाह, विरह, वियोग, सुखदुःखका भावना लय मिलाएर गाएपछि त्यो नै लोकलय र लोकभाका बन्छ । लोकलयमार्फत नै लोकले आफ्ना भावना सम्प्रेषित गर्ने गर्छन् ।
प्रेम, विरह या खुसी र दुःख व्यक्त गर्ने या आफ्ना मनका कुरा भन्न लोकगीत सबैभन्दा प्रभावकारी माध्यम रहिआएको छ । मध्यपहाडको गण्डकी–धौलागिरि क्षेत्रको प्रभावमा हुर्कनेहरूका लागि गीत या खेली या चुड्का सुन्नु जीवनको एउटा अनिवार्य हिस्सा थियो । करापुटारे भाकादेखि कछाडतिरका मगरका कौडासम्म, प्रायः बाउन–क्षेत्री बस्तीमा गाइने भजन या खेली या चुड्कादेखि बिहेमा पञ्चेबाजासँग गाइने गीत, रत्यौली, तिजमा गाइने गीत, रोधीमा गाइने गीत, वनपाखामा गाइने गीत र पात बजाएर निकालिने लयात्मक स्वर सबै जीवनका हिस्सा नै हुने भए ।
प्रेमभाव, विरह र पीडाका भाव र रतिरागात्मक भाव भिन्न–भिन्न समय र सन्दर्भमा यस्ता गीतमार्फत अभिव्यक्त गर्ने गरिन्छ । साँझ या रात परेपछि कामबाट फुर्सद भएपछि एकठाउँ जम्मा भएर रमाइलो गर्ने रोधीघरको परम्परा गुरुङ र मगर गाउँमा परम्परादेखि प्रचलित थियो । जसले लोकगीतको परम्परालाई जोगाउँदै ल्याएको थियो । यो प्रथा अहिले हराउँँदै गएको छ ।
घाँस–दाउरा, वनपात या गाईवस्तु चराउन जानेले एक्लाएक्लै हुँदा गाउँने घँसिया गीतको आफ्नो परम्परा र लय हुन्छ । यो लोक अभिव्यक्ति जुन अवस्थामा गरे पनि त्यसले व्यक्त गर्ने भनेको आफ्नो जीवन नै हो । जब लाहुर जीवनको अंग हुन्छ, अनि लाहुरे गाँसिएका गीत बन्ने नै भए । कसैको प्रेमी बिदेसिन्थ्यो, कसैको पति । कसैको दाइ लाहुरे हुन्थ्यो, कसैको छोरा । कोही प्रेम गर्दागर्दै बिदेसिन्थ्यो, कोही बिहे गरेर । कोही बिहे गर्नैका लागि धन जोगाड गर्न बिदेसिन्थ्यो, कोही बिहेमा लागेको ऋण तिर्न । कोही भर्ती भएर लडाइँमा जान्थ्यो, खुट खबर आउने माध्यम अत्यन्त ढिला थिए । लाहुर जानेले प्रेमिका फकाउन लाहुरकै गफ र धनको आश देखाउने भयो । गाउँमा गरिने श्रमको बोझ देखेर अत्यास मान्नेहरूको आश पनि लाहुरे र लाहुर नै हुने भो । यिनै भाव गाइने हो रोधीमा गाए पनि, वनमा गाए पनि ।
पहिलो र दोस्रो विश्वयुद्धका समयमा गन्धर्वहरूले कर्खा गाएर लडाइँको बयान गर्ने गर्थे भनेर त्यस बखतको नेपालमा सरदार भीमबहादुर पाँडेले लेखेका छन् । त्यसको पछिल्लो छिमलको सबैभन्दा लोकप्रिय गीत भने झलकमान गन्धर्वको ‘आमैले सौध्लिन् नि खै छोरो भन्लिन् नि’ गीत हो । गाउँमा त यसले घरघरमा मानिसलाई धुरुक्कै रुवाउँथ्यो । पछिल्लो समय कारगिल युद्धपछि नारायण रायमाझीले गाएको गीत पनि गाउँघरमा खुब बज्योः
घरको सन्ताप बोकेर मनैमा, बाँचेको छु कारगिलको वनैमा
मलाई सम्झी नरोऊ है आमा, बाँचेँ भने आउनेछु दसैँमा
अर्कैलाई मार्ने अनि बाँचेसम्म लड्ने, बाँचे घर फर्की जाने मरे यतै सड्ने !
झलकमानको समय र कर्खामा युद्धको राजनीतिक चेत र रायमाझीको समयको चेतना फरक देखिन्छ । झलकमानले नियतिका रूपमा बुझेका छन् र रायमाझीले भने त्यसप्रति असन्तोष र आक्रोश व्यक्त गरेका छन् ।
हरिदेवी कोइरालाको ‘पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ भन्ने लोकप्रिय गीतले लाहुरेको अर्थ–सामाजिक अवस्थाको मार्मिक चित्रण गरेको छ ः
यहीँ खनौँला गैंती र कोदाली,
खाउँला बरु खोलेमा नुन हाली
पाइनँ खबर !
घर फर्की आउनुहोस् मेरो हजुर !!
गाउँमा गर्नुपर्ने कठोर श्रम, त्यसबाट हुने निम्न आम्दानी र त्यसले जीवनमा अनुभूति हुने दुःखको भाव व्यक्त गर्न यो गीत पनि प्रभावकारी छ ः
रेलैमा नचढेसम्म
छाडेन यो आँसी नाम्लाले !!
यसैगरी लाहुरे हुन नसक्नु एउटा पीडाका रूपमा यो गीतमा व्यक्त भएको छ ः
दाइ लाहुरे, भाइ कलम सिउरेको
मेरै रैछ करिमै बिउरेको !
नेपालको हिमालदेखि तराईसम्म कमसेकम ६० प्रतिशत घरका मानिस कोही न कोही गाउँघर छाडेर बाहिर बस्ने गरेका छन् र त्यसको मुख्य हिस्सा भनेकै धन कमाउने उद्देश्यले बाहिरिनेहरूको हो । रेमिट्यान्सले धनेको अर्थतन्त्रका अनेक कहानी गायक लोकबहादुर क्षेत्रीको यो गीतले लाहुरे हुनुको बाध्यतामा पिल्सिएका आमाछोराको मार्मिक कथा भन्छ ः
आमा रुँदै गाउँबेंसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा !
यस्तै जीवन शर्माको गीत छ :
यसपालि त यस्तै भो आमा
अर्को साल आउनेछु दसैँमा !
घाँस–दाउरा, वनपात या गाईवस्तु चराउन जानेले एक्लाएक्लै हुँदा गाउँने घँसिया गीतको आफ्नो परम्परा र लय हुन्छ । यो लोक अभिव्यक्ति जुन अवस्थामा गरे पनि त्यसले व्यक्त गर्ने भनेको आफ्नो जीवन नै हो । जब लाहुर जीवनको अंग हुन्छ, अनि लाहुरे गाँसिएका गीत बन्ने नै भए ।
शर्माको यो झ्याउरे गीतले परदेशी छोरा र आमाको विछोड हुँदाका पीडा व्यक्त गर्छ । उनका लोकलयमा आधारित धेरै गीतले प्रवासिएका र लाहुर गएका नेपालीका कथाव्यथा भन्छ । मणि थापाले लेखेको र जीवन शर्माले नै गाएको ‘फोकल्यान्डको टापुबाट...’ भन्ने गीत विशुद्ध लोकगीत नभए पनि त्यसमा नेपाली लोकजीवनको हृदयविदारक कथा छ । फोकल्यान्डको टापुमा लडाइँ लडिरहेको लाहुरेले आफ्नी श्रीमती वा प्रेमिकालाई लेखेको चिठी हो यो गीत ः
फोकल्यान्डको टापुबाट
जंगलको बीचबाट
लेखिरहेछु, चिठी तिमीलाई
लडाइँको मैदानबाट !
रायनकृत ‘सिम्मा’ गीति नाटकका अधिक गीतले पनि परदेसिएका नेपालीका कथाबारे बोल्छन् । यता राजन कार्की र मञ्जु गुरुङले गाएको ‘परदेशी भका हौ, काखमा छोरा छाडेर गका हौ, धानको बाला झुल्ने वेला भो, छिटै घर फर्की आऊ पियारा, छोराले बाउ भुल्ने वेला भो !’ जस्ता गीतले पतिपत्नीका पीडा व्यक्त गरेका छन् । लाहुरे र पारिवारिक जीवनका दुःख व्यक्त गरेका छन् ।
लाहुर सबैका निम्ति सहज र पैसा कमाउने माध्यम गन्तव्य मात्र बनेको छैन । लाहुर जानेहरू सबै घर फिरेका पनि छैनन् । कसैको रातो धागोले बेरेको चिठी आउँछ । समयको फेरो हो, कसैको बाकसमा बन्द भएको लास आउँछ । कोही उतै बेपत्ता हुन्छन् । यसरी बेपत्ता हुने प्रेमीहरूका पे्रेमिकाले व्यहोरेका पीडालाई बिमाकुमारी दुराको यो गीतले भन्छ ः
फुल्यो निमपत्ता !
कुन देशको कुन ठाउँमा
भयौ बेपत्ता !
गत वर्ष प्रकाश सपुतले एउटा मार्मिक भिडियो गीत ल्याएका थिए । बाकसमा बन्द भएर आएको लासमा घोप्टो परेर रुँदै गरेकी श्रीमतीका कथा समेटिएको उक्त गीतमा ‘बोल माया एक वचन बोल, तिम्रै बोली छ मलाई अनमोल’ भन्ने गीतले केवल किशोर उमेरमै पति वियोगमा परेकी कुनै नेपाली पत्नीको कथा मात्र भन्ने होइन, नवउदारवादी विश्वव्यापीकरणले निम्त्याएको असमान विकासका कारण हरेक वर्ष कामको खोजीमा खाडी तथा मलेसियामा पुगेका नेपाली युवाका विवशताका कथा भन्छन् । तिनलाई विदेश लखेट्ने हाम्रो अर्थराजनीतिक अवस्था र अविकासका लागि जिम्मेवार हाम्रो राजनीतिक नेतृत्वका अनेक वाचा र वचनहरूको खिल्ली उडाउँछ । यताको विकास ठिम्र्याउने दलाल पुँजीवाद र तिनको सिकन्जामा कैद हुँदा स्वतन्त्रता महसुस गर्ने राजनीतिक नेतृत्वको असफलताको कथा भन्छ ।
यसैगरी नारायण रायमाझी, अमृता झेडी मगरले गाएको ‘राम्दीपुल तर्नेबित्तिकै, बाँचे भेट मरे त यत्तिकै...’, कार्गिल युद्धपछि पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराले गाएको ‘सररर पानी घट्टमा, म त प्यारी फर्कन्छु फर्कन्न नाम सारे है पेन्सनपट्टामा, सररर पानी घट्टमा मेरो प्यारा हजुर नै नहुँदा मन बुझ्ला र पेन्सनपट्टामा’ जस्ता गीतले गोर्खा भर्ती परम्पराका कारण युद्धमा सामेल हुन भर्ती जाने लाहुरे र उनका पत्नी या प्रेमिकाका मन छुने दुःखका कथा भन्छन् । नेपाली राजनीतिक इतिहासमा सत्तासीनहरूले सधँै लुकाउन चाहेको यो विडम्बनालाई गीतले भने मजाले उदंग्याएको छ ।
रत्यौलीमा गाइने ‘माया सानै पो थियो, लाहुरमै जानीवेलैमा’ गीतले पहिलेको लोकजीवनका केही अर्थ केलाउन सहयोग गर्छ । ‘म जान्छु मलाए चिठी चलाए’, ‘जापान टोकियो, मैले चिठी पठाकै थिएँ नि कता रोकियो’, ‘हङकङ आइडीले’, भन्ने गीतमा रहेका शब्दले नेपालीहरूको लाहुरको व्यापक क्षेत्रफल र भूगोललाई व्यक्त गर्छन् । मित्र सेनले गाएको ‘लाहुरे दाइको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलीमाई खुकुरी भिरेको’ सायद लाहुरे शब्द र भाव व्यक्त गर्ने पहिलो रकर्डेड गीत हो । त्यसयता गाउँमा दोहोरी या रोधीमा गाइने या वनपाखामा गाइने तर कुनै रेकर्डमा नरहने गीत त कति छन्, हिसाब हुने कुरा भएन । यता रेडियो नेपाल र पछि खुलेका अनेक रेकर्डिङ स्टुडियोमा रेकर्ड गराइएका हजारौँ गीत होलान्, जसले लोकलयमा लाहुरेलाई स्थान दिएका छन् । परदेशीको माया व्यक्त गरेका छन्, घर बस्नेका छटपटीका आँसुलाई वाणी दिएका छन् ।
यसैगरी लोकगीतमा आउने रेलका बिम्बहरू पनि लाहुरेकै चिनो हो । पूर्व जानी रेल तिम्रो कपालमा चमेलीको तेल, रेलको ढोका बन नसम्झे मायाले सम्झे रुन्छ मन, रेलको झ्यालमा बसौली चमेली तेल घसौली, मै हुँ कान्छी रेलको ड्राइभर । रेललाई बिम्ब बनाएर लाहुरको बखान गर्ने, प्रेमिका या सम्भावित प्रेमिकाको मन लोभ्याउने र फकाई–फुल्याई लिएर भाग्ने लाहुरेसँग गाँसिएका प्रेम प्रसंगलाई नै यी गीतले व्यक्त गरेका छन् ।
नेपाली जनजीवनमा जसरी लाहुरे एउटा अभिन्न अंग हो, त्यसरी नै लाकेगीतमा पनि लाहुरे, परदेश र परदेशी एउटा अभिन्न हिस्सा बनेर घन्किएको छ । मैले यो लेख लेखिरहँदा पनि कोही वनमा गाइरहेको होला परदेशी सम्झेर, कोही फेसबुकमा पत्नी, प्रेमिका, आमा, सन्तान सम्झेर कुनै दूर देशको कोठामा एक्लै टोलाएर गीतै गुनगुनाइरहेको होला । अहिलेको प्रविधिसम्पन्न दुनियाँमा लोकगीतहरू मात्रै होइन, लेखिएका र कम्पोज गरिएका आधुनिक शैलीका नयाँ–नयाँ गीत पनि लाहुरे जीवन, वैदेशिक रोजगार भनिने आप्रवासी मजदुरी, प्रवास अनुभूतिहरूबारे बनिरहेका छन् । लाहुर जाने प्रथा रहुन्जेल लोकगीतमा लाहुरे पनि जीवित रहने निश्चित छ ।