• वि.सं २०७८ मङ्सिर १७ शुक्रबार
  • Friday, 03 December, 2021
रीता बरामु
२०७६ फाल्गुण १७ शनिबार ०७:३६:००
समाज

यौनिक अभिव्यक्तिमाथि नियन्त्रण किन ?

समाज

२०७६ फाल्गुण १७ शनिबार ०७:३६:००
रीता बरामु

लामो कपाल पाल्ने र कानमा मुन्द्रा लाउने हजारभन्दा बढी केटालाई ‘चुल्ठेमुन्द्रे’ भन्दै प्रहरीले नियन्त्रणमा लिई कपाल काटिदिएको र मुन्द्रासमेत निकाल्न लगाएको घटना धेरै वर्ष भएको छैन । प्रहरीले त्यसरी नै होटेलको कोठाबाट जोडीहरू पक्रेर पनि दादागिरी देखाउने गर्छ । यता अदालत वा सरकारी कार्यालयहरूमा छोटा लुगा लाउनेलाई प्रवेशमा रोक लगाइएका खबर हामी बारम्बार सुन्छौँ ।

समृद्धि राईलाई बग्गीखानामा लुगाकै कारण गरिएको दुव्र्यवहार एउटा उदाहरण मान्न सकिन्छ । यी घटनालाई राज्यले नागरिकको स्वतन्त्र र सम्मानपूर्वक बाँच्न पाउने हक हनन गरेको उदाहरणका रूपमा हेर्न सकिन्छ । अर्को आँखाले हेर्ने हो भने मानिसको यौनिक अभिव्यक्तिमाथि राज्यको नियन्त्रण भन्नुपर्ने हुन्छ । 

सुन्दा अनौठो लाग्न सक्छ । कतिलाई यो कुरा नपच्ला पनि । तर, जति बहस वैचारिक अभिव्यक्तिबारे भएको छ त्यति यौनिक अभिव्यक्तिबारे भएको छैन । जुन अभिव्यक्ति अधिकार वा अभिव्यक्ति स्वतन्त्रताकै एउटा हिस्सा हो । हामीकहाँ अभिव्यक्ति स्वतन्त्रता भनीराख्दा वैचारिक वा कलात्मक अभिव्यक्तिले मात्र प्रश्रय पाएको हुँदा यौनिकताको अभिव्यक्ति भने सधैँ छायामा पर्दै आएको छ । 

हुनत ‘यौन’ भन्ने शब्द जोडिनासाथ त्यो विषय स्वतः चर्चा वा विवादमा आइदिन्छ । त्यसो हुनाका विविध सामाजिक–सांस्कृतिक–आर्थिक कारण छन् । त्यतातिर नगई यहाँ यौनिकताको विषयमाथि केन्द्रित हुन खोजिएको छ । यौनिकतालाई मानिसले यौनको पर्यायवाचीका रूपमा बुझ्न सक्लान् । तर, यौनिकताको अर्थ केवल यौन होइन । यौनिकता एक बृहत् अवधारणा हो ।

विश्व स्वास्थ्य संगठनले यौनिकतालाई मानवीय जीवनको समग्रता भनेको छ । जसमा लैंगिक र यौनिक पहिचान, अभिमुखीकरण, प्रस्तुति, मानवीय इच्छा, प्रजननलगायतका कुरा पर्छन् । व्यक्तिले जैविक, मनोसामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, कानुनी र ऐतिहासिक पाटोसँग गर्ने अन्तक्र्रिया नै यौनिकताको आयाम हो । त्यसो हुँदा के लगाउने, कसरी प्रस्तुत हुने, कुन सामान खरिद गर्ने, कस्तो चलचित्र छनोट गर्ने, कस्तो साथी बनाउने वा के पेसा व्यवसाय अपनाउने वा नअपनाउनेजस्ता तमाम पक्षहरू व्यक्तिको यौनिकता र यौनिक अभिव्यक्तिभित्र पर्छ भन्दा अनुपयुक्त हुँदैन ।

यिनै अभिव्यक्तिमध्ये राज्य र समाजले राम्रो–नराम्रो, उचित–अनुचित, मर्यादित–अमर्यादितको लेबल लगाएर केहीलाई प्रश्रय दिन्छ केहीलाई नियन्त्रित गर्छ । यी सबै लेबल र परिभाषा भनेको को शक्तिशाली र नियम बनाउने स्थानमा छ भन्ने यथार्थबाटै निर्धारण हुने गर्छ । मुख्य कुरा त राज्य र समाजको पितृसत्तात्मक चरित्रसितै आएर जोडिन्छ । 
त्यसरी नै समाजले पनि कसैमाथि निगरानी, सेन्सरसिप, मोरल पोलिसी र आलोचनाका माध्यमबाट व्यक्तिको यौनिक अभिव्यक्तिमाथि नियन्त्रण लगाउने प्रयास गरिरहेकै छ । महिलाको छोटो र पुरुषको लामो कपाल समाजमा पाच्य हुँदैन । ट्याटु बनाउने, मुन्द्रा लाउने केटालाई ‘सुकुल–गुण्डा’ मानिन्छ । जब कि सुकिलामुकिला भेषमा कति अपराधीहरू खुलेआम घुमिरहेकै छन् । छोरीका लागि स्विकार्य कपडा बुहारीलाई वर्जित गरिन्छ । मेकअप गर्ने केटी नक्कली र नगर्नेचाहिँ सोमती भनिन्छ । उदेकलाग्दो कुरा के भने जे चलिआयो त्यसैलाई विनाप्रश्न पछ्याउँदै जाने मान्छेको नियति हो । 

इन्टरनेटमा नियन्त्रण 
हाम्रो अनलाइन उपस्थिति अफलाइनकै रेप्लिका हो भनिन्छ । इन्टरनेटमा पनि मानिसका यौनिक अभिव्यक्तिहरू प्रशस्त भेटिन्छन् । जसमा (मञ्जुरीसहित) व्यक्तिहरूबीच साटासाट हुने न्युड फोटो वा भिडियो मात्र पर्दैन । फेसबुक र इन्स्टाग्रामका भित्ताभरि चिटिक्क परेर, मुुसुक्क हाँसेर वा ‘पउट’ गरिएका सेल्फी, जोडीका फोटोहरूसमेत पर्छन् । आफ्ना पार्टनर वा साथीका निम्ति व्यक्त प्रेममय सन्देशहरू पर्छन् ।

टिकटकमा विभिन्न भावभंगीसहितका भिडियोहरू पर्छन् । महिनावारी, पाठेघर, यौनिक अभिमुखीकरणबारे बनाइएका मिम र ज्ञानमूलक सन्देश पर्छन् । यति भएपछि अरू उदाहरण नचाहिएला । तर, इन्टरनेटमा पनि जति वैचारिक अभिव्यक्तिलाई सजिलै लिइन्छ, त्यति यौनिक अभिव्यक्तिलाई रुचाइँदैन । इन्टरनेटमा पोखिएका त्यस्ता अभिव्यक्तिलाई निगरानी, सेन्सरसिप आदिबाट निरुत्साहित गर्ने प्रयास भइरहेकै छ । त्यसैले ट्विटरमा कसैले सेल्फी वा फोटोहरू पोस्ट गरेमा ट्विटरलाई पनि फेसबुक र इन्स्टाग्रामजस्तो बनाएको भनी अधिकांशलाई दुःख लाग्छ । इन्स्टाग्राममा न्युड फोटोहरू हेरी नग्नताले महिला सशक्तीकरण हुन्न भन्नेमा युवा जमात नै अघि आउँछन् । 

टिकटक प्रयोगकर्तालाई राम्रो भनेको त बिरलै मात्र देख्न–सुन्न पाइन्छ । सरोज तामाङ, तिर्सना बुढाथोकी, निकेश श्रेष्ठ आदि नाम यसको अग्रपंक्तिमा छन् । यी नामहरूमध्ये केहीलाई उनीहरूको यौनिक अभिव्यक्तिकै कारण धेरै गाली आउने गर्छ । धेरैलाई टिकटक चलाउनेहरू नौटंकी वा ‘एटेन्सन सिकर’ लाग्छ । बौद्धिक अध्येताहरू पनि समयको बर्बादी वा मनोरोगको लक्षणतिर लगेर बहस जोडिहाल्छन् ।

त्यसो भन्नुको मतलव सामाजिक सञ्जालमा अपलोड हुने चिज सबै राम्रा छन् भन्ने होइन । अरूले थाहा नपाई खिचिएका, अरूको मञ्जुरीविना पोस्ट गरिएका, सामाजिक व्यवस्थाभित्र हेपिएका व्यक्ति वा समुदायबारे मजाक गरिएका थुप्रै भिडियो, मिम इत्यादि त्यहाँ भेटिन्छन् । यस्ता प्रकृतिका अभिव्यक्ति पक्कै पनि समस्यायुक्त छन् । 

तर, हरेक अभिव्यक्ति वाइयात मानिनु, समयको बर्बादी वा एटेन्सनको भोक भनिनु भने जायज होइन । इन्टरनेट प्रयोगकर्ताको मानसिक स्वास्थ्यको बहस फेरि अर्कै पाटो हो । एउटा व्यक्तिले आफ्नो समय कसरी प्रयोग गर्ने भन्ने जिम्मेवारी आफैँ लिन्छ र लिन सक्छ । चाहे १५ सेकेन्डकै टिकटक भिडियो बनाएर, होस् वा दिनको १५ वटा सेल्फी पोस्ट गरेर । यो मोरल पोलिसिङ गरिनुपर्ने विषय होइन । बरु ती कसैको यौनिक अभिव्यक्ति या व्यक्तिगत छनोट मान्न भने सकिन्छ । 

यता फेसबुक, इन्स्टाग्रामजस्ता ठूला कर्पोरेटहरूको पनि त्यस्तै नियन्त्रणमुखी चरित्र छ । किनभने ती कर्पोरेटहरू जन्माउने र सञ्चालन गर्नेहरू पनि प्रचलित सामाजिकीकरणबाटै आएका हुन् । त्यसैले त फेसबुकजस्ता एपका कम्युनिटी गाइडलाइन (सामुदायिक निर्देशिका)भित्र महिला, लैंगिक तथा यौनिक अल्पसंख्यकसँग सम्बन्धित कतिपय विषय अश्लीलताको सूचीभित्र पारिइन्छन् । 

पोर्न सामग्रीहरू वर्जित गरिँदा कतिपय प्रजनन स्वास्थ्यसम्बन्धी लेख, चित्रहरूका वेबसाइटसमेत बन्द भएका छन्, जसले मानिसको सूचनाको हक कुण्ठित गरेको छ

विशेषगरी महिनावारीका रगत, महिलाका स्तन र मुन्टा देखिएको फोटो पनि ती कम्पनीले अश्लील मानी हटाउने गर्छ । पुरुष स्तनका लागि उसको खास नियन्त्रण छैन, तर महिलाको शरीरका लागि भने छ । त्यसैको विरोधमा केहीअघि मात्र फेसबुकको मुख्य कार्यालयमा ‘फ्री द निप्पल’ अभियान चलाइएको हामीमध्ये कतिले थाहा पायौँ पनि होला । 
इन्टरनेटमा यौनिक अभिव्यक्ति नियन्त्रण गर्न राज्य अझ एक कदम अगाडि छ । बलात्कारलाई बढावा दिएको बहानामा उसले पोर्न साइटहरू बन्द गरेको धेरै भइसक्यो । केहीअघि जारी भएको सूचना प्रविधि ऐनका प्रावधान पनि त्यस्तै छन् । ऐनले अश्लील सामग्रीको उत्पादन, संकलन, उपलब्ध रहेको जानकारी संप्रेषण गर्न, देखाउन, वितरण गर्न, प्रकाशन, प्रदर्शन गर्न, प्रसार गर्न वा बिक्री गर्न वा सञ्चय गर्ने कार्यलाई निषेध गरेको छ । 

पहिलो कुरा त श्लील र अश्लीलताको परिभाषा नै हरेक चेतनशील मान्छेका लागि ढोँगी र हाँस्यास्पद लाग्छ । दोस्रो सोलोढोलो कानुनले समस्याको सम्बोधन हुँदैन । ऐनकै कुरा गर्ने हो भने कसैको मञ्जुरीविना खिचिने सामग्री प्रसारण गर्नु अपराध नै हो । मञ्जुरीमै खिचेर पनि विनामञ्जुरी प्रसारण गरिने सामग्रीको पनि अपराधीकरण हुनुपर्छ । तर, ऐनले मञ्जुरीमै खिचिएको अन्तरंग फोटो वा भिडियोहरू रेकर्ड वा प्रसार गर्ने कामलाई पनि कानुनी दायराभित्र ल्याएको छ । जुन व्यक्तिको नितान्त यौनिक अभिव्यक्ति हो । त्यसलाई राज्यले अश्लील र आपराधिक गतिविधि मान्नु भनेको यौनिक अभिव्यक्तिको नियन्त्रण हो ।

हाम्रोजस्तो देशमा यौनका कुरा जोडिनासाथ समाज र राज्यले अश्लील र अमर्यादित क्रियाकलापको बिल्ला लगाइहाल्छ । जहाँ यौनशिक्षा भनेको प्रजनन स्वास्थ्यको ज्ञानमा मात्र सीमित छ, त्यहाँ खुला रूपले यौनको कुरा गर्नु सामाजिक मर्यादालाई कुल्चिनुबराबर हो । यद्यपि महिला तथा लैंगिक यौनिक अल्पसंख्यकमाथि हुने यौनशोषण, उत्पीडन र बलात्कारले नभत्किएको सामाजिक मर्यादा सहमतिमा हुने यौन र सामग्री आदानप्रदानले भत्किने सोच्नु कति विडम्बनाको कुरा होला ? तर, राज्यलाई त पोर्न सामग्री वर्जित गरेर सबै समस्याको हल गरेँ भन्ने लाग्छ । 

पोर्न वर्जित हुँदा धेरै अधिकारकर्मीहरू चुप बस्नु वा सहमत हुनु पनि अर्को विडम्बना हो । त्यसो हुनु भनेको व्यक्तिको यौनिक अभिव्यक्तिलाई राज्यले नियन्त्रण गर्नुको अन्तर्य नबुझ्नु हो । शासकहरूकै विचारले निर्देशित हुनु र उनीहरूकै भाषा बोल्नुबराबर हो । अनि राज्यको नियन्त्रणमुखी चरित्रको पक्षपाती पनि हुनु हो । यता यौनिक अभिव्यक्तिमा नियन्त्रण हुँदा सहमत हुने अधिकारकर्मीहरू वैचारिक वा राजनीतिक अभिव्यक्तिमा लगाम लाग्दा कुन धरातलमा बसेर बोल्न सक्छन् । त्यो उनीहरू नै जानून् । 

नियन्त्रणको असर
दक्षिण एसियाली देशहरूमा यौनशिक्षा भनेको खाली प्रजनन स्वास्थ्यको वरिपरि सीमित छ । जुन काफी हुँदै होइन । न त हामीकहाँ स्कुल र परिवारभित्र खुलेर कुरा गर्ने वातावरण नै छ । यस्तोमा मानिसहरूका लागि इन्टरनेट प्रभावकारी र अन्तिम विकल्प हुने गर्छ । पोर्न सामग्रीहरू वर्जित गरिँदा कतिपय प्रजनन स्वास्थ्यसम्बन्धी लेख, चित्रहरूका वेबसाइटसमेत बन्द भएका छन् । जसले मानिसको सूचनाको हकलाई कुण्ठित गरेको छ । सार्वजनिक ज्ञान र बहसमा त्यति पहुँच नहुने महिला तथा सीमान्तकृत वर्गलाई नै यसको ज्यादा असर पर्ने हो । 

यौन प्राकृतिक क्रियाकलाप भएकाले डिजिटल माध्यममा अभिव्यक्त हुनु स्वाभाविक हो । देशको आम्दानीको ठूलो हिस्सा रेमिट्यान्सले धानेको देशमा वैदेशिक रोजगारमा जाने जोडीहरूले आफ्नो सम्बन्ध सुमधुर बनाउन पार्टनरसँग अन्तरंग फोटो वा भिडियो सेयर गर्नु पनि एउटा विकल्प हो । तर, मञ्जुरी भईकन पनि यस्तो काम अपराधीकरण गरिँदा व्यक्तिको यौनिक अभिव्यक्ति कुण्ठित हुन पुग्छ । 

आफ्नै मर्जीले गर्ने भर्चुअल सेक्स, फोटो आदानप्रदान, सेक्सटिङ इत्यादिलाई नियन्त्रण गरिँदा यौन सधैँ ट्याबुको विषय भइरहने निश्चित छ । फलस्वरूप पार्टनरहरूबीच खुला रूपले संवाद हुन नसक्ने, यौनिक सम्बन्धहरूमा शक्ति असन्तुलन कायम रहिरहने हुन्छ । नियन्त्रणकै कारण मानिसहरूले आफ्नो यौनिकता अभिव्यक्त गर्न छाड्ने भन्ने हुन्न । त्यसो हुँदा कसैमाथि डिजिटल यौनहिंसा भएमा ‘त्यसलाई बढी भएर किन फोटो पठाउनुपर्‍यो’ भन्दै भिक्टिम ब्लेमिङकै संस्कृतिले प्रश्रय पाउँछ । न्याय पाउने र समानतामा आधारित समाज बन्ने कुरा बस एउटा जोक बनेर रहला ।

अतः व्यक्तिको मञ्जुरी, इच्छा र स्वतन्त्रताजस्ता कुरालाई सम्मान गर्दै यौनिक अभिव्यक्ति पनि अभिव्यक्ति स्वतन्त्रताभित्रकै र वैचारिक अभिव्यक्तिजत्तिकै महत्वपूर्ण मानवअधिकारको पक्ष हो भन्ने मान्यता स्थापित हुनुपर्छ ।