• वि.सं २०८२ श्रावण १९ शनिबार
  • Saturday, 02 August, 2025
सचिन घिमिरे
२०७६ फाल्गुण १७ शनिबार ०८:४०:००
साहित्य

नश्लवादको आत्मश्लाघा

विमर्श

२०७६ फाल्गुण १७ शनिबार ०८:४०:००
सचिन घिमिरे

ज्ञानको प्रादुर्भाव र चिन्तनधारामा अनेक तर्क–वितर्क भई नै रहेको हुन्छ । तार्किकता र पश्चिमी समाजविज्ञानका हिमायतीहरूले आरोप लगाएजस्तै पूर्वीय दर्शनशास्त्र, त्यसले अँगालेको संस्कृति, परम्परा र धार्मिक अवधारणाको धरातल नै समग्र रूपमा नश्लवादी भने अवश्य छैन । 

पूर्वीय दर्शनमा पनि मूर्ति पूजा नमान्नेदेखि चारवाकलगायतका भौतिकवादीको दार्शनिक अस्तित्व कायम छ । यद्यपि पूर्वीय दर्शनको शुद्धता, सांस्कृतिक उच्चताभास र पश्चिमा ज्ञान तथा प्राज्ञहरूको समेत निषेधको आशय कसैले धेरै सन्दर्भमा पटकपटक गर्दछ भने त्यस्ता प्रवृत्तिलार्ई विचारमा नश्लवादको खेती गरेको आरोप लगाउन सकिनेछ । 

पूर्वीय दर्शनशास्त्रको योगदान विशिष्ट भए पनि ती दर्शनको समयसापेक्ष आलोचनात्मक विश्लेषण पनि भई नै रहनुपर्दछ । तर, कसैले वैचारिक शुद्धताको नाममा यसको एकल अस्तित्वको वकालत गर्छ र पूर्वीय दर्शनलार्ई भजनकीर्तनको घेराभित्र मात्र सीमित राख्न खोज्छ भने यसमा व्यक्ति स्वयंको दोष हुन्छ, न कि दर्शन पद्धतिको । 

कुरानले हितविपरीत छ भने पनि सत्य बोल्ने आँट गर भन्ने ज्ञान दिएको छ । त्यस्तै, अथर्ववेदको १०८ सूक्तमा समेत असत्य तथा मिथ्याज्ञानको प्रचारमा कुनै पनि मानिस जुट्नुहुँदैन र विद्वान् नियमले चल्नुपर्दछ भन्ने कुरालार्ई जोड दिएको छ । अरूलार्ई असत्य र आफूलार्ई मात्र सत्य बनाउन पश्चिमा ज्ञानको संस्कृतिप्रति पूर्वाग्रही हुँदै पूर्वीय ज्ञानको शुद्धताको वकालत गर्नु नै नश्लवादीहरूमा निहित दृष्टिभ्रम हो । सही साधनको छनोटले मात्र सही साध्यमा पुर्‍याउँछ भन्ने बुद्धको मान्यताविपरीत धर्मवादीहरूले गलत साधनबाट सही साध्य निकाल्न खोज्नु नै नश्लवादी चिन्तनधारामा निहित कमजोर दार्शनिक रुझानको प्रमाण हो । 

आलोचना र घृणामा फरक 
प्रत्येक व्यक्तिको व्याख्या अन्तिम होइन । वाद, संवाद, प्रतिवाद र अन्तरसंवादबाट नै ज्ञान उत्पादनको दायरा फरकिलो हुँदै जान्छ । आलोचनात्मक मान्यतालार्ई अनुसरण गर्दै अभिव्यक्त गरिएका विचारहरू घृणाका रूपमा व्याख्या गर्नु नै नश्लवादीमा निहित दृष्टिकोणको उपज हो । नश्लवादी चिन्तनधारामा बेतुकका मान्यताहरूमा टेकेर घृणाको संस्कृति अर्थात् कल्चर अफ हेटरेडको विकास गरिन्छ । 

भारतमा पत्रकार गौरी लंकेशको हत्या पनि आलोचनालार्ई घृणा बुझ्ने नश्लवादी चिन्तनधाराकै उपज थियो । जहाँसम्म नश्ल रक्त सम्बन्धको कुरा हो र यसको विचार सम्प्रेषणमा केही सम्बन्ध छैन भन्ने धारणा छ, यसमा कुनै तार्किकता छैन । हेनरिक भन स्ट्रिच्के नामका एक राष्ट्रवादी इतिहासकारले यहुदीलार्ई ‘जर्मनीको दुर्भाग्य’को संज्ञा दिएका थिए । नाजीवादीले स्ट्रिच्केको यही मान्यतालार्ई अनुसरण गर्दै रक्तशुद्धताले केन्द्रमा राखेर यहुदीको विचार, संस्कृति, सामाजिक र राजनीतिक सहभागितामा समेत निषेध गर्दै यहुदीको अस्तित्व नै तहसनहस पारे ।

त्यही कारण मानव सभ्यताको सबैभन्दा नरसंहारकारी नश्लवादी तानाशाहका रूपमा हिटलर कुख्यात भएका हुन् । तसर्थ, आजको विश्वमा कसैले अरूको अस्तित्वलार्ई इन्कार गरेर आफ्नो मात्र विचार, संंस्कृति र सभ्यताको पक्षपोषण गर्छ भने त्यस्ता मान्यता अन्तत्वगत्वा नश्लवादी चिन्तनधाराबाट नै ग्रसित भएका हुन्छन् ।

समाजको विविधतालार्ई केन्द्रमा राखेर बहुलवाद, बहुसंस्कृतिवाद र सेक्युलरिजमको अवधारणागत मान्यतामा टेकेर गरिएको आलोचनालार्ई एकतर्फी मान्यताको अनुसरण गरिएको रूपमा मनन गरियो भने, पूर्वीय ज्ञानको शुद्धता, नश्लसुधारमा जोड अनि पश्चिमाहरूप्रतिको निषेधचाहिँ कतिसम्म फराकिलो चिन्तन हो भन्ने सवाल उठ्छ । सामाजिक वृत्तमा उठेका तर्कहरूको तार्किक प्रतिवाद गर्नुभन्दा पनि अरूलार्ई अज्ञानी र साँघुरो दायरामा सीमित देखेर आफूलार्ई निकै उच्च कोटिको विद्वान् देखाउन हरसम्भव प्रयासले भ्यागुताको भुँडी घमन्डले फुलेर प्याट्ट फुटेको कथा दोहोरिन सक्दछ । 

विद्वत्ता त्यही हो जसले आफूभित्रको अज्ञानताको आत्मबोध गर्दछ । अरूबाट आलोचित भएर पनि दुःखी हुँदैन । पञ्चतन्त्रको नीतिसारले भनेको छ– असामान्य अवस्थामा नै योग्यताको परीक्षण हुन्छ ।

विचार विज्ञानमा खप्तड स्वामी भन्नुहुन्छ, ‘विनाप्रसंग आफ्नो बडप्पनको चर्चा गरेर अभिमानले फुल्ने मानिसको आत्मविश्वास कम हुन्छ र कसैले पनि उसको विश्वास गर्दैन ।’ तसर्थ, भनिएको भन्दा नभनिएको वाक्य सिर्जना गरेर बहसलार्ई आफूअनुकूल मोडेर आफूलार्ई महान् बनाउने प्रयास अन्तत्वगत्वा कुतार्किक अवसरवादको भासमा जाकिने खतरा हुन्छ । चराले हाँगाको भरमा होइन, आफ्नो पँखेटाको विश्वासमा सोइसोइला खेल्छ 

पूर्वीय र पश्चिमको विभाजन 
नश्लवादीहरूको दाबी छ कि पूर्वीय संस्कृति सूक्ष्म र स्थूल शरीरबीच सुमधुर सम्बन्ध चाहन्छ, तर पश्चिममाहरू बाहिरी आवरणलार्ई छलफलमा बढी महत्व दिन्छन् । एकातर्फ, पूर्वीय र पश्चिमा भन्ने अवधारणा नै एक–आपसमा अन्तरघुलित भइरहेको अवस्थामा हामी किन आफूलार्ई खण्डीकृत गरेर आफूलार्ई मात्र महान् बनाउने कोसिस गर्दछौँ भन्ने प्रश्न अहं भएर आउँछ ।

पूर्वीय संस्कृतिको नाममा एकै धर्मसँग सम्बन्धित संस्कृति मात्र घुमिफिरी महान्, पूर्ण र उच्च देख्ने सांस्कृतिक उच्चताभास अर्थात् कल्चरल इथ्नोसेन्ट्रिजम नश्लवादीहरूमा हाबी भएको देखिन्छ । सांस्कृतिक सापेक्षवादको सिद्धान्तले प्रत्येक संस्कृतिको विशिष्टतालार्ई आ–आफनो सापेक्षतामा मनन गरेर उँच–नीचको दृष्टिकोणलार्ई तटस्थ बनाउनुपर्दछ भन्ने मान्यता प्रस्तुत गर्दछ । जसले गर्दा प्रत्येक सभ्यता र संस्कृतिको गुण र अवगुणहरूलार्ई आ–आफ्नो सापेक्षतामा मनन गरे एक समुदायकाले अर्को समुदायका मानिसलार्ई समभावले हेर्ने सन्तुलित दृष्टिकोण प्रदान गर्दछ । 

व्यक्ति–व्यक्ति तथा समुदायबीचको समभाव नै विश्व विविधतालार्ई आत्मसात् गरेर सहअस्तित्वको प्रेरणा दिने भावनात्मक ऊर्जा हो । यसका अलावा ‘पूर्वीय समाज मोक्षवादी छ र पश्चिमा समाज भौतिकवादी छ’ भनेर सोलोडोलो रूपमा पृथ्वीको पूर्वीय भूखण्डमा बस्ने मानिसलार्ई मोक्षमार्गी र पश्चिमी भूखण्डमा बसोवास गर्नेहरूलार्ई भौतिकवादी भनिन्छ । यो विश्लेषण दुवैतर्फका लागि न्यायसंगत हुँदैन । 

यथार्थमा, हरेक समाज मोक्षवादी र भौतिकवादी दुवै हुन्छ, तर व्यक्तिले सामाजिकीकरणको प्रक्रियामा कुन बाटो रोज्दछ भन्ने तथ्य महत्वपूर्ण हो । युरोपियन समाजमा पनि इमान्युल कान्ट, कार्ल माक्र्स, रोजा लक्जेम्वर्ग, योरगेन हवरमास र रोय भास्करजस्ता थुप्रै विद्वान्ले विविध किसिमको मोक्षवादी दर्शनमा योगदान दिएका छन् । बदलिँदो विश्व परिवेशमा सामाजिक यथार्थलाई कालो र सेतोका रूपमा मात्र ढ्याके विश्लेषण गरेर यसबीचको खैरा यथार्थहरूलाई मनन नगर्नु नै यस्ता तर्क नश्लवादी अभिमानले नै ग्रसित हुन पुग्छ । राजा जनकसँगको संवादमा ऋषि अष्टावक्र भन्नुहुन्छ, ‘अभिमान गर्ने मानिसलार्ई होस हुँदैन र ऊ सधैँ बेहोसीमा नै कुतर्क गरिरहेको हुन्छ । बेहोसीमा गरिएको कुतर्कले आफैँलार्ई हानि हुन्छ ।’ 

ज्ञान र विज्ञानको भेद 
पूर्वीय समाज ज्ञानपरक छ र समाजविज्ञानले हेर्ने सबै समाज विज्ञानपरक छन् भन्ने भनाइ अपुष्ट र अपुरो छ । समाजविज्ञानले सबै विज्ञानपरक समाजको मात्र अध्ययन गर्दछ भनेर तर्क गर्नु नै समाजविज्ञानबारे बेखबर भएको प्रमाण दिनु हो । ‘अल्पज्ञानी, अज्ञानीहरू मात्र ज्ञानलार्ई चलायमान ठान्छन्’ भन्ने भनाइ नितान्त अधिभूतवादी मान्यताबाट प्रभावित सुनिन्छन् । जुन मान्यताका कारण पृथ्वी गतिशील छ र सूर्यलार्ई परिक्रमा गर्दछ भनेर वकालत गरेका कारण ब्रह्माण्डीय बहुलवादका प्रवर्तक दार्शनिक जिर्योडानो बु्रनोलाई रोममा जिउँदै जलाएर मारिएको थियो । 

द्वन्द्वात्मक भौतिकवादी दर्शनले अधिभूतवादीहरूले वकालत गरेको कुनै पनि वस्तु तथा विचारको स्थिरताको तर्कलाई खण्डन गरिसकेको हुनाले कुनै पनि किसिमको ज्ञान स्थिर, अपरिवर्तनशील र जड हुँदैन । पूर्वीय दर्शनले समेत निरन्तर गतिशील महाकालको गर्भाशयबाट उत्पत्ति भएर ‘गच्छनीति जगत्’ अर्थात् निरन्तर गतिशील भएकाले नै जगत् नाम रहेको प्रसंग चर्चा गरिएको छ । जगत्को गतिशीलताले समाज र संस्कृतिको गतिशीलतालाई सोझै प्रभाव पार्दछ । ज्ञान संस्कृतिको अभिन्न अंग हो । जुन दिन ज्ञानको गतिशीलता समाप्त हुन्छ, त्यस दिनदेखि नै जीवन, जगत् र प्रकृतिसँग त्यो ज्ञानको सम्बन्धविच्छेद सुरु हुन्छ । 

विज्ञानले ज्ञानलाई फराकिलो बनाउन विधि दिन्छ भने ज्ञानले विज्ञानलाई फराकिलो बनाउन भूमिका खेल्छ

तसर्थ, समयसँग गतिशील ज्ञानले समाजलाई मार्गनिर्देश गर्न सक्दछ । एकाध विद्वान्ले तर्क गरेजस्तै विज्ञान मात्र चलायमान, गतिशील र नवीन हुने होइन । ज्ञान र विज्ञान कुनै दूरका नातेदार नभई एक–आपसमा अन्तरसम्बन्धित तत्व हुन् । विज्ञानले ज्ञानलाई फराकिलो बनाउन विधि दिन्छ भने ज्ञानले विज्ञानलाई फराकिलो बनाउन भूमिका खेल्दछ । जन्म, जीवन र मृत्युलाई ज्ञानले मात्र व्याख्या गर्ने होइन ।

महिला–पुरुषबीचमा संसर्ग भएको केही हप्तामा महिला गर्भवती भएको वस्तुनिष्ठ प्रमाण, गर्भाशयमा भु्रणको अवस्थिति तथा मानव जीवनको विकास र मृत्युको कारणको व्याख्यामा चिकित्साविज्ञानले समेत गुणात्मक फड्को मारिसकेको छ । यो अवस्थामा ज्ञान र विज्ञानको भेद छुट्याउन नसक्नु नै नश्लवादी चिन्तनधाराको समस्या हो । विज्ञान सीमित हुन्छ र यसले नदिने उत्तर स्थिर ज्ञानले दिन्छ भन्ने भनाइमा धरातलीय सम्बन्ध छैन । 

एंगेल्सले भनेका छन्– चिन्तनको द्वन्द्वात्मकताबाट नै दर्शनको विकास हुन्छ । बुद्ध दर्शनको समकालीन वा त्योभन्दा केहीअघि नै प्रादुर्भाव भइसकेको जैन दर्शनले समेत संसार नित्य परिवर्तनशील छ र पुद्गल नामको अणुको संघटन तथा विघटनलाई नै भौतिक जगत्मा हुने परिवर्तनको मूल कारण हो भन्ने दाबा गरेको छ । 

ज्ञान भौतिक जगत्मा भइरहने परिवर्तनको मानवीय जीवनसँगको संसर्गमा निस्कने गतिशील चेतनस्वरूप हो । समयको गतिशीलता सँगसँगै शक्ति सम्बन्ध, अर्थराजनीतिक र सांस्कृतिक परिवेशहरूबाट प्रभावित भएर आ–आफ्नो भौगोलिक तथा सांस्कृतिक सापेक्षतामा ज्ञान उत्पादन भई नै रहेको हुन्छ । ज्ञानले दिने उत्तर विज्ञानले दिँदैन र पूर्वीय समाज ज्ञानले चल्छ भनिरहँदा घुमिफिरी रुम्जाटार भनेझैँ पूर्वीय समाज नै विशिष्ट थियो भन्ने इथ्नोसेन्ट्रिक मान्यताहरूको नै पक्षपोषण गर्नु नश्लवादी चिन्तनधारा हो । 

माक्र्सवाद र उत्तरआधुनिकवादको सम्बन्ध 
माक्र्सले ऐतिहासिक भौतिकवादको विभिन्न ६ चरणहरूको विश्लेषण गर्दा आदिम साम्यवाद र वैज्ञानिक साम्यवाद गरेर दुई कसिमका वर्गविहीन समाजको विश्लेषण गरेका छन् । समाजविज्ञानको विकास सँगसँगै सामाजिक आयामहरूलाई बृहत् कथनका रूपमा व्याख्या गर्ने सामाजिक सिद्धान्तहरूको बाहुल्यता बढ्दै गयो । ती सिद्धान्तहरूले कतै समाजका बृहत् विशिष्टताको वकालत गरेर मिहिन सन्दर्भको सवालमा चुक्ने त होइन भन्दै उत्तरआधुनिकतावादीले आधुनिकताको नाममा सिर्जना गरिएका समाजविज्ञानका ठूला संकथन प्रतिवाद गरेका हुन् । समाजविज्ञानको नाममा अहिलेसम्म लेखिएका कथनलाई पुनर्विचार गर्न, त्यसलाई बहुदृष्टिकोण र शोषितपीडितको आँखाबाट हेर्न प्रस्तावनाहरू पेस गरेका उत्तरआधुनिकतावादीले मार्क्सवादको मात्र विकृत रूपबाट जन्मिएको भन्नु तर्कसंगत हुँदैन । 

कार्ल मार्क्सलाई थोमस हब्सबाट प्रभावित भएर मेटरियल इन्डिभिजुआलिस्ट भनेर पनि व्याख्या हुने गरेको छ । थोमस हब्स, बलियो राज्य (निरकुंश राजतन्त्रसमेत हुन सक्छ), सिर्जना गर्नका निम्ति व्यक्तिले आफ्नो अधिकारसमेत सार्वजनिक फाइदाका लागि परित्याग गर्नुपर्दछ भन्ने धारणा राख्ने विद्वान् हुन् । मार्क्स राजतन्त्रजस्ता सामन्ती संरचना वर्गसंघर्षबाट हुत्याएर सर्वहाराको अधिनायकत्व हुनुपर्दछ भन्ने धारणा राख्दथे ।

राज्य बलियो हुनुपर्दछ भन्ने आसय दुवै विद्वान्मा देखिए पनि थोमस हब्सको सामाजिक सम्झौतावादी सिद्धान्त र कार्ल माक्र्सको वर्गसंघर्षको सिद्धान्तका फरक प्रस्तावना छन् । कार्ल माक्सको विद्यावारिधि इपिक्युरस र डेमोक्रिटर नामका दुई ग्रिक विद्वान्ले प्रकृतिको दर्शनलाई हेर्ने फरक दृष्टिकोणको सम्बन्धमा थियो । मार्क्सले आफ्ना गुरु हेगलको द्वन्द्वात्मक आदर्शवादलाई तार्किक खण्डन गर्दै प्राचीन ग्रिसमा नै विकास भइसकेको द्वन्द्ववादी दर्शन र भौतिकवादलाई समायोजन गरेर द्वन्द्वात्मक भौतिकवादमा टेकेर वर्गसंघर्षको दर्शन ऐतिहासिक भौतिकवादको सिद्धान्त प्रादुर्भाव गरेका हुन् । 

म्याक्स वेबरले प्रोटेस्टेन्ट इथिक अफ क्यापिटालिजमको विकास गर्दा जोन क्याल्भिनको क्याल्भिनिजमबाट आफ्ना धारणा विकास गरेका छन् । जसले यस संसारमा कर्म गरेर यही संसारमा मोक्ष सम्भव छ भन्ने लौकिक मोक्षबारे चर्चा गर्दछ । म्याक्स वेबर र उनले विकास गरेको प्रोटेस्टेन्ट इथिक अफ क्यापिटालिजमबारे कसैले गोलमटोल र अपुष्ट व्याख्या गरेर पश्चिमा समाजको रहस्य यही हो भनेर ठोकुवा गर्नु काँशीमा गएर जल छर्केर सातै समुद्र पौडी खेलेर आएँ भन्नुजस्तै हो ।  विद्वता त्यही हो, जसले आफूभित्रको अज्ञानताको आत्मबोध गर्दछ । अरूबाट आलोचित भएर पनि दुःखी हुँदैन । पञ्चतन्त्रको नीति सारले भनेको छ, असामान्य अवस्थामा नै योग्यताको परीक्षण हुन्छ ।