• वि.सं २०८१ कार्तिक २३ शुक्रबार
  • Friday, 08 November, 2024
जगबहादुर बुढा
२०७६ फाल्गुण १७ शनिबार ०९:१३:००
समाज

आलु र कोदोले बाँधेको सम्बन्ध

चलन

२०७६ फाल्गुण १७ शनिबार ०९:१३:००
जगबहादुर बुढा

माघको महिना, वरिपरिका डाँडामा सेताम्मे हिउँ, वरपर घनाजंगल र बीचमा चौर अनि एउटा सानो टिनले छाएको पाटी । वरिपरि नीलो–पहेलो रंगका पालहरू टाँगिएका थिए । तलतिर याङ्मा खोला छङछङ बगिरहेको आवाज सुनिन्थ्यो । पालको बाहिर र चौरमा बसेर याङ्माबाट झरेका याङमाली भोटेहरू तमोरखोलाबाट माथि आउने लिम्बूहरूको बाटो हेरिरहेका थिए । 

ढाक्रा बोकेर एक हुल लिम्बू जब आइपुगे, भोटेका केटाकेटी ‘रोङ्बा लेप्सो, रोङ्बा लेप्सो’ (लिम्बूहरू आयो, लिम्बूहरू आयो) भन्दै चिच्याए । बयस्क भोटेहरू हतार–हतार लिम्बूहरू आइरहेको बाटोतिर कुदे । लिम्बूलाई तानेर आ–आफ्नो पालमा लग्नेहरूको होड देख्दा रमाइलो लाग्यो ।

मानव सभ्यताको इतिहास हेर्ने हो भने वस्तु विनिमय मानिसको जीविकोपार्जनका लागि अभिन्न अंगका रूपमा रहेको पाइन्छ । सामान्य अर्थमा वस्तु विनिमय दुई वा दुईभन्दा धेरै मानव समूह बीच विनामुद्राको प्रयोग गरिने वस्तुको सट्टापट्टा गर्ने चलन हो ।  विशेष गरी ढुंगेयुग, सिकार खेल्ने र ओडारमा बस्ने कालदेखि स्थायी बसोवास हुँदै आजको आधुनिक युगसम्म आइपुग्दा वस्तु विनिमयको महत्व थियो ।

वस्तु विनिमय सर्वप्रथम प्राचिन ग्रिक सभ्यताको मेसोपोटमियाका ट्राइबहरूले गरेका थिए । त्यसलाई पछ्याउँदै फोइनिसियनहरूले अवलम्बन गरेको इतिहास भेटिन्छ । मध्ययुगतिर आएर युरोपियन विश्व भ्रमणको सिलसिलामा हस्तकला सामग्री र जनावरको भुत्लासँग रेशम र अत्तरको विनिमय गरेको पाइन्छ । सन् १९३० को ग्रेट डिप्रेसनका वेला पनि मुद्राको अभाव भएका कारण वस्तु विनिमय निकै महत्वपूर्ण रहेको थियो भन्ने तथ्य पाइन्छ ।दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना भयो । यसले नगद अर्थतन्त्र, मुद्राको व्यापक प्रयोग र बढ्दो बजारीकरण भयो । बिस्तारै परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गयो । 

नेपालकोमा सन् १९५० पूर्व विशेष गरी हिमाली जिल्लाका गाउँका बासिन्दाले तिब्बतबाट नुन ल्याई त्यही नुन मध्यपहाड तथा खसान क्षेत्रमा ल्याएर वस्तु विनिमय गर्ने गर्थे । उच्च हिमाली भू–भागमा यथेष्ट अन्न उब्जाउ नहुने र त्यहाँका मानिसले याक, घोडा र जोपामा नुन बोकेर बेँसी झर्ने र बेँसीमा धान, चामल, कोदो, मकै, दाल, फापरसँग सट्टापट्टा गर्नु त्यसताकाको अर्थतन्त्रको अभिन्न अंग थियो भन्ने कुरा मानवशास्त्री जेम्स फिसरले (१९६८) तराली मगरबारे गरेको अध्ययनमा उल्लेख गरेका छन् । 

पछि फेरि जनवादी गणतन्त्र चीनले तिब्बतलाई आफ्नो अधिनमा लिएपछि भारतीय देशी नुनको बजार विस्तार भयो । यसले हिमाली भूभागको नुन र अन्नको वस्तु विनिमय बिस्तारै ओझेलमा पर्दै गयो । अर्कोतिर नेपालमा ०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना, नेपाली मुुद्राको चलनचल्ती बढाउने ऐन, ०१४ आएपछि नेपाली मुद्राको कारोबार बढाउने नीति लिइयो । यसलाई ०१७ वैशाख १ गतेबाट देशका प्रमुख भागमा लागू गरियो । त्यसले नेपालको परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गएको देखिन्छ । 

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङमा भने पहाडी जनजाति लिम्बू र हिमाली जनजाति भोटेबीच कोदो र आलुको वस्तु विनिमय जीवित नै छ । ताप्लेजुङको माथिल्लो भूभाग घुन्सा र याङ्मामा आलुबाहेक अन्य अन्न उत्पादन हुँदैन । आलुको उब्जनी निकै राम्रो हुने हुँदा आफूले खानुबाहेक कोदोसित साट्न तल झार्ने चलन रहेछ । याङ्मा र घुन्साको आलु ताप्लेजुङ क्षेत्रमै निकै प्रख्यात मानिँदोरहेछ ।

याङ्माको आलु विशेष गरी खानका लागि मीठो र स्वादिलो हुने र बिउका लागि पनि देशी आलुभन्दा बढी उत्पादन हुने लिम्बूहरूको बुझाइ छ । प्रत्येक वर्ष माघदेखि फागुनसम्म आलु र कोदोको सट्टापट्टा हुने गर्छ । २८ पुसदेखि १८ माघसम्मको यसपालिको पूर्वी नेपाल भ्रमणले वस्तु विनिमयलाई नजिकैबाट हेर्ने मौका मिल्यो । म र मित्र दिलविक्रम आङ्देम्बे ताप्लेजुङको सदरमुकाम फुङ्लिङ हुँदै तमोर खोलाको किनारै–किनार तापेथोक पुग्यौँ । उनीहरू चेनेमा आलु र कोदो साटासाट गरिरहेको देख्यौं । 

माघ महिनाको सुरुवातसँगै माथि याङ्माबाट याङ्माली भोटेहरू भिर, पाखा, जंगल छिचोल्दै, याङ्मा खोलालाई पछ्याउँदै याकको लावालस्करसहित एक दिनको पैदल यात्रा गरेर चेने आउँदा रहेछन् । त्यस्तै, तल तमोर खोलाका लिम्बूहरू धोक्रोमा कोदो बोकेर तमोर खोलालाई पछ्याउँदै, ४/५ दिनका लागि आवश्यक पर्ने खानपानको बन्दोबस्ती गरेर दुई, तीन दिनको पैदल यात्रा गरेर चेने पुग्दा रहेछन् ।

दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना भयो । यसले नगद अर्थतन्त्र, मुद्राको व्यापक प्रयोग र बढ्दो बजारीकरण भयो । बिस्तारै परम्परागत वस्तु विनिमयलाई प्रतिस्थापन गर्दै गयो । 

चेने करिब समुद्री सतहदेखि ३१ सय मिटरको उचाइमा छ । याङ्मा खोलाको गल्छी र वरिपरी घना जंगलले ढाकेको ठाउँ नजिकै पाल टाँगेर बस्दा रहेछन् । याङ्मामा रहेका ११ घरधुरीले तमोरखोलाका करिब चार, पाँच सय घरधुरी भएका लिम्बूका लागि आलु परिपूर्ति गरेको जानकारी पायौँ । आलु र कोदो साट्दा दुई गुना अर्थात् एक पाथी कोदो बराबर दुई पाथी आलु साँटिदो रहेछ । याङ्मा समुद्री सतहदेखि करिब ३५ सय मिटरमाथि भएको हुँदा आलुबाहेक अन्य अन्न उत्पादन हुँदैन ।

याङ्मामा विशेष गरी सालाखालामा एक घर बराबर ४०/५० मुरी आलु उत्पादन हुँदो रहेछ । जसमध्ये १० मुरी आलु घर खर्च र बिउका लागि छुट्याएर राखिँदोरहेछ । बाँकी आलु कोदोसँग सट्टापट्टा गरिँदो रहेछ । याङ्मालीले चामल, मैदा अनि सातुलगायत अन्य खाद्यान्न भने वर्षायाममा तिब्बतबाटै ल्याउँदारहेछन् । याङ्मालीहरू कोदो दुईवटा प्रयोजनका लागि साट्दा हरेछन् । एक जाडोसँग अनुकूलन हुन तोङ्बा बनाएर खानका लागि र अर्को याङ्मालीहरूको मुख्य पेसा पशुपालन भएकोले हिउँदमा घाँसको अभाव हुँदा वस्तुभाउलाई खोले बनाएर खुवाउनका लागि । 

याङ्मागाउँ ओलाङ्चुङ गोलाबाट दुई दिन पैदलमा छ । घुन्साबाट पनि यहाँ पुग्न दुई दिन लाग्छ । तल तमोर खोलाका गाउँबाट पनि दुई दिन लाग्ने हुँदा याङ्मालीहरूको वैवाहिक सम्बन्ध प्रायजसो तिब्बततिरबाट हुँदो रहेछ । जसरी मानवशास्त्री जेम्स फिसरले, टिछुरोङ क्षेत्रको तराली मगरले वस्तुको विनिमयसँगै भाषा र संस्कृतिको पनि विनिमय हुन्छ भने तापनि याङ्माली र लिम्बूहरूको सवालमा भने सम्पर्क भाषाको विनिमय नभएको देखिन्छ । एक–अर्काको भाषा नजानेकाले इसाराले विनिमय गरेको पाइन्छ । 

मानवशास्त्रीय दृष्टिकोणमा वस्तु विनिमय एकदमै महत्वपूर्ण देखिन्छ । मानवशास्त्री लेभी स्ट्रसले भनेका छन् कि ‘मानव सम्बन्ध विशेष गरी दुईवटा विनिमयबाट बन्ने गर्दछ । एक, वैवाहिक साइनो सम्बन्ध र अर्को वस्तुको विनिमय । वस्तुको विनिमयसँगै मानिसको सम्बन्ध स्थापित हुँदै जाने गर्दछन् । मितेरी साइनो, इष्टजस्ता सम्बन्ध वस्तु प्रवाह वा विनिमयबाट बन्छन् भनेका छन् ।

याङ्माली आलु र लिम्बूहरूको कोदोको विनिमयसँगै याङ्मालीहरू र तमोर खोलाका लिम्बूहरूको बीच वैवाहिक सम्बन्ध नभए पनि मितेरी सम्बन्ध भने छ । मानवशास्त्री जनक राई (हराउँदै मितेरी साइनो आलेख) मितेरी साइनो असुरक्षाबाट बच्ने महत्वपूर्ण सामाजिक पुँजी भन्छन् । मितेरी साइनोसँग अन्तर्निहित भएको मोरल इकोनोमी (नैतिक अर्थशास्त्र), धार्मिकता, कुटुम्बता र पारस्परिकता, जातीय र वर्गीय घेराबन्दीभित्र पनि नातागोता बनाउन सक्ने क्षमता राख्छ । यसकारण नै मितप्रथाले व्यापकता पाएको हुनुपर्छ ।

अर्कोतिर यसको व्यापकताका लागि मितेरी सम्बन्धसँग गाँसिएको अर्थ राजनीति पनि उत्तिकै महत्वपूर्ण हुने तर्क गरिन्छ । याङ्माली र तमोरखोलाका लिम्बूहरूको सवालमा पनि मितेरी साइनो हुनेहरू बीच आलु र कोदोको विनिमय मात्र नभएर नासो लिने दिने प्रचलन पनि छ । तल तमोर खोलाका लिम्बूहरूले कोसेलीस्वरूप ‘किनेमा’ लिने र माथि याङ्मालीहरूले विशेष स्वागत–सत्कार गर्दा रहेछन् । 

यदि यङ्मामा आलु नहुँदो हो त लिम्बूहरू चेनेमा जाने थिएनन् । लिम्बूहरूको कोदो नहुँदो हो त याङ्मालीहरू चेने आउँदैनथे । याङ्माली र लिम्बूहरूको आलु र कोदोको विनिमय प्रचलन कहिलेदेखि सुरु भयो भन्ने यकिन मिति छैन । परापूर्वकालदेखि चलिआएको भन्ने उनीहरूको भनाइ छ । त्यस्तै, ताप्लेजुङको तमोरखोलाका लिम्बूहरू र उपल्लो ताप्लेजुङका याङ्माली र घुन्साका वालुङहरूबीचको सम्बन्धलाई आलु र कोदोले बाँधेको पाइन्छ । यी समुदायबीचको आलु र कोदोको विनिमयले दुवै समुदायको आवश्यकता परिपूर्ति गरेको देखिन्छ । 

याङ्माली आलु र लिम्बूहरूको कोदोको विनिमयमा ती वस्तुभित्र अन्तर्निहित दुवै समूहको श्रमको सट्टापट्टा पनि हो । आलु र कोदो वस्तु मात्र होइन एक–अर्काको श्रमको लागत पनि हो । दुवै समूहले आ–आफ्नो श्रम र पसिना बगाएर आलु र कोदो उत्पादन गरेका हुन्छन् । त्यही उत्पादनलाई बिचौलियामार्फत नभई आफँै आ–आफ्ना वस्तुको विनिमय उनीहरू गर्छन् । नगद र बजारविना कसरी एउटा समुदायको आवश्यकता अर्को समुदायले परिपूर्ति गर्दै मानवीय सम्बन्ध स्थापित हुँदोरहेछ भन्ने गतिलो उदाहरण यसलाई मान्न सकिन्छ ।