• वि.सं २०८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन विभास
२०७६ फाल्गुण १७ शनिबार ०९:३३:००
समाज

किन खेन्ह्वाँ खाँचो खट्कन्छ ?

कुइनेटो

२०७६ फाल्गुण १७ शनिबार ०९:३३:००
नवीन विभास

राम ! डुअ ! टिन ! चारा ! पाँचा ! 

गाउँको लगभग बीच भागमा रहेको खेन्ह्वाँमा अधबैंसे अँध्यारा थारू पुस–माघका चिसोले लगलगाउँदै धान जिम्दारसित भाग लाउँदै छन् । निधारमा टीका, शिरमा ढाकाटोपी, जिउमा सेतो दौरा, दौरामाथि कालो कोट, गोडामा सेतो सुरुवाल जिम्दार बस्तीमा घामसँगै ओर्लन्छन् ।  उज्यालोसँगै थारू बच्चाबच्ची र बूढाबूढी खेन्ह्वाँमा पुग्छन् । पराल बाल्छन् । आगो ताप्दै खरानीमा मकै गेडा राख्छन् । स्याँक्राले चलाउँदै खरानीले ढाक्छन् । केही समयपछि खरानीभित्रबाट पाटाङपोटोङ आवाज आउँछ । आवाज आएनेरै स्याँक्राले खोस्रन्छन् । सेतै फुली कौरामा परिणत भएका मकै गेडा हातमा लिएर ‘फुऽऽऽ फुऽऽऽ’ फुक्दै क्वाप्प खान्छन् । 

हुस्सु हुत्याउँदै खेन्ह्वाँमा घाम टुप्लुकिन्छ । बिस्तारै मंसिरमा गाउने मैना गीत मधुरिन्छ भने गोरुका हाक्कहुक्कसाथ पुस लागेपछि गाउने ढमार पनि बिस्तारै बन्द हुन्छ । कौरा खाने थारू बालबूढाबूढी आवाजतिर कान फटेफटे पार्ने दाइँरत गोरु–गति घरिघरि धिमा हुन्छ । माघ लागेपछि भने जिम्दार घरजसरी ठिंग उभिएका धानका ‘खर्ही’ र ‘ठर्हा’ ससाना गोठमा परिणत हुन्छन् भने परालका ‘कुरौटा’ जिम्दार घरमा । 

यो हो, तिहार सकिएपछि सुरु भएर माघसम्म चालु हुने थारू खेन्ह्वाँ दृश्य । तर, आजको होइन । धेरै वर्षअघिको ।‘परापूर्वकालदेखि चल्तीमा रहेका खेन्ह्वाँ मिचिए,’ अंग्रेजी प्राध्यापनरत दाङका अनुसन्धाता केबी चौधरी खेर गएको खेन्ह्वाँ याद खिप्छन्, ‘थारू लोकजीवन फुल्ने खेन्ह्वाँमा त अचेल मन्दिर पो उभिएका छन् ।’ 
।। १ ।।
फागुन पहिलो साता लेखक छविलाल कोपिलासँग रापती किनारैकिनार ‘डेउखर’का हँसनापुरदेखि गढवासम्म थारू रैथाने बस्ती घुम्ने मौका मिल्यो । त्यसरी नै २०५८/५९ तिर कोपिलासँग नै कैलाली र बर्दियाका थारूबस्ती डुलेको थिएँ । त्यसवेला भने कति गाउँमा विनोद, सजना र गणेश चौधरी पनि थिए । त्यसरी डुलेको केही समयमै जनादेश संवाददाता सजना बेपत्ता पारिए । अहिलेसम्म पनि बेपत्तै छन् । 

लामो अन्तरालपछि तिनै बस्तीमा आदित्य अधिकारी, ज्ञानु अधिकारी, सैफ खालिदहरूसँग डुलेँ, भागिराम चौधरी र मानबहादुर चौधरीहरूका पछि लागेर । दाङको बबई, सेवार, ग्वार, काला, कट्वाखोला छेउछाउका थारूबस्ती त पानीपँधेरा नै भइहाले । रापती किनारका केही थारू गाउँमा यसअघि नै पुगे पनि ‘डेउखर’ हँसनापुर भने पहिलोपालि पुगेँ । करिब १८८ घरधुरीवाल हँसनापुरको युवा क्लबले साँझपख पीपलबोटमुनि चौरमा छविलाल कोपिला, सुशील चौधरी, इन्द्र चौधरी अभिनीत ‘भुरभुरा रहर’ फिल्म देखायो । करिब बीस घरधुरीबाहेक बाँकी जम्मै थारू समुदाय छन् । 

बिहानपख ७३ वर्षीय विपटु थारू, युवा क्लब अध्यक्ष अनिल चौधरीसहित केही पाका र केही युवासहित जंगल र हँसनापुर गाउँ डुल्यौँ । गाउँ घुम्दा तिनीहरू खेन्ह्वाँ यादमा बल्झिए । हँसनापुरे खेन्ह्वाँ थिएनन् । रापती किनारका कमानपुर, कस्सेपुर, लँँङ्री, बलामपुर, बनगैं, वनगाउँ, मजगाउँलगायत रैथाने थारू गाउँबाट खेन्ह्वाँ गायब थिए । गाउँको जनसंख्याअनुसार दुई–चार कट्ठादेखि चार–पाँच बिगाहासम्म फैलिएका खेन्ह्वाँ सकुशल थिएनन् । 

बलामपुर साँझमा नारायण योगी कतिखेर दुब्लाइरहेको रापती नदी र बिदा भएका पानी जीवका यादमा बगे त कतिखेर डाइनोसरमा परिणत भएको रापती डुंगामा डुबे । थारू गीत, थारू संस्कृति, कुमाल, मुस्लिम, रापती नदी, रापतीमा डुंगा चलाएका अनुभव दहमा डुब्दै खेन्ह्वाँमा हराए । 

।। २ ।।
उज्यालोसँगै थारू बाल–बूढाबूढी खेन्ह्वाँमा पुग्थे । परालको आगो ताप्थे । रमाउँथे । खेल्थे । पराल खरानीले चोसेमोसे हुँदै कौरा पोलेर खान्थे । दाइँ लाउँदा थाकेका ‘जन्नी मनै’ ‘बठिन्न्या’ ‘ठर्‍या’ र ‘ठारु मनै’ थकाइ मार्न गाउँथे ।  थारूले दसैँ अघि नै बर्कीमार गाउँदै धान काट्थे । तिहारपछि बर्किमारको पालो सकिन्थ्यो । मंसिरमा गाउने मैना खेन्ह्वाँमा फुल्थ्यो । पुस लागेपछि ढमार गाउँथे । बसेर गाउने ढमार त सबभन्दा बढी खेन्ह्वाँमै फुल्थ्यो । सार्वजनिक थलो खेन्ह्वाँमै फुलेका गीतसँगै थारू संस्कृति सुसिल्थे । कौरा खाँदै समाचार फुल्थे । तिनले खेन्ह्वाँमै सुखदुःख बिसाउँथे । 

कृषिमा आश्रित थारू समुदायले धान दाउन गाउँको बीचतिर खेन्ह्वाँ बनाएका हुन्थे । प्रत्येक थारू गाउँमा कम्तीमा एउटा खेन्ह्वाँ हुन्थ्यो । त्यो खेन्ह्वाँ गाउँको हुन्थ्यो । त्यसभित्र गोत्यारको हुन्थ्यो । त्यसको अझ भित्र घरको हुन्थ्यो । अर्थात् फलानो गाउँको खेन्ह्वाँ भनेर भनिन्थ्यो । त्यसभित्र पसेपछि फलानो गोत्यारको खेन्ह्वाँ भनेर चिनिन्थ्यो । त्यसभित्र पनि पसेपछि फलानो घरको भनेर भनिन्थ्यो । 

खेन्ह्वाँ मूल रूपमा त धान दाउन नै प्रयोग हुन्थ्यो । धान गोरुले दाउँथ्यो । तिहार सकिएको केही समयपछि सुरु भएको दाइँ लाउने काम माघसम्म जारी रहन्थ्यो । खेन्ह्वाँमै थारूले वर्षभर फल्ने अन्नपात जम्मा गर्थे । यसरी अन्नपात राख्नुअघि कुखुरा, खरानी, बढनी, करइै (रक्सी राख्ने भाँडो)ले खेन्ह्वाँ पूजा गर्थे । एक घान दाएपछि धानको थुप्रोलाई गोबरले घेर्थे । जुन एकै सासमा घेरिसक्नुपथ्र्यो । गोबर नभए हँसियाले घेरा हाल्थे । त्यसपछि बल्ल ओसाउँथे । ओसाएको धानमा फलाम अनिवार्य भन्दै कोदालो या हँसिया राख्थे । दाएर र ओसाएर सकेपछि पाँचवटा पात राख्थे । पाँचवटै पातमा कुचोको केही सिन्का राख्थे । एकेक चिम्टी धान राख्थे । त्यसपछि बल्ल खेन्ह्वाँबाट घरमा धान भित्र्रयाउँथे । 

खेन्ह्वाँ नहुनु सामाजिक नहुनु हो । खेन्ह्वाँ नहुनु सामूहिकता गुमाउनु हो । खेन्ह्वाँ नहुनु लोकसंगीत गुमाउनु हो । गीत र संगीत नहुनु जीवनको लय गुमाउनु हो । तपाईं नै भन्नुस् त, खेन्ह्वाँविना थारू गाउँले कसरी सास फेर्ला ? सास नफेरी कसरी बाँच्ला थारूबस्ती ?

।। ३ ।।
अहिले खेन्ह्वाँ भएको ठाउँमा प्रायः मन्दिर उभिएका छन् ।कतिपय ठाउँमा गाउँको मर्वा बनाएका थिए । मर्वा भनेको थारूले पुज्ने भुँयार थान हो ।‘हाम्रो गाउँमा ठुल्ठूला छवटा खेन्ह्वाँ थिए । एउटै खेन्ह्वाँ चार–पाँच बिगाहाका,’ आफ्नो गाउँ मजगाउँका खेन्ह्वाँ भएको ठाउँमा पुगेर नोस्टाल्जिक हुँदै लेखक छविलाल कोपिलाले भने । उनको गाउँका खेन्ह्वाँ भएका ठाउँ कति स्वर्गद्वारी गुठीको जग्गा थिए त कति ऐलानी त कति सार्वजनिक जग्गा । 
‘ऐलानी जग्गा भएको ठाउँको खेन्ह्वाँमा कतै बाँस रोपेका
छन् त कति अतिक्रमित । गुठीले भने आफ्नो जग्गा लगिसक्यो,’
लेखक कोपिला भन्दै थिए, ‘हाम्रो ‘डेउखर’मा पाँच–दस वर्ष भयो, खेन्ह्वाँ हराएको ।’ 
।। ४ ।।
नेपालको चौथो ठूलो र आदिवासी जनजातिमध्ये दोस्रो ठूलो जनसंख्यावाला थारू समुदाय । आफू बसोवास गरेका पूर्व, मध्य, पश्चिम र सुदूरपश्चिमका तराई र भित्री मधेस तीनै थारूले गुल्जार बनाएका हुन् । तर, यी भूमिपुत्र थारू समुदाय पहाडी शासक खलक र मधेसी शासक खलकका दोहोरो शोषणमा प¥यो । जंगबहादुर राणाको मुलुकी ऐनले ‘मासिन्या’मा राखेको थारू ‘कमैया’ र ‘कम्लरी’ जिन्दगी जियो । थारू समुदाय अहिले पनि कृषिकर्ममै छ । धान, तोरी, मसुरो, गहुँ दाउन छाडेको छैन । तर, अहिले अन्नपात राख्ने र दाउने खेन्ह्वाँ छैन । 

उसो भए कसरी दाउँछन् त खेन्ह्वाँविनै ? 
अहिले खेतमै दाउँछन् । पराल पनि घरछेउमा लगेर राख्छन् । 
धेरै ठाउँमा त गोरुलाई मेसिनले विस्थापन गरिसकेको छ । 
समय फेरिँदा र नयाँ प्रविधि आएको मौका छोपेर प्रकृति पूजक थारू खेन्ह्वाँमा मन्दिर उभिएका छन् । 

पहाडी हिन्दू शासक खलक औलो उन्मूलन भएपछि कि थारूबस्तीमा झरे कि दनुवार, सतार, सन्थाल, राजवंशी आदि आदिवासी बस्तीमा । मन्दिरवाला प्रधानमन्त्री, मन्त्री, सिडिओ, पुलिस, सेना भएपछि थारू खेन्ह्वाँमा मन्दिर उभिन केको आइतबार ? अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र नेपालमा केपी ओली एकसाथ सत्तासीन भएको वेलाका के कुरा ! 

उसो त टोल र गाउँ थारूबहुल भए पनि वडा या टोल विकास अध्यक्ष शासक खलककै कब्जामा छ । थारू लोकजीवन फुल्ने सार्वजनिक खुला ठाउँ अर्थात् खेन्ह्वाँ खत्तम भएपछि के भयो ? 

एक, थारू सामूहिकता हरायो ।
दुई, प्रकृति पुज्ने थारू पूजाथलो मेटियो ।
तीन, खेन्ह्वाँसँग जोडिएका गीत–संगीतसँगै थारू
लोकजीवन हरायो ।

खेन्ह्वाँसँग जोडिएको थारू सामूहिकता, गीत र जीवनशैली आजको मितिसम्म पनि आवश्यक छ । मन माझ्न र गीत फुलाउन खेन्ह्वाँ जहिल्यै जरुरी छ । खेन्ह्वाँमा बनेका मन्दिर वा कुनै संरचनाले थारूबस्तीलाई न जीवन दिन्छ, न गीत, न गति दिन्छ । खेन्ह्वाँजस्ता सार्वजनिक थलोविना कसरी थारू लोकजीवनले सास फेर्ला ? थारू बस्तीले त खेन्ह्वाँ गलाले पो सास फेथ्र्यो । काठमाडौंले जसरी सार्वजनिक थलो गुमाए थारूबस्ती कसरी बाँच्ला ?

तपाईंलाई लाग्ला, बगेको खोलाको याद गर्नुको तुक छ ? हो, प्रविधि र समयले हिजोजस्तो खेन्ह्वाँ असम्भव होला । तर, खेन्ह्वाँले फुलाउने सामूहिकता, गीत र थारू जीवन भोलिसम्म पनि खाँचो छ । सास फेर्नसमेत खेन्ह्वाँ खाँचो छ । खेन्ह्वाँविना कसरी थारू गाउँको पहिचान रहन्छ ? 

खेन्ह्वाँ नहुनु सामाजिक नहुनु हो । खेन्ह्वाँ नहुनु सामूहिकता गुमाउनु हो । खेन्ह्वाँ नहुनु, गीत नहुनु हो । खेन्ह्वाँ नहुनु, लोकसंगीत गुमाउनु हो । गीत र संगीत नहुनु, जीवनको लय गुमाउनु हो । तपाईं नै भन्नुस् त, खेन्ह्वाँविना थारू गाउँले कसरी सास फेर्ला ? सास नफेरी कसरी बाँच्ला थारूबस्ती ?