• वि.सं २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नवीन विभास
२०७६ फाल्गुण २४ शनिबार ०८:१८:००
सम्झना

फाइटर झरनाको असली लडाइँ

२०७६ फाल्गुण २४ शनिबार ०८:१८:००
नवीन विभास

फागुन पहिलो साता । घोराहीको सामान्य सिलाइ पसल । कुनै याममा फाटेको मान्छे मन सिलाउन ‘जनयुद्ध–आँधी’मा बत्तिएकी एउटी युवती कलमा कुर्ता सिलाइरहेकी छिन् । पाँच फिट अग्ली गहुँगोरी युवती ससाना छोरी संयोजना र दीपशिखासाथ कलको सियोमा घरि तिनका स्कुले कापीकलम नाठी हाल्छिन्, त घरि अरब उडेका अरब पतिको याद । 

अरब पतिले फोनमा ससुराल सन्चो–बिसन्चो पनि सोधेपछि उनी माइती गाउँ पुग्छिन् । इरिबाङमुनि पाखामा बसेको केवरी । काठमाडौंबाट बहुदल रोल्पाको सुदूरगाउँ केवरी (चन्द ठकुरी र डाँगी क्षेत्रीबहुल गाउँमा मगर र दलित पनि छन्) पनि पुग्छ । साथमा एउटा कहावत पनि, ‘ठूलाठाली र हुनेखानेको पार्टी कांग्रेस हो, हुँदा खाने गरिबको पार्टी मशाल ।’ ठकुरी र क्षेत्री कांग्रेसमा लाग्छन् भने मगर र दलित मशालमा । कहावतको ‘अपवाद’ केही थान मास्टर उभिन्छन् त केही थान जानभानहरू । उही मशाल पछि एकता केन्द्र हुँदै माओवादीमा परिणत हुन्छ । 

बहुदल आउनुअघि गाउँबाट मुक्खे ठाकुर कपिलवस्तुको शिवगढी ‘देश’ जान्छन् । रोल्पातिर बसाइँ सर्नुलाई देश जाने भन्छन् । उनै मुक्खे ठाकुर कान्छापुत्र हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ । जो कहावत अपवाद उभिन्छन् ।  माओवादीको जनवादी गीत ती युवती बालामनमा बास बस्छ । स्कुलमा गाउँछिन् । नाच्छिन् । बिस्तारै कलिला गोडा माओवादीतिर ढल्कन्छन् । 

परिवारले माओवादीमा लाग्न नदिन साढे १२ वर्षको उमेरमै थुनिकोट बिहे गरिदिन्छन् । तर, बिहे–विद्रोह गर्छिन् । २०५४ मा गरेको बिहे–विद्रोह नै युवतीको विद्रोह थालनी हो । भीमकुमारी विश्वकर्मा बन्छिन्, कमरेड झरना । वाइसिएलपछि रोल्पा महिला संगठन दुई नम्बर एरिया सदस्य बन्छिन् । एरियालाई सेनाको कोटा तोक्छ । १३ जना महिला कार्यकर्ताले गोला टिप्छन् । सेनामा जाने गोला झरनाको भागमा पर्छ । 

झरना गाउँको सिरानी राँक्माधुरीको छातीमा सम्म ठाउँ छ । नाउँ हो, सुकीदह । त्यहीँ ०५६ मंसिर २८ गते देशभरका माओवादी सेनाले तालिम गर्छन् । जुन माओवादीको पहिलो सैन्य तालिममा उनले पहिलो सैन्य तालिम पासाङबाट लिन्छिन् । तालिम समापन पासाङ भाषण झरिरहेका वेला ओबाङ पुलिसचौकीबाट गएको पुलिस गोली झार्छ । पूर्वका दुई स्क्वाट (गोर्खा र रामेछाप)का एकेकजना गरी ११ माओवादी मारिन्छन् । सुकीदह लडाइँमा बचेकी झरना प्युठान, दाङ, सल्यान, जाजरकोट हुँदै सुदूरपश्चिम पुग्छिन् । होलेरी आक्रमण (२०५८ असार २८)पछि हरेक लडाइँमा ‘फस्ट असल्ट’मा लड्ने खतरा फाइटर झरनाको असली लडाइँ सुरु हुन्छ । 

खारा ‘दुस्मन’को सम्झना 
कलमा कुर्ता सिलाउन स्थगन गरी रुकुम खारा पुुग्छिन्, एकजना दुस्मन र कमरेड सम्झनामा सुरेली खेल्दै । २०६१ चैत २५ राति । प्लाटुन कमान्डर कमरेड झरना दोस्रो खारा लडाइँको फस्ट असल्टमा छिन् । आर्क भिरालो छ । हानेको ग्रिनेड आफैँतिर फर्कन्छ भने हानेको गोली सही ठाउँमा लाग्दैन । अलि तल बारी छ । बीचमा भिर र माथि शाही सेनाको टनेल । गोलाबारुदको बीचबीचमा जनमुक्ति सेना कमान्डर कासन सुनिन्छ । 

लड्दालड्दै उनले बोकेको इन्सासको ब्यारेल ‘जाम’ हुन्छ । अर्को हतियार लिएर कोही नपुगेपछि जोडले कराउँछिन् । उनको आवाज पछ्याउँदै टुइन्च मोटार खस्छ । त्यसवेला बिहानको पाँच बजेको हुँदो हो । खसेलगत्तै छेउका कमरेड ‘ऐया’ नै भन्न पाउँदैनन् भने उनी बेहोस ।केही समयपछि उनका कमान्डर वसन्त (लमजुङका वसन्त खाराबाट फर्कंदा कोटगाउँ हान्निङमा मारिन्छन्)का रनर (अंगरक्षक) सल्यानका आदर्श पुग्छन् । झरनालाई जिउँदो वा मरेको भनी जाँच्नलाई हल्लाउँछन् । आदर्श बोली झरना कानमा खोर्लाङ्ग पस्छ, ‘दाइ दाइ यो त छैन । मरिसक्या छ ।’ वसन्त भन्छन्, ‘उसो भए छोर्दे, निकाल्न सकिन्न ।’ शाही सेना टनेलमा धकेल्छन् । 

झरना भन्छिन्– म त चुलोचौकोमै फर्किएँ, दुस्मनले मलाई बचाएको पनि आफ्नै नेता र कमान्डरका यस्ता ‘हबिगत’ देख्नलाई रहेछ

जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन ‘पासाङ’को टिम एकैरात सकाउने गरी लड्छ भने अर्का डेपुटी कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’को टिम मोर्चाबन्दी लडाइँ लड्ने गरी बंकर खन्दै लड्छ । लडाइँ नै फरक–फरक ढंगले लडेपछि कसरी जित्नु ? जनमुक्ति सेना सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्ड र कमरेड झरना माइती गाउँले कमरेड विप्लव खाराभन्दा चार–पाँच घन्टा पैदल दूरीको रोल्पा घर्तीगाउँ र ओतको सिमाना आरुडाँडामा हुन्छन् । पासाङले आदेश माग्छन् (खारा लडाइँको प्रत्यक्ष प्रसारण गरेको माओवादी ‘डोको रेडियो’ भन्छ), ‘क्षति त धेरै भयो । के गर्ने हो, सल्लाह गरेर निर्देशन दिनुस् ।’ दोस्रोपालि हारेको खारा लडाइँले ‘जनयुद्ध’मा ‘विशेष’ अर्थ बोकेको छ । 

एक, खारा दोस्रो लडाइँ जनमुक्ति सेना सुप्रिम कमान्डर प्रचण्डले प्रत्यक्ष कमान्ड गरेको पहिलो र अन्तिम लडाइँ हो । त्यसबाहेकका लडाइँमा प्रचण्ड कि भारतमा छन् कि लडाइँथलोबाट धेरै टाढा । दुई, खारा हारपछि माओवादी काठमाडौं पस्छ । तारबार काट्न सक्ने बन्दोबस्तीविना जित्न सकिँदैन भनेर जनमुक्ति सेनाले भनेको हो । तर, किन हारेकै खारामा प्रचण्डले लडाए ? पासाङ र प्रभाकरलाई किन फरक–फरक ढंगले लड्ने गरी प्रशिक्षित गरे ? ‘सकिँदैन’ भन्ने बहाना खोज्न प्रचण्डले दोस्रोपालि पनि हारेको खारा हान्ने योजना बनाएका हुन् ? खाराबाट माओवादी काठमाडौं पस्ने बाटो हिँडेपछि जनमुक्ति सेना कमान्डरहरू अहिले पनि यी प्रश्न सोध्छन् । माओवादीले दोस्रोपालि पनि खारा हार्छ । थकित शाही सेना फायरिङ गर्दै ब्यारेकबाहिर निस्कन्छ । भिर, कान्ला, बंकर, बारीको पाटामा लडेका जनमुक्ति सेना शवमा टेक्दै, लात्ताले हान्दै, गाली र गोली पड्काउँछन् । 

‘पेटमा टेकेर लात्ताले दुईपालि भ्वाक्क हानेपछि होसमा आएँ । सुनेँ, ‘छैन साला रन्डीको छोरा ।’ त्यसपछि अर्कोले ‘राँडीको छोरा यहाँ पनि ढलेको छ’ भन्यो । त्यसपछि मलाई अर्को खाल्डोमा पल्टायो । त्यसपछि पूरा होस खुल्यो क्यार ! सबभन्दा पछि जानेले भन्यो, ‘यल्ले त सास फेरिरहेको छ ।’ तर, अघि जानेले वास्ता गरेन,’ झरना त्यस बिहान सम्झन्छिन् । के सम्झेर कुन्नि ? यस्तै दुईचार ढिक काटेर शाही सेना झरनाकहाँ फर्कन्छन् ।

‘दुस्मनले मैले लगाएको क्याप फाल्यो । त्यसवेला बोलेछु, क्यार ! ‘रन्नीको छोरा भए त छाड्ने थिइनँ, लेडिज रहेछस्, जा भाग्’ भन्यो । राम्रो त के बोल्थ्यो, दुस्मन त भइहाल्यो,’ शाही सेनाले बोलेको कुरा सम्झँदै झरना भन्छिन् । त्यसपछि जोडले चिच्याएर गोली हान्न भन्छिन्, ‘म हिँड्न सक्तैनँ । गोली हान् ।’ 
दुस्मनले दिएको ‘दुस्मन आदेश’ किन पालन गर्नु ? शाही सेना त गोली नहानी चुपचाप उभिन्छन् । ‘खुट्टाबाट होतार्दै लग्यो । ओरालोमा हुत्याएर डाँडा कटायो । त्यसपछि खोल्सा पनि नघायो । उठ्न सकिनँ । घसँ्रदै गएँ । भन्यो, ‘यसरी जा, यो साइडमा हाम्रो फोर्स छैन,’ आकृति पनि भुलिसकेको शाही सेनाका बोली सम्झन कोसिस गर्छिन् । 

‘दुस्मन फर्केपछि एकछिन बसेँ ।’  छेलाङबेलाङ उज्यालोमा भिर साइडबाट खोल्साबाट लत्रँदै खोला पुग्दा पिँडौलामा गोली लागेर छटपटाइरहेकी रोल्पा सिर्पकी समरयात्री भेटिन्छन् । घस्रिरहेकी झरना देखेर समरयात्री तर्सन्छिन् । हेर्छिन्, हिप र टाउकोमा रगतैरगत छ । ‘तँ पनि छुट्या छस्,’ समरयात्री भन्छिन् । एकअर्कालाई ‘तँ’ सम्बोधन गर्ने एकदमै मिल्ने कमरेड भेट हुन्छन् ।

 ‘तँ एक्लै हो ?’
‘हो । हर्न सक्तैनस् ?’
‘अहँ ।’ 
बमबारुदको कोलाहलले निद बिथोलिएका चरासमेत नियमित काममा निक्लेका हुन्नन् ।  ‘बहिनी भेटेपछि साहस बढ्यो होला । नभेटेको भए त आत्तिएर नै मर्थे हुँला,’ झरना मनमा उब्जेको आशंका आकासिन्छ, ‘कति त मजस्तै जिउँदै हुँदा हुन् । कतिलाई दुस्मनले मार्‍यो होला, कति आत्तिएरै पनि सहिद भए होलान् ।’ न झोला छ, न त बन्दुक । न खानेकुरा छ, न पैसा । जिउमा सिर्फ च्यातिएका कम्ब्याक्ट ड्रेस  छ । रातभर लडेको थकान । खाली पेट । घाइते शरीर । कसरी हिँड्नू ? 

एकअर्कालाई तानातान गर्न थाल्छन् । एउटा माथि गएर अर्कोलाई तान्छन् । ससाना ढिकसमेत सगरमाथा चढेजसरी चढ्छन् । बाँच्ने डोरो पहिल्याउँदै भाग्न कोसिस गर्छन्, जति सक्दो चाँडो खारा ब्यारेकबाट टाढिन । बाटोमा न दुस्मन भेट्छन्, न कमरेड, न सर्वसाधारण । भोकले चुत्राका कलिला पात चपाउँछन् । त्यसवेला तिनका मनमा कति भयानक कट्रिना आँधी चलिरहेको हुँदो हो ? अचेल कोरोना भाइरस आतंकले जसरी ती कति ठहरै भएका हुँदा हुन् ? 

‘रगत बगेर होला, विनासुर्ता हिँडिम् । करेन्ट लागेजस्तो भयो । चोट लागेको पनि थाहा भएन,’ त्यो क्षण सम्झेर झरना झस्कन्छिन् । बिहान सात बजेतिर बाटो लागेका दुइटी झुल्नेटा बजार तल झरेर जंगलैजंगल खौला पुग्दा बेलुकी चार बज्छ । त्यो बाटो स्थानीयका लागि बढीमा दुई घन्टा होला । सामान्य उपचार हुन्छ । कपडा फेर्छन् । एरिया इन्चार्ज दयाराम ओलीले सल्यानको दहखोला पुर्‍याउँछन् । दुईचार दिनको आरामपछि भारतको लखनउ पुग्छन् । 

तीन महिनापछि रोल्पा थबाङ पुग्दा शोकसभा भइरहेको हुन्छ । ‘सहिद’ भनिएका झरना र समरयात्रीलाई देखेर कमरेडहरू छक्क पर्छन् । समरयात्री भने केही वर्षपछि सहिद हुन्छिन् । झरना कतै जाँदा वा अपरिचत कोही आफ्नो अगाडि उभिए, उनै दुस्मन उभिएजस्तो लाग्छ ।

शाही सेना र पुलिसलगायत त्यसवेला राज्यसत्ताको पैरवी गर्नेलाई माओवादीले ‘दुस्मन’ भन्छ । तर, झरनासामु दुस्मनले त दुस्मनको अर्थ नै बदलिदिन्छन् । 
‘न मेरो आँखामा उनको अनुहार छ, न मनमा । मेरो जीवनदातालाई मेरो सम्मान छ । उनलाई सम्बोधन गर्ने मसँग शब्द नै छैन । कुनै दिन भेट होला कि भन्ने आस छ,’ कमरेडहरूले मर्‍यो भनी बंकरमा छाडेको तर दुस्मनले बचाएको सम्झेर भावुक हुँदै झरना भन्छिन् । 

काठमाडौं भ्याली एसटिएफ

खारा सम्झना बिट मार्दै झरना काठमाडौं पुग्छिन् । माओवादी रोल्पा गाम (०५९ वैशाख १९) हान्छ । लगत्तै थबाङका ऋषिकेशव बुढा उर्फ कमरेड सवीन नेतृत्वमा ११ जना ‘भ्याली एसटिएफ’ भएर काठमाडौं हानिन्छन् । ‘मूर्खहरू छानिइम् होला नि ! गर्न सक्छु भन्ने आँटी, जहाँ पठाए पनि खट्ने भावना थियो,’ भ्याली एसटिएफ आफू छानिनुको कारण खोतल्दै झरना भन्छिन्, ‘सानो छ । हल्का छ । छिटो छरितो हामफाल्छ भन्थे ।’ 

त्यसवेला झरना एफजिएल हुन्छिन् । झरना टोली प्युठानको स्याउलीबाङ, अर्घाखाँची, बाग्लुङ, स्याङ्जा, नुवाकोट हुँदै १५ दिनपछि मकवानपुरको कान्दा पुग्छ । त्यसवेला काठमाडौं उपत्यकावरपरलाई माओवादीले नाउँ दिएको हुन्छ, रिङ । ११ जनाको टोली पनि झन् सानो टोलीमा विभाजित हुन्छ । झरनासहित सवीन र चन्द्रमा गरी तीनजनाको एउटा टोली बन्छ । यो टोली पहिलोपालि दिउँसोपख मनमैजु पस्छ । एक्सनमा होइन, नेवार भेलामा । 

काठमाडौंमा आफूलाई ‘एलेन’ लाग्छ । न भाषा मिल्छ, न लवाइखवाइ । सेना र पुलिस देखे मुटु फुल्छ । बोलाए पनि चिनेर पो बोलाएजस्तो लाग्छ । बजार निक्लँदा झरना कहिले कुर्तासुरुवाल लाउँछिन् त कहिले भेस्ट र पाइन्ट । ‘गाउँको मान्छे सहर झर्दा जस्तो अन्योल हुन्छ नि, हो, उस्तै देखिने प्रयास गरिम्,’ काठमाडौं सम्झेर झरना नोस्टाल्जिक हुन्छिन् । काठमाडौंमा ‘पेजर जमाना’ सुरु भएको हुन्छ ।

जसलाई पछि मोबाइल फोनले विस्थापित गर्छ । माओवादीले पेजर प्रयोग गर्छ । झरना सम्झन्छिन्, ‘पेजर नम्बर छाड्ने हो । यो ठाउँमा यस्तो यस्तो भनेर छाड्ने र तुरुन्तै नम्बर फेर्ने । एक्सन सकियो कि भ्यालीबाट निक्लिहाल्थिम् ।’झरना टोली अनगिन्तीपालि काठमाडौैं पस्यो अनि निक्ल्यो । काठमाडौंको बालाजु, भक्तपुर र ललितपुरका सर्वसाधारण घरमा बसेको अहिले पनि झरनालाई याद छ । 

कमरेडहरूले मरी भनी बंकरमा छाडेको तर दुस्मनले बचाएको सम्झेर भावुक हुँदै झरना भन्छिन्– मेरो जीवनदातालाई सम्मान छ । उनलाई सम्बोधन गर्ने मसँग शब्द नै छैन । कुनै दिन भेट होला कि भन्ने आस छ ।

पेजर प्रयोग गरेरै सरकारले थुप्रै माओवादी समाउँछ । भ्यालीबाहिरका तल्लो तहका माओवादीलाई काठमाडौंमा एकदमै असुरक्षित मानिन्छ । सर्वसाधारण घरमा एक गिलास चामल थपेको र ट्वाइलेटमा नयाँ मानिस गएको पनि थाहा हुन्छ । त्यसैले ठूला माओवादीले सचिव वा व्यापारी वा कांग्रेस÷एमाले नेताको घर रोज्छन् । सुरक्षित पनि हुने र मिठोमसिनो पनि खान पाइने । ठूला माओवादी त वर्ग दुस्मन घोषणा गरेको मान्छेकै घरमा सेल्टर लिन्छन् । साना काँटीका झरनाहरू भने बेपत्ता पारिन्छन् । 

रुकुमका साहस र रोल्पा तेबाङका शक्तिमान काठमाडौंमै बेपत्ता पारिन्छन् भने रोल्पा कोटगाउँ माडीचौरका भीषण बन्दीपुरमा मारिन्छन् । बाँकी आठजना फर्कन्छन् । काठमाडौं मात्र होइन, सुदूरपश्चिम, कर्णाली, भेरी, गण्डक क्षेत्र, पूर्वी नेपाल पनि रोल्पाली पुग्छन् । कतै पसिना बगाउँछन् त कतै रगत । 

कमरेड असिनाको पर्स 
काठमाडौं सम्झनाबाट जम्प गरी उनको आँखामा कमरेड सिस्ने र असिना उभिन्छन् । माइलाबापुत्र अर्थात् दाजु मोतीराम विक उर्फ कमरेड सिस्ने । दाजुबहिनी अर्घाखाँची सदरमुकाम आक्रमण (२०५९ भदौ २३) फस्र्ट असल्टमै लडिरहेका हुन्छन् । दाजुको टाउकोमा गोली लाग्छ । बोकेर ‘एचपी’मा पुर्‍याउँछिन् । हेर्छिन्, आफ्नो हातमा चोट लागेको छ । ड्रेसिङ गराउँछिन् । दाजुलाई स्वास्थ्यकर्मी कमरेडका जिम्मामा छाडी फेरि लडाइँमा जान्छिन् । घाइते दाजुले खोजेको भन्दै कमान्डर सुनील (किमबहादुर थापा)ले बोलाउँछन् । झरना एचपीमा फर्कन्छिन् । दाजु अर्थात् कमरेड सिस्ने बोल्न खोज्छन् । तर, बोली फुट्दैन ।

हेर्दाहेर्दै दाजु हिँड्छन् । दाजुछेवैकी घाइते कमरेड असिना मृत्युसित लडिरहेकी हुन्छिन् । छातीमा गोली लागेको छ । झरना देखेपछि असिनाका हात खल्तीमा पस्छ । असिनाको मुखबाट ‘आमा’ शब्द निक्लन्छ । झरनालाई पर्स हात पार्छिन् । बाँकी कुरा असिना मनमै रहन्छ । बुझ्न काफी हुन्छ, पर्स आमालाई पुर्‍याइदिने । 
‘१६ सय रुपैयाँ थियो । आमालाई दिन भनेकी छिन् भनेर कमान्डरलाई दिएँ,’ असिना पर्स समाएको हात हेरेर झरनामन झरनाझैँ झर्छ ।

रोल्पा भिटाबाङकी नन्दा पुन उर्फ कमरेड असिनापिता पनि जनयुद्धका सहिद हुन् । ‘त्यसवेला एक थोपा आँसु झरेन,’ झरना उही रातमा बल्झन्छिन्, ‘बरु म त आक्रोशित भएँ ।’ अरब उडेका अरब पति सम्झन्छिन् । सुरुमा एउटै स्क्वाटमा हुन्छन् । झरना पुग्छिन्, सेती–महाकाली । शशीराम घर्तीमगर उर्फ कमरेड सोनित पूर्वी नेपाल ।  एकैचोटि शक्तिखोर शिविरमा भेट हुन्छ । सात जोडीसहित झरना र सोनितको जनवादी बिहे हुन्छ । जसमा उनको सहित चार जोडी अन्तरजातीय बिहे हुन्छ । 

बिसाउनीमा
झरनाको टाउकोमा छर्रा छन् । डाक्टर छर्रा झिक्न ‘असम्भव’ भन्छन् । कानको जाली छैन । अवकाश लिएको पैसाले एउटा कान अप्रेसन गरेकी छिन् । शरीरभर बमको छर्रा छन् । खुट्टा सुन्निन्छ । टाउको दुख्छ । नियमित औषधि खानुपर्छ । खत्निसमाथि थप्निस भनेजस्तो दुर्घटनामा पर्छिन् । लामो समय लखनउ बास हुँदा दम्पतीको स्वेच्छिक अवकाश रकम झ्वाम हुन्छ । 

टाउकोमा छर्रा भएकाले न भारी बोक्न हुन्छ, न उकाली–ओराली गर्न । अब के गर्ने त ? गाउँमा आभा नचल्ने भएपछि झरना दम्पती दुई छोरी च्यापेर घोराही झर्छ । घोराहीमा टायल र मार्बल बनाउने काम गर्छिन् । दिनगन्ती धेरीमजुरी गर्छिन् । सेकुरिटी ‘गार्ड’ बन्छिन् । अन्तमा सिलाइ सिक्छिन् । 
‘म त चुलोचौकोमै फर्किएँ,’ झरना कलमा कुर्ता सिलाउँदै भन्छिन्, ‘दुस्मनले मलाई बचाएको पनि आफ्नै नेता र कमान्डरका यस्तो ‘हबिगत’ देख्नलाई रहेछ ।’

ऋणको पखेटा हालेर कम्पनी कमान्डर पति
अरब उडेका छन् । एउटा घिट्करोजस्तो उनको मनको कुनामा बसेको छ । त्यो हो, आफू हिँडेका भूगोल र सुखदुःख साटेका मानिस भेट्ने । देश बदल्न बन्दुक बोकेकी झरनाका लागि यति मसिनो कुरा पनि सपना र तिर्सना भएका छन् । ‘कहिले साइत जुर्ला ?’ एकछिन कल चलाउन छाडेर झरना, झरना झरेजस्तै ‘ढुकचुक’ सास फेर्छिन् ।