• वि.सं २०८१ भदौ २५ मंगलबार
  • Tuesday, 10 September, 2024
बबिता राई
२०७६ चैत १ शनिबार ०७:०४:००
समाज

यौनमा पितृसत्ता

समाज

२०७६ चैत १ शनिबार ०७:०४:००
बबिता राई

अब त यी महिलावादीले हामीलाई ओछ्यानमा समानता चाहियो, भनेर पनि आन्दोलन गर्छन् होला ।’ लैंगिक समानताका पक्षमा बोल्ने महिलावादीले बारम्बार सामना गरिरहनुपर्ने व्यंग्यात्मक टिप्पणी हो यो । मुख्यतः महिलावादीले उठाउने मुद्दालाई कमजोर साबित गर्न यस्ता टिप्पणीको सहारा लिइने भए तापनि यसले स्पष्ट रूपमा यौनको परम्परागत बुझाइ पनि चित्रण गरिरहेको हुन्छ ।

यसबाट समानतामा आधारित यौन सम्बन्ध महिलावादको महत्वपूर्ण मुद्दा होइन भन्न खोजिएको प्रस्ट हुन्छ । विश्वमा यौनलाई साँघुरो ‘हेट्रोनर्मेटिभ’ दृष्टिकोणबाट मात्र परिभाषित गरिएको छ जसले ‘हेट्रोसेक्सुअल’बाहेक अन्य यौन अभिमुखीकरण भएका व्यक्तिको यौन व्यवहारलाई समेट्दैन । महिलावादको संघर्ष पितृसत्ताविरुद्ध हो र निसन्देह व्यक्तिहरूको यौन सम्बन्धमा पितृसत्ता बलियो रूपमा उपस्थित छ । यसर्थ, महिलावादीले ओछ्यानमा खोज्ने समानताको बहस पनि त्यत्तिकै महत्वपूर्ण छ ।

विश्वमा यौनबारे जसरी खुलेर बहस हुनुपर्ने हो त्यसरी हुन सकेको छैन । महिलाको दृष्टिकोणबाट त झनै हुन सकेको छैन । यौनसम्बन्धी ज्ञान उत्पादनको प्रक्रियामा महिलाका अनुभवलाई समान रूपले समेटिएको छैन । हामीले बुझ्दै आएको परम्परागत यौनलाई पुरुषको यौनिकता र दृष्टिकोणमा मात्र आधारित रहेर व्याख्या गरिएको छ । नेपाली समाजमा अझै पनि यौनलाई लज्जाको विषय मानिन्छ ।

आफ्नो शरीरमाथिको स्वामित्व ग्रहण गर्न नपाइने समाजका महिलालाई यस विषयमा प्रवेश गर्न बिलकुलै सहज छैन । यौन उत्पीडनका बर्बर घटनालाई नजरअन्दाज गरिने समाजमा महिलाको यौन सुखबारे बहस गर्नुअघि निकै साहस बटुल्नुपर्ने हुन्छ । कतिपयले समाज बल्ल महिनावारी र यौन हिंसाका बारेमा बोल्न थालेको छ, त्यसैले अहिले महिलाको यौन सुखबारे बहस सुरु गर्ने समय होइन कि भन्ने तर्क पनि गर्ने गरेका छन् ।

यौन हिंसामा नपर्नु मात्र यौन जीवन सुखद रहेको संकेत होइन भन्ने हिसाबबाट बुझ्ने हो भने निकै समयअगाडि नै बहस सुरु भइसकेको हुनुप‍थ्र्यो । सिंगो यौन आनन्दको अनुभवबाट वञ्चित रहेर यौन प्रदायकको भूमिकामा मात्र सीमित रहनुलाई पनि यौन उत्पीडन मान्ने कि नमान्ने भन्ने प्रश्न अहिलेसम्म खासै उठेको पाइँदैन ।

सन् २०१५ मा अमेरिकाबाट प्रकाशित हुने म्यागेजिन ‘कस्मोपोलिटन’ले २३०० जना महिलामा गरेको सर्वेक्षणमा ७२ प्रतिशत महिलाले आफूलाई पुरुष पार्टनरले चरमोत्कर्षमा पुग्न सहयोग नगर्ने बताएका थिए । ६७ प्रतिशत महिलाले यौन सम्पर्कका वेला पुरुष पार्टनरलाई खुसी बनाउन पटक–पटक चरम सुखको अभिनय गरेको स्विकारेका थिए ।

सन् २०१७ मा डा. डेभिड डेल्भिन र क्रिस्टिन वेबरले १२५० जना बेलायती महिलामा गरेको संयुक्त अध्ययनमा ७५ प्रतिशतले योनीभित्र लिंग प्रवेश गराएका भरमा मात्र चरम सुख पाउन नसक्ने बताएका थिए । यसको अर्थ हो हामीले बुझ्दै आएको परम्परागत यौन अभ्यासले धेरै महिलालाई चरम सुखबाट वञ्चित गराउँदै आएको छ । लैंगिक समानताको इन्डेक्समा नेपालभन्दा अगाडि रहेका र तुलनात्मक रूपमा यौनका विषयमा उदार मानिने दुई देशका यी प्रतिनिधि तथ्यांकले पनि असमान यौन सम्बन्धको यथार्थबारे बुझ्न मद्दत गर्छन् ।

सन् २०१९ मा कन्डम ब्रान्ड ड्युरेक्स इन्डियाले एउटा ट्विट्मार्फत करिब ७० प्रतिशत भारतीय महिलाले यौन सम्पर्कमा चरम सुख प्राप्त नगर्ने दाबी गरेको थियो । कैयौँ भारतीय पुरुषहरूले यसको कडा आलोचना गर्दै ट्विटरमा ‘बोइकट ड्युरेक्स’ ह्यासट्यागसमेत चलाए । भारतीय महिला ट्विटर प्रयोगकर्ताले भने ड्युरेक्स इन्डियाको दाबीमा सहमति जनाए । सो सन्दर्भमा भारतीय पुरुषले दिएका प्रतिक्रिया भारतीय समाजले बुझ्दै आएको पुरुषकेन्द्रित यौन धारणाबाट निर्देशित छन् ।

लैंगिक, वर्गीय असमानता र साँघुरो सामाजिक सांस्कृतिक मूल्य मान्यताका हिसाबबाट भारत र नेपाल मिल्दाजुल्दा छन् । यसलाई आधार बनाएर हेर्ने हो भने पनि सहजै अनुमान लगाउन सकिन्छ कि नेपाली र भारतीय महिलाको यौन चरमोत्कर्षको स्थितिबीच धेरै अंकको फरक छैन । नेपाली महिलाको सामाजिक हैसियत र समाजको कमजोर र पूर्वाग्रही यौन चेतनाको स्तर हेरेर पनि उनीहरूको यौन जीवनबारे प्रशस्त अड्कल काट्न सकिन्छ ।

थोरै भए पनि भारतमा समान यौन सुखबारे बिस्तारै बहस चल्न थालेको छ । ‘लस्ट स्टोरिज’, ‘लिपिस्टिक अन्डर माई बुर्खा’, ‘भिरे दि वेडिङ’जस्ता चलचित्रमा महिलाको यौन सुखलाई जोड दिँदै महिला पात्रले हस्तमैथुन गरेका दृश्यहरू समावेश गरिएका छन् । यौन चरमोत्कर्षमा पुग्ने प्रक्रियाबारे महिला आफैँले मात्र आफ्नो शरीरसँगको सामीप्यताबाट पत्ता लगाउन सक्छन् ।

आफ्नो शरीरलाई नजिकबाट चिन्न र आफ्नो यौन आवश्यकताबारे बुझ्न हस्तमैथुनले विशेष सहयोग गर्दछ । महिलालाई हस्तमैथुनबारे खुलेर छलफल गर्न त लगभग प्रतिबन्धितजस्तै छ । ‘भिरे दी वेडिङ’ मा हस्तमैथुन गरेको दृश्यका कारण अभिनेत्री स्वारा भास्कर आजसम्म पनि दैनिक ट्रोलको सिकार बनिरहेकी छिन् । चलचित्रमा महिला र पुरुष कलाकार साथमा रहेर दिने यौन सम्पर्कका दृश्य, बीभत्स सामूहिक बलात्कारका दृश्यलाई सामान्य रूपमा लिन सक्ने भारतीय समाजले एक महिला पात्रले हस्तमैथुन गरेको दृश्यलाई किन पचाउन सक्दैन त ?

पुरुषवादी समाज कसरी महिलाको यौनिकतामाथि आफ्नो स्वामित्व दाबी गर्छ र उनको स्वतन्त्र अस्तित्वलाई स्वीकार गर्न तयार छैन भन्ने एउटा उदाहरण हो यो । सामाजिक सञ्जालमा महिलाले यौनसँग सम्बन्धित सामग्री सेयर गरेका कारणसमेत विभिन्न टिप्पणीको सामना गर्नुपर्ने हुन्छ । यी टिप्पणी जहाँबाट सुरु भए पनि महिलाको चरित्र र नैतिकताको प्रश्नमा पुगेर टुंगिन्छ । वर्तमान नेपाली समाज महिलामाथिको यौन उत्पीडनभन्दा धेरै यौन स्वतन्त्रतासँग डराउनु खतराको संकेत हो ।

आख्यानमार्फत धेरै साहित्यकारले महिलाको शरीरलाई ‘सेक्स सिम्बोल’का रूपमा व्याख्या गरेका छन् । चलचित्र उद्योगले मसालका रूपमा महिलाकै शरीर प्रयोग गर्दै आएका छन् । आधुनिक पुँजीवादी व्यवस्थाले विभिन्न नाममा महिलाको शरीरलाई निरन्तर बजारीकरण गरिरहेको छ । यी तमाम शरीर प्रदर्शन र उपभोगबीच महिलाको यौन अभिमुखीकरण र विविधताका बारेमा भने अत्यन्तै कम चर्चा भएका छन् । महिलाको यौन आनन्द प्राप्ति चलचित्रमा देखाइएजस्तो, आख्यानमा व्याख्या गरिएजस्तो सहज छैन । योनीको एउटा भाग भंगाकुर (क्लिटोरिस) नै यौन आनन्दको खास बिन्दु हो ।

धेरै महिलालाई समेत आफ्नो योनीमा रहेको भंगाकुरको कार्य र भूमिकाबारे खास जानकारी छैन । भंगाकुर व्यक्तिअनुसार फरक–फरक ढाँचामा हुने गर्छ जसको अर्थ हो सबै महिला एकै प्रक्रियाबाट मात्र चरमोत्कर्षमा पुग्न सक्दैनन् । वैवाहिक सम्बन्धमा रहेका दम्पतीहरूको हकमा हेर्ने हो भने आर्थिक रूपमा अझै पनि धेरै महिला श्रीमान्मै निर्भर छन् । आत्मनिर्भर महिलाहरू पनि निजी सम्पत्तिमाथिको स्वामित्व र कानुनी हैसियतका कारण श्रीमान्प्रति अनुग्रहित हुनुपर्ने बाध्यता छ ।

पितृसत्तात्मक संरचनामा आधारित वैवाहिक संस्थाले पुरुषलाई माथिल्लो श्रेणीमा विराजमान गराइदिएको हुन्छ । श्रीमती सधैँ सेवा प्रदायकको भूमिकामा हुन्छन् । यस्तो असमान शक्ति सम्बन्धबीच कायम हुने यौन सम्बन्ध समानतामा आधारित हुन सक्छ ? परिवारको निर्णायक भूमिकामा सहायक मात्र रहने र आफ्नो सहजताका लागि खुलेर बोल्न नपाउने महिलाले आफ्नो यौन असन्तुष्टिबारे यौन साथीलाई खुलेर बताउन सक्लान् ?

योनीको प्रकृतिबारे अनभिज्ञ पुरुष साथीसँगको यौन सम्पर्क कत्तिको आनन्ददायी हुन सक्ला ? यदि महिलाले आफ्नो यौन आवश्यकताअनुसार पुरुष साथीलाई खुलेर निर्देशित गर्ने हिम्मत गरेको खण्डमा पनि समाजले रोपिदिएको ऊभित्रको पुरुष अहंले स्विकार्न सक्छ कि सक्दैन ? आपसी छलफल र सहकार्यमा आधारित यौन सम्बन्धको अभ्यास नहुँदा यौनप्रतिको वितृष्णाले कति महिला ग्रसित छन् भनेर कुनै तथ्यांक नभए पनि यस तर्कलाई सघाउने प्रशस्त आधार छन् ।

पितृसत्तात्मक संरचनामा आधारित वैवाहिक संस्थाले पुरुषलाई माथिल्लो श्रेणीमा विराजमान गराइदिएको हुन्छ । श्रीमती सधैँ सेवाप्रदायकको भूमिकामा हुन्छन् । यस्तो असमान शक्ति सम्बन्धबीच कायम हुने यौन सम्बन्ध समानतामा आधारित हुन सक्छ ?

यौनमा चरम असन्तुष्टि झेल्दाझेल्दै पनि यौनमा संलग्न हुँदिनँ भन्न सक्ने अधिकारसमेत धेरै महिलालाई छैन । नेपालमा वैवाहिक बलात्कारको कानुन भए तापनि त्यसलाई हेर्ने आममानिसको बुझाइ अत्यन्त दयनीय छ जसले गर्दा वैवाहिक बलात्कारका मुद्दा त्यति सतहमा आउन सकेका छैनन् । बेलाबखत आउने ‘श्रीमतीलाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ’ शीर्षकका अनलाइन समाचारको तल आउने कमेन्टहरूबाट पनि बुझिन्छ कि अधिकांश पुरुषहरू श्रीमतीमाथिको जबर्जस्ती करणीलाई कति सहज र सामान्य रूपमा लिन्छन् ।

महिलाको शरीर केवल उपभोग्य वस्तु हो जसलाई विवाह गरेपछि हडप्न पाउनु पुरुषको अधिकार हो भन्ने सोचले वर्षौँदेखि जरो गाडेको छ । यौन लोग्नेलाई खुसी पार्न हो भनेर बुझेका महिलाहरू यौनमा कसरी सहभागी होलान् ? यौनमा सक्रिय रहे पनि चरमोत्कर्षमा पुग्न नसक्ने महिलाहरू हाम्रा परिवार, वरपर जताततै छन् जसले चरम असन्तुष्टि भोगिरहेको भए पनि खुलेर बताउन सकेका छैनन् ।

 

आफूभित्रै केही कमजोरी होला भन्ने भ्रम र अनेक मानसिक द्वन्द्वमा छन् । यसको अर्थ महिलाहरूको यौनिकता आफैँमा जटिल हो भन्ने पनि होइन । यौनलाई जसरी व्याख्या गरिँदै ल्याइयो, जस्ता किसिमका यौन व्यवहार अभ्यास गरिँदै आइयो त्यसले चाहिँ महिलालाई यौन सुखको प्रत्याभूति दिन सक्दैन भन्ने हो । यौन जीवनबारे यदाकदा छलफल हुँदा पनि हामी भन्न हिच्किचाइरहेका हुन्छौं ।

पार्टनरसँगको पारस्परिक सहकार्य अति आवश्यक हुन्छ । यौन बन्द कोठामा चुपचाप सम्पन्न हुने काम भनेर बुझेका व्यक्तिहरू खुलेर आपसमा संवाद गर्न सक्छन् कि सक्दैनन् ? यौन पुरुषका लागि हो भनेर बुझाइएका महिलाले म यसरी मात्र चरमोत्कर्षमा पुग्न सक्छु भनेर स्पष्ट आफ्नो पार्टनरलाई भन्न सक्लान् ? अब यी यस्ता विषयबारे पनि छलफल हुन जरुरी छ । यदि यौन सन्तान उत्पादनका लागि मात्र होइन भने महिलाहरू मात्र यसको सुखानुभूतिबाट वञ्चित किन हुने ? ‘ओछ्यानमा समानता’ खोज्न किन नहुने ? के महिलाका भागमा यौन उत्पीडनका अनुभव मात्र पर्नुपर्ने हो ?

नयाँ पुस्ता छ जसले यौन र विवाहलाई अलग राखेर बुझ्ने कोसिस गरिरहेको छ । अनेक नियन्त्रणका बाबजुद समाजका पुरातनवादी नियम तोड्ने झिनो भए पनि प्रयास गरिरहेको छ । नयाँ पुस्ता यौनका सन्दर्भमा उदार बन्दै जानुलाई पश्चिमा संस्कृतिको प्रभाव भनेर व्याख्या गर्नेहरूको पनि कमी छैन । यिनीहरू समाजमा अश्लीलता बढ्दै गएको गहिरो चिन्ता व्यक्त गर्छन् अनि स्वास्नीमाथि जबर्जस्तीकरणी जायज हो भन्दै वैवाहिक बलात्कारको कानुनलाई उडाउन अग्रसर हुन्छन् । तुलनात्मक रूपमा खुल्दै गएको पुस्तामा पनि लैंगिकतामा आधारित असमान यौन सम्बन्ध कायम छ ।

घरपरिवार, विद्यालयका पाठ्यक्रम कतैबाट उचित जानकारी नपाएपछि जिज्ञासा हल गर्न पनि किशोर–किशोरी पोर्न सामग्रीसम्म पुग्छन् । पोर्नाेग्राफीका भरमा यौन धारणा निर्माण गर्ने किशोर–किशोरी र युवामा महिलासित जोडिएका आधुनिक स्त्रीद्वेषी मिथहरूको व्यापक प्रसारण भइरहेको छ । ‘महिलाहरू हिंसात्मक यौन मन पराउँछन्’, ‘पुरुष प्रभुत्व रुचाउँछन्’जस्ता पूर्वाग्रही मिथहरूको उत्पत्ति हुनुमा पोर्न उद्योगको विशेष भूमिका छ ।

यसको प्रभाव युवापुस्ताको यौन सम्बन्धमा परिरहेको छ जसबाट महिला पीडित छन् । पीडामा पर्नुको अर्थ शारीरिक आघात पर्नु मात्र होइन, यौन सुखानुभूतिबाट वञ्चित रहनु पनि कष्टप्रद अनुभव हो । अधिकांश पोर्न यति पुरुषकेन्द्रित हुन्छन् कि त्यसमा महिलाको भूमिका केवल पुरुषलाई सहयोग पु¥याउनु मात्र हुन्छ । पोर्न उद्योगले पुरुषकेन्द्रित यौन व्यवहारमा महिलालाई सुखको अभिनय गर्न लगाएर पुरापुर भ्रम बिक्री गरिरहेको छ ।

पछिल्लो समय पोर्नसाइटमा सबैभन्दा बढी हेरिने क्याटेगोरीमा लेस्बियन पोर्न पनि पर्न थालेको छ । मुख्यतः व्यापारिक प्रयोजनका लागि नै निर्मित भए पनि यसले समयौनिकको यौन व्यवहारलाई सामान्यीकरण गर्नमा केही सकारात्मक भूमिका पनि खेलेको छ । सिंगो पोर्नाेग्राफी नै आफैँमा समस्या पनि होइन, यसर्थ यसमा प्रतिबन्ध लगाउनुको कुनै तुक छैन । हिंसात्मक यौन कुनै महिलाको ‘फेन्टासी’ हुन पनि सक्ला त्यसमा ऊ स्वतन्त्र छ, तर पोर्न उद्योगले कसरी व्यापारका निम्ति नयाँ–नयाँ स्त्रीद्वेषी मिथहरू सिर्जना गरिरहेको छ त्यस पछाडिको व्यापारिक राजनीति बुझ्न भने आवश्यक छ ।

पोर्नले महिलाको यौनिकताबारे भ्रम उत्पादन गरेर बेचिरहेको छ त्यसलाई विनिर्माण गर्ने महत्वपूर्ण कदम भनेको महिलाले खुलेर बोल्न थाल्नु हो । यौनसम्बन्धी ज्ञान उत्पादन प्रक्रियामा महिलाहरूको पनि समान सहभागिता र हस्तक्षेप हुनु हो । घुमाउरो भाषाका संकुचित यौन शिक्षालाई विस्थापन गरेर जैविक तथ्यमा आधारित स्पष्ट जानकारीसहितको शिक्षा सुरुवात गर्नु हो ।

जब वास्तविक विश्वका महिलाहरू पुरुषवादी दृष्टिकोणबाट स्थापित यौनिक भाष्यको प्रतिरोधमा बोल्न थाल्छन्, आफ्नो पार्टनरसँग निसंकोच संवाद गर्न थाल्छन्, तब बिस्तारै पोर्नले सिर्जना गर्ने मिथहरूलाई केवल फेन्टासीका रूपमा मात्र सीमित राखेर बुझिन थालिन्छ र पोर्न हाम्रा यौन सम्बन्धको मार्गनिर्देशकका रूपमा रहन पाउँदैन ।

पुरुषकेन्द्रित यौन भाष्यलाई भत्काएर अब लैंगिक समावेशितामा आधारित फराकिला भाष्यको निर्माण गर्नुपर्छ । समानतामा आधारित यौनको पक्षमा पैरवी गर्नु लज्जाको विषय हो भने अब जतिसक्दो चाँडो सकिन्छ लाजलाई पचाउने हिम्मत गरौँ ।