• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
युवराज नयाँघरे
२०७६ चैत १ शनिबार ०८:३३:००
साहित्य

अँगालोमा स्यार्पु

नियात्रा

२०७६ चैत १ शनिबार ०८:३३:००
युवराज नयाँघरे

अद्भूत स्यार्पु ताल ! पहाडै–पहाडको काखमा नीलो ताल हेरेर म अक्क न बक्क भएँ । पहाडको मायाप्रेममा जोगिएको सुन्दर ताल हेरेर म लट्ठ परेँ, विभोर बनेँ, हर्षित भएँ

‘जाँदा चारचक्के, फर्कँदा दुईचक्के !’
खलंगामा यही सल्लाह भयो । अनि गाडी चलमलायो बल्ल । खलंगाबाट हामी हुइँकिँदा बिहानको ११ ले छड्के हानिसकेथ्यो । पुगेर मात्र भएन, अरू थुप्रै लहनतहन सकेर आउनुपर्ने थियो । अरूभन्दा बढ्तै म अत्तालिएको थिएँ । पश्चिम रुकुमको खलंगा हिजोआजको सदरमुकाम । सरकारी अड्डा छन् जतासुकै । सेरी गाउँबाट उकालिएका हामी मठ पुग्यौँ । मठ डाँडामा द्वन्द्वका वेलामा ज्यान स्वाहा पार्नेहरूका नाम लेखिएको लामै ढुंगेनी खाँबो गाँडिएको थियो । मार्नेहरू, मारिनेहरूका अनेक नाम, थरले छाती चिसो भयो ।

हामी पश्चिमतिर बेगिइरहेका छौँ । पहाडको थाप्ला भएर गएको ढुंगेनी बाटो छ । थोरै बादलको रूपरंग । हरिया र भरिला पहाडको लस्करले आँखामा अनौठो र छक्क उमारिरहन्छ । सल्लेपछि तल ओर्लिएर बाटो उत्तर–पश्चिम लाग्यो । यहाँबाट तलका फाँट, सानी भेरी नदी र रमाइला टारहरू पर–परसम्म देखिए । ‘सानी भेरी र ठूली भेरी रिम्नामा भेट भयो,’ अगाडि बसेकी सिर्जनाले सुसेली हालिन् । हामीलाई पूर्ण, मनलाल वरिपरिका खोला, पहरा, फाँट र बस्ती चिनाउन आतुर देखिन्थे । 

हरिया वनपाखा र झ्याम्म रूखपात भएर गएको बाटो छ । भित्तो छाम्दै हिँड्नुपर्ने छ हाम्रो ज्यानले । सिस्ने खोला पुगिएछ । घरहरू, खेतीपाती, गराहरू र पाखोबारीले सिस्ने खोला भरिलो लाग्थ्यो । ठूलो पहरोे भेटियो कैल्देउमा । भिर ताछेर बाटो बनेको रहेछ । मन सिरिंग भयो । चारचक्के खुर्मुरियो भने हामी सबै स्वाहा हुन्थ्यौँ । पहरो फोडेर बनेको बाटोमा हामी हुइँकिन ढुंगाकै मन बनाउनुपर्‍यो । फेरि बाटो उत्तरतिर तेर्सियो । 
०००
निपाने खोलामा गाडी रोकियो । हामीले खुट्टा र जिउ तन्कायौँ । पहाडको चकमन्न आँखामा सजायौँ, पहाडको हावा मुटुभरि थन्क्यायौँ । यही मुहुनीले त म सधैँ हुरुक्क हुन्छु । बाटोमा भर्खर विकासको बिउ पुगेको छ । त्यो बिउ कहिले उम्रेला, पाउलिएला,  कोपिला हाल्ला, कहिले सुवासित होला नि !  हामी सबैका हाँसो थुतेर उत्तरी रुकुमका थुम्का, ओडार, खोँच र पखेरा हलहली हाँसिरहेका छन् । हाम्रा मन रोएका छन् । तिनका हाँसोले भनिरहेका होलान्– ‘इस, के हेर्न आएको ? भन, के हेर्न आएका तिमेरु ?’

‘काठमाडौंमा बसेर हामीलाई गिल्ला गर्न पुगेन । हाँसोमा उडाउन पुगेन । हामीलाई हेला गर्न पुगेन । हामीलाई घृणा गर्न र ठट्टा गर्न पुगेन । कुनाकन्दरा, दुर्गम, अभाव र अविकासे भनेर धारे हात लगाउन पुगेन । नजिकै आएर हेर्न खोजेको होइन ? हेर, सकेसम्म हेर । हाम्रा अस्थिपञ्जर हेर । हाम्रा नौनारी गलेका हेर । हाम्रा मुजा परेका गाला हेर । कलेटी परेका ओठ हेर । पटपटी फुटेका कुर्कुच्चा हेर । असमयमै जीवनको रङ उडेका हाम्रा अनुहार हेर । हाम्रा उकुसमुकुस र रुवाबासी हेर । द्वन्द्वले डामिएका निको नहुने घाउ र खत हेर । हाम्रा कहालीलाग्दा भविष्यका चित्र र चित्त हेर ।’ 

०००
सानी भेरी तल–तल सुसाउँदै गएको हेर्छु । यही रुकुमबाट झोसिएको थियो विद्रोहको राँको । यहीँका डाँडापाखा र वनजंगलबाट बगावतको आवाज घन्काइएको थियो । यही धर्तीबाट झलमलाइएथ्यो काठमाडौंविरुद्धको घामजून । सानी भेरीका ती लहरमा अहिले आँसु, विरह, चोट र हिँक्काहरू चुपचाप बगिरहेका होलान् । ठूली भेरीका ती तरंगमा अहिले दुःख, अपमान, भक्काना र गहु्रँगा पीडाहरू बहिरहेका होलान् । मैले सानी र ठूली भेरीका छालमा बगेका समयका ठूला–ठूला गुजुल्टामा देशको चर्किएको अनुहार हेरिरहेँ ... । बाटोमा विकास, समृद्धि, उज्यालो र सुख आउला भनेर बलि हुन तयार भएका होलान् रुकुमेलीहरू । वेदना मात्र छ उनीहरूका वरिपरि । 
०००
चारपांग्रे ढल्केर कुद्छ । भटक–भटक गर्छ मुटु । सबैका अनुहारमा डरको कालो बादल आइरहन्छ पटक–पटक भिरैभिर । केही नदेखिने अत्यास मात्र थुप्रिन्छ छातीभरि । निपाने खोलादेखि नै डोल्पा जाने बाटो देखिन्छ । पहाडको खोँचबाट एकोहोरो उत्तर लमतन्निएको गोरेटोमा घोडा, खच्चडका ताँती देखिन्छन् । सेपिला भिर निकै लम्केपछि गिल्वाङ पुगिएछ । चार–पाँच घर थिए । मगर बस्ती रहेछ गिल्वाङमा ।

पारिपट्टि उज्यालो र घमाइलो बस्ती देखिन्थ्यो सानी भेरीसँग टाँसिएको । पर–पर गएको घुमाउरो बाटो देखेर सबै अत्तालिइसकेथे । बाटो ओरालियो । घुमेर गएको बाटोले अरू भीर, ढुंगेनी ककारो, खोँच र छाँगाहरू, पहरो ताक्यो । गिल्वाङबाट पारि सेतै धागोको लठारो तल खसेजस्तो नागबेली रूप खुबै देखिरहेथेँ । मोही पारेर कसैले तल भिरतिर खसालेको जस्तो देखिन्थ्यो ।  

स्यार्पुकिनारमा मुरली, मादल, घुँङरु र ख्याली चम्किरहेथे । तर, मेरो मन स्यार्पुको लहरले तानेको तान्यै गरिरहेथ्यो । स्यार्पुकिनारमा सिङारु, टप्पा र मयूर नाच गम्किरहेथे । तर, मेरो छातीमा स्यार्पुको पवित्र छालले डाकेको डाक्यै गरिरहेथ्यो ।

‘स्यार्पुको पानी निस्केको !’ पूर्ण बोले । ‘ओहो !’ छक्क, अनौठो, खसखस र अचम्मसँग मेरो ओठ चल्यो ।तालबाट निस्केको सङ्लो, सेतो, सुकिलो र सफा पानीका हाँगाबिँगा लहरापहरा भिजाएर कुदिरहेथे । कोही खोल्सा, कोही खोला र कोही झरना भएर छङछङिरहेथे । घडी हेर्दै बेगिइरहेथ्यौँ हामी । पुगेर मात्र होइन, धेरै कुरा पढेर हामीले फर्किनु थियो । गएर मात्र होइन, धेरै कुरा जानेर फर्कनु थियो । 
०००
फलामे गाैँडा नाघियो । सानी भेरीसँग यहीँ भेट भयो । सानी भेरी दुःखले झन्–झन् गहिरिएर बगेकी मैले ठानिरहेँ । छिनखेतमा केही पसल थिए । बस्ती झुरुप्प थियो । डोल्पा जाने बाटो छुट्टिएर खोँचतिर दगुरेको रहेछ यहीँबाट । हामी पनि पूर्व–उत्तर भएर उकालियौँ । रातो माटो र फराकिलो बाटो सालघारी भएर बेगियो । सालघारीमा थियो बटुवाको ताँती । बाख्रा चराउनेहरू, ठूटा बोक्नेहरू र डोका बोक्नेहरू बग्रेल्ती थिए ।

थकाइ र भोकले चिनाजानी गर्न थालिसकेका छन् । चिनापर्ची नगर्ने कुरा नि भएन । तर, चिनजानपछि अरू माया गहिरिएला भन्ने पिरलो नि छँदै छ । बाँफिकोट पुगेर चिया खाने कुरा भएथ्यो । पछाडिकाले अगाडिको आस गरे । अगाडिकाले पछाडिबाट अरू जोडबल होस् भने । कुराको सुनुवाइ भएन आखिर । सानो गुजुमुज्जे बजार थियो बाँफिकोट । मान्छेहरूले हामीलाई झटपट हेरेँ । हामीले पनि उनीहरूलाई खराखरी हे¥यौँ । हाम्रा सुकिला आँखाले ती पखालिए । तिनका मायालु हेराइले हामी पुछपाछियौँ । 
०००
ओरालो भएर फेरि बाटो उत्तरतिर हुइँकियो । अनि टाँकुरा पुग्यौँ हामी ।  पहाड, थुम्का–थुम्कामा झम्टा मारेर कुदूँ–कुदूँ भइरहेको छ मलाई त । बाटो भित्तो–भित्तो कुदेको छ । हामी साँघुरो बाटोमा हुइँकिएका छौँ । पूर्वतिर खोलो सङ्लिएर तल झरिरहेको छ । त्यस पूर्व बस्ती, खेत, वन र पहाडको तरेलीसँग उज्यालो लुकामारी खेलिरहेको छ । एक अर्कालाई देख्न र छेक्न लागिपरेको देख्छु म । नेटा बजार पुग्दा आकाश निर्मल थियो । घाम झलमलाइरहेथ्यो । हावा हुइँकिएको थिएन । असिना कतै थन्किएको थियो । कुइरो छरिएको थिएन वायुले । 
०००
हामी गाडीबाट ओर्लेर तालको उत्तरतिर लाग्दा किशोरकिशोरी, युवायुवती, वृद्धवृद्धाको हुल थियो । हुलका हातहातमा अबिरको थाली थियो । अँगालाभरि माला थिए । कोही मादल बजाइरहेथे, कोही ख्याली, कोही मुरली त कोही मुजुरा बजाइरहेथे । माला, टीकाका मानभाउ पाउँदै नाचगान गराएर अझ उत्तरतिर डोहार्‍याइयौँ हामी । ताल किनारमा भव्य भेटघाटको वातावरण बनेको रहेछ ।

जति–जति उत्तर गयो मेरो अघि ओइलाएको मन फुल्दै गयो, फक्रिँदै गयो, सुवासित हुँदै गयो र लटरम्म महकिँदै गयो । कत्रो ठूलो, कति ठूलो ताल । ओहो, कति धेरै फैलेको ताल । अद्भुत स्यार्पु ताल ! पहाडैपहाडको काखमा नीलो ताल हेरेर म अक्क न बक्क भएँ । पहाडको मायाप्रेममा जोगिएको सुन्दर ताल हेरेर म लट्ठ परेँ, विभोर बनेँ, हर्षित भएँ । उत्तरतिर चोसो परेर पूर्व–पश्चिम फैलेको रहेछ स्यार्पु ताल ।

दक्षिणतिरबाट यसको पानी निस्केर तल सानी भेरीतिर गएको छ । ‘सर्प ऊ !’ आदिकालमा तालछेउमा कुनै बटुवाले सर्प देखेछ । त्यो शक्तिमान् सर्प अहिलेसम्म डोल्पाको गुफातिर छ रे ! कालान्तरमा ‘सर्प ऊ’ नै ‘स्यार्पु’ भएको र त्यसकै नामबाट यो तालको नाम स्यार्पु ताल भएको रहवरिपरि भेटिने सबैले बताए । तालवरपर दुई सय ५० घर छरिएको सूचना पाएँ ।

सिस्ने हिमाल पग्लेर यो ताल बनेको चन्द्रबहादुर केसीले बताए । स्यार्पु तालको पूर्वमा नेपाने टुम गाउँ, पश्चिममा अँगाई स्यार्पु गौँडा, दक्षिणमा दुनै सल्यचौर र उत्तरमा सिमलेक, सिउवाङ र थुमहरू पर्दा रहेछन् । अझ पश्चिमपट्टि तालसँगै जोडिएको अत्यन्तै मनै थला पर्ने बस्ती थियो– ताल गाउँ । स्यार्पुमा अँगारे, दादुरे, समैजा, बहुलाहा र घरेलु खोला मिसिने जानकारी गाउँलेले दिए । असोज र कात्तिकमा मेला लाग्ने रहेछ– स्यार्पुमा । दाङ, सल्यान, जाजरकोट, रोल्पादेखिका मान्छेको भाकल र श्रद्धा पोख्ने ताल रहेछ– स्यार्पु । 
०००
स्यार्पु किनारमा मुरली, मादल, घुँघुँरु र ख्याली चम्किरहेथे । तर, मेरो मन स्यार्पुको लहरले तानेको तान्यै गरिरहेथ्यो । स्यार्पु किनारमा सिङारु, टप्पा र मयूर नाच गम्किरहेथे । तर, मेरो छातीमा स्यार्पुको पवित्र छालले डाकेको डाक्यै गरिरहेथ्यो । स्यार्पुको अप्रतिम सुन्दरताले सबै मोहित थियौँ । सबै हराएर खोजिरहेथ्यौँ आफ्नै हृदयमा । ‘हेर्नु न गाउँलेहरू घर बनाउँदा खाडल खनेको माटो ल्याएर यो तालमा हाल्छन् । सबैले माटो हाल्दा–हाल्दा ताल पुरिन कति बेर लाग्छ,’ घाम झरिरहेको देखेर मेरो छेवैका जनप्रतिनिधि अत्तालिएका थिए ।

उनका कुरा सुनेर म झसंग भएँ । उनका कुराले छातीमा प्वाल परे । मुटुमा हजार लहर बेगिए । ‘हाम्रो समाज कता गइरहेको छ ?’ मेरा आँखामा अँध्यारो छायो । उकुसमुकुसिएँ म, पिलपिलिएँ म, छटपटिएँ म । स्यार्पु छोड्दा धुकधुकीमा हजार लहरले म्वाइँ खाइरहेथे !