• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश रञ्जन
२०७६ चैत १ शनिबार ०९:१६:००
फिल्म

रंगमञ्चको परिवर्तित दृश्य

रंगमञ्च

२०७६ चैत १ शनिबार ०९:१६:००
रमेश रञ्जन

मृत्युविना रंगमञ्च अपूर्ण हुन्छ । रंगमञ्च क्षणक्षण मृत्यु खोजिरहेको हुन्छ । म पात्र र कलाकारबीचको द्वन्द्वमा मारिनैपर्ने नाट्य अवस्थितिको कुरा गर्दै छु । एउटा कलाकारले स्वयंलाई नमारेसम्म चरित्रमा बाँच्नै सक्दैन । यस्ता अभ्यास कलाकार मात्रले होइन, रंगमञ्चका सम्पूर्ण अवयवले निरन्तर गर्छ । एकप्रकारको सत्यको संकेत दिने रंगमञ्चीय अवस्थालाई स्वीकार गर्छ । वस्तुतः रंगमञ्चमा घटित केही पनि सत्य होइन । सत्यको स्थापना हो ।

नाटकीय यथार्थलाई स्थापना गर्ने क्रममा एकप्रकार भ्रम सिर्जना गर्न सक्नु नै सत्यको स्थापना गर्नु हो । मृत्युजस्तो सबभन्दा शाश्वत तर कष्टकर सत्यलाई स्थापना पनि सहजताका साथ गर्न सक्ने कौशल रंगमञ्चमा हुन्छ । रंगमञ्च विवश पनि हुन्छ । जतिवेला स्वयं घटना र पात्रका रूपमा उपस्थित हुनुपर्ने हुन्छ । यहाँ म पनि पात्र बन्दै छु । ०४२ सालको कुरा हो । तृतीय अन्तर्राष्ट्रिय मैथिली नाट्य समारोहको आयोजन बिहारको राजधानी पटनामा हुँदै थियो । नेपालबाट मिनाप सहभागी थियो । महेन्द्र मलंगिया र योगेन्द्र साह नेपालीको नेतृत्वमा म पहिलोपटक आप्mनो गाउँ र जनकपुरभन्दा बाहिर नाटक प्रदर्शन गर्ने समूहको हिस्सा बन्न पाएको थिएँ ।

चमत्कारभन्दा कम थिएन अवस्था । म नाट्यशाला पहिलोपटक हेर्दै थिए । त्यसभित्र प्रर्दशन हुने नाटकहरूको चर्चा गर्ने मेरो तत्कालीन अवस्थामा क्षमता थिएन । तर, आज  लगभग ३४–३५ वर्षअगाडि मैले हेरेको नाटकको चर्चा नगरी हुन्न । हाम्रा लागि नाटकको अर्थ बडो सामान्य थियो । टेक्सट (पाठ)अनुसार पाएको चरित्रलाई आत्मसात्भन्दा पनि अनुकरण गर्नु र त्यसअनुसार मञ्चमा उपस्थित भइदिनु नै ठूलो कुरा थियो । संवाद प्रस्ट र प्रभावकारी रूपमा वाचन गर्न सक्ने त्यसताका श्रेष्ठ कलाकार मानिन्थे । नाटक विषयमा मेरो अल्पज्ञताको अवस्थामा म दयाकान्त झा निर्देशित नाटक आजुक लोक (अहिलेको मान्छे) महोत्सव हेर्दै थिए ।

मिथि यात्री कलकत्ताको प्रस्तुति थियो त्यो नाटक । निर्देशक दयाकान्त झा, नाटककारको नाउँ राम्ररी याद छैन, तर उहाँ अधिकांश गुणनाथ झा लिखित नाटक नै गर्ने हुनाले यो नाटक पनि उहाँकै हुनुपर्छ भन्ने लागेको हो । पटनाका भारतीय नृत्यकला केन्द्रको प्रांगण । नाटक गर्नलाई यस्तो ठाउँ– अचम्म ! मैले त्यसअगाडि ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ पनि हेरिसकेको थिइनँ । यस्तोमा त्यो ठाउँ त भरतमुनिले नाट्यशास्त्रमा परिकल्पना गरेको नाट्यशालाभन्दा पनि भव्य र सुविधासम्पन्नजस्तो लागेको थियो । 

सजिएको थियो नाट्यशालाको बाह्य भाग । बाहिर दर्शक मञ्चको मुख्यद्वार खुल्ने प्रतीक्षामा थिए । सबै नाटककै कुरा गरिरहेका थिए । हाम्रा लागि ती नाउँहरू सम्झन लायक थिएन । सेक्सपियर, बे्रख्त, कामु आदि हामीले त सुनेका पनि थिएनौँ । मैथिलीकै पनि महेन्द्र मलंगियाबाहेकको नाउँ पढ्न पाएका थिएनाैँ । हेर्न त कता हो कता ।

अनुशासन आशंका र भयको अवस्थामा हामी नाट्यशालाभित्र छिर्‍यौँ । पहिलोपटक नाटकमा मञ्चको फरक क्राफ्ट हेरेँ । त्यति स्मरण नभए पनि नाटकको कथाअनुसारको ठयाक्कै दृश्य सजावट देखिन्थ्यो मञ्चमा । एकअर्कालाई नछेकिने किसिमको मञ्चको स्वरूप थियो । सबभन्दा चामत्कारिक भने विद्युतीय प्रयोग थियो । पेट्रोमेक्समा नाटक गर्दागर्दै पटना पुगेका एउटा उत्साहित युवाका लागि आश्चर्यकै श्रेणीमा आउने परिघटना थियो ।

मैथिली भाषाका नाटक आजुक लोकको मञ्चनमा प्रविधिको प्रयोग हामीले गरिरहेको नाटकको विषयमा एकप्रकारको हीनताभाव उत्पन्न गराएको थियो । हामी धेरै मामिलामा सशक्त थियौँ । नाटकको पाठ अरूभन्दा उत्कृष्ट थियो । कलाकारको क्षमतालाई कसैले उछिन्न सक्ने स्थिति थिएन, तर मञ्चीय प्रविधिको ज्ञान हामीमा अत्यन्त न्यून थियो । हामी यसै नाटकको प्रर्दशनबाट मैथिली नाटकको प्रदर्शन स्तरलाई तत्कालीन अवस्थामा निर्धारण गरेका थियौँ । त्यहाँसम्म पुग्नु नै जनकपुरको मैथिली रंगमञ्चको लक्ष्य हुनुपर्छ भने लागेको थियो ।

आधुनिक मैथिली रंगमञ्चको कोलकोतासँग साइनो छ । मिथिलाको ग्रामीण क्षेत्रमा उत्सव, पर्व, त्योहारमा प्रवासी मैथिलहरू आफ्नो  घर फर्केपछि मनोरञ्जनका लागि नाटक गर्थे । एम्योचोर थिएटर नै मैथिली थिएटरको प्राणतत्व थियो । रोजगारका लागि कोलकोता गएका मैैथिलीभाषी बंगालीहरूको नाटकप्रति समर्पण र व्यावसायिक स्वरूपबाट प्रभाव ग्रहण गरेका थिए । 

त्यतिवेला श्रीकान्त मण्डल, दयाकान्त झा, कुणाल र केही दिनका लागि महेन्द्र मलंगिया पनि कोलकोतामै आधुनिक चेतसहितको रंगमञ्चको ज्ञान–गुन सिकेका थिए । त्यसमध्येका मलंगिया नेपालमा, कुणाल पटनामा र श्रीकान्त मण्डल र दयाकान्त झाले कोलकोतामै सक्रिय रंगकर्म गरे । दयाकान्त झा निर्देशित नाटक आजुक लोक हेरिरहँदा म अहिले पनि सम्झिन्छु कलाकारको बंगाली टोन । खासगरी महिला कलाकारमा यो अवस्था बढी देखिन्थ्यो ।

कलाकारहरूको मञ्चमा परिचय गराउँदा ती कलाकारहरूको थरबाट थाहा भयो उनीहरू बंगाली नै थिए । यस मामिलामा हमीसँग बडो समानता थियो । जनकपुरमा यस्तै अवस्थाबाट मैथिली रंगमञ्च जुझिरहेको थियो । मैथिलीभाषी महिलालाई मञ्च आउनै नदिने सामाजिक अवस्था थियो । जनकपुरमा विकल्पका रूपमा नेपालीभाषी महिला कलाकारकै कारण मैथिली रंगमञ्च अगाडि बढेको हो । कोलकोताजस्तो महानगरमा पनि यस्तै अवस्था देखिनु प्रकारान्तरले मैथिलीभाषीको महिलाप्रतिको दृष्टिकोण र अभिजातीय अहंकारलाई नै देखाउँछ । 

८४ वर्षको उमेरमा पनि उहाँको सजगता र सचेतता अनुकरणीय थियो । उहाँको छोरा र बुहारी मैथिली भाषाका अत्यन्त शक्तिशाली कवि मानिन्छन् । उनीहरूकै कारणले पनि उहाँसँग फोनमा कुरा भइरहन्थ्योे । पछिल्लो समय उहाँ छोरा बुहारीसँग हैदराबाद बसिराख्नु भएको थियो । गत वर्ष एउटा कार्यक्रममा म पनि आमन्त्रित थिएँ । उहाँ फोनमै बडो उत्साहका साथ मेरो आगमनको सन्दर्भ उत्साह देखाउनु भएको थियो, म जान सकिनँ । 

एक समयमा नेपालभित्र मैथिली रंगमञ्चमा बडो  सक्रिय भएर चतुर्भुज आशावादीले कार्य गर्नुभयो । भानुकला केन्द्रको माध्यमले अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने मैथिली नाटक समारोहमा उहाँको अनिवार्य सहभागिता हुने गरेको थियो । यस महोत्सवको सातौँ आयोजना ०४९ तिर विराटनगरमा भएको थियो । त्यतिवेला फेरि सहभागी हुने मौका पाएको थिएँ । दयाकान्त झासँग त्यहाँ भेट भयो ।  लामो अन्तरालमा धेरै राम्रा–राम्रा नाट्य समूह मिथिलामा बनिसकेको थिए । 

मैथिली नाटकका महान् निर्देशकको शारीरिक अवसान भइसकेको छ । मृत्युको पीडादायी क्षण हो, योे । तर रंगमञ्च एउटै अवस्थामा रहन्न । दृश्य परिवर्तन भइरहन्छ । 

जनकपुरको मिनाप नेपाल र भारतकै सम्पूर्णतामै श्रेष्ठ समूहका रूपमा स्थापित भइसकेको थियो । तर, दयाबाबुको आकर्षण कम भएको थिएन । त्यस महोत्सवमा पनि सबभन्दा आकर्षण उहाँमै थियो । प्रत्येक रंगकर्मी उहाँसँग निकटस्थ हुन चाहन्थे ।  उहाँको अनुभव साटियोस् भन्ने इच्छा राख्नेहरूको संख्या धेरै थियो ।पत्रकारहरूको पहिलो रोजाइ दयाकान्त झा नै हुने गरेको थियो । यो मैथिली रंगमञ्चमा वर्षौंसम्म उहाँको सिर्जनात्मक योगदानको परिणति नै हो । 

मैथिली रंगमञ्चका यी दुईजना वरिष्ठ व्यक्तित्वको इच्छा अधुरै रह्यो कि जस्तो लाग्छ । चतुर्भुज आशावादी काठमाडाैंमा अन्तर्राष्ट्रिय मैथिली नाटक महोत्सव गराउन चाहन्थे, तयारीकै क्रममा उहाँको निधन भयो । दयाकान्त झा जनकपुरमा आउनु भएको थियो । सूचना पाएँ । मलाई बोलाउनु भएको थियो । कोलकाता अन्तर्राष्ट्रिय महोत्सव गर्ने र त्यसमा नेपालबाट हुने प्रतिनिधित्वको विषयमा उहाँको कुरा केन्द्रित थियो ।  

समग्रतामा मैथिली रंगमञ्च दुई खण्डमा विभाजित देखिए पनि अन्योन्याश्रित नै छ । सिर्जनात्मक प्रभाव एकअर्काबाट ग्रहण गरिरहेको छ । यस्तोमा खुसी, आनन्द वा पीडालाई एउटा भूगोलको सीमाभित्र छेकिराख्न सकिँदैन । संवेग र आवेग नियन्त्रण गर्न सक्ने प्रक्रिया होइन । सहज मानवीय स्वभाव हो । यसको तन्तु बडो कोमल हुन्छ । रंगमञ्चमा यस्ता घटनाका इतिहास र वर्तमान साक्षी छन् । उसमा अनेको दारुण दृश्य घटित हुन्छ ।

अप्रिय नाटक अवस्थितिको निर्माण हुन्छ । जीवनको सबैभन्दा निकट रहेको नाट्य विद्या मृत्युलाई कसरी अस्वीकार गर्न सक्छ र । सत्य के हो भने मैथिली नाटकका सर्वकालिक महान् निर्देशकको शारीरिक अवसान भइसकेको छ । मृत्युको पीडादायी क्षण हो योे, शोकको क्षण हो । तर रंगमञ्च एउटै अवस्थामा रहन्न । दृश्य परिवर्तन भइरहन्छ ।