• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन विभास 
२०७६ चैत ८ शनिबार ०८:३४:००
समाज

किन भत्के दलित र गैरदलित बिहे ?

२०७६ चैत ८ शनिबार ०८:३४:००
नवीन विभास 

एउटी दलित युवती । जनयुद्ध उकालिएका वेला जनमुक्ति सेनामा भर्ती हुन्छिन् । अर्थात् गैरमाओवादीले भनेजस्तो लडाकु बन्छिन् । युवती एउटा हातमा बन्दुक त अर्को हातमा कलम लिएर जनयुद्ध लड्छिन् । म्याग्दी सदरमुकाम बेनी मोर्चामा एउटा लडाकु आँखासँग तिनको आँखा जुध्छ । थाहै नपाई दिल एकअर्कोमा बसाइँ सर्छन् । 

त्यसपछि ? चिठी हानाहानसँगै भेटमा मन खुल्छ । अनि ? माओवादीले जग हालेको ‘नयाँ संस्कृति संस्कार’अनुसार प्रेम प्रस्ताव दर्ता गर्छन्, ‘हामी एकअर्कालाई वर्गीय प्रेम गर्छौँ ।’ 

पार्टीले उमेर, पृष्ठभूमि र आनीबानी जाँच्छ । आखिरीमा प्रेम प्रस्ताव पार्टीले स्वीकृत गर्छ, ‘एकअर्कालाई राम्ररी बुझ्न पार्टीले ६ महिना समय दिन्छ । त्यसपछि मात्र बिहे ।’

प्रेम प्रस्ताव पारितसँगै प्रेमजोडीले औपचारिक ‘डेट’ गर्न थाल्छ । लडाइँको चापाचाप र फरक बटालियनका कारण ‘डेट’ साइत सायदै जुर्छ । तैपनि मौका हेरी पार्टीले नै ‘डेटिङ’ मेसो मिलाउँछ । जसमा माओवादी नियम छः

एक, कोठामा बसेको भए ढोका बन्द नगर्ने ।
दुई, झ्यालको पर्दा खुलै राख्ने । 
आधा वर्षपछि माओवादीले बिहे चाँजोपाँजो मिलाउँछ । 

युवा कमरेड लडाकु बाहुन । युवती कमरेड लडाकु दलित । तिनका बीच भेदभाव पर्खाल गायब हुन्छ । सात जोडीले बिहे मण्डप अर्थात् ‘स्टेज’मा बन्दुक साटासाट गर्छन् । ‘सामन्ती संस्कृतिविरुद्ध धावा’ बोलेको तर्क दिन्छन् । श्रमिक संस्कृति सजाउन सुरु भएको दाबी गर्छन् । कमरेड जन्तीका तालीसँगै जनवादी बिहे सम्पन्न हुन्छ । कुरा हो, ०७२ को भुइँचालोले जसरी नेपाली समाजको अंगप्रत्यंग हल्लाउने जनयुद्धताकाको । माओवादी आन्दोलनकालीन बिहेको । जनवादी बिहेको । अन्तरजातीय बिहेको । 

।।१।।

नेपालको राजनीतिक इतिहासका राजनीतिक आन्दोलनमध्ये माओवादी आन्दोलनले जति कसले हल्लाएको छ र ! हल्लिन्छ, हिन्दू वर्णाश्रमकृत जातीय छुवाछूतले बनाएको खाडलवाल बिहे प्रणाली पनि । 

माओवादी आन्दोलनले दलित र गैरदलितबीचको अन्तरजातीय बिहेलाई पनि झन्डै ‘आम’ बनाउँछ । मूल कारण हो, माओवादीले लगाएको नारा– पुरानो ध्वंश गरी नयाँ निर्माण । बिहेको नयाँ चलन चलाउँदा तीन कुरालाई विशेष जोड दिन्छ । एक, सामूहिक बिहे । दुई, पुनः बिहे । तीन, अन्तरजातीय बिहे ।

जनयुद्ध नथाल्दै माओवादी आधारभूमि रोल्पामा, सायद पहिलोपटक, तीन जोडी (जसमा दुई अन्तरजातीय) एकसाथ बिहे गर्छन् । बिहे थलो हुन्छ, रोल्पाको पनि माओवादी गढ मानिने जंकोट । 

अहिले एक जोडी गुमनाम छ– जंकोटकी आशा पुन र भाबाङका रणवहादुर केसी । कोपिला नाउँले चर्चित जनमुक्ति सेना बटालियन कमान्डर केसी पोखरालगायत गण्डक क्षेत्रमा खट्छन् । बाँकी दुई जोडी हुन्, वर्षमान पुन र ओनसरी घर्तीमगर, कुलप्रसाद केसी सोनाम र तारा घर्तीमगर ।  केसी पाँच नम्बर प्रदेश आन्तरिक मामिलामन्त्री छन् । तारा पूर्वसभासद् । पुुन मन्त्री छन् । ओनसरी नेपालको पहिलो महिला सभामुख । यसरी, तीन जोडीबाट सुरु भएको सामूहिक बिहे जनयुद्ध उकालो लाग्दासम्म त एकपटकमा दर्जनभन्दा बढी पुग्छ । लडाइँ गति बढ्छ । लडाइँमा लडाकु मारिन्छन् । जति लडाइँ संख्या बढ्छ, त्यत्ति मारिने संख्या बढ्छ । कसैले लडाइँमा पति गुमाउँछन् त कसैले पत्नी । माओवादीले पुनः बिहे गर्न प्रोत्साहित गर्छ ।

नेपाली समाजमा पत्नी मारिएको पुरुषका लागि ‘किरिया सकिएको भोलिपल्ट’ परिवारले नयाँ पत्नी खोज अभियान चाल्छ । पति मारिएकी पत्नीले भने ठाडो नजरले कसैलाई नहेरी जुनी काट्नुपर्छ । माओवादीले भने पुरुष र महिला दुवैलाई पुनः बिहे गर्न जोड दिन्छ । यसरी, लडाइँमा पति मारिएका सयौँ माओवादीले पनि दोस्रो बिहे गर्छन् । माओवादी आन्दोलनले बाहुन क्षेत्री र आदिवासी जनजातिसित मात्र होइन, दलित र गैरदलित बिहे पनि पहल गर्छ । 

लोकतन्त्र ! जहाँ सर्वसाधारणलाई ‘प्रेम’ गर्नसमेत छुट छैन । अजित मिजार हुनबाट बचेका कति जोडी लुकेका छन् । जात ढाँटेर बसेका छन् । सहर पसे सुरक्षित भइन्छ कि भनेर सहर पसेका छन् ।

‘अन्तरजातीय बिहे समाज बदल्ने एउटा स्टेप थियो । आन्दोलनमा लागेका हामी एक नम्बर देखिन, पहिले आफूलाई बदलेर दुनियाँ बदल्न, आफूले बदल्न सुरु गर्न, समाजलाई केही नयाँ काम देखाउन होड थियो,’ जनमुक्ति सेना ब्रिगेड सहकमान्डर बालकृष्ण शर्मा ‘सविन’सँग दोस्रो बिहे गरेकी सीता विक ‘सम्झना’ सम्झन्छिन् । 

सम्झनाका पूर्वपति हीरालाल चौधरी दोस्रोपटक माओवादीले गरेको खारा आक्रमणमा मारिएका हुन् । ‘त्यतिखेर कुन जात, कुन क्षेत्र, कति सम्पत्ति, कुनै पनि सीमा थिएन । यो दमाईं हो, यो बाहुन हो भनेर प्रश्न जाग्दैनथ्यो । हामीले त मन परेपछि बिहे ग-र्यौ। जात, लिंग र क्षेत्रको अन्त गर्ने भन्यौँ,’ सम्झना सम्झना छ, ‘जनयुद्धमा इच्छाअनुसार बिहे गरेका हौँ ।’ 

माओवादी सेना र कार्यकर्ता, कार्यकर्ता र कार्यकर्ता, सेना र सेनाबीच ठूलो संख्यामा बिहे भएका छन् । कति जोडीले बिहे गरे होलान्, १० वर्ष लामो जनयुद्धमा ? माओवादीसँग तथ्यांक छैन । 

युद्ध मैदानमै भएको चिनजान र चिठी हानाहानले धेरै टाढा, फरक भूगोल, कर्णाली, सुदूरपश्चिम र सदूरपूर्व बिहे भएको छ । जुन अहिले गोजीफोन हुँदासमेत असम्भव लाग्छ । माओवादी आधार क्षेत्र रोल्पाका दर्जनभन्दा बढी चेलीले पूर्व ताप्लेजुङ र पश्चिम उत्तर कुना बाजुरामा बिहे गरेका छन् । त्यसैगरी, ती क्षेत्रका चेली पनि रोल्पा पुगेका छन् । जसमा अन्तरजातीय बिहे सबभन्दा बढी छ । 

मधेसी र पहाडीबीचका बिहे भने एकदमै नगण्य छ । माओवादी आन्दोलनबाहिर र पहिले पनि अन्तरजातीय बिहे भएका छन् । पूर्वएमाले बाहुन र क्षेत्री नेता जो नेवार ज्वाइँ बनेका छन् । एमाले बाहुन र क्षेत्री नेता नेवार, राई र मगरका ज्वाइँ छन् । जस्तो– मनमोहन अधिकारी (साधना प्रधान), केपी ओली (राधिका शाक्य), झलनाथ खनाल (रविलक्ष्मी चित्रकार), वामदेव गौतम (तुलसा थापामगर), प्रदीप नेपाल (झुमा देवान), ईश्वर पोखरेल (मीरा धोजूँ), सुरेन्द्र पाण्डे (पूर्णशोभा चित्रकार), शंकर पोखरेल (सुजिता शाक्य), अमृत बोहरा (अष्टलक्ष्मी शाक्य), गोकर्ण विष्ट (प्रतिमा श्रेष्ठ) ।

यीबाहेकका सर्वसाधारणले दलित र गैरदलित नै अन्तरजातीय बिहे गरेका छन् । तर, ती नगण्य छन् । बिहे गर्नेका कि जात गएको छ कि थातबास उठेका छन् कि मारिएका छन् कि आँखाकान लुकाउन सातकोस भागेका छन् । जनयुद्धले भने दलित र गैरदलितबीचको अन्तरजातीय बिहेलाई सहज बनाउँछ । 

यति सुनेपछि तपाईंलाई लाग्ला, माओवादीले त गर्नु गरेछ । कार्यकर्तामा लागू गरे तापनि गैरदलित (विशेषगरी बाहुन) माओवादी केन्द्रीय तहका नेताले आफ्नो परिवार सदस्य र दलित कमरेडसित बिहे गरिदिएका शिला खोजे पनि भेटिन्न । एक नेताले दलित युवासित बिहे भत्काउन गरेको प्रपञ्च माओवादीकालमा ‘किस्सा’ नै बनेको छ । जुन यस्तो छ– बाहुन नेता परिवारकी कमरेड युवती र दलित युवा कमरेडबीच माया बस्छ । कमरेडमा बाहुन आत्मा सवार हुन्छ । 

कार्यकर्तालाई गरिदिएको जस्तो आफ्नो परिवार सदस्यलाई दलितसित बिहे गर्न बाहुन मनले माने पो ! उपाय निकाल्छन् । ‘आवश्यकता’ र ‘क्रान्ति’ले माग्यो भन्दै पूर्व र पश्चिम कुना सरुवा गरिदिन्छन् । त्यसपछि ? हत्तपत्त नेता चेली कमरेडको बाहुन कमरेडसित बिहे गरिदिन्छन् । 

किन भत्किए दलित र गैरदलित बिहे ? 
 
माओवादी आन्दोलन सकिएपछि चोखो मनले जीउज्यान दिएका, इमान्दार नेता र माओवादी कार्यकर्ता पाखा लाग्छन् । पार्टीभित्र र बाहिर ‘सामन्ती समाज’वाल प्रवृत्ति हाबी हुन्छ । समाज त जहाँको तहीँ, उही छुवाछूत, भेदभावसहित । 

पुरानो समाज भत्काउने भनेर साहस गरेका अन्तरजातीय (प्रायः दलित र गैरदलित) बिहे गरेका जोडी आफ्नो पुख्र्याैली गाउँ फर्कन आँट गर्दैनन् । 

त्यसपछि ? गाउँभन्दा टाढाको सहर वा गाउँमा बस्छन् । यसको मुख्य कारण हो, नचिनून् । पुरानो समाजको प्रश्न झेल्न नपरोस् । कति दिन लुक्नु ! समाजसित फेरि संघर्ष सुरु हुन्छ । लेखपढ गर्ने, लेख्ने र सिक्ने समय जनयुद्धमा खर्चेपछि कसरी लड्नु ? धेरैले पुरानो समाजसित आत्मसमर्पण गर्छन् । अन्ततः घरबार भत्कन्छ । 

हुन पनि किसान, दलित, कर्णाली, मधेसी, महिला, मुक्ति जनयुद्धमा छ भन्दा सबथोक माया मारेर हिँडेका हुन्छन् । क्षेत्रीय, जातीय, लिंगीय विभेद अन्त गर्ने जनयुद्ध हो भनेर सामेलिएका हुन्छन् । युद्ध पत्रकार अरुणा रायमाझीले लेख्छिन्, ‘पार्टी काम र सुरक्षाका कारण महिनौँ टाढा बस्नुपर्दा पनि सम्बन्धहरू प्रेम र विश्वासमा टिकेका हुन्थे । तर, पछि लालाबालाले घेरिँदै पुरानो समाजमा फर्केका तिनले कठोर जातीय, आर्थिक र क्षेत्रीय यथार्थको सामना गर्नुप¥यो ।’ 

दुईपटक माओवादी महिला अध्यक्ष भएकी जयपुरी घर्तीमगरका अनुसार ‘जातीय, क्षेत्रीय आदि रहन–सहनका कारण’ भत्कनेक्रम बढेको हो । आमूल परिवर्तन कल्पना गरेका माओवादी युवायुवतीलाई जनयुद्धताका त सीमा, क्षेत्र, जातिजस्ता ‘विभेद’ ख्यालै हुन्न । तर, अहिले सानो कुरामै खटपट हुन्छ । किनभने समाज त उही ठाउँमा न छ ।

‘प्रतिक्रान्ति भएर न सबका सब भत्के । दुईचारलाई त क्रान्ति सम्पन्न भएको छ र समृद्धि भन्छन् । बाँकी घाइते, बेपत्ता, सहिद परिवार र सर्वसाधारण त सडकमा छन् । 

अन्तरजातीय बिहे मात्र होइन, त्यसवेलाका सामान्य बिहे पनि भत्के । एउटाले मेचीबाट बिहे गरेको छ, अर्कोले महाकालीबाट । अहिले संस्कार मिलेन भने । चेहरा मिलेन भने । व्यहोरा मिलेन भने । आर्थिक अवस्था मिलेन भने । अन्तमा बिहे भत्के’ सम्झना समझ छ, ‘क्रान्ति सफल भएको भए, देश अर्कै ठाउँ हुन्थ्यो ।’ 

पति गैरदलित र पत्नी दलित बिहे भत्किए 

माओवादी आन्दोलन सकिएलगत्तै अन्तरजातीय बिहे (दलित र गैरदलित, यसमा पनि पत्नी दलित र पति गैरदलित जोडी) ‘लगभग’ भत्कन्छन् । अपवाद मात्र बच्छन् । गैरदलितबीचका अन्तरजातीय बिहेमा भन्दा दलित र गैरदलितबीचको बिहेमा छुवाछूत ‘थप’ भएपछि भत्कनेक्रम बढेको हो । त्यसपछि पत्नी दलित भएको जोडी झन् भत्केका छन् । 

‘बाहुन छोरीलाई त ससम्मान राख्छन्, तर दलित छोरीलाई घरभित्र पनि पस्न दिन्नन्,’ पत्नी दलित भएका जोडी भत्कनुका कारण सम्झनासँग छ । 

जो होचो उसको मुखमा घोचो भनेजस्तै दलित त्यसमाथि पनि दलित महिला नै बढी प्रभावित छन् । जसमा लिंगीय विभेदले पनि काम गरेको छ । सीता विक सम्झना र बालकृष्ण शर्मा सविनको जोडी भने अपवाद जोडी हो । सविन ब्रिगेड सहकमान्डर हुन् भने सम्झना पूर्वकमान्डर र पूर्वसांसद । 

कमान्डर र नेता भएकैले समाजसँग तर्क गर्न सक्ने भएकाले बचेको हो ? सम्झना अनुभव सुनाउँछिन्, ‘किन घरभित्र नपसालेको भनेर जबर्जस्त गरेनौँ । घर (सल्यान) त गएनौँ । म प्युठान माओवादी सेक्रेटरी थिएँ भने सविनजी शिविरमा । दाङमै देवर र नन्दलाई पढाउन÷लेखाउन थाल्यौँ । देवर र नन्दले नै आम(ाबालाई कन्भिन्स गर्नुभयो । पछि आमा लिन आउनुभयो । अहिले आमासँगै बस्छौँ ।’ 

बिहे मन मिल्ने कुरा हो । कोहीलाई कामी मन पर्ला त कोहीलाई क्षेत्री । कोहीलाई बाहुन मन पर्ला भने कोहीलाई दमाईं । कोहीलाई मगर मन पर्ला भने कोहीलाई थारू । कुल मिलाएर बिहे मनपर्ने कुरा हो । सम्झनाको तर्क छ, ‘बिहे त मन मिल्नेसित गर्ने हो । जातसित होइन । जात त लोग्ने र स्वास्नी मात्र हो । आफूले नगरे पनि बिहे गर्नेलाई तिरस्कार र अवरोध गर्न हुन्न । परिवार र समाजबाट तिरस्कृत गर्नहुन्न । कमसेकम बिहे गर्नेलाई समर्थन त गरौँ ।’ 

कि भाग्ने कि मारिने 

काभ्रेको स्थानीय स्कुलमा कक्षा १२ मा अध्ययनरत अजीत मिजार(१७) र १८ वर्षीया बाहुन युवतीको दिल बस्छ । २५ असार ०७३ मा बिहे गर्छन् । तीन दिनपछि सम्बन्धविच्छेदलगत्तै अजित बेपत्ता हुन्छन् । परिवारले पुलिस गुहार्छ । ३० असारमा धादिङ, परेवाटारमा झुन्डिएका एक युवा शव सनाखत नगरी पुलिसले गाड्छ । मिजार परिवारलाई शंका लाग्छ । नभन्दै गाडिएका युवा अजित हुन्छन् । परिवारले पोस्टमार्टम गर्न काठमाडौंस्थित टिचिङ अस्पतालमा लान्छ । तीन वर्षदेखि मिजारको शव अस्पतालमै छ । 

मिजारको जस्तो बाहुन र दलित बिहे नभए पनि, बाहुन र नेवार (राधिका शाक्य) अन्तरजातीय बिहे गरेका कुनै वेलाका कमरेड केपी ओली कार्यकारी प्रमुख छन् । लोकतन्त्र र समृद्धि ओलीको बोली जारी छ । जनवादी बिहे गर्न लगाउने पुष्पकमल दाहाल प्रचण्ड ओलीपछिका दोस्रो नम्बर अध्यक्ष छन्, सरकारवादी नेकपाको । संयोग ! 

लोकतन्त्र ठेकेदार ठान्ने प्रमुख प्रतिपक्ष कांग्रेस छ । तर, मिजारबारे सरकार र प्रतिपक्षले मुख खोलेको छैन । जात्तिरी ! जुर्नु जुरेको सत्तापक्ष र प्रतिपक्ष जोडी ! लोकतन्त्र ! जहाँ सर्वसाधारणले ‘प्रेम’ गर्नसमेत छुट छैन । अजित हुनबाट बचेका कति जोडी लुकेका छन् । जात ढाँटेर बसेका छन् । सहर पसे सुरक्षित भइन्छ कि भनेर सहर पसेका छन् । यस्ता जोडीलाई एक लाखको कुरा होइन, परिवार, समाज र गाउँको सम्मान, सुरक्षा, इज्जत र खुसीसाथ बाँच्न पाउने वातावरण चाहिएको हो । 

प्रतिगमन : आफ्नै जातमा फर्कने

माओवादी सुप्रिम कमान्डर पुष्पकमल दाहाल प्रचण्डपुत्रले पोस्टबहादुर बोगटीपुत्रीसँग अन्तरजातीय बिहे गर्छन् । जनयुद्ध सकिएपछि अर्थात् बिहे भएको दुई वर्षपछि ०६४ माघ ३ गते प्रकाशले बाहुनपुत्रीसँग बिहे गर्छन् । यसरी सुरु हुन्छ, सुप्रिम कमान्डर घरबाट प्रतिगमन । 

सुरुमा उल्लेख एक दलित लडाकु युवती र एक बाहुन लडाकु युवक जोडीको प्रेम र बिहेले पनि सुप्रिम कमान्डरपुत्र पछ्याउँछ । तिनका प्रेम र बिहे टिबी लागेको मानिस बन्छ । कोरोना संक्रमणजस्तै जातिवादग्रस्त हिन्दू संस्कृति सामन्ती भाइरसले थला पार्छ । दलित युवतीका लागि बाहुन युवक घर बिरानिन्छ । इष्टमित्र बिरानिन्छन् । कमरेड बिरानिन्छन् । माओवादी र आन्दोलन सकिएपछि कहाँ जानु ? एकदिन दलितपत्नीले सौता भित्र्याएको सुन्छिन् । स्तब्ध भएर गरेको फोन जवाफ पत्रकार अरुणा रायमाझीले उद्धृत गर्छिन्, ‘म त आफ्नै जातमा फर्किएँ नि ।’

केही समयपछि दलित युवती कमरेडले एकजना दलित युवासँग बिहे गर्छिन् । कुल मिलाएर, ‘ब्याक टु मंगलमान’ हुन्छ । समाज त अन्तरघुलनहुँदै समतामूलक समाज बन्ने बाटोमा लम्कनुपर्ने । जातीय भेदभाव पर्खाल भत्कनुपर्ने । मानिस एउटै हो भन्ने दिशातिर समाज उकालिनुपर्ने । अमेरिकामा ट्रम्प, भारतमा मोदी र नेपालमा ओली प्रतिगमन किन हुँदै छ हँ ?