• वि.सं २०८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
राज सरगम
२०७६ चैत ८ शनिबार ०८:४४:००
सम्झना

‘अछुतलाई प्रवेश निषेध’ लेखिएको त्यो बोर्ड 

२०७६ चैत ८ शनिबार ०८:४४:००
राज सरगम

‘भर्खर प्रजातन्त्र आएको थियो’ धमिलो सम्झनाको कल्याङमल्याङ खोतल्छिन् ७४ वर्षीय सरस्वती नेपाली । सात साले प्रजातन्त्र आएको दुई वर्ष भएको थियो । उनी ९ वर्ष उग्लिदै थिइन् । काठमाडौंको लैनचौरमा रहेको शान्तिगृह स्कुलमा पढ्न जाने आउने गर्थिन्, उनी । एक बिहान । सरस्वतीका दाइ (काकाका छोरा) शिवशरण दर्नालले उनलाई पशुपति लिएर गए । आफूभन्दा दुई वर्ष जेठो दाइलाई पछ्याउँदै पशुपति पुगिन्, सरस्वती । ‘अछुतलाई प्रवेश निषेध’ लेखिएको बोर्डतिर उनीहरूको ध्यान गएन । बरु कहिले पशुपतिको दर्शन गर्न पाइएला भनेर हतारिए ।

पशुपति मन्दिरभित्र सरासर छिरे । कसैले रोकेनन् । कसैले सोधेनन् । पशुपतिभित्र रहेको मूर्तिले उनको बाल मस्तिष्कमा गहिरो प्रभाव पा-यो । दूधले नुहाइरहेका मूर्तिहरू । फूल अबिरले पूजा गरिरहेका दृश्यहरू । घण्टा नै घण्टा । ध्वजा–पतका । कुरा गर्दै जाँदा उनी रोकिइन् । गमिन् । र भनिन्, ‘जात सोधेका भए पशुपति मन्दिर बिटोलिन्थ्यो । र, हामी पिटिन्थ्यौँ ।’

घर फर्किने वेला पशुपति मन्दिरभित्र देखेको दृश्य घरमा पुगेर आमालाई स–विस्तार वर्णन गर्ने इच्छा दाजु शिवशरणलाई सुनाउँदै आइरहेकी थिइन् उनी । पशुपति, गौशला, रातोपुल, मैतीदेवी कमलपोखरी र विश्वज्योति हल आइरहेका वेला अचानक काका सत्यकुमार दर्नाल देखिए । आफूहरू पशुपति पुगेर फर्किएको सत्यकुमारलाई सुनाए । तर, सत्यकुमार दर्नाल भने आफूपछाडिको ठूलो भिडमा थिए । त्यही भिडमा सरस्वती मिसिइन् । नारा लगाइरहेका आन्दोलनकारीको स्वरमा स्वर मिलाइन् । उनी भन्छिन्, ‘त्यो हुलमा सबैभन्दा सानी मैं थिएँ ।’

‘पशुपति मन्दिर हामी पनि प्रवेश गर्न पाउनुपर्छ ।’
हामीले पनि पशुपतिमा पूजा गर्न पाउनुपर्छ । 
छुवाछुतको अन्त्य हुनुपर्छ...।’ 

आन्दोलनकारीको मागको अर्थ पनि थाहा थिएन सरस्वतीलाई । ‘हामी ७०–८० जना थियौँ । हाम्रो आन्दोलन तीव्र रूपमा पशुपतिको गेटबाट भित्र पस्न खोजेको थियो । तर, गेटमा ताला मारिदिए,’ सरस्वती भन्छिन् । ‘गैरहिन्दूलाई प्रवेश निषेध’ लेखेको बोर्ड पशुपति मन्दिरको मूलगेटमा छ ।

वि.सं. २०१० सालअगाडि त्यही ठाउँमा ‘अछुतलाई प्रवेश निषेध’ लेखिएको बोर्ड थियो । त्यही बोर्ड हटाएर पशुपति प्रवेश गर्न बारम्बारको प्रयासकै क्रममा पुलिसले घेरा हाल्यो । भाग्नेहरू भागे । समातिनेहरू समातिए । एकछिनमा लामो ट्रक आयो । बलजफत आन्दोकारीलाई ट्रकमा कोच्न थाले । उनी पनि समातिइन् । ट्रकमा राखे । सहरको बिचोबिच ट्रक हुइँकियो । बुढेसकालको स्मरणमा ती दिनहरू गहिरो सोचेर भन्छिन्, ‘हनुमानढोका लगेका थिए ।’

जुन मन्दिरमा उनी सजिलै पसेर दर्शन गरेकी थिइन्, त्यही मन्दिरमा प्रवेश पाउन गरिएको आन्दोलनले उनलाई हनुमानढोका पु-याएको थियो । हनुमानढोकाका पुलिस देखेर उनी छक्क परिन् । त्यही जेलघरको तीन तलामाथि सरस्वतीलाई उकालियो । १६ वर्षको भएँ भन्नू । हामी कूल पुज्न गएको भन्नू । हामीले पूजा गर्न किन हुँदैन ? हामी पनि मान्छे हौँ । हाम्रो पनि रातो रगत छ भन्नू ।’ आन्दोलनकारीले अग्लो जुत्ता र पछ्यौरा दिएको सम्झिन्छिन् । 

सरस्वती एकछिन ट्वाँ परिन् । उनलाई यत्तिका कुरा कसरी सम्झिने होला भन्ने पिर पनि प-यो । तर, बोल्न हिम्मतचाहिँ गरेर भित्र गइन् । तर, कसैले केही सोधेनन् । केही समयपछि उनलाई भुइँतलामा रहेको हिरासतमा झारेका थिए । जहाँ उज्यालो छिर्थेन । ‘सानो कोठा थियो । छेउमै फोहोरको ढल थियो । केही महिला खाटमा थिए । निकै साँघुरो कोठा थियो । आमालाई सम्झिएर निकै रोएँ ।’ बितेको दिन सम्झिन्छिन् । 

त्यो दिन पशुपतिपरिसरमा पुग्दा धेरै दलित आन्दोलनकारी बाजा बजाउँदै नाचिरहेका थिए। 

जेलबाहिर आन्दोलनको स्वर सुनिन् । हेरिन् । लोग्नेमानिसहरू थिए । रूख थियो । चिसो ओछ्यान थियो । इँटाको बरन्डा थियो । नाराबाजीको कोलाहल सुनिरहिन् । तर, त्यो नाराबाजीभन्दा उनको आफ्नै रुवाइ चर्को थियो । उनी निरन्तर रोइरहिन् । ‘बाल्खी भनेर जेलमै जेरी र पुरी दिए ।’ उनी नोष्टालोजी भइन् । 
 
आन्दोलन हुनुको कारण मोतिमायाबाट बिस्तारै थाहा पाइन् । जेलमै मोतिमाया कपालीको सहयोग पाएपनि आमाको न्यास्रो कम भएको थिएन । हिरासतकै दिनहरूमा सरस्वती पूजा मनाइन । आमा भेट्न पाइन् । महिना दिन जेलमै बित्यो । आन्दोलनकारीको माग पूरा भएपछि जेलबाट छुटिन् । ‘अहो ! त्यतिवेला पिँजडाबाट निस्किन लागेको चराजत्तिकै भएको थिएँ ।’

बोर्ड हट्यो

२००७ सालमा राणाशासनको अन्त्य भए पनि दलितलाई भने ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’झैँ थियो । किनकि दलितहरूले राणाबाट मुक्ति पाए पनि छुवाछुतबाट मुक्ति पाएका थिएनन् । काठमाडौंका रैथाने दलित नै विभेदमा थिए । दलित बुद्धिजीवीले छुवाछुत संस्कार नभई उत्पीडन हो भन्ने बुझेपछि भगत सर्वजति विश्वकर्मा र सहश्रनाथहरूजस्ता दलित अभियन्ता मुक्तिको आवाजमा जुर्मुराए । छुवाछुतलाई हटाउन दलित अधिकारकर्मी सडकमा उत्रिए । अधिकारकर्मीमध्ये न्हुच्छेनारायण कपाली पनि एक थिए । 

देशभरि बिफरको प्रकोप बढिरहेको थियो । न्हुच्छेनारायणका छोरा रतनमान पनि बिफरका बिरामी थिए । न्हुच्छेनारायणलाई पशुपतिभित्रको शीतला माई दर्शनको शरणमा परे छोरो बाँच्ने विश्वास थियो । तर, उनले छोरोलाई पशुपतिभित्र लैजान पाएनन् । त्यसवेलाको संविधानले जातजातिका आधारमा भेदभाव नगर्ने सुनिश्चित त गरेकै थियो । तर, व्यवहारमा भने छुवाछुत कायमै थियो । छोरोलाई सन्चो बनाउन पशुपति पुगेको न्हुच्छेनारायणलाई प्रहरीले पक्रेर दोस्रो दिन जेल चलानको निर्णण सुनायो ।

२००४ सालमा टेलर युनियन गठन गर्न सफल यी न्हुच्छेनारायणकै कारण यो आन्दोलन थप उत्कर्षमा पुगेको थियो । र, न्हुच्छेनारायण दलित आन्दोलनका अगुवा सहश्रनाथ कपालीका भाइ थिए । २००८ मा उनकै नेतृत्वमा ‘जातजोड मण्डल’ गठन भएको थियो । र, त्यो २००९ सालमा समाज सुधारक संघमा परिणत भएको सरस्वती नेपालीका श्रीमान् पूर्वमेजर बलबहादुर सुन्दास बताउँछन् ।

केही गैरदलितको सहयोग र दलितहरूको निरन्तर आन्दोलनले दलितलाई पशुपतिमा प्रवेश मिल्यो । माघ १९ गते तत्कालीन गृहमन्त्री टंकप्रसाद आचार्य र समाज सुधारक संघका प्रतिनिधिबीच वार्ता भयो । पशुपति प्रवेश संघर्षलाई व्यवस्थित गर्न सिद्धिबहादुर खड्कीको संयोजकत्वमा ‘पशुपति मन्दिर प्रवेश संघर्ष समिति’ गठन भयो । त्यस्तै, माघ २३ गते पशुपति मन्दिर प्रवेशको विषयमा नै तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँग छलफल चल्यो । सरस्वती भन्छिन्, ‘२० फागुनको शिवरात्रिका दिन पशुपति मन्दिर प्रवेश गर्ने सम्झौतापछि आन्दोलन स्थगित भएको थियो ।’ 

पशुपति प्रवेश आन्दोलनमा महिला आन्दोलनकारीको प्रतिनिधि पात्र थिइन् उनी । सारा दलितले आत्मसम्मानको अनुभूति गरेका थिए, सरस्वती भन्छिन्, ‘त्यो दिन पशुपतिपरिसरमा पुग्दा धेरै दलित आन्दोलनकारी बाजा बजाउँदै नाचिरहेका थिए ।’