• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजकिशोर रजक
२०७६ चैत ८ शनिबार ०८:१८:००
इतिहास

गान्धीवाद : भ्रम र वास्तविकता

२०७६ चैत ८ शनिबार ०८:१८:००
राजकिशोर रजक

नेपालमा महात्मा गान्धीको विषयमा अध्ययन, अनुसन्धान प्रशस्तै भएको छ । तर, आधुनिक भारतको निर्मातामध्ये एक अम्बेडकरको विषयमा कतै पनि चर्चा भएको सुनिँदैन । अम्बेडकर नपढी गान्धीवादलाई सम्पूर्णतामा बुझ्न सकिँदैन । 

गान्धीवाद के हो ? के गान्धीवाद काल्पनिक हो ? के गान्धीवाद क्षेत्रवाद मात्र हो ? गान्धीवादको सामाजिक दर्शनशास्त्र के हो ? गान्धीवादको आर्थिक दर्शनशास्त्र के हो ? सामान्यतः गान्धीवाद भनेको पुनःगाउँ फर्किनु हो । गाउँलाई आत्मनिर्भर बनाउनु हो । गान्धीवाद क्षेत्रवादमा सीमित हुनु हो । तर, गान्धीवाद क्षेत्रवादजस्तो सरलचाहिँ पक्कै होइन । क्षेत्रवाद गान्धीवादको सानो, तर महत्वहीन भाग मात्र हो । गान्धीवादको दायरा क्षेत्रवादभन्दा व्यापक छ । गान्धीवादको सामाजिक तथा आर्थिक दर्शनशास्त्र छ ।

गान्धीवादको सामाजिक दर्शनशास्त्र 

अम्बेडकर आफ्नो पुस्तक ‘कांग्रेस एवं गान्धी ने अस्पृस्योँ के लिए क्या किया’मा जातिप्रथाको विषयमा गान्धीको विचार सन् १९२१-२२ गुजराती पत्रिका ‘नवजीवन’मा गान्धीद्वारा पुनर्मुद्रित भाग–२ मा सम्पादकीय लेखमा उल्लेखित विचारलाई एकचोटि हेरौँ ।

– मलाई विश्वास छ आजसम्म हिन्दू समाज जीवित रहनुको मूल आधार वर्ण–व्यवस्था हो ।

– स्वराज्यको बिउ वर्ण–व्यवस्थामा उपलब्घ छ । विभिन्न जाति सैनिक डिभिजनजस्तै वर्णमा संगठित छन् । प्रत्येक वर्ण सैनिक डिभिजनजस्तै सम्पूर्ण समाजको हितमा काम गर्छ । 

– जुन समाज वर्ण–व्यवस्थाको सिर्जना गर्न सक्छ, उसमा अनौँठो संगठन क्षमता हुन्छ ।

– वर्ण–व्यवस्थामा प्राथमिक शिक्षा प्रसारण गर्ने साधन उपलब्ध छ । प्रत्येक जाति आफ्नो बच्चालाई आफ्नो जातिमा शिक्षित गर्ने जिम्मेवारी लिन्छ । जातिको राजनीतिक उद्देश्य हुन्छ । जाति आफ्नो प्रतिनिधि चुनेर सभामा पठाउन सक्छ । पारस्परिक जातीय झगडा समाधान गर्न पञ्च चुनेर न्यायिक प्रक्रिया पूरा गर्न सक्छ । प्रत्येक जातिलाई सैनिक टुकडीको दर्जा दिएर जबर्जस्त सेना तयार गर्न जातिका लागि सरल हुन्छ । 

– राष्ट्रिय एकता सुदृढ गर्न अन्तरजातीय विवाह तथा सहभोज आवश्यक छैन । अन्तरजातीय सहभोजबाट मित्रता बढ्छ भन्नु अनुभवको ठिक विपरीत साबित भएको छ । यदि यसमा सत्य हुन्थ्यो भने युरोपमा युद्ध हुँदैनथ्यो । अतः जसरी हामी शौच (पाइखना) एकान्तमा गर्छौँ त्यसरी नै भोजन पनि एकान्तमा गर्नुपर्छ ।

– भारतवर्षमा दाजु–भाइको बच्चामा पारस्परिक विवाह हुँदैन । के पारस्परिक विवाह नभएका कारण उनीहरूको प्रेममा कमी आउँछन् ? वैष्णव परिवारमा कतिपय महिला यती कट्टरपंथी हुन्छ कि एक साथ परिवारसँग खाना खाँदैन । एउटै भाँडोमा पानी पिउँदैन । के उनीहरूमा पारस्परिक प्रेम हुँदैन ? विभिन्न जातिको बीचमा पारस्परिक सहभोज तथा विवाह नभएकै कारण जातिप्रथा खराब छ भन्नु गलत हुन्छ । 

– जातिप्रथा संयमको दोस्रो नाम हो । जाति मनोरञ्जनमाथि सीमा निर्धारण गर्छ । जातीयताको सीमाको उल्लंघन गर्न सकिँदैन । भिन्न जातिमा रोटी–बेटीको व्यवहार पहिलादेखि नै जाति बन्धनमुक्त हुन्छ ।

– जातिप्रथाको विनाश गरेर पश्चिमी युरोपियन सामाजिक व्यवस्था अपनाउनुको अर्थ हिन्दू पैतृक पेसा त्याग्नु हो, जुन जातिप्रथाको आत्मा हो । जातिप्रथाको विनाशबाट अव्यवस्थाको उत्पन्न हुन्छ । यदि म जीवनभरी कसैलाई ब्राह्मण भनेर बोलाउँदिनँ भने ब्राह्मण हुनुमा के फाईदा ? यदि ब्राह्मणलाई शुद्रमा र शुद्रलाई ब्राह्मणमा परिवर्तन हुने क्रम दिनहुँ सुरु भयो भने समाजमा अव्यवस्था उत्पन्न हुन्छ ।

– जातिप्रथा एउटा प्राकृतिक विधान हो । भारतवर्षमा यसलाई धार्मिक स्वरूप दिएको छ । संसारमा जहाँ जाति–व्यवस्थाको उपयोगितालाई बुझ्न सकेन, त्यहाँको सामाजिक व्यवस्था विखण्डनको अवस्थामा छ । 

गान्धी सन् १९२२ सम्म जात-वर्ण–व्यवस्थाको समर्थक थिए, तर ३ फेब्रुअरी १९२५ मा व्यक्त गरेको विचारमा उनले जातिप्रथालाई घुमाउरो तरिकाले विरोध गरेको देखिन्छ । जातिप्रथाले संयमता सिकाउँछ भनेर समर्थन गरिएको थियो । तर, आज यसको अर्थ संयम नभएर सीमाबद्ध भएको छ । संयम हुनु राम्रो हो । स्वतन्त्रता प्राप्तिका लागि सहायक सिद्ध हुन्छ । तर, सीमाबद्ध हुनु भनेको गुलाम हुनु हो । सीमाबद्धका रूपमा जाति–ब्यवस्थालाई प्रशंसा गर्न सकिँदैन । सबभन्दा सजिलो उपाय सानो–सानो जातिको अस्तित्वलाई विनाश गरेर चार ठूला जाति बनाउनुपर्छ जसले प्राचिन वर्ण–व्यवस्थालाई पुनस्र्थापन गरोस् । मतलब १९२५ गान्धी जाति–व्यवस्थाको विरोधी तर, वर्ण व्यवस्थाको समर्थक देखिन्छन् । 

गान्धीवादको आर्थिक दर्शनशास्त्र 

गान्धीवादको आर्थिक सन्दर्भमा दुईवटा आदर्श थियो । पहिलो आदर्श प्रविधि तथा प्रविधीकरणलाई विरोध गर्नु । गान्धीले प्रविधीकरणलाई सन् १९२१ देखि नै विरोध गरेको देखिन्छ । गान्धी प्रविधिकरणका विषयमा १९ जनवरी १९३१ मा ‘यंग इंडिया’मा लेख्छ, ‘के म प्रगतिको मार्गमा घडीको सुइलाई पछाडि घुमाउन चाहन्छु ? के म मिलको स्थानमा चर्खा र करघा ल्याउन चाहन्छु ? के रेलवेको स्थानमा बैलगाडा चलाउन चाहन्छु ? के म मेसिनलाई पूर्णतया नष्ट गर्न चाहन्छु ? यस्ता प्रश्न पत्रकार तथा जनताले मलाई सोधिरहेका छन् । मेरो उत्तर यदि मेसिन पूर्णतया नष्ट हुन्छ भने म यसलाई कुनै परेसानी ठान्दिनँ र न कुनै संकट नै मान्छु ।’

मेसिन तथा प्रविधीकरणप्रति गान्धीको विरोध सहजै बुझ्न सकिँदैन । गान्धी मेसिनको स्थानमा चरखा ल्याउन चाहन्थे । हातले सुत कातेर स्वयं लुगा बनाएर लगाउनुपर्छ भन्ने विचारको समर्थक थिए । गान्धीले ८ जनवरी १९२५ मा काठियावाडको राजनीतिकसभामा बोल्दै भनेका थिए, ‘अत्यधिक बढ्दै गरेका निर्जीव मेसिनलाई पूजा गर्दागर्दै राष्ट्र थाकिसकेको छ । हामी आफ्नो शरीरलाई निर्जीव मेसिनमाथि आश्रित भएर बर्बाद गरिरहेका छौँ । हामीले सम्पूर्ण कार्य शारीरिक श्रमबाट लिनु प्राकृतिक नियम हो । हामी यसलाई उपेक्षा गर्न सक्दैनौँ । चरखा शरीर यज्ञको शुभ संकेत हो । यदि कोही विनाश्रम भोजन गर्छ भने त्यो चोरी हो । श्रमको बलिदानलाई छोड्नु भनेको देशद्रोही बन्नु हो । भाग्यवादी हुनु हो ।’ मेसिन तथा प्रविधिकरणप्रतिको गान्धीको दृष्टिकोण प्रस्ट छ । जसले गान्धीको पुस्तक ‘हिन्द स्वराज’को अध्ययन गरेको छ, उसले सहजै उक्त पुस्तकअनुसार गान्धी आधुनिक सभ्यताको कति विरोधी थिए भन्न सक्छ ।

दोस्रो आदर्श मालिक र नोकर तथा भूस्वामी र असामीबीचको वर्ग संघर्षलाई समाप्त गर्नु थियो । मालिक र नोकरबीच सम्बन्धको विषयमा ८ जुन १९२१ को ‘नवजीवन’ मा प्रकाशित लेखमा गान्धीले भारतसँग दुईवटा विकल्प प्रस्तुत गरेको थियो । एउटा पाश्चात्य सभ्यता, जसको लाठी उसको भैँस र अर्को पूर्वी सभ्यता ‘सत्यमेव जयते’ जहाँ शक्तिशाली र कमजोर दुवैलाई समान रूपमा न्याय पाउने अधिकार हुन्छ । मजदुर वर्ग आर्थिक स्थिति सुधार्न हडतालरुपि जुन हथियारको प्रयोग गर्छन् त्यस सम्बन्धमा गान्धीको विचार सोचनीय छ । हडतालको सन्दर्भमा निम्न सिद्धान्तको उल्लेख गरेका थिए-

(१) जबसम्म कुनै वास्तविक मुद्दा हुँदैन, हडताल गर्नु हुँदैन ।

(२) यदि श्रमिक आफ्नो बचतको बलमा अथवा अरू कुनै अस्थायी साधनमाथि निर्भर हुने क्षमता छैन भने हडताल गर्नु हुँदैन । श्रमिकले जनताको चन्दा, दान आदिमाथि निर्भर रहनु हुँदैन ।

(३) श्रमिकले अपरिवर्तनीय न्यूनतम निश्चित माग निर्धारित गर्नुपर्छ र हडतालमा जानुभन्दा पहिला घोषणा गर्नुपर्छ ।

सन् १९२१ मा तत्कालीन संयुक्त–प्रान्तमा जमिन्दारका विरुद्धमा किसान आन्दोलन भएको थियो । आन्दोलनमा किसानलाई सम्झाउँदै १८ मे १९२१ मा ‘यंग इंडिया’मा गान्धीले जमिन्दारको हितलाई बचाउ गरेका थिए । गान्धीले किसानको न्यायिक आन्दोलनलाई विरोध गरेका थिए । धनी वर्गलाई उल्लेख गर्दै गान्धीले एकचोटि भनेका थिए ‘सुनको अन्डा दिने मुर्गीलाई वध गर्नु हुँदैन’ । मालिक–मजदुर, धनी–निर्धन र जमिन्दार–किसानबीचमा उठ्ने आर्थिक झगडालाई समाधान गर्न गान्धीले धनीलाई सम्पत्तिको न्यासी घोषित गर्न सुझाब दिन्थे । मालिकलाई सम्पत्तिको अधिकारबाट वञ्चित गर्नु हुँदैन । धनवान जेजति गर्छ गरिबको न्यासीका रूपमा गर्छन् । यसलाई ट्रस्टिसिपको सिद्धान्त भने, जुन हास्यास्पद छ । ट्रस्टिसिपलाई गान्धीले रामबाणका रूपमा व्याख्या गरेका थिए । 

गान्धीको तर्क आश्चर्यजनक छ । जसले मनुस्मृति पढेका छन् उसले जातिप्रथा प्राकृतिक हो भन्न सक्दैनन् । गान्धीवादलाई सामाजिक जीवनमा लागू गरियो भने हामी जंगली युगमा फर्किनुपर्छ ।

आर्थिक समस्यालाई समाधान गर्ने सन्दर्भमा गान्धीवादमा नयाँ कुरा छैन । गान्धीवादी अर्थव्यवस्था दोषरहित छैन । गान्धीवादले हामीलाई प्रकृति तथा जंगलीयुगमा जान प्रेरित गर्छ । गान्धीका लागि सादगी राम्रो हो । यस्ता साधारण विचार समाजमा शाश्वत हुन्छन् । मानिसको मूल प्रवृतिमा व्यावहारिक ज्ञान हुन्छ । गान्धीवाद मूलतः व्यावहारिक ज्ञानबाट प्रेरित छ । 

गान्धीवादको आर्थिक विचार व्यर्थको दिवास्वप्न मात्र हो । यो कुरा साँचो हो कि मेसिनरी तथा आधुनिक सभ्यता दोषरहित छैन । दोष हुनु कुनै तर्क होइन । मेसिन आफैँमा दोषी हुँदैन । दोष गलत सामाजिक ढाँचामा छ । यदि मेसिनर तथा आधुनिक सभ्यताबाट सबै लाभान्वित भइरहेका छैनन् भने मेसिन तथा आधुनिक सभ्यतालाई दोष दिनु ठीक होइन । समाधान सामाजिक ढाँचामा परिवर्तन ल्याउनु हो । मेसिनबाट उत्पन्न लाभ मुट्ठीभर व्यक्तिको हातमा सीमित नभएर आममान्छेसम्म पुग्न सकोस् । गान्धीवादमा आममान्छेका लागि कुनै स्थान छैन ।

गान्धीवादको सामाजिक आदर्श जाति तथा वर्ग व्यवस्थामा आधारित छ । जाति÷वर्णको उपस्थितिमा गान्धीवादको सामाजिक आदर्श लोकतान्त्रिक हुन सक्दैन । जाति-वर्ण लोकतन्त्र विरोधी विचार हुन् । जाति–व्यवस्थाको पक्षमा गान्धीको तर्क बनावटी लाग्छ । प्रथम तीन तर्क (१,२,३) माथि विचार गरौँ । पहिलो तर्क हिन्दू समाज आजसम्म जीवित हुनुको मूल कारण जाति÷वर्ण–व्यवस्थालाई मानिएको छ । के बाँकी संसारमा रहेको समाज जात-वर्ण–व्यवस्थाको अनुपस्थितिमा अस्तित्वमा छैन ? संसारमा जात-वर्ण–व्यवस्था नभएको समाज पनि जीवित छ । जातिको समर्थनमा गान्धीको चार नम्बर तर्क केही हदसम्म ठीक भए पनि समग्रतामा स्विकार्न सकिँदैन ।

जातिको समर्थनमा गान्धीको ५ र ६ नम्बर तर्क नीरस छ । स्वीकार गर्ने योग्य छैन । परिवार एउटा आदर्श एकाइ हो । परिवारमा पारस्परिक प्रेम व्यवहार हुन्छ, तर पारस्परिक विवाह हुँदैन । गान्धीले सहभोज तथा अन्तरजातीय विवाह सम्बन्धले पारस्परिक प्रेम सम्बन्ध हुन्छ भने कुरा आवश्यक ठानेनन् । सहभोज र अन्तरजातीय विवाह विभिन्न जातिका बीचमा सम्बन्ध स्थापित गर्ने मजबुत सम्पर्क सूत्र हुन् । परिवारका सदस्यबीचमा पारस्परिक सम्बन्धका लागि सम्पर्क सूत्र विद्यमान छ । 

गान्धीका विचारमा कसैको अगाडि भोजन गर्नु त्यति नै गर्दा हो जति शौचालय गर्दा । जाति–व्यवस्थाको बचाउ अरू कैयौँ विद्वान्हरूले गरेका छन्, तर गान्धी पहिलो कट्टर सनातनी तथा पक्का रंगमा रंगिएका रुढीवादी हिन्दू हुन् । उनले कट्टरभन्दा कट्टर हिन्दूलाई माथ गर्न सफल भएका छन् । अम्बेडकरले यो तर्कलाई कुनै पागल व्यक्तिको तर्कसँग तुलना गरेका थिए । 

तर्क नम्बर ७ मा जाति–व्यवस्थामा त्यो महिलासँग शारीरिक सम्बन्ध राख्नबाट रोक्छ जो उसको जातिको हुँदैन । जात–व्यवस्था मान्छेलाई कुनै अर्को जातको मान्छेको घरमा पाकेको खाना खाएर भोक मेटाउनबाट रोक्छ । सजातीयभित्र एकभन्दा बढी महिलासँग विवाह गर्न रोक्दैन । यहीँ गान्धीको नैतिक मूल्यको प्रश्नको खरानी हुन्छ ।

तर्क नम्बर ८ सबै प्रश्नको प्राण हो । पैतृक व्यवसाय ठीक–बेठीक हुन सक्छ । हिन्दू धर्म शास्त्रले पैतृक व्यवसायलाई वैधानिक सिद्धान्तका रूपमा निर्धारण किन गर्ने ? पेसा छनौट व्यक्तिको स्वतन्त्रतासँग जोडिएको विषय हो । अनिवार्य व्यवस्था स्वेच्छिक व्यवस्थाभन्दा कारागार हुन्छ भने कुराको कुनै प्रमाण छैन । के हिन्दू समाजमा व्यक्तिले व्यवसाय परिवर्तन गरेमा उसको जात परिवर्तन हुन्छ ? हुँदैन । यहाँ व्यक्तिको व्यवसाय र जाति सूचक एक–अर्कामा मेल खाँदैन । यदि कुनै ब्राह्मण जुत्ता बेच्छ भने कसैले उसलाई चमार भन्दैन । चमार अधिकारी भएको खण्डमा उसलाई ब्राह्मण भन्दैन ।

गान्धीको विचार यहीँ निरर्थक हुन्छ । हिन्दू समाजमा जातिको ठप्पाबाट मान्छेको पहिचान निर्धारण हुन्छ । गान्धीको तर्क नम्बर ९ आश्चर्यजनक छ । जसले मनुस्मृति पढेका छन् उसले भन्न सक्दैन कि जातिप्रथा प्राकृतिक हो । गान्धीवादलाई सामाजिक जीवनमा लागू ग-यो भने हामी जंगली तथा प्राचीन युगमा फर्किनुपर्छ । 

(रजक अम्बेडकरी तथा बहुजन अध्येता हुन्)