• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डा. सचिन घिमिरे
२०७६ चैत १६ आइतबार १४:००:००
रिपाेर्ट

कसरी हुन्छ नयाँ रोगको उत्पत्ति ?

२०७६ चैत १६ आइतबार १४:००:००
डा. सचिन घिमिरे

कुनै पनि नयाँ रोगको उत्पत्तिको कारण, मानिसमा त्यसले पार्ने प्रभाव र रोगहरूको समयमा नै निदान गर्ने उपायको सवालमा चिकित्सा मानवशास्त्रको क्षेत्रमा प्राज्ञिक चर्चा परिचर्चा भई नै रहन्छ । चिकित्सा मानवशास्त्र अन्तरविषयगत ज्ञान निर्माणको दर्शनलाई पछ्याउने विषय भएकाले पनि यस विषयका अवधारणा समाज विज्ञान, स्वास्थ्य विज्ञान तथा चिकित्सा विज्ञानका अवधारणामा आधारित भएर निर्माण भएको हुन्छ । चिकित्सा मानवशास्त्रले रोगहरूको उद्विकासवादी अवधारणाको चर्चा गर्दा चिकित्सा इतिहासकारले गरेको अनुसन्धानलाई सापटी लिँदै ज्ञान निर्माणको दायरा फराकिलो बनाउँदै लगेको देखिन्छ । 

सन् १९६२ मा नै पृथ्वीबाट संक्रामक रोगहरूलाई अन्त्य गर्न सकिने खालका सोचलाई चिकित्सा मानवशास्त्रले विवेचना गर्दै आएको छ । त्यसताका नोबल पुरस्कार विजेता अस्ट्रेलियन भाइरोलोजिस्ट सर म्याक फ्यारलेन ब्रनेटले बीसौँ शताब्दीको मध्यसम्ममा पृथ्वीबाट संक्रामक रोगको अन्त्य हुने घोषणा गरेका थिए । म्याक फ्यारलेनले घोषणा गरेको केही समयपछि नै अर्का अमेरिकी चिकित्सक जेस्सी स्टिनफेल्डले सन् १९६९ मा नै संक्रामक रोगका बारेमा लेखिएका किताबहरू थन्क्याएर राख्ने वेला भइसकेको बताएका थिए । 

सन् १९५० पछि मानव स्वास्थ्यको उपचार गर्न एन्टिबायोटिकको प्रभावकारिता बढ्दै गएको, पुरानो युगमा देखिएका जीवाणुजन्य रोगहरूको उन्मूलन हुँदै गएको र भ्याक्सिनको पनि उपयोगिता बढ्दै गएकाले पृथ्वीबाट संक्रामक रोगहरूको उन्मूलन नै गर्न सकिने तहको घोषणा गर्न त्यस वेलाका वैज्ञानिकहरू उत्साहित भएका थिए । अफसोच ! झन्डै पाँच दशकअघि नै वैज्ञानिकहरूले गरेको दाबीविपरीत वर्तमान विश्व मानव सभ्यतालाई एकपछि अर्को नयाँ रोगहरूले चुनौती दिइरहेका छन् । कोरोना परिवारको नयाँ भाइरसको कारण उब्जिएको रोग कोभिड–१९ कै सवालमा पनि हाल आएर प्रकृतिले विज्ञानलाई कडा चुनौती दिइरहेको छ । 

कोरोना परिवारको नयाँ भाइरसको कारण उब्जिएको रोग कोभिड–१९ कै सवालमा पनि हाल आएर प्रकृतिले विज्ञानलाई कडा चुनौती दिइरहेको छ । 

कुनै पनि रोगको उत्पत्तिबारे चिकित्सा मानवशास्त्रीहरू दुई प्रकारका सोचहरूको बाहुल्य स्वीकार गरेका छन् । प्रक्रियागत व्यक्तिवादी अवधारणाले व्यक्तिको आनिबानीसँग जोडिएका तात्कालिक कारणहरू नै व्यक्तिको शरीरमा रोग सिर्जना हुनका लागि जिम्मेवार मान्दछ । प्रक्रियागत समग्रवादले रोग उत्पत्तिपछाडिको ऐतिहासिक, पर्यावरणीय, सामाजिक, राजनीतिक र आर्थिक कारणको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरालाई स्वीकार गर्छ ।

प्रक्रियागत व्यक्तिवादी अवधारणामा कुनै पनि रोगलाई हेर्ने तात्कालिक र स्थिर दृष्टिकोण हाबी रहेको हुन्छ । यस दृष्टिकोणबाट विवेचना गर्दा रोग लाग्नुको पछाडिको तात्कालिक र नजिकका कारणको खोजी गरिन्छ । अधिकांश मेडिकल कलेजमा पढाइ हुने चिकित्साशास्त्रका विषयमा रोगलाई हेर्ने तात्कालिक र साँघुरो दृष्टिकोणको प्रधान्यता रहेको हुन्छ । रोगलाई हेर्ने तात्कालिक दृष्टिकोणले कुनै पनि रोग लाग्नुको कारण व्यक्तिलाई विषाणु, जीवाणु वा अन्य कीटाणुहरूले संक्रमण गरेको हुन्छ भन्ने ‘जर्म सेन्टिक’ अर्थात् सूक्ष्मजीव केन्द्रित सोच प्रधान रहन्छ । यही सोचका कारण समाजमा प्रत्येक रोगको उपचार औषधिबाट मात्रै सम्भव छ भन्ने धारणाको विकास हुन्छ । 

चिकित्सकीय विधामा विशेषज्ञता हासिल गर्ने अधिकांशको रोगलाई हेर्ने तात्कालिक दृष्टिकोण नै ज्ञान–निर्माणको मुख्य आधार हुन्छ । रोगको लक्षणको आधारमा उपचार प्रक्रिया अगाडि बढाउन र उपलब्ध औषधि, अन्य प्यारामेडिकल सहयोग तथा शल्यक्रियाका विधिहरूको सहारा लिन प्रशिक्षित गरिन्छ । पछिल्लो उदाहरणको चर्चा गर्दा पनि देशभित्र रोग भित्रिनै नदिने जनस्वास्थ्यका मान्यताको अंगीकार गर्नेभन्दा पनि कोरोनाका लागि तयारी भन्दै एकपछि अर्को आइसोलेसन वार्डहरू घोषणा गर्न तँछाडमछाड गर्ने, बढी ध्यान आइसियु र अस्थायी अस्पतालतर्फ दिनेजस्ता उदाहरणले प्रत्येक रोगलाई हेर्ने स्थिर र तात्कालिक दृष्टिकोण नै हाबी देखिएको छ । 

रोगलाई हेर्ने प्रक्रियागत समग्रवादले रोगको उत्पत्ति र समाजमा यसको प्रसारबारे बृहत्तर अवधारणा राख्दछ । प्रक्रियागत समग्रवादको अवधारणाले रोगलाई हेर्ने ऐतिहासिक दृष्टिकोणको स्वीकार गर्छ । ऐतिहासिक दृष्टिकोणले विवेचना गर्दा वर्तमानमा देखिएका रोगहरूको पछाडि ऐतिहासिक कारण जिम्मेवार हुन्छन् भन्ने यथार्थलाई स्वीकार गरिन्छ । रोग उत्पत्तिको ऐतिहासिक पाटोलाई विश्लेषण गर्दै फ्रेन्च माइक्रोबायोलोजिस्ट चाल्र्स निकोलीले नयाँ रोगहरूको उत्पत्ति कसरी हुन्छ ? किन पृथ्वीको निश्चित ठाउँहरूमा बढी रोग जन्मिन्छन् र एकपछि अर्को रोगहरू उत्पत्ति हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उठाएका थिए । निकोलीले मानव सभ्यतामा उदाउँदो रोगहरूका बारेमा चिन्तन–मनन गर्दा मानव र प्रकृतिको सम्बन्धबारे पुनः परिभाषित गर्नुपर्ने तर्कहरूको उठान गरेका थिए । 

गलाई हेर्ने तात्कालिक र ऐतिहासिक तर्कहरूको आ–आफ्नो ठाउँमा उपयोगिता भए पनि कुनै पनि रोगको इतिहास हुन्छ, मानव इतिहासलाई रोगले पटक–पटक बिथोलेको छ भन्ने सन्दर्भमा भने वैज्ञानिकहरूबीच कुनै मतभेद छैन । रोगको उत्पत्तिको ऐतिहासिक कारणहरूबारे विवेचना गर्ने रोगविज्ञहरूले प्रत्येकपटक यो संसारमा नयाँ रोगको उत्पत्ति हुनुका पछाडि पर्यावरणमा आएको परिवर्तन नै मुख्य जिम्मेवार रहेको तर्क गर्छन् । मानव संसारमा भइरहने मौसमी उतारचढावका साथै मानव जातिले गरेको अनियन्त्रित सामाजिक र आर्थिक उथलपथल पनि नयाँ–नयाँ रोगकोे उत्पत्ति हुनुमा जिम्मेवार कारक तत्व मानिन्छ । 

कोभिड–१९ कै कारकतत्व मानिएको कोरोना भाइरसको नयाँ अवतार उत्पत्ति हुनुको पछाडि मानवीय विकाससँग जोडिएको पर्यावरणीय कारण हुन सक्छन् भन्ने धारणा रोग पर्यावरणविद्हरूको रहेको छ । तसर्थ, कुनै पनि रोगको उत्पत्तिका पछाडि पर्यावरणीय र सामाजिक आर्थिक कारकतत्वले काम गरिरहेको हुन्छ भन्ने सोच रोगको उत्पत्तिलाई हेर्ने प्रक्रियागत समग्रवादी अवधारणा हो । यो अवधारणाले नै रोगलाई हेर्ने ऐतिहासिक र गतिशील दृष्टिकोणलाई स्वीकार गर्छ । थोमस म्याक ओवेनले बेलायतमा आमजनमानसमा रोगदर घट्दै जानु र बेलायतीको जीवनस्तर सुधार हुँदै जानुका पछाडि सामाजिक आर्थिक पाटोमा आएको सुधार हो भन्ने थेसिस नै प्रमाणित गरेका थिए । 

एन्टिबायोटिकले नभई राज्यले जनतालाई दिएको लोककल्याणकारी सुविधाको कारण जनसंख्यामा रोगहरू घट्दै जान्छ भन्ने उनको यो अनुसन्धानलाई ‘मेकओवेनको थेसिस’को रूपमा चिकित्सा मानवशास्त्रमा अध्ययन गरिन्छ । नेपालमा पनि विश्वव्यापी संक्रमण दर जति नै बढे पनि औषधि र उपकरणको भरमा नै त्यसको निदान गरिन्छ भन्ने सोचको बाहुल्यताले नीति निर्माणदेखि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तहसम्ममा प्रभावित बनाएको छ । फलस्वरूप, जनसंख्याको तहमा उपयोग गरिनुपर्ने जनस्वास्थ्यका ज्ञानहरू ओझेल पर्दै जान्छ र राज्य सेनालाई हाई अलर्टमा राखेर भाइरससँग जुध्ने दिवास्वप्न देख्न पुग्दछ । 

रोगविज्ञहरू प्रत्येकपटक यो संसारमा नयाँ रोगको उत्पत्ति हुनुको पछाडि पर्यावरणमा आएको परिवर्तन नै मुख्य जिम्मेवार रहेको तर्क गर्छन् ।

विश्व जनस्वास्थ्य संकट भनेको संसारमा कुनै पनि देशले गम्भीर किसिमको, पहिला कहिल्यै नसोचेको र अनुमान गर्नसमेत नसकिने तहको जनस्वास्थ्य संकट भोग्नुपर्छ भन्ने तहको खबरदारी हो । रोगलाई हेर्ने ऐतिहासिक विश्वदृष्टिकोण नभएको समाजमा जनस्वास्थ्यका मान्यतालाई तिलाञ्जली दिइन्छ । 

जसको प्रत्यक्ष प्रमाण नेपाललाई बाँकी विश्वबाट सम्पर्क विच्छेद गरेर पूर्ण क्वारेन्टाइनमा राख्न ढिला गर्नुजस्तो उदाहरणले प्रस्ट्याउन सकिन्छ । चीनको वुहानमा संक्रमणदर तीव्र भएर झन्डै तीन हजार मानिसको ज्यान गइसकेपछि पनि नेपालमा कोरोनाले पु-याउन सक्ने असरको बारेमा गम्भीरता देखिएन । स्वास्थ्य मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नै सञ्चारकर्मीहरूको सयौँको भिड जम्मा हुनु वा प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुँदा चिकित्सकहरूको भिडले नयाँ भाइरसले निम्त्याएको जोखिमका बारेमा राष्ट्रिय चेतना तहको झाँकी प्रदर्शन गरिसकेको छ । 

एकातर्फ परम्परागत रुढिहरूले गाँजेको समाज अर्कोतर्फ चिकित्साशास्त्रमा रोगलाई हेर्ने तात्कालिक दृष्टिकोण हाबी भएका मानिसको बाहुल्यताले जनस्वास्थ्य संकटलाई हेर्ने फराकिलो दृष्टिकोणमा मन्दी देखिएको छ । वुहानमा गरिको प्रयास र कोरियाले कोभिड–१९ का कारण आउन सक्ने विशाल क्षति न्यूनीकरण गर्नुका पछाडि जनस्वास्थ्यका मान्यताले काम गरेको स्पष्टै देखिन्छ । 

रोगलाई हेर्ने तात्कालिक दृष्टिकोणले राज्यको नीति निर्माणदेखि स्वास्थ्यसम्बन्धी कार्ययोजनामा प्रभावित बनाएको नतिजा नै संकटका वेला आवश्यक फराकिलो ज्ञान निर्माणको सवालमा संकुचन बन्न पुग्छ । प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने वेलामा वा स्वास्थ्य मन्त्रालयमा जम्मा भएको सञ्चारकर्मीको भिड नै किन नहोस्, नयाँ कोरोना भाइरसको जटिल चित्रहरूका बारेमा नजरअन्दाज गर्नुले राष्ट्रिय चेतनाको तह उजागर भइसकेको छ । 

जनस्वास्थ्यको समस्यालाई समाधान गर्ने जनस्वास्थ्यकै अवधारणाले काम गर्छ । पहिलो तहमा रोगलाई भित्रिनै नदिने पाटो महत्वपूर्ण थियो । सरकारले आफ्नो उपस्थिति देखाउनुभन्दा पहिला नै सरकारी जागिरभन्दा बाहिरका जनस्वास्थ्यका विज्ञले आआफ्नो तहबाट सम्भावित खतरालाई बेलैमा रोक्न सकिने फराकिलो दृष्टिकोण पस्किरहेका थिए । सरकार विषाणु भित्र्याएर परास्त गरेर देखाउने गोर्खाली रणकौशलको अभ्यास गरिरहेको थियो । सरकारका स्वास्थ्यविज्ञहरूलाई सञ्चार–माध्यममा गएर रोगसँग लड्ने साँघुरो र तात्कालिक दृष्टिकोणले भरिएका कार्ययोजना सार्वजनिक गर्न भ्याइनभ्याइ थियो । 

कोरोनाका लागि तयारी भन्दै एकपछि अर्को आइसोलेसन वार्डहरू घोषणा गर्न तँछाडमछाड गर्ने, बढी ध्यान आइसियु र अस्थायी अस्पतालतर्फ दिनेजस्ता उदाहरणले प्रत्येक रोगलाई हेर्ने स्थिर र तात्कालिक दृष्टिकोण नै हाबी देखिएको छ । 

नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्ने सञ्चारकर्मीलाई सरकारी योजना कता भ्वाँङ पर्दै गएको छ भन्ने आलोचनात्मक दृष्टिकोण राख्ने सुझबुझ र चासो दुवै थिएन । वीरगन्जको व्यापारीलाई संक्रमण प्रमाणित गर्न स्थापित मिडियाले देखाएको हतारोले नै नेपालको सञ्चार जगत् कोभिड–१९ रोगलाई रोक्नेभन्दा पनि नेपालमा महामारी अर्थात् संक्रमण दरको तीव्र फैलावटको रिपोर्टिङबाट आफ्नो व्यवसाय टिकाउन चाहन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । संकट बढ्दै गएपछि सरकारले राज्यको स्रोत र शक्ति कता लगाउनुपर्ने हो भन्ने नै कहिल्यै भेउ पाएन । 

नेपालमा ज्ञान उत्पादनको संकटका पछाडि तात्कालिक कारण मात्र नभई ऐतिहासिक कारण पनि जिम्मेवार छन् । सत्ताको वरिपरि चाकडी गरेर टिकेका कार्यकर्तालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा भर्ती गरेको प्रतिफल आज आएर राज्यले संकटको वेला भोगिरहेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा शास्त्र अध्ययन प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि अधिकांश सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्यको नाममा जागिर खानेहरूको जम्बो टोली संकटको घडीमा मौन छ । यो मौनताका पछाडि प्रमुख राजनीतिक पार्टीका पेसेवर खेलाडीहरूले जनताको नाममा गरेको धोकाधडी मुख्य जिम्मेवार छ । 

नियमित समयमा होस् वा संकटको समयमा राज्यलाई आवश्यक स्वास्थ्यसम्बन्धी ज्ञान निर्माणमा झ्यालबाट छिरेर प्राध्यापन पेसामा प्रवेश गरेर राज्यको ढुकुटी बरबाद गरिरहेकाको कुनै प्रभाव देखिँदैन । जनस्वास्थ्यमा ज्ञान निर्माण गर्न ठेक्का लिएकाहरूको नै रोगको उत्पत्ति तथा समाजमा त्यसले पार्ने प्रभावका बारेमा साँघुरो र तात्कालिक दृष्टिकोणले गाँजिएका देखिन्छन् । संकटको समयमा सरकारले वेलामा सही ज्ञानको निर्माण गर्न नसक्नुको पछाडि कार्यकर्ता भर्ती केन्द्रको रूपमा चलिरहेको नेपालका अधिकांश स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू जिम्मेवार छन् । 

नेपालमा जनतालाई सुख दिने सोचले स्वास्थ्यमाथि राजनीति कहिल्यै गरिएन । स्वास्थ्य विज्ञानमा हुनुपर्ने सिर्जनात्मक र आलोचनात्मक ज्ञान निर्माणको सम्भावनालाई चाकडी गर्ने जमातको घेराबन्दीमा फसेर सत्ताधारीहरूले आफैँले निस्तेज गरेका छन् । संकटका वेला ज्ञान उत्पादन गर्ने कार्यमा चुक्नेबित्तिकै रोक्न सकिने क्षतिहरूबाट अकल्पनीय क्षति समाजले व्यहोर्न पुग्छ । फलस्वरूप, बलिया स्वास्थ्य व्यवस्था भएका धनी देशहरूले भोग्ने विश्वव्यापी स्वास्थ्य संकटभन्दा पनि नेपालजस्तो गरिब र विकासोन्मुख देशले भोग्ने अवस्था बिकराल हुन पुग्छ । 

अन्य देशमा जस्तो तीव्र संक्रमण दर नफैलिँदै कोभिड–१९ को पहिलो चरणको प्रभावले मात्र पनि नेपालको स्वास्थ्य व्यवस्था थर्थराइसकेको छ । राजनीतिक नेतृत्वको अर्कमण्यताले जनतालाई गरिब बनाइनुको पीडा कस्तो हुन्छ भन्ने यथार्थ त कोभिड–१९ सँग जुध्न गरिरहेको पूर्वतयारीले नै देखाउँदै लगेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा भएको ज्ञान निर्माणको खडेरी राजनीतिक नेतृत्वले सदियौँदेखि गर्दै आएको नीतिगत भ्रष्टाचार र शक्तिको आडमा गरिएको अपराधको प्रतिफल हो । जसको नतिजाहरू जर्जर स्वास्थ्य प्रणालीसँग जुधेर आमनेपाली जनमानसले प्रत्येक दिन भोगिरहेको छ ।