• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हेलेन लेबिस
२०७६ चैत १६ आइतबार १४:३१:००
अनुवाद

महामारीमा महिला

‘लकडाउन’ को समयमा सबै मुलुकमा बढ्छन् घरेलु हिंसा

२०७६ चैत १६ आइतबार १४:३१:००
हेलेन लेबिस

अहिले महामारीका कारण मानिस सामाजिक दूरी कायम गर्दै घरबाटै काम गर्ने कोसिस गरिरहेका छन् । बेलायत प्लेगको महामारीबाट गुज्रिँदा कसरी विलियम सेक्सपियर र आइज्याक न्युटनले त्यस्ता उत्कृष्ट कामहरू गरेका थिए ? यसको जवाफ सटिक छ, किनकि तिनीहरू दुवैले बालबच्चा स्याहार्नुपरेको थिएन । 

सेक्सपियरले जीवनको ठूलो कालखण्ड लन्डनमा व्यतीत गरे किनकि अधिकांश नाटकघर त्यहीँ थिए । उनको परिवार भने स्ट्याटफोर्ड–अपन–एभनमा बस्ने गथ्र्यो । सन् १६०६ को प्लेग महामारीमा सेक्सपियर भाग्यमानी ठहरिए । उनी संक्रमित भएनन् । उनकी लन्डनकी घरबेटी महामारीको चरम संक्रमणकालमा प्लेगबाट मारिन पुगिन् ।

सेक्सपियरकी श्रीमती र उनका हुर्किसकेका दुई छोरी भने गाउँमा सुरक्षित रहे । न्युटनले भने विवाह नै गरेनन्, त्यसैले बालबच्चा स्याहार्ने कुरै भएन । उनले पनि सन् १६६५-६६ सम्म आफ्नो परिवारिक थातथलो पूर्वी इंग्ल्यान्डलाई डरलाग्दो प्लेगको महामारीले तहस–नहस पारेको देखे । तर, उनको वयस्क जीवन पूर्णतः क्याम्ब्रिज विश्वविद्यालयको ‘फेलो’का रूपमा रह्यो । तसर्थ कलेजले नै उनको खाना र बस्नका लागि उचित प्रबन्ध गर्ने गथ्र्यो । 

कोरोना भाइरस संक्रमण फैलिरहँदा यसले लैंगिक तहमा पार्ने असरका विषयमा एउटा पनि अनुसन्धान हुन सकेको छैन ।

तर, तिनीहरू जसले बालबच्चाको स्याहार–सुसारमा लाग्नुपथ्र्यो, घरायसी धन्दामा लाग्नुपथ्र्यो, निश्चय नै महामारीका समय ‘किङ लियर’ लेख्ने वा ‘अप्टिक’का सिद्धान्त निर्माण गर्ने फुर्सद नै कहाँ पाउँथे र ! कुनै पनि महामारीले असमानता भोगिरहेकालाई दुई गुणा बढी हिर्काउने गर्छ । यस्तो वेला राजनीतिज्ञले पनि भन्छन्– यो महामारीबाहेक अन्य विषयको कुरा गर्ने समय होइन । ‘ह्वाइटकलर’ कर्मचारीलाई घरबाट नै काम गर्न सजिलो हुन्छ । 

त्यस्तै, तनाखावाला कर्मचारी पनि सुरक्षित हुन्छन् । घर हुनेका लागि ‘सेल्फ क्वारेन्टाइन’ पनि सजिलो हुन्छ । तर, कोरोना भाइरसले निम्त्याउने संकटले धेरै परिवारलाई सन् १९५० तिरको स्थितिमा धकेल्ने निश्चित छ । त्यसैगरी यो महामारीले विश्वभरकै नारी स्वतन्त्रतामाथि सबैभन्दा ठूलो धावा बोल्नेछ । हुन त अहिलेसम्म शारीरिक हिसाबमा कोरोना भाइरसले महिलालाई कम असर पु-याएको छ । 

पछिल्ला दिनमा कोरोना भाइरस व्यापक बनेको छ । हामी अहिले स्वास्थ्य संकटबाट मात्र होइन, ठूलो आर्थिक संकटबाट पनि गुज्रँदै छौँ । तीन महिना वा त्योभन्दा बढी समय हामीले यसमै बिताउनुपर्दा हाम्रो रोजगारी गुम्ने निश्चितप्रायः छ । अहिले विद्यालय बन्द हुँदा र घरभित्रै आइसोलेसनमा बस्नुपर्दा विद्यालय, नर्सरी र प्लेग्राउन्डमा तलबमा बालबालिका स्याहार गरिरहेका कतिपय नारीले अहिले विनातलब घरमा स्याहारसुसार गरिरहनुपरेको छ । ‘हामी दुवैजना काम गरेर कमाउन सक्छौँ किनकि हाम्रा बालबच्चा बाहिर अर्कैले हेर्दै छ’ आजका आमजोडीको यो अवधारणालाई कोरोना महामारीले भत्काइदिएको छ । बरु अहिले श्रीमान्–श्रीमतीमा कसले बालबच्चा स्याहार्ने भन्ने बहस परिवारमा सुरु भएको छ । 

पश्चिमी जगत्ले इतिहासबाट पाठ सिकेन 

यो महामारीसँगै धेरै किसिमका आक्रोश पोखिँदै छन् । पश्चिमी जगत्ले इतिहासबाट पाठ सिकेन भन्ने गाइँगुइँ पनि चल्दै छ । अफ्रिकामा सन् २०१४ मा इबोला संकट आएको थियो भने २०१५-१६ मा जिका आएको थियो । सार्स, स्वाइनफ्लु र वर्डफ्लु पनि देखिइसकिएका थिए । विज्ञहरूले यी महामारीका घटनाको अध्ययन गरेका छन् । महामारीले लामो समयसम्म लैंगिक विभेदको असर पु-याइरहने निचोड निकालेका छन् । ‘सबैको आम्दानीलाई पश्चिम अफ्रिकाको इबोलाले प्रभावित पारेको थियो,’ अनुसन्धानदाता जुलिया स्मिथले यही महिना द न्युयोर्क टाइम्समा लेखेकी थिइन्, ‘तर, पुरुषले फेरि तुरुन्तै पहिलाकै हाराहारीमा आफ्नो आम्दानी पु-याउन सफल भए भने महिलालाई तंग्रन लामो समय लाग्यो ।’ 

महामारीको असर लामो समयसम्म रहन्छ । लन्डन स्कुल अफ इकोनोमिक्स ग्लोबल हेल्थ पोलिसीकी सहप्राध्यापक क्लारे वेनहामले मलाई सुनाइन्, ‘इबोलाको समयमा कतिपय बालबालिकाले खोप पाउन सकेनन् । पछि ती बालबालिका खोपले रोकथाम गर्न सकिने रोगबाट संक्रमित हुँदा तिनको स्याहार–सुसारका लागि आमाले जागिर नै छोड्नुपरेको थियो ।’ 

व्यक्तिगत तहमा धेरै जोडीको समझदारी र निर्णयले तिनको आर्थिक गतिविधि तय हुनेछ । तर, महामारीका संक्रमितलाई के चाहिन्छ ? त्यो व्यवस्था गर्नुपर्छ । तिनको हेरचाह गर्नुपर्छ । सेल्फ आइसोलेसनमा आश्रित वृद्धवृद्धाको स्याहार गर्नुपर्छ । विद्यालय बन्द भएर घरमा बसेका बालबालिकाको हेरचाह गर्नुपर्छ । यी सबै विनातलब गरिने श्रम हुन् । र, अहिलेसम्मको कामको बाँडफाँड गरिने परम्परागत संरचनाअनुरूप यी सबैको जिम्मेवारी महिलाकै काधँमा आउने गर्छ । ‘स्याहार–सुसारजन्य काममा महिलालाई खटाउनु एउटा सामाजिक प्रचलन मात्र होइन,’ वेनहाम भन्छिन्, ‘महिलालाई थोरै पैसा दिए पनि हुने र उनीहरू सहज पनि हुने हुँदा तिनलाई नै लगाउने गरिन्छ ।’ 

ब्रिटिस सरकारी तथ्यांकअनुसार सार्वजनिक कामकाजी महिलामा ४० प्रतिशतले पार्टटाइम काम गर्न पाउँछन् । तर, मात्र १३ प्रतिशत जागिरे पुरुषले पार्टटाइम काम गर्ने गर्छन् । हेटेरोसेक्सुयल सम्बन्धमा प्रायः महिलाको आय न्यून हुने गर्छ भने तिनको जागिरलाई पनि कम महत्व दिने गरिन्छ । संक्रमणकालमा तिनले आफ्नो जागिर सजिलै छोड्नुपर्ने हुन सक्छ । अहिलेको यो संक्रमणकाल हप्तौँ नभएर महिनौँ जाला जस्तो छ । र, केही महिलाको जीवनभरकै कमाइले पनि यसको क्षतिपूर्ति हुन सक्नेछैन । विद्यालय बन्द भइसकेका छन्, बालबच्चा घरमा थन्किएका छन् । थुप्रै पिताले पनि घरायसी काममा सघाउलान्, तर सबैले भने होइन । 

यस्ता महामारी पटकपटक दोहोरिनेछन् । महामारीमा लैंगिक विषय गौण कुरो हो भनेर पन्छिने वातावरणको अन्त्य गरिनुपर्छ । अहिले हामीले जे काम गर्छौँ त्यसले भावी महामारीमा करोडौँ महिला तथा किशोरीको भविष्य निर्धारण गर्नेछ ।

०औँ शताब्दीमा महिलाको एउटा ठूलो हिस्सा सार्वजनिक श्रमशक्ति भएर निस्किएको भए पनि तिनलाई अझै ‘दोस्रो दर्जा’को रूपमा लिन छाडिएको छैन । विश्वभर नै सार्वजनिक श्रमको अलावा तिनले पुरुष सहकर्मीको भन्दा अत्यधिक घरायसी काम गर्नुपर्छ । त्यसैले तिनलाई पुरुष पार्टनरको भन्दा न्यून फुर्सद मिल्ने गर्छ । किनमेलका झन्झटहरू देखाइने ‘मेमे’हरूमा समेत घरायसी सामग्री किन्ने काम महिलाकै मात्र हो भन्ने देखाइन्छ । 

‘म कोभिड–१९ सँग डराएको छैन, म त मानिसको सामान्य चेतना हराएको देखेर डराइरहेको छु,’ कोरोना भाइरसको संकटसम्बन्धी एउटा लोकप्रिय ट्विटमा भनिएको छ, ‘मलाई त उनीहरू पसलमा गएर लाम लागेको देखेर डर लाग्छ, सुसन र करिनले त ३० वर्षका लागि जोहो गरिसकेका छन् ।’ ‘सुसन’ र ‘करिन’ मुख्य सहरदेखि आसपास काँठका महिलाको नाम हो । र, यो ‘जोक’ले भन्छ, घरायसी सरसामान अझ भान्साका वस्तु किन्ने काम महिलाले मात्र गर्ने गर्छन् वा गर्नुपर्छ । 

हामी हाम्रो वरपर हेर्न सक्छौँ, धेरै जोडी अहिले यो विनापारिश्रमिकको घरायसी कामकाजलाई कसरी भागबन्डा गर्ने भनेर कठोर निर्णय लिइरहेका छन् । मैले जब वेनहामलाई फेन गरेँ उनी दुई मसिना बच्चा लिएर ‘सेल्फ आइसोलेसन’मा बसिरहेकी थिइन् । उनी र उनका श्रीमान्ले दुई–दुई घन्टाको समय बालबालिकाको स्याहार–सुसार गर्न र आफ्नो अफिसियल काम गर्न छुट्याएका रहेछन् । यो एउटा विकल्प हो, तर अन्यका लागि चाहिँ यो श्रम विभाजनले उनीहरूलाई पुरानै युगतिर फर्काइरहेको अनुभूत हुन्छ । श्रीमान्–श्रीमती दुवैले आम्दानी गरिरहेका जोडीहरू पनि आफ्नो हजुरबुबाको पालामा जसरी घर चलाउन बाध्य भइरहेका छन् । एउटी गृहस्थी चलाउँदै छिन् भने अर्का कमाइ गर्दै छन् । 

‘मेरा श्रीमान् आकस्मिक कक्षका फिजिसियन हुन् । अहिले उनी सक्रिय रूपमा कोरोना भाइरस संक्रमितको उपचारमा छन् । हामीले एउटा कठोर निर्णय लिएका छौँ । जतिवेलासम्म उनी बिरामीको उपचार गरिरहनेछन्, उनलाई हाम्रो ग्यारेजको अपार्टमेन्टमा आइसोलेसनमा राख्ने व्यवस्था गरेका छौँ,’ इमोरी विश्वविद्यालयको इपिडेमोलोजिस्ट रेचल पाट्जरले लेखेकी छिन् । उनको तीन हप्ताको बच्चासहित अरू दुई छोरा–छोरी छन् । उनले सानो नानी लिएर नै ठूलालाई स्कुल लाने–ल्याउने गरिरहेकी थिइन् ।

विद्यालय बन्दले एकल अभिभावक सकसमा

एकल अभिभावकलाई झन् सकस छ । अहिले विद्यालय बन्द छन् र तिनले बालबच्चाको स्याहार–सुसार र कमाइलाई सँगसँगै लानुपरेको छ । सन् १९५० का आदर्श सिनेमा हेरेर रमाइरहनुपर्ने आवश्यकता छैन । त्यहाँ त बाबु अफिसबाट फर्कन्छन् र सुकिला–मुकिला छोराछोरीसँग बसेर हाँसी–खुसी बेलुकाको डिनर लिइरहेका देखिन्छन् । त्यो परिवार सुखी र खुसी देखिन्छ । त्यतिवेला पनि अधिकांशको जीवन त्यस्तो सहज थिएन । आजको बेलायतमा एकचौथाइ परिवारको एकल अभिभावकबाट पलनपोषण भइरहेको छ, जसमा ९० प्रतिशत एकल आमाहरू छन् । विद्यालय बन्दले तिनको जीवन झनै कष्टकर बनेको छ । 

इबोला महामारीले नै खतराको संकेत दिइसकेको थियो । विकसित मुलुकमा पनि त्यस्तै साना–ठूला महामारी निम्तिन सक्ने आकलन गर्न सकिन्थ्यो । इबोलाका क्रममा विद्यालय बन्द हुँदा बालिका शिक्षामा असर पारेको थियो, धेरैले पढाइ छोडेका थिए । किशोरावस्थामा गर्भधारण हुने प्रवृत्ति बढेको थियो । घरेलु तथा यौनजन्य हिंसा बढेको थियो । साधन स्रोत अन्यन्त्र खर्च गर्नुपर्दा धेरै महिला प्रसूति बेथामा मर्नुपरेको थियो । ‘सबै शक्ति महामारीमा खर्चनुपर्दा अन्य स्वास्थ्य सेवामा ठूलो असर परेको थियो, जसको मार सीधा महिलाको स्वास्थ्यमा परेको थियो,’ वेनहामले भनिन् । उनी इबोला संक्रमणका दौरान अनुसन्धानका लागि पश्चिम अफ्रिका गएकी थिइन् ।

‘प्राथमिकतामा नपरेका सेवालाई कटौती गरिन्थ्यो । यसले गर्दा मातृ मृत्युदर अकासियो, गर्भनिरोधकमाथिको पहुँचमा पनि कमी आयो,’ उनले बताइन् । अमेरिकाले अन्य विकसित क्षेत्रसँग तुलना गर्दै गरेको अनुसन्धानमा त्यहाँको मातृ मृत्युदरबारे उल्लेख गरेको छ । प्रसूति दौरान श्वेत महिलाको भन्दा अश्वेत महिलाको मृत्युको सम्भावना दुई गुणा ज्यादा हुने निचोड निकालेको छ । 

सेरा लियोन सन् २०१३ देखि ०१६ सम्म इबोला महामारीको संकटबाट गुज्रिएको थियो । वेनहामका अनुसार त्यहाँको तथ्यांक झन् भयावह छ । इबोला संक्रमणले भन्दा अधिक महिलाको ज्यान त्यसबखत प्रजनन स्वास्थ्य जटिलताले निम्त्याएको थियो । तर, जसरी आधुनिक अर्थतन्त्रले विनावेतन गरिने घरायसी कामको बेवास्ता गर्ने गरेको छ त्यस्तै महामारीले सिर्जिएको संकटका दौरान यति विशाल मातृ मृत्युदरले कसैको ध्यान खिच्न सकेन । यी मृत्युको कुनै लेखाजोखा भएनन् ।

क्यारोलिन क्रियाडो पेरेजले आफ्नो पुस्तक इनभिजिबल ओमेनमा उल्लेख गरेकी छिन्, ‘१५ हजार रिभ्यु शीर्षकमा जिका र इबोला संकटबारे २९ मिलियन पेपरहरू लेखिएका छन् । तर, तीमध्ये एक प्रतिशतले पनि महामारीले महिला कसरी थप पीडित भइरहेका छन् भन्ने उल्लेख गर्दैनन् ।’ कोरोना भाइरस संक्रमण फैलिरहँदा अहिलेसम्म यसले लैंगिक तहमा पार्ने असरका विषयमा एउटा पनि अनुसन्धान हुन सकेका छैनन् । त्यसैले क्लारे वेनहाम अहिले अन्य दुईजना सहायक लेखकसँग मिलेर अनुसन्धानको यो खडेरीलाई तोड्दै छिन् । 

‘लकडाउन’ को समयमा सबै मुलुकमा बढ्छन् घरेलु हिंसा

इबोला र जिका संक्रमण दौरानका तथ्यांकका आधारमा अहिलेको कोरोना संक्रमणको समयलाई सम्बोधन गर्न सकिन्छ । किनकि विज्ञहरू सहमत छन् कि ‘लकडाउन’को समयमा विकसित, अल्पविकसित सबै मुलुकमा घरेलु हिंसा बढ्ने गर्छ । तनाव, रक्सीसेवन र आर्थिक संकट पनि घरेलु हिंसाका अन्य कारक तत्व हुन् । अनि विश्वभरि नै क्वारेन्टाइको समय तनाव, मदिरासेवन र आर्थिक संकटबाट गुज्रने गर्छ । ब्रिटिस च्यारिटी ओमन एडले उल्लेख गरिसकेको छ, ‘सामाजिक दूरी र सेल्फ आइसोलेसनको समय पिडकहरू झन् सक्रिय हुन सक्छन् । यसले महिलाको सुरक्षामा व्यवधान आउन सक्छ ।’ यस विषयमा चासो राखेको सो संस्थाले बताएको छ । 

मैले कुराकानी गरेका अनुसन्धानदाता र विज्ञहरू चिन्तित देखिन्थे । किनकि, नीतिनिर्माताले अझै यो संवेदनशील विषयमा ध्यान दिएका छैनन् । उनीहरू महिला–पुरुष दुवैलाई समान स्तरको व्यवहार गर्दै महामारीविरुद्ध लागेका छन् । उनीहरू महिला संवेदनशीलताको विषयमा बेखबर देखिन्छन् । अर्को कुरा आगामी अनुसन्धानका लागि तथ्यपरक तथ्यांकको पनि अभाव खड्किरहेको छ । यसमा पनि विज्ञहरू चिन्तित छन् । उदाहरणका लागि कोरोना भाइरसलगायत अन्य भाइरसले गर्भवती महिलामा कस्तो असर पु-याउँछ भन्ने आधिकारिक तथ्यांक अहिले हामीसँग छैन । हामीलाई त अहिले विरोधाभासपूर्ण सल्लाह–सुझाब मात्र आउँछन् । सेन्टर फर ग्लोबल डेभलपमेन्टकी वरिष्ठ नीतिविज्ञ सुसाना हारेस भन्छिन्, ‘स्कुलहरू खुलेपछि उल्लेख्य डाटा पाउन सकिएला ।’ 

हामीले फेरि पनि गल्ती दोहो-याउनुहुँदैन । यस्ता महामारी पटक–पटक दोहोरिनेछन् । महामारीमा लैंगिक विषय गौण कुरो हो भनेर पन्छिने वातावरणको अन्त्य गरिनुपर्छ । अहिले हामीले जे काम गर्छौं त्यसले भावी महामारीमा करोडौँ महिला तथा किशोरीको भविष्य निर्धारण हुनेछ । कोरोना भाइरस संकट विश्वव्यापी र लामो समयसम्म प्रभाव पार्ने खालको हुनेछ । यसले स्वास्थ्य र अर्थतन्त्र दुवैलाई प्रभावित पार्नेछ । यद्यपि यसले एउटा अवसर भने दिएको छ ।

सम्भवतः यो महिला–पुरुषलाई महामारीले कसरी भिन्न—भिन्न तरिकाले प्रभावित बनाउँछ भनेर अनुसन्धान गरिएको पहिलो महामारी हुनेछ । यसले विज्ञ र नीतिनिर्माताको ध्यानाकर्षित गर्नेछ । अहिले राजनीतिज्ञले भन्न थालेका छन् कि शिशु तथा वृद्धवृद्धा स्याहार अब व्यक्तिगत रूपमा (अझ महिला)हरूले गर्नेछन् । यसबाट प्रस्ट हुन्छ, आममहिला यो महामारीमा कसरी ज्यालाविहीन घरेलु कामदार बन्दै छन् । यो महामारीले लंैगिक विभेदको ग्राफ कत्रो छ– बिस्तारै हामीलाई सिकाइरहेको छ । 

आपत्कालीन शिशु स्याहार केन्द्र व्यवस्थापन, साना व्यवसायीलाई आर्थिक सुरक्षाको प्रबन्धन र परिवारको सोझो आर्थिक राहत प्याकेजप्रति त वेनहामको समर्थन छ । तर, उनी आशावादी भने छैनन् । उनको अनुभवले भन्छ सरकार दूरदर्शी छैनन् मात्र ‘रियाक्टिभ’ छन् । वेनहामले अनुभव पोखिन्, ‘यस्तो हुँदै छ भन्ने कुरा पहिला नै आकलन गरिएको थियो । हाम्रो प्राज्ञिकको समूहले चीनको वुहानमा देखिएको कोरोना भाइरस विश्वव्यापीकरणको यो चरणमा विश्वभर फैलन सक्ने र वित्तीय संयन्त्रलाई नै तहसनहस पारिदिने आकलन गरिसकेको थियो । तर, यहाँ त्यससँग जुध्न न आर्थिक जोहो गरियो न त कुनै राष्ट्रिय रणनीति नै बनाइयो । हामीले यो सब सुझाएका थियौँ, तर तिनले सुनेनन् । अझै तिनले महिलाको विषय झन् कसरी सुन्लान् ?’ 

(हेलेन लेविस डिफिकल्ट ओमेन : अ हिस्ट्री अफ फेमिनिज्म इन इलेभन फाइटकी लेखिका हुन्) ।

 द एटल्यान्टिक डटकमबाट