• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
देवी गुरुङ
२०७६ चैत १६ आइतबार १४:३६:००
समाज

महामारीको सूचना नेपाली भाषामा मात्रै ?

बुढापाका सोध्छन्, ‘लकडाउन’ भनेको के हो ?

२०७६ चैत १६ आइतबार १४:३६:००
देवी गुरुङ

कोरोना भाइरस महामारीको सन्दर्भमा सूचनाको हक महत्वपूर्ण हुन आउँछ । सरकार र मिडियाले आ–आफ्ना स्थानबाट जनतालाई सुसूचित बनाउन धेरै प्रयत्न र प्रयास गरिरहेका छन् । तर, ती सूचना प्रसारित हुने भाष्य र माध्यम पर्याप्त छन् त ? महामारीको समयमा मानक भाषाबाहेक अरू भाषा कत्तिको महत्वपूर्ण हुन्छन् ? औपचारिक नेपाली भाषामा मात्र सूचना प्रसारित हुँदा अरू भाषा मात्र बोल्ने र बुझ्नेहरू यो महामारीबाट कसरी जोगिने ? कसरी यस्ता महामारीले भाषा संरक्षणको संकथनलाई सहयोग पु¥याउँछ ? यसबारे चर्चा गर्नु आवश्यक छ । 

भाषाको कुरा 

शब्दहरूलाई व्याकरणले संयोजन गरेर कथ्य वा लेख्य भाषाको निर्माण हुन्छ । बृहत् भाषाविज्ञानले बोलिने र लेखिने सञ्चारका माध्यमलाई मात्र होइन, संकेत र इसाराहरूलाई समेत भाषाको मान्यता दिन्छ । अहिले पृथ्वीमा रहेका सबै मानिस र उनीहरूका समुदायसँग लाखौँको संख्यामा भाषा छन् । भाषाविद् नोमचोम्स्कीका अनुसार यी भाषाको अध्ययन सामाजिक र सांस्कृतिक परिवेशभन्दा छुट्टै गर्न सकिन्छ । केहीले भाषाको अध्ययन व्याकरणभन्दा बढी सामाजिक, राजनैतिक र सांस्कृतिक कोणहरूबाट हेरिनुपर्छ भन्ने मान्यता राख्दछन् । योसँगै भाषाको अध्ययन जाति, जनजाति, लिङ्ग, कानुन, साक्षरता, राजनीति र मौखिक साहित्यको पाटोबाट हेर्ने चलन बढ्दो छ । 

कुनै आधुनिक राष्ट्रभित्र फरक भाषा र भाषिका बोल्ने समुदायको सामाजिक हैसियत, राजनीतिक शक्ति र अधिकार फरकफरक हुन्छन् । यसरी भाषाले सामाजिक स्तरीकरण गराउँदछ र सो स्तरीकरणलाई समेत प्रतिविम्बित गर्दछ । अमेरिकी भाषा समाजशास्त्री चाल्र्स फग्र्युसनले सन १९५९ मा गरेको एक अनुसन्धानको निक्र्योल थियो –विभिन्न भाषा र भाषिकाको प्रयोगका आफ्नै विशेषता र ठाउँहरू हुन्छन् । जस्तैः शिक्षामा समाजमा बढी राजनीतिक र सामाजिक हैसियत पाएको भाषाको प्रयोग हुन्छ भने घरव्यवहारमा आफ्नै मातृभाषा प्रयोग हुन्छ । विभिन्न भाषाहरूबीच असमानता हुनुमा भाषाहरूको आफ्नै ‘आर्थिक राजनीतिक’ कारण हुन्छन् । 

नेपालको सन्दर्भमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा उनले आफू, आफ्नो भाषा, जात र धर्मवरिपरि केन्द्रको स्थापना गरेर जितेका राज्य र रजौटालाई र उनीहरूको भाषा, धर्म र संस्कृतिलाई परिधिमा राखे । यो क्रमलाई जंगबहादुर राणा र महेन्द्र शाहहरूले जारी राखे । र भाषिक, धार्मिक र जातीय केन्द्रीयतालाई अझ मजबुद बनाउँदै लगे । अहिलेको गणतन्त्रमा पनि त्यही मान्यता कायम छ । 

सन् २०११ को सरकारी जनगणनाअनुसार नेपालमा नेपाली भाषा बोल्ने लगभग ४५ प्रतिशत छन् । नेपालीजस्तै लाग्ने कैयौँ भाषिकालाई बाहिर राख्ने हो भने यो प्रतिशत अझ कम हुन आउँछ । त्यसैगरी, पुराना जनगणनाको तथ्यांकको तुलनात्मक अध्ययन गर्ने हो भने अरू धेरै नखुलेका पाटा खुल्न सक्छन् । जे होस्, देशको आधा जनसंख्याले भन्दा पनि कमले बोल्ने भाषाले किन यति धेरै प्राथमिकता पायो त ? जब एउटा भाषा बोल्नेले शासन गर्छ, तब सबै संस्थामा त्यही भाषा बोल्ने मानिसको बाहुल्यता हुन्छ । राज्यका तीन अंगहरू, बजार, विश्वविद्यालय र मिडियामा नेपाली भाषाको नै बोलवाला हुन्छ ।  कुनै देश र विश्व परिवेशमा कुनै एक भाषालाई मानक मानिनु तर्कसंगत मान्न सकिँदैन, किनभने भाषाहरूको अन्तर्निहित गुणको कुनै स्तरीकरण हुँदैन । तर, पाठ्यपुस्तक र कानुनहरू नेपाली भाषामै लेखिने भएकाले अरू भाषिक समुदायका व्यक्तिले शिक्षा, रोजगार र स्वास्थ्य सेवामा राम्रो पहुँच पाउन सक्दैनन् । 

भाषाविद्हरूका अनुसार ‘हिमालय’ क्षेत्र भाषाहरूको ‘मेगासेन्टर’ हो । एउटा भाषाको गुण त्यसले एकअर्काबीचको संवादमा मात्र सीमित हुँदैन । कसरी समुदायभित्रका आर्थिक, सामाजिक र वातावरणीय समस्याको हल खोज्छन् भन्ने कुरा थाहा हुन्छ । जस्तै सन् २०१९-२० मा अस्ट्रेलियाको दक्षिण–पूर्व क्षेत्रमा फैलिएको आगलागी निभाउन केही वातावरणविद्ले आदिवासीहरूको तरिका सिक्नुपर्ने र अपनाउनुपर्ने तर्क राखेका थिए । यदि भाषा लोप हुँदै गयो भने त्यो ज्ञान पनि लोप हुन्छ । भाषा रह्यो भने ग्रामीण विकास गर्न र वातावरणीय विनाशको हल खोज्न पनि सजिलो हुन्छ । नेपालमा भाषाहरू लोप हुनुका थुप्रै कारण छन् । टुरिनका अनुसार नेपालका धेरै भाषा लोप हुँदै जानुका धेरै कारण छन्ः जनसंख्या घट्नु (कुसुन्डा), परम्परागत वासस्थान मासिनु (राउटे) र प्राकृतिक प्रकोप । 

खोटाङ जिल्लामा ‘कोई’ बोल्नेहरूको गाउँ पहिरोले पुरिएपछि भाषा पनि म-यो । तर, सबैभन्दा महत्वपूर्ण कारण भाषिक दमन नै हो । भाषाकै कारणले पछाडि परेपछि धेरै मानिसले आफ्नो भाषा छोडेर मानक नेपाली भाषा बोल्न थालेका छन् । भाषामा ‘प्रदर्शन’को शक्ति हुन्छ । एकलौटी रूपमा प्रयोग भएको नेपाली भाषाले कानुन र पाठ्यपुस्तक निर्माण गर्दै, मिडियामा प्रयोग हुँदै गर्दा आफ्नो निखारता ल्याएको छ । यो भाषामा शब्दहरू धेरै छन्, औपचारिकता बढी छ, कसैलाई कुनै काम गर्न लगाउन सक्ने र मनाउन सक्ने तागत छ । 

नेपालको संविधानले अहिले सूचना र स्वास्थ्यको अधिकार जनतामा सुनिश्चित गरेको छ । आफूले बुझ्ने भाषामा स्वास्थ्यको जानकारी र सूचना पाउनु जनताको मौलिक अधिकार हो ।

कतिपय स्थानमा यो भाषाका शब्दहरू सजिलै दुईअर्थी बन्न सक्छन् । पहिले–पहिले नेपाली भाषामा लेखिएका तमसुकले अरू भाषा बोल्नेलाई दुःख दिएको कुरा आउँथ्यो । नेपाल राज्यको इतिहास, संस्कृति, राष्ट्रियतालाई नेपाली भाषामा लेखिएको छ । नेपाली भाषाले नै नेपाली राष्ट्रियताको संकथन निर्माण गर्दा त्यो भाषा बोल्ने मान्छे, त्यो भाषा बोलिने भूगोल, त्यो भाषा बोल्ने जाति र त्यो भाषा बोल्नेहरूको लुगा र सांस्कृतिक पुँजीको ग्राह्यता पाएको छ । त्यो नै नेपालको पहिचान मान्ने गरिएको छ । 

संकथन केही वाक्य र अनुच्छेदमा सीमित हँुदैन, मानिसहरूको भूत, वर्तमान र भविष्य र जीवनलाई हेर्ने तरिकालाई नै परिवर्तन गरिदिन्छ । जब एउटा भाषा बोल्नुपर्ने हुन्छ, सुन्नुपर्ने हुन्छ, सिक्नुपर्ने हुन्छ, तब त्यो भाषाले संस्कृति र व्यक्तित्व निर्माण गर्दछ । एउटा भाषालाई बाहुल्यता बढाउनुको अर्को कारण पनि हुन्छ । जब सबैले एउटा मात्र भाषा बोल्छन्, त्यहाँ शासन गर्न, दमन गर्न सजिलो हुन्छ । ‘दी आर्किवलोजी अफ नलेज’मा फ्रेन्च दार्शनिक मिसेल फुकोले किन इतिहासमा, ज्ञान र पुस्तकमा एउटा वाक्य, एउटा वाक्यांश र एउटा विचारको सट्टामा अर्को प्रयोग भएन भन्नेबारेमा उल्लेख गरेका छन् । त्यसको उत्तरमा फुको भन्छन्– त्यसो गर्नुको ध्येय सोचाइ र संस्कृतिको एकरूपता ल्याउनु हो । 

मानवशास्त्रमा ‘एटिक’ र ‘एमिक’ भनिने दुई अनुसन्धानका कन्सेप्ट छन् । ‘एटिक’ भनिने बाहिरको र अनुसन्धानदाताको वर्गीकरणलाई मानक मानिने व्यवस्था हो । जस्तो कि ‘लिनाई एन ट्याक्सोनोमी’ले बिरुवा र जीवजन्तुको वर्गीकरण गर्छ । ‘लिनाई एन ट्याक्सोनोमी’बाहेक हरेक भाषामा र हरेक समुदायले आफ्नै वर्गीकरण गर्छ । 

हरेक आदिवासीहरूले उनीहरूको जीवनयापनसँग सम्बन्धित जीवजन्तुको ‘एटिक’ वर्गीकरण गरेका हुन्छन्, जस्तैः खेतबारीमा लाग्ने किरा, वा डढेलो निभाउने तरिका । नेपालमा हरेक कुराको अध्ययन नेपाली भाषा र यसको वर्गीकरणलाई मानिन्छ । जातपातको रुढीवादी बढ्नुमा नेपाली भाषाको ठूलो देन छ । तर, फरक–फरक भाषा बोल्नेहरूको आफ्नै ज्ञान र विश्वदृष्टिकोण हुन्छ । जस्तो कि पूर्वका थामीहरूको अध्ययन गरेका मार्कटुरिनले त्यो भाषामा थुप्रै बिरुवा र जनावरहरूको नामहरू छन्, जसको अनुष्ठानिक र औषधिजन्य महत्व छ । तर, भाषा मासिएपछि त्यो ज्ञानबाट सबै थामीलगायत सबै वञ्चित हुनुपर्छ । यदि त्यो भाषाको संरक्षण भएन भने, त्यो ज्ञान यत्तिकै मरेर जाने डर हुन्छ ।

 कल्पना गरौँ, अहिलेसम्म कतिवटा भाषा विश्वबाट हराएर गए र ती भाषासँगै कति आदिवासीको मौलिक ज्ञान र वातावरणसँग जुध्ने तरिकाहरू हराए । कतिपय पश्चिमी अनुसन्धानदाताले औषधि विज्ञानलाई जोडेर ‘एटिक’ र ‘एमिक’ दृष्टिकोणबाट बिरामी र औषधि विज्ञानलाई अध्ययन गरिरहेका छन् । अंग्रेजी भाषाबाट आएका शारीरिक र मानसिक रोगहरूलाई चिनाउन प्रयोग हुने शब्दहरू र यिनका नेपाली उल्थाहरू मिडियामा लोकप्रिय हुँदै गर्दा यी रोग हुँदै नहुने ठाउँमा पनि पुग्न थालेका छन् । 

भाषा हराएकै कारण कतिपय लोकसंगीतहरू (अंग्रेजीमा एथ्नोम्युजिक) हराइरहेका छन् । त्योसँगै ‘रोदीघर’जस्तै अरू साँस्कृतिक धरोहर मासिँदै छन् । आदिवासीको लोकसंगीतमा सुमधुरताबाहेक अरू उपयोगहरू हुन्छन् । जस्तैः अनुष्ठानिक, चिकित्सकीय आदि । भाषासँगै कतिपय समुदायको धनी मानिएको खानपिनको संस्कृति हराउँदै छ । 

अहिलेको ‘मासमिडिया’ले पुराना समाचार भन्ने भाषा र माध्यमलाई प्रतिस्थापन गरेको छ । पहिले हरेक समुदायमा समाचार भन्ने वा खबर ल्याउने तरिका फरक–फरक हुन्थ्यो । रेडियोदेखि अहिलेको डिजिटल माध्यम एकरूपतामा विश्वास राख्छ । सबै अन्तर्राष्ट्रिय कुराहरू अंग्रेजीमा र सबै राष्ट्रिय कुरा नेपालीमा प्रसारण हुन्छ । अब आएर प्रसारणको माध्यम नेपालीबाहेक अरू पनि हुन सक्छ भन्ने मानिसलाई त्यति पत्यार लाग्दैन । नेपाली अब प्रसारणको भाषा बनिसकेकोे छ । प्रिन्ट र डिजिटल युग आएपछि भाषामाथिको आक्रमण अझ बढेको छ ।  

साक्षरताको पनि आफ्नै संकथन छ । साक्षरताको प्रश्नलाई समाजशास्त्र र मानवशास्त्रमा धेरै जटिल मानिन्छ । कतिपय भाषाको लेख्ने संस्कृति छ भने कतिमा एकदमै धनी कथ्य संस्कृति हुन्छ । साक्षरताको संकथनले बोलाइभन्दा लेखाइलाई बढी महत्व दिन्छ । र, साक्षरतालाई लेखाइसँग जोडिएर हेरिन्छ । त्यो पनि नेपाली भाषामा । जो नेपाली भाषामा पढ्न, लेख्न जान्दैन र जसलाई नेपालीमै गणित गर्न आउँदैन, उसलाई निरक्षर भनेर कर्मचारीतन्त्रले दर्ज गर्दछ । तर, लोककथाहरू पछिसम्म पनि अलिखित नै थिए । अरू भाषामा बोलिने कथाको सामुदायिक अपनत्व हुन्थ्यो । दमनको प्रविधिले लिखतमा आएको कानूनमा विश्वास गर्दछ, लिखत साहित्यलाई नै विश्वास गर्दछ । अहिले नेपालमा कथ्य भाषाहरू नै बढी लोप भएका छन् । 

नेपाल र विश्वमै साक्षरताको संकथनले एकल भाषा, संस्कृति र राजनीतिक शक्तिलाई बढावा दिन्छ, र जति नै बढी बोलिने भए पनि कथ्यभाषाहरू नै आक्रमणमा पर्दछन् । कथ्यभाषामा लोककथा, रूपक, मिथक, कविता, गीत, उखान, टुक्का आदि मौखिक कला हुन्छन् । यदि भाषा नै नरहने हो भने यी सबै साहित्यको समाप्ति हुन्छ । 

प्राकृतिक प्रकोप र भाषासँग जोडिएका विभिन्न पाटा हुन्छन् । कुनै भाषा प्राकृतिक प्रकोपको कारणले नष्ट हुन्छन् । धेरैजसो अवस्थामा प्रकोपसँग जुध्न विभिन्न भाषामा समाधानका उपाय समेटिएका हुन्छन् । जब ती भाषाहरू लोप हुन थाल्छन्, त्यसको ठाउँमा नेपालीजस्तै मानक भाषा प्रयोग हुन्छ । स्थानीयहरू अलमलमा पर्छन् । भाषाकै कारण प्रकोपपछिको उद्धार, राहत र पुनर्वासमा अप्ठ्यारो हुन्छ । उद्धार, राहत र पुनर्वासमा प्रयोग हुने भाष्य अझ बढी औपचारिक हुन्छन् । नेपालको भूकम्पपछि पनि गुरुङ, मगर, नेवार र तामाङ समुदायलाई सरकारी राहतमा धेरै समस्या परेको थियो । कतिपय ठाउँमा उनीहरू नेपालीभाषी कर्मचारीबाट ठगिनुपरेको मैले आफैँ अनुसन्धानमा पाएको छु । 

नेपालमा कोरोना महामारीको उच्च जोखिममा छ । यहाँको जनस्वास्थ्यको स्थिति र धेरै बिरामी भएका देशहरू चीन र भारतको छिमेकी भएकोले यहाँ उच्च जोखिम छ । यो महामारी अरू प्राकृतिक प्रकोपभन्दा भिन्न छ, यसको अनुभव मानिसलाई बिरलै हुन्छ । भूकम्प र बाढीपहिरोजस्तो ठाउँ विशेष र देशविशेष घट्ने घटना यो होइन । यो त सूक्ष्म भाइरसबाट सर्ने रोग हो । 

यो रोग अनिगिन्ती तरिकाले सर्न सक्छ । यो रोगबारेका नयाँ र महत्वपूर्ण तथ्य निरन्तर आइरहेको हुन्छ । नेपालले यो भाइरस र यसबाट लाग्ने रोगका बारेमा अलि ढिला भए पनि सतर्कता अपनाएको छ । लाग्छ, कोरोनाको बारेमा अहिले आएका सूचना सबै नेपालीभाषीसम्म पनि पुगेको छैन । अझ यो रोगको महत्वपूर्ण पक्ष बुढा,पाका उच्च जोखिममा हुन्छन् । नेपाली भाषा बोल्ने बुढापाकालाई  ‘कर्फ्यु’ भन्ने त थाहा होला, तर अंग्रेजीबाट आएका नयाँ शब्दहरू कोरोना, क्यारेन्टाइन, सेल्फ आइशोलेशन, लकडाउनजस्ता शब्दका बारेमा जानकारी हुँदैन ।

सञ्चारमाध्यममा अहिले यही भाषाको प्रयोग भइरहेको छ । अथवा, यी अंग्रेजी शब्दलाई उल्था गरेर बनाइएका औपचारिक शब्द, वाक्यांशहरूको प्रयोग हुन्छ । त्यस्तो औपचारिक भाषामा बुढाबुढीहरू अभ्यस्त हुँदैनन् । मिडियाले कुनै नयाँ शब्द अंग्रेजीमै लेख्ने र पढ्ने गर्दछन् । कोरियन र चिनियाँहरूले नेपालीले भन्दा आफ्नो भाषामै यो भाइरस र रोगका बारेमा धेरै बुझिसकेका छन् । बुढाबुढीलाई भाइरस, कोरोना, क्यारेन्टाइन, सेल्फ आइसोलेसन आदि शब्द बुझाउने युवाहरू अहिले गाउँ र सहरमा कम छन् । साबुनपानी इत्यादि कुराहरूबाट सजग गराउन सकिएला, तर कुनै कुराको पृष्ठभूमि बुझिसकेपछि मात्र मानिसमा बढी सजगता आउँछ । 

नेपाली भाषा बोल्नेहरूको यस्तो अवस्था छ भने थारू, मगर, तामाङ र नेवार भाषा मात्र बोल्नेलाई कसरी सजग बनाउने ? काठमाडौंकेन्द्रित सबै मिडिया नेपाली भाषामै छन् । प्रदेशहरूका धेरै मिडिया पनि नेपाली भाषामै छन् । अहिले संघीयतापछि मिडियामा धेरै थोरै अरू भाषा प्रयोग भएको छ । गोरखापत्रले केही प्रयास गरेको छ, तर साँच्चिकै भन्ने हो भने ती पृष्ठ नेपाली भाषा र लिपि पढ्न र लेख्न जान्नेका लागि हो । 

तीबाहेकका कथ्यभाषाहरूको उपस्थिति शून्य छ । संखुवासभा जिल्लामा राई भनिने भाषा थुप्रै छन् । ती सबै भाषामा सूचना पुग्छ त ? विज्ञापन पुँजीवादको युगमा अहिलेका सञ्चारमाध्यम सबैले नेपालीमै प्रसारण गर्छन् । केही भए पनि थोरै समय थारू बढी बोलिने ठाउँमा थारू भाषामा समाचार वा फोनइनजस्ता कार्यक्रम प्रसारण हुन्छन् होला, तर थोरै बोलिने भाषामा मिडियाको उपस्थिति शून्य छ । 

तराईमा भोजपुरी वा मैथिलीमा केही प्रसारण हुन्छ, तर त्यो भेगभन्दा अलिमाथि बोलिने लिम्बू, भोटे र थुलुङ भाषामा दिँदैन । कोरोनाकै सन्दर्भमा नेपालको संविधानले अहिले सूचना र स्वास्थ्यको अधिकार जनतामा सुनिश्चित गरेको छ । आफूले बुझ्ने भाषामा स्वास्थ्यको जानकारी र सूचना पाउनु जनताको मौलिक अधिकार हो ।