• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सञ्जीव उप्रेती
२०७६ चैत २२ शनिबार १०:४५:००
समाज

कोरोना र वैश्विक भविष्यको मानचित्र

विश्वव्यापी विपत्तिलाई अवसरमा पनि परिवर्तन गर्न सक्छौँ

२०७६ चैत २२ शनिबार १०:४५:००
सञ्जीव उप्रेती

प्रकृति 
प्रकृति आफ्नै ‘इकोसिस्टम’मा चलिरहेको हुन्छ । जंगलमा जनावर, चराचुरुंगी र वनस्पति हुन्छन् । भाइरसहरू पनि हुन्छन् । उनीहरूको आफ्नै इकोसिस्टम हुन्छ । मानिस उनीहरूको वासस्थानमा छिर्छ, जंगल फँडानी गर्छ अनि प्रकृतिलाई ध्वस्त बनाउँछ । योे क्रम धेरै अघिदेखि चल्दै आएको छ । मानिसले संसारको इकोसिस्टम बिगार्दै ल्यायो । मानव गतिविधिले प्रकृतिको इकोसिस्टम कति गडबडिएकोे छ भन्नेबारे हामी सोच्दैनौँ र यसबारे राम्ररी अनुसन्धान पनि भएको छैन । 

पहिले पनि महामारी हुन्थे । छैटौँ शताब्दीमा जस्टिनियन प्लेगले करोडौँ मानिसको ज्यान लियो भनिन्छ । १४औँ शताब्दीमा पनि महामारी भएको थियो, जसलाई हामी ‘ब्ल्याकडेथ’ भन्छौँ । औद्योगिक क्रान्तिपछि पनि सत्रौँ र अठारौँ शताब्दीमा ‘ग्रेट प्लेग’लगायत धेरै महामारी भए । झन् गएको ५० वर्षयता किसिम–किसिमका रोग आइरहेका छन् । महामारी फैलिरहेका छन् । एड्स, इबोला, सार्स, मर्स, स्वाइन फ्लुलगायत थुप्रै रोग यही ५० वर्षमा मानिसले व्योहर्नुप-यो । अझै नयाँ महामारी आउन सक्छ, किनकि हामीले पर्यावरण निकै खलबलाइसकेका छौँ । त्यसैले कोरोनालाई हामीले ‘वेकअप कल’ मान्नुपर्छ । 

हाम्रो विश्वदृष्टि मानवकेन्द्रित मात्रै रह्योे । जंगल फँडानी गर्दा त्यहाँ आफ्नै किसिमको इकोसिस्टम चलिरहेको छ भन्ने भुल्यौँ । प्रकृतिको आफ्नै लय हुन्छ, त्यो लय मानिसले बिगारेपछि महामारीलगायत अन्य प्राकृतिक प्रकोप देखिन थाल्छन् । यसबाहेक पर्यावरणमा आएको परिवर्तन वा क्लाइमेट चेन्जको अवस्थामा भाइरसलाई एउटा प्रजातिबाट अर्कोमा सर्न सजिलो हुन्छ भन्ने रिसर्चले देखाएको छ । एड्स, सार्स, इबोला र कोरोनालगायत रोग अन्य प्रजातिबाट मानव प्रजातिमा सरेकाले नै महामारी आएका हुन् । 

भूमण्डलीय पुँजीवादका आर्थिक तथा प्राविधिक प्रवाहहरू संसारका आर्थिक क्षेत्रहरू हुँदै दौडिरहेको छ । कोरोना भाइरस कहाँबाट कहाँ पुग्यो भनेर हेर्दा के देखिन्छ भने जुन राजमार्ग हुँदै ग्लोबलाइजेसन दौडिन्छ, त्यही बाटैबाटो कोरोना दौडिरहेको छ । क्यापिटलिज्मले कोरेको नक्सामा कोरोना पनि दौडिरहेको छ । 

पर्यावरण र वायुमण्डलको ओजन तह हामीले ध्वस्त पार्दै आएका छौँ । यसलाई कसरी सपार्ने भन्ने एउटा पक्ष छँदै छ । यसबाहेक ध्वस्त हुँदै गएकोे पर्यावरणीय इकोसिस्टमका कारण थप दुष्परिणाम आउन बाँकी छ । यस प्रकारका प्राकृतिक प्रकोप आउन यस्ता महामारी फैलिनु राष्ट्रिय सरोकारका विषय मात्रै होइनन् । कोरोनाजस्ता महामारीका भाइरस ‘ग्लोबल ट्राभल’को माध्यमबाट २४ घन्टामै संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्दै छन् । समस्या ग्लोबल भएकाले, समाधान पनि ग्लोबल नै हुनुपर्छ । 

महामारीका वेला अर्को ध्यान पु-यानुपर्ने स्वास्थ्य क्षेत्र हो । नेपालीको ऐतिहासिक स्मृति कमजोर छ । भूकम्प आयो, हामीले बिर्सियौँ । यो महामारी पनि बिर्सिन्छौँ । त्यसपछि स्वास्थ्य क्षेत्र फेरि उही निजीकरणकै बाटोमा फस्टाउँदै जान सक्छ । कोरोना महामारीपछि संसारैभरि पब्लिक हेल्थ वा जनस्वास्थ्यको बारेमा छलफल सुरु हुनेछ । तर, बिर्सन नहुने पक्ष के छ भने कुनै राज्य–विशेषले मात्रै पब्लिक हेल्थबारे सोचेर हुँदैन, ग्लोबल मोडलकै आवश्यकता छ । साथै, कोरोनाको कहरले देखायो कि मानव स्वास्थ्यको विषय मानवजातिमा मात्रै सीमित नभएर प्रकृतिसित जोडिएको छ ।

प्रकृतिको विनाशले अन्ततः मानवजातिकै विनाश निम्त्याउँछ भनेर बुझ्ने समय हो यो । त्यसैले कोरोना महामारीलाई हामीले मानव तथा प्रकृतिबीचको अन्तरसम्बन्ध तथा विश्वका असंख्य इकोसिस्टमबीचको अन्तरसम्बन्धको फराकिलो मानचित्रभित्र हेर्नु र बुझ्नुपर्छ । तसर्थ जनस्वास्थ्यकोे विषयलाई पनि मानव तथा प्रकृतिको अन्तरसम्बन्धको फराकिलो दायरामा राखेर सोचिनुपर्छ । 

राज्य
विज्ञहरूले अप्रिल र मे महिनामा यो रोगको उच्च पिकटाइम हुन सक्छ भनिरहेका छन् । केहीले गर्मीको याममा यो रोगको प्रभाव कम हुँदै जान्छ भन्दै छन् भने अरूले गर्मीमा कम भएता पनि आउने हिउँदमा कोरोना फर्कन सक्छ भन्दै छन् । कोरोनाको औषधि तथा भ्याक्सिनका निम्ति अमेरिका तथा चीनलगायत अन्य मुलुकमा लगातार प्रयास भइरहेछ । तर, विज्ञहरूको भनाइअनुसार भ्याक्सिन सर्वसाधारणका निम्ति उपलब्ध हुन कमसेकम १ देखि २ वर्ष लाग्न सक्छ । 

केही गरी कोरोना भ्याक्सिन सर्वसाधारणलाई उपलब्ध हुन वर्षौं लागे महामारीका राजनीतिक, आर्थिक र सामाजिक प्रभाव लामो समयसम्म चलिरहनेछन् । मानिसको दैनिक जीवनमा धेरै किसिमका व्यावहारिक परीवर्तन आउनेछन् । बारम्बार हात धुने र सामाजिक दूरी कायम राख्ने अहिलेको तरिकामा पछि मानिस यसैमा अभ्यस्त हुँदै जानेछन् । यसले मानिसको दैनिक जीवनको प्रक्रियालाई नै असर पार्न सक्छ । 

यसबाहेक कोरोनाको महामारीपछि विश्व–व्यवस्था तथा विश्व–राजनीतिमै केही परिवर्तन हुने सम्भावना छ । सेम्टेम्बर ९ र ११ को घटनापछि संसारैभरि अल्टा नेस्नालिस्ट (अति राष्ट्रवादी) भाष्य फैलिए । त्यसपछि देशका सिमानामा पर्खाल ठड्याउने बहस अगाडि आए । यो महामारीपछि राष्ट्रका सिमाना झनै कडा बन्न सक्छन् । अन्य देश प्रवेशका निम्ति भिसा आवेदनको प्रक्रिया झन् जटिल हुन सक्छ । ठाउँठाउँमा अझै धेरै ‘-याडिकल नेसनालिज्म’ मौलाउन सक्छ । संसार एउटै बन्ने दिशातिर होइन, झन्–झन् ‘आइसोलेटेड’ बन्दै गएर मानिसहरू आआफ्नै राष्ट्रिय तथा सामुदायिक सीमाभित्र संकुचित हुँदै जान पनि सक्छन् । 

अहिलेको समय राष्ट्रवादको प्याराडाइमबाट माथि उठेर सबै देशले एकअर्कासित सहकार्य गर्नुपर्ने समय होे । भाइरससँग लड्न आवश्यक विज्ञान प्रविधि र तथ्यांक साटासाट गर्ने वेला हो र ‘चाइना भर्सेज अमेरिका’को बहसबाट बाहिर निस्केर सोच्ने समय हो । यो दोषारोपण गर्ने वेला होइन । किनकि महामारी कुनै देशभित्र मात्रै आउँदैन । 

कोरोना भाइरसले संसारमा ‘आर्थिक मन्दी’ ल्याउने निश्चित छ । तर, यसलाई कसरी डिल गर्ने ? यसबारे विश्वले एकजुट भएर सोच्नुपर्छ । पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ–आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ । किनभने कुनै देशले एक्लै महामारीविरुद्ध लड्न सक्दैन । 

सन् १९१८ को स्पेनिस फ्लुले औपनिवेशिक शक्तिहरूलाई कमजोर बनाएको थियो । उपनिवेश अन्त्य हुनुको धेरै कारणमध्ये एउटा स्पेनिस फ्लु पनि मानिन्छ । के कोरोनाले पनि विश्वव्यवस्थामा केही मुख्य परिवर्तन ल्याउला ? 

महामारी युरोपमा कहिलेसम्म चल्छ ? अमेरिकाले महामारीलाई कसरी व्यवस्थापन गर्छ ? भारतमा महामारीको प्रभाव के हुन्छ ? कोरोनाको भ्याक्सिन कहिलेसम्म आउँछ ? कत्तिको प्रभावकारी हुन्छ ? यो सबैको प्रभाव नेपालमा के–कस्तो हुन्छ ? यी सबै प्रश्नका उत्तरले मात्र वैश्विक भविष्यको मानचित्रलाई अलि प्रस्ट पार्ला । 

चीन र भारतको तुलनामा अमेरिका तथा युरोपका अर्थतन्त्रलाई महामारीको दुष्प्रभावले लामो समयसम्म असर पारे अमेरिकीकेन्द्रित भएको वल्र्ड अर्डर एसियातिर सिफ्ट नहोला भन्न सकिन्न । तर, जसरी इतिहासमा रोमन तथा ग्रिक साम्राज्यहरूको समाप्तिे प्रक्रिया कहिलेदेखि सुरु भयो भन्दा हामी कुनै ऐतिहासिक समय बिन्दुलाई मान्छौँ, त्यस्तै अमेरिकाकेन्द्रित विश्व व्यवस्था एसियाकेन्द्रित वल्र्ड अर्डरमा कहिलेदेखि रुपान्तरित हुन थाल्यो भनेर ५० वर्षपछि हेर्दा अहिलेको महामारी त्यो सुरुवात बिन्दु हुन सक्छ । 

जसरी मानिसको शरीरलाई भिडियो एक्सरे गरेर हेर्दा विभिन्न नसा देखिन्छन्, त्यसरी नै बिम्बात्मक रूपमा भन्दा विश्वव्यापी पुँजीवादका पनि नसा छन् । भूमण्डलीय पुँजीवादका आर्थिक तथा प्राविधिक प्रवाह संसारका आर्थिक ‘कोर’ ‘सेमिपेरिफेरी’ र ‘पेरिफेरी’ क्षेत्र हुँदै दौडिरहेका छन् । कोरोना भाइरस कहाँबाट कहाँ पुग्यो भनेर हेर्दा के देखिन्छ भने जुन राजमार्ग हुँदै ग्लोबलाइजेसन दौडिन्छ, त्यही बाटैबाटो कोरोना दौडिरहेको छ । पुँजीवाद जुन–जुन सहर हुँदै संसारभरि फैलिएको छ, कोरोना पनि त्यहीँ–त्यहीँ पुगिरहेको छ । क्यापिटलिज्मले कोरेको नक्सामा कोरोना पनि दौडिरहेको छ । 

नागरिकको व्यक्तिगत तथ्यांक बहुराष्ट्रिय कम्पनीसँग हुनु जति खतरनाक हो, राज्यसँग सबै तथ्यांक हुनु पनि उत्तिकै खतरनाक होे । किनकि त्यही तथ्यांकको आधारमा राज्य अधिनायकवादी बन्ने खतरा हुन्छ । 

यतिवेला कोरोनासँग जुध्न संसारभरिका धेरै राज्यले विशेष अधिकार लिएका छन् । प्रविधिको माध्यमबाट नागरिकलाई थप नियन्त्रण गरिएको छ । महामारी नियन्त्रण भइसकेपछि राज्यले लिइसकेको अधिकार फेरि नागरिकमा फिर्ता गर्छ त ? सेप्टेम्बर ९ र ११ पछि आतंकवादको हवाला दिँदै अमेरिकाले होम सेक्युरिटी विधेयक पास ग-यो । 

मानवकृत आतंकवादले आक्रमण गर्दा त यसरी नागरिकमाथि निगरानी बढाउने राज्यले अब भाइरसले आक्रमण गर्दा अझ कति निगरानी बढाउला ? युवल नोआ हरारीका भनाइअनुसार भविष्यमा राज्यहरूले सार्वजनिक जनस्वास्थ्य हितका लागि नागरिकसित तिनको बायोमेट्रिक डाटा माग्न सक्छ । नागरिकको सबै बायोमेट्रिक तथ्यांक राज्यको नियन्त्रणमा गएमा लोकतन्त्र धरापमा पर्न सक्छ । नागरिक स्वतन्त्रता खुम्चिनेछ । अर्को कुरा नागरिकको स्वास्थ्यबारेको तथा अन्य संवेदनशील तथ्यांक भविष्यमा बहुराष्ट्रिय कम्पनीसँग हुन्छ कि राज्यसँग हुन्छ ? यो प्रश्न पनि उत्तिकै गम्भीर छ । नागरिकको व्यक्तिगत तथ्यांक बहुराष्ट्रिय कम्पनीसँग हुनु जति खतरनाक हो, राज्यसँग सबै तथ्यांक हुनु पनि उत्तिकै खतरनाक होे । किनकि त्यही तथ्यांकको आधारमा राज्य अधिनायकवादी बन्ने खतरा हुन्छ । 

जहाँसम्म नेपालको प्रश्न छ, सबैभन्दा पहिले त हालकै महामारीबाट जोगिनुप-यो । विदेशबाट ठूलो संख्यामा कामदार फर्केमा तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रस्ट नीति हुनुप¥यो । अहिले केही प्राइभेट अस्पतालहरूले कोरोना सर्ला भनेर बिरामीलाई गेटबाटै फर्काएका घटना सार्वजनिक भएका छन् । महामारीसित लड्न ल्याइएका टेस्ट किट, पिपिई र अन्य स्वास्थ्य उपचार सामग्रीमा समेत भ्रष्टाचार भएको खबर सार्वजनिक भएको छ । सरकारले यस कुरालाई तुरुन्तै सम्बोधन गर्नुपर्छ । महामारीलाई मुनाफा र घाटाको अंकगणित परिवर्तित गर्न दिनुहुन्न । नत्र भने कोरोनाको त्रास तथा आर्थिक तहसनहसको सम्भावनाले आत्तिएका सर्वसाधारण जनताको मनोबल झन् तल गिर्नेछ । 

श्रमिक वर्ग 

संसारका अन्य महामारीमा सबैभन्दा पहिला प्रायः गरिब प्रभावित हुन्थे । धनाढ्य र राजामहाराजाहरू पछि मात्रै मर्थे । अहिले कोरोनो ठुल्ठूला राजामहाराजा र मन्त्री, प्रधानमन्त्रीदेखि प्रख्यात व्यक्तिलाई समेत सँगसँगै लागिरहेको छ । पहिलेका महामारीको तुलनामा यो रोग गरिबबाट धनीतिर नभएर धनीबाट गरिबतिर सर्दै झन् बिकराल रूप लिने हो कि भन्ने आशंका उब्जिएको छ । निम्नवर्गीय समुदायमा यो रोग सल्कियो भने झनै बिकराल अवस्था आउन सक्छ । भारतको धारावीजस्ता स्लम एरियामा यो रोग फैलियो भने के होला ?

सामाजिक दूरी कायम राख्ने भनिएको छ । यो दूरी कायम राख्न मध्यम वर्गकालाई मात्रै सजिलो हुन्छ । सयौँ मानिसका लागि एउटा शौचालय भएको भारतका धारावीजस्ता सहरी झुपडपट्टीमा बस्ने नागरिकबीच सामाजिक दूरी कसरी कायम गर्नेे ? नेपालमै पनि सुकुमवासी बस्तीमा कोरोना फैलिए रोकथाम गर्न असाध्यै गाह्रो हुनेछ ।
 
यदि कोरोनाको भ्याक्सिन आएन, वा त्यस्तो भ्याक्सिन आउन वर्षौं लागे यो रोग संसारमा कुनै न कुनै रूपमा निकै समयसम्म रहन सक्छ । यस्तो भएको खण्डमा कोरोनाले वर्गविभेदलाई पनि बढावा दिनेछ । सामाजिक दूरी कायम राख्ने किसिमका ‘सेटिङ एरेन्जमेन्ट’ भएका रेस्टुरेन्ट खुल्न सक्छ । कारमा चढेर हिँड्दा सामाजिक दूरी राख्न सजिलो होला । तर, सार्वजनिक यातायातमा हिँड्नेहरूले त्यो दूरी कसरी कायम गर्ने ? यसरी सोसल डिस्ट्यान्स राख्दै जाँदा त्यो प्रणाली धान्न सक्ने र नसक्ने मान्छेहरूको छुट्टाछुट्टै वर्ग जन्मिनेछ । दूरी राख्न सक्ने र नसक्नेका बीचमा फरक देखिनेछ । त्यो फरकले अहिले चलिरहेको आर्थिक र सामाजिक संरचनालाई नै प्रतिबिम्बित गर्नेछ । 

श्रमिकको जीवनमा यो महामारीले धेरै ठूलो प्रभाव पार्नेछ । नेपालमा समुदायको तहमा महामारी फैलिसकेको छैन । यदि महामारी समुदाय तहमा पुग्यो भने सबैभन्दा गाह्रो श्रमिक वर्गलाई हुनेछ । किनकि युद्ध महामारीजस्ता विपत्हरूमा सबैभन्दा पीडित तल्लो वर्ग नै हुने गर्छ । हुनेखानेहरूले त कुनै न कुनै ढंगले जीविका चलाउलान् नै । श्रमिक वर्गका बारेमा चाहिँ राज्यले नै सोच्नुपर्छ । भारतको ९० प्रतिशत वर्कफोर्स दिनभरि काम गर्ने, त्यसैले जीविका चलाउने भोलिपल्ट फेरि कामको खोजीमा हिँड्ने ज्यालादारी श्रमिकले बनेको छ । त्यही वर्गकाहरू सयौँ किलोमिटर हिँडेर गाउँ फर्किरहेका, कोही बाटैमा मरेका दर्दनाक दृश्य हामीले हरेक दिन टिभी र सामाजिक सञ्जालमार्फत देखिरहेकै छौँ । 

भारत र अमेरिकाले श्रमिक वर्गमा राहत पु-याउने प्याकेजहरू घोषणा गरेका छन् । नेपाल सरकारले पनि यसबारेमा अहिले देखिनै गृहकार्य गरेर ‘सर्ट टर्म र लङ टर्म प्लान’ बनाउनुपर्छ । राज्यले श्रमिकका लागि घोषणा गरेका राहतका प्याकेजहरू प्रस्ट हुनुपर्छ । श्रमिक वर्गसम्म सहजताका साथ सहयोग पुग्ने वातावरण राज्यले बनाउनुपर्छ । दैनिक ज्यालादारी गरेर खाने श्रमिकहरूको दैनिकी सहज बनाउन राज्यले गम्भीर भएर सोच्नैपर्छ । राज्यका तीनवटै तह यसमा गम्भीर हुनुपर्छ । आर्थिक विपन्नताको कारणले गर्दा श्रमिक वर्गमा यस किसिमको महामारीको समयमा मनोवैज्ञानिक त्रास पनि बढी हुन्छ । राज्यले उक्त त्रासलाई हटाउन जति सकिन्छ, कोसिस गर्नुपर्छ । 

अन्त्यमा 
कोरोना महामारीको विश्वव्यापी संकटले केही नयाँ बाटा खोल्न सक्छन् । खासगरी नेपालजस्तो देशमा धेरै विदेशी कामदार स्वदेश फर्कनेछन् । यसले गर्दा रेमिट्यान्स घट्ने र बेरोजगारी बढ्ने खतरा त छँदै छ । तर, फर्किएका कामदारलाई यही वेला नेपालमै गरिखाने अवसर सिर्जना गर्न सके हामी यस विपत्तिलाई अवसरमा परिवर्तन गर्न सक्छौँ । तर, यसका लागि अहिलेदेखि नै गृहकार्य हुनुपर्छ । कोरोनाको रोकथाम र देशको अर्थतन्त्र एकअर्कासित जोडिएका छन् । दुवैलाई साथसाथै सम्बोधन गरिनुपर्छ । 

अहिलेसम्म आएको तथ्यांकअनुसार नेपालमा कोरोनाको असर कम देखिए पनि महामारी फैलने खतरा पनि उत्तिकै छ । त्यसैले सामाजिक दूरीको अभ्यास गरौँ । धनी, गरिब, नारी, पुरुष, तेस्रोलिंगीलगायतका कसैलाई पनि भाइरसले छाड्दैन । त्यसैले सबैले सामाजिक दूरीको अभ्यास गरौँ । 

कालान्तरमा यस महामारीले विश्वका लागि समेत नयाँ अवसर तथा बाटाहरू खोल्न सक्छ । यो समय राष्ट्रको सीमाभन्दा माथि उठेर सिंगो मानवताको पक्षको काम गर्ने, संसारभरिका अनुसन्धाताले सहकार्य गरेर रोगविरुद्ध नयाँ भ्याक्सिन बनाउने, प्रकृति तथा मानव समाजका इकोसिस्टमबीचको अन्तरसम्बन्धलाई बुझ्दै भविष्यमा आउन सक्ने नयाँ महामारी र अन्य प्राकृतिक प्रकोपविरुद्ध तयार हुँदै जाने समय हो । तर के राष्ट्र, वर्ग, धर्म र जातमा विभाजित समसामयिक संसारका मानवले समग्र मानवता र प्रकृतिको पक्षमा काम गर्न सक्लान् त ? कि यस विश्वको भविष्य देशदेशबीचकोे अस्वस्थ प्रतिस्पर्धा, एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति, हतियारबाजीको होड तथा ट्रेड वारको राजनीति हुँदै नै अगाडि बढिरहनेछ ? आउने दिनका उत्तरले नै वैश्विक भविष्यको मानचित्र निर्धारित गर्दै लानेछन् ।

[email protected]