• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गौरब केसी प्रणब खरेल
२०७६ चैत २२ शनिबार ०९:०२:००
रिपाेर्ट

आर्कषण र विकर्षणमा अंकल स्याम

२०७६ चैत २२ शनिबार ०९:०२:००
गौरब केसी प्रणब खरेल

काेरोना नामक माहामारी जीवाणुबाट संसार अहिले अत्यन्त त्रसित र ग्रसित छ । चीनमा देखा परेको यो जीवाणुको फैलावट विश्वव्यापी भइसकेको छ । हालसम्म यसले ३७ हजार ८८३ (यो लेख लेखिरहँदा) जनाको ज्यान लिइसकेको छ भने हजारौँ संक्रमित मानिस दिनहुँ मृत्युसँग जुधिरहेका छन् । 

यस जीवाणुको न कारण बुझ्न सकिएको छ, न निदान नै । एकाएक चीनले महामारी अनपेक्षित नियन्त्रण गरेर आफ्नो देशको अर्थतन्त्रलाई यथास्थितिमा ल्याइदियो, तर उता शक्तिशाली युरोप र अंकल श्याम (संयुक्त राज्य अमेरिकाको अर्को उपनाम, जसलाई तल विस्तृतमा चर्चा गरिनेछ ।) महामारीबाट अझै आक्रान्त भइरहेको अवस्थामा कतै यो अदृश्य रूपमा गरिएको जैविक युद्ध त होइन भन्ने कन्स्पिरेसी थेउरी (षड्यन्त्र सिद्धान्त) पनि बढ्दै छ । 

जैविक हतियार अर्थात् ‘बायोलोजिकल वेपन’ बनाउन नसकिने चाहिँ होइन । यो त बरु अन्य हतियारको तुलनामा किफायती छ । छुस्स मानव निर्मित एउटा जीवाणु कहीँ कतै फालिदियोे र केही समयपछि त्यसको एन्टी डोट (विषनाशक) निर्माण गरी त्यसको निराकरण ग¥यो । यही सन्देह लिएर पूर्वअमेरिकी रास्ट्रपति जर्ज डब्लु बुसको कार्यकालमा अंकल श्यामले इराकमाथि आक्रमण गरेको थियो । हाल डोनाल्ड ट्रम्पले यो कोरोना नभएर ‘चिनियाँ भाइरस’ हो भनी आक्रामक शैलीमा चीनलाई अभियोग लगाइरहँदा यी दुई देशबीच वाक्युद्ध छेडिसकिएको छ । 

यसै पृष्ठभूमिमा संसार जीवाणुसँग लडिरहँदा महाशक्ति अंकल श्यामको साम्राज्य भने अब लडखडाउने हो कि भन्ने बहस हुन थालिसकेको छ । यसै सन्दर्भमा धेरैले बुझ्ने गरेको विश्व शक्ति–सन्तुलनलाई कतै यस माहामारीले असुन्तलित वा परिवर्तित गर्ने त होइन ? यिनै बहस समेटिएको एउटा अतिरिक्त चिन्तन हो, यो आलेख । 

नामकरण
अमेरिकालाई राष्ट्रिय प्रतीकका रूपमा परिचित गराउने अर्को नाम हो– अंकल श्याम, जसको नामकरण एकजना मासु व्यापारीसँग जोडिन्छ । समुएल विल्सन न्युयोर्कका एक स्थापित मासु व्यवसायी थिए । सन् १८१२ ताकाको कुरा हो, बेलायत र अमेरिकाको युद्ध भइरहँदा विल्सनले अमेरिकी फौजलाई गाई र सुंगुरको मासु आपूर्ति गर्थे । डिब्बाबन्दी ती मासुबाहिर ‘युएस’ लेखिएको छाप हुन्थ्यो । अमेरिकी फौजका लागि मासु प्रिय थियो, जसलाई पछि गएर राष्ट्रिय गौरव र ठट्टा मिश्रित ‘अंकल श्याम’को मासु भन्ने बिम्ब दिइयो ।

के अहिले महाशक्ति अंकल श्याममाथि संकट आइपरेको हो त ? के शक्तिको प्रतीक अंकल श्याम पतनतर्फ उन्मुख हुँदै छ ? के अंकल श्यामको साम्राज्य अब ढल्दै छ वा चीनले यसलाई प्रतिस्थापित गर्दै छ ? उत्तर मिश्रित छ । पूर्ण छैन । 

सर्थ, शक्ति र एक मात्र साम्राज्यलाई प्रतिनिधित्व गर्ने राष्ट्र अमेरिका अंकल श्यामबाट पनि सुपरिचित भयो । ‘अंकल श्याम’ अमेरिकी राजनीतिक पात्रहरूलाई हास्यचित्र र व्यंग्यचित्रमा प्रस्तुत गर्ने विषयसमेत बन्यो । कुनै एउटा आकृति छ, जसमा सेताम्मे बोकेदारी भएको रिसाहा आकृतिको कुनै एउटा गोरो बूढो पात्र, जसले लाम्चो आकृतिको सेतो टोपी लगाएको छ र टोपीको मध्यभागमा रहेको निलो पट्टीमा क्रमशः पूर्ण सेता रंगका ताराजडित भएको छवि कहीँकतै देख्नुभएको छ ? छ भने बुझ्नुहोला सोही अवतारी पात्र हो, अंकल श्याम, जसले शक्तिको प्रतीक अमेरिका र अमेरिकी राष्ट्रपतिलाई प्रतिबिम्बित गर्दछ । 

वर्चस्व 

अब, अहिलेको परिस्थितिमा अंकल श्यामलाई बुझ्ने प्रयत्न गरौँ । विगतका विश्वसंकटमा अंकल श्यामले आफूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्रिय बनाउँथ्यो भने अहिले ‘अमेरिका फस्ट’ भन्दै आफ्नो भूमिका संकुचित गरिरहेको छ । यसबाट पनि मानिसले विभिन्न अड्कलबाजी लगाइरहेका छन् । अंकल श्यामले लामो समयदेखि स्थापित गरेको आफ्नो प्रभुत्वले आउँदा दिनमा निरन्तरता पाउला त ? यही प्रश्न अहिले मै हुँ भन्ने विज्ञदेखि सर्वसाधारणको पनि चासोको विषय बनिरहेको छ । लाग्छ, अंकल श्याम अहिले भयभीत अवस्थामा छ । किनकि, अंकल श्यामले प्रस्टसँग मानव इतिहास बुझेको छ । 

उसलाई थाहा छ, इतिहासको एउटा बिन्दुमा प्रत्येक साम्राज्य ढलेको छ र ढल्छ । ढिलो–चाँडो आफ्नो पनि सोही हबिगत बन्ने हो कि भन्ने भय अंकल श्याममा छ । यसो हुन नदिन अनेकखाले रणनीति र तिकडम अपनाउन ऊ पछि पर्दैन । आफूले सन्देह गर्ने शत्रु वा चरम विरोधीलाई तह लगाउन पहिले उसले कानुनी तर्क अघि सार्छ, आदर्श छाँट्छ, त्यसपछि लोभ्याउँछ, धम्क्याउँछ, तर्साउँछ, रवाफ देखाउँछ । अन्तमा केही सिप नलागे छिन्नभिन्न हुने गरी सिध्याइदिन्छ । उसको ताकतलाई आत्मबल दिने एउटै कुरो हो, उसको सैन्यशक्ति र विनाशकारी सांघातिक हतियार । यसबाहेक, अंकल श्यामले विभिन्न देशमा आफ्नो सैनिक अखडा दरोसँग खडा गरेको छ । 

अर्कोतर्फ कुनै पनि वेला कार्यान्वयनमा उतार्न सक्ने छद्म युद्धको रणनीति पनि ऊसँग छ । लामो समयदेखि उसको जासुसी सञ्जाल सर्वत्र सक्रिय र प्रभावकारी छ । त्यसैगरी, वर्तमान समयमा उसले धेरै युद्ध लडेको छ । ऊ प्रत्यक्ष र परोक्ष रूपमा संलग्न भएको लडाइँले विश्व परिदृश्यलाई परिवर्तन गरेको छ । तर, यसको अर्थ अंकल श्याम सधैँ विजित भयो भन्नेचाहिँ होइन । धेरैले अंकल श्यामले विजय हासिल गरेको छ भन्छन् तर गएको ७० वर्षयता एसियामा उसले गरेका प्रत्यक्ष सैनिक कारबाही उपरान्त ऊ पछि फर्कन बाध्य भएको छ । 

प्रतिस्पर्धी प्रतिद्वन्द्वी 

विश्वले हेरिरहेको छ, चीन बिस्तारै र अप्रत्याशित रूपमा अंकल श्यामलाई उछिन्न हतारिरहेको छ र यसका लागि उसले अनेक खाले कसरत गरिरहेको छ । अर्कोतपÞर्m तुलनात्मक हिसाबले संसारभरि रहेका बहुसंख्यक देशहरूको आकर्षण चीनतर्फ ढल्किँदै छ । यो स्वाभाविक हो । संसारका अधिकांश देशका (जसभित्र अमेरिका आफैँ पनि पर्दछ) दिनानुदिनको उपभोग्य वस्तु चीनले निर्यात गर्छ । जसरी कुनै वेला इतिहासको एउटा कालखण्डमा अमेरिकी फौजका लागि समुएल विल्सनले मासु आपूर्ति गर्ने गर्दथे । तेस्ता धेरै विल्सनहरू चीनले पैदा गरिसकेको छ । 

त्यसैगरी, समाजमा प्रभाव पार्ने धनाढ्य वर्ग, कुलीन, बौद्धिक समूह, मिडिया, सपनामा डुबेका मध्यमवर्गीय व्यावसायिक आकांक्षीहरू र दलीय बेवास्ताका राजनीतिक दलहरूमाथिको दबदबा चीनले बिस्तारै लिँदै छ । कुनै वेला यी समूहमाथि अंकल श्यामको दरिलो प्रभाव र प्रभुत्व थियो । आश्चर्यचकित पार्ने गरी ठूला परियोजना, आवश्यक विकास निर्माण, महंगा संरचना र योजनामा चीनले अनपेक्षित रूपमा आफ्ना छिमेकी र आर्थिक रूपमा विपन्न मुलुकलाई गर्ने सहायता, द्रुत गतिमा बढाइरहेको छ ।

व्यापार र सहयोगको नाममा चीनले अन्य राज्यभित्र सफलतापूर्वक नजानिँदो ढंगमा घुस्दै आफ्नो पकड बनाइसकेको छ । अन्य मुलुकसँग आफ्नो मित्रता र विश्वास चीनले मजबुत बनाइरहँदा अर्कोतर्फ अंकल श्यामको सम्बन्ध भने अन्य देशसँग झन्–झन् चिसिँदै, साँघुरिँदै र टाढिँदै गइरहेको छ । कुनै समय थियो, विभिन्न राष्ट्रका बामपन्थी विचारधारा बोक्ने समुदायले अंकल श्यामलाई घृणा गर्थे । तर, अब तीइतरका समुदायमा पनि यो लहर बढ्दै छ ।

हुन त उल्लिखित प्रभावशाली सामुदायिक तप्कालाई आफ्नो पकडमा ल्याउन यी दुवै शक्तिकेन्द्र लागिपरिरहेका छन् । यद्यपि, शक्ति सन्तुलनको दृष्टिकोणले केही उतारचढाव भइरहनेचाहिँ देखिन्छ । विश्व अर्थतन्त्रको मूल मापक डलर र सैन्यशक्तिको अवधारणा हेर्दा अमेरिका अघि देखिन्छ । साथै यससँगै ज्ञान उत्पादनको अर्थराजनीतिमाथिको एकपक्षीय पकड पनि अर्को प्रमुख र महत्वपूर्ण पक्ष हो ।

तर, यसो भन्दैमा विश्व परिदृश्य एक ध्रुव वा दुई ध्रुव नभई बहुध्रुवमा बाँडिने सम्भावना प्रबल छ । यसको कारण तुरुन्तै भूमण्डलीकरणबाट राष्ट्रिय परिधिभित्र मात्रै संकुचित गर्न तत्–तत् राजनीतिक नेतृत्वले राख्ने चाहना व्यक्त गरे पनि त्यसो हुने देखिँदैन । यसको एउटा प्रमुख कारण गएको ३० वर्षमा निर्मित भएको राज्य र राष्ट्रहरूबीचको आत्मनिर्भरता हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फस्ट भनेर आफ्ना समर्थकको चित्त बुझाएयता पनि वास्तविकतामा चाहिँ संसार बहुध्रुवीकृत भइसकेको छ । 

भय कि व्याकुलता ?

के अहिले महाशक्ति अंकल श्याममाथि संकट आइपरेको हो त ? के शक्तिको प्रतीक अंकल श्याम पतनतर्फ उन्मुख हुँदै छ ? के अंकल श्यामको साम्राज्य अब ढल्दै छ वा चीनले यसलाई प्रतिस्थापित गर्दै छ ? उत्तर मिश्रित छ । पूर्ण छैन । अर्कोतर्फ, कुन व्यक्तिको झुकाब कतातिर हो, त्यसले पनि यी परिकल्पना स्थापित गर्न प्रभाव पार्छ । 

व्यावसायिक सामग्री, व्यापार र अर्थतन्त्रमा चीनले अंकल श्यामलाई उछिन्यो होला । शक्ति सन्तुलनको व्यवस्था गर्ने अंकल श्याम केही समयदेखि आफ्नै आन्तरिक राजनीतिक अस्थिरतासँग जुध्दै गर्दा उसले लिएको विश्व उत्तरदायित्वबाट पछि हटेको भान वा भ्रम विश्वलाई हुन सक्छ । तर, यी परिस्थितिजन्य संकटलाई आधार मान्दै चीन सुपरपावर अर्थात् महाशक्ति हुन्छ भनी हडबडीमा अवधारणा स्थापित गर्नु वा निर्णयमा पुगिहाल्नु त्यति युक्तिसंगत नहोला ।

ती आफैँमा अति सरलीकृत र काल्पनिक तर्क हुन जान्छन् । शैक्षिक उद्योग र ज्ञान उत्पादनमा चीन अंकल श्यामभन्दा निकै पछि छ । संसारभरका व्यक्तिका उच्च शिक्षाको रोजाइभित्र अहिले पनि चीन पर्दैन । प्रत्यक्ष सैन्य शक्तिभन्दा पनि यिनै शैक्षिक उद्योगलाई अघि सार्दै र वकालत गर्दै अझै लामो समय अंकल श्यामले यस पृथ्वीमा आफ्नो साम्राज्य कायम नै राख्नेछ । अन्य देशलाई यसले सीधै उपनिवेश गरिराख्न आवश्यक छैन ।

किनकि, यिनकै शैक्षिक उद्योगबाट उच्च शिक्षा हासिल गरेका जनशक्तिपछि आफ्ना मुलुक फर्की अंकल श्यामको मूल्य–मान्यतालाई संस्थागत गर्दै त्यसको प्रवर्धन र व्यापक फैलावट गर्न सक्रिय र प्रभावकारी भूमिका खेल्दै आइरहेका छन् । अर्कोतर्फ चिनियाँ मुद्राले डलरलाई प्रतिस्थापन गरिहाल्ने स्थिति देखिँदैन । तसर्थ डलरकै लागि भए पनि उच्च शिक्षाको नाममा संसारभरका मानिसलाई अंकल श्यामले चुम्बकसरह तानिनै रहेको छ । एकचोटि पाइला टेकिसकेपछि अधिकांश आप्रवासी आफ्ना मूल देश फर्कन चाहँदैनन् । ती कुनै न कुनै बहानामा आफ्ना बसाइ त्यही नै स्थायी बनाउन चाहन्छन्, चाहे दोस्रो नागरिक भएर बस्न नै किन नपरोस् । यसले पनि अंकल स्यामप्रतिको आर्कषणलाई प्रष्ट पार्दछ । 

तर, अंकल श्यामले बुझ्नुपर्ने एउटा कुरा के हो भने आफ्नो शक्तिको मापकको रूपमा रहेको डलर विश्वस्तरमा परिचालित भइरहनका लागि पनि विभिन्न अन्य देशमा खर्च, उपभोग र उत्पादनको प्रक्रिया नियमित चल्न आवश्यक रहन्छ । यसकारणले गर्दा पनि व्यापारिक हिसाबबाट मात्रै हेर्ने हो भने न चीनले, न अंकल श्यामले एकअर्कासँग दुस्मनी मोल्न सक्छ । विगत लामो समयदेखि यी दुईलाई हेर्दा यिनको एकअर्काबीच वाक्युद्ध त होला, तर एकअर्कालाई विस्थापित गर्नेभन्दा पनि यिनले एकअर्कासँग आत्मनिर्भरता बढाएको देखिन्छ, जसले आउँदा दिनहरूमा पनि निरन्तरता पाइनै रहनेछ । 

अन्तमा
यस आलेख लेखिरहँदा पनि लेखकद्वयले हतारोमा माथिको हरफमा अंकल श्याम भयभीत छ भनी लेखिहाल्यो, जसलाई अन्तमा आएर सच्याउन चाहन्छ । लामो बहस उपरान्त हामी निक्र्योलमा पुग्यौँ, अंकल श्याम केबल व्याकुल छ । भयभीत होइन । भय र व्याकुलता दुई अलग अर्थ बोक्ने शब्द हुन् । भय वर्तमानसँग जोडिएको निकटस्थ त्रास हो, तर व्याकुलता भवितव्यमा आइपर्ने सम्भावित संकटको पूर्वानुमानित छटपटाहट हो । हुन त मनोवैज्ञानिकहरूका लागि व्याकुलता भयकै परिणाम हो । तर, यो अवधारणा सधैँ लागू नहुन सक्छ । यदि भयभीत छ भने अंकल श्याम मात्र होइन, चीन पनि त्यत्तिकै भयभीत छ । व्यक्तिपरकता र वर्तमानमा रमाउने संस्कृतिले अंकल श्यामको लामो समयदेखिको तिव्र ब्याकुलता वर्तमान नभइ आउँदा दिनहरूप्रति लक्षित हो । 

संसारका अन्य देशका नागरिकलाई चीनले आफ्नो देशमा खुला रूपमा आकर्षित गर्न अझै सकेको छैन । अंकल श्यामसरह व्यावसायिक अवसर दिएको छैन । मौका मिले संसारभरका मानिस अंकल श्याम कहाँ पस्न चाहन्छन्, बस्न चाहन्छन्, भाग्य अजमाउन चाहन्छन् । तसर्थ अंकल श्यामको उन्माद र मोह अझै जीवितै छ । चर्चित अमेरिकी सांगीतिक जोडी पल साइमन र आर्ट गार्फुन्कलको गीत जस्तै, ‘अल कम टु लुक फर अमेरिका ।’