• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विकास विक
२०७६ चैत २९ शनिबार ११:१३:००
सम्झना

विपतमा परिवार सम्झिरहेछु

२०७६ चैत २९ शनिबार ११:१३:००
विकास विक

म विगत १३ वर्षदेखि साउदीको रियादमा एउटा फर्निचर कम्पनीमा काम गर्छु । कोरोना भाइरसका कारण साउदीमा राति कफ्र्यु लगाइएको छ । दिउँसो लकडाउन गरिएको छ । लकडाउनको अवधिमा अत्यावश्यक काम परेमा सुरक्षा विधि अपनाएर बाहिर निस्कन सकिन्छ । तर, मल, रेष्टुराँ र मनोरञ्जनका सबै क्षेत्र बन्द छन् । खाद्यान्न, तरकारी र मेडिकल मात्रै खुला छन् । पसल जाँदा पनि निश्चित समयमा सीमित व्यक्ति मात्रै प्रवेश गर्न पाउँछन् ।  

कफ्र्यु अवधि अगाडि हामी बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म कम्पनीमा काम गथ्र्यौँ । त्यसपछि कोठामा गएर बस्थ्यौँ । कफ्र्युको अवधि बढ्दै गएपछि हामीलाई कम्पनीभित्रै बस्ने व्यवस्था मिलाइएको छ । खाने सामान लिन मात्रै हामी बाहिर निस्कन अनुमति छ । त्यो पनि मानिसहरूसँग दूरी राख्दै पसल पुग्नुपर्छ । बाँकी समय हामी कम्पनीभित्रै बन्द हुन्छौँ । 

विश्वभर नै आतंक फैलिँदा मलाई पनि सर्छ कि भन्ने डर लागिरहन्छ । तर, म कम्पनीभित्र सुरक्षित छु । यस्तो अवस्थामा आफ्नै परिवारसँग हुन पाए डर कम हुन्थ्यो ।

हुन त हामी कामदारलाई विदेशी भूमिमा लकडाउनको कुनै अर्थ छैन । किनभने हामी दिनभरि नै कम्पनीभित्र काममा व्यस्त हुन्छौँ । बाहिर घुम्ने, डुल्ने समय हुँदैन । तर, कफ्र्युका कारण खाद्यान्नको सामान लिन जानसमेत मुस्किल परेको छ । सरकारको आदेशअनुसार केही खाद्यान्न र तरकारी पसल खुलेका छन् । बेलुका ७ बजे अगाडि हामी खरिद गर्न जान्थ्यौँ । कफ्र्यु र लकडाउनका कारण अहिले बजार जाँदा पनि डराई–डराई जानुपर्छ । 

त्योभन्दा पनि अहिलेको हाम्रो समस्या भनेको घरमा पैसा पठाउन पाएका छैनाैँ। सबै बैंक खुलेका छैनन् । टाढा हुँदा जान सकिँदैन । यो महिनाको तलब पनि पठाउन सकिएको छैन । साउदीमा नेपालको भन्दा कडा कानुन छ । नेपालमा जस्तो नियम उल्लंघन गरे उठबस गराएर छोडिँदैन । यहाँ पहिला नै सूचना गरिन्छ, कुन समयमा के गर्ने भनेर । त्यो सूचना पालना नभएमा सजाय दिइन्छ । भनसुन चल्दैन । विदेशी कामदारको हकमा सीधै स्वदेश फर्काउन सक्ने व्यवस्था छ । साउदीकै नागरिक भएमा पहिलोपटक १० हजार रियालसम्म जरिवाना गराउँछ । दोस्रोपटक २० हजार जरिवाना गराउँछ । यहाँ जुनसुकै वेला प्रहरी राउन्ड लगाइरहेका छन् । एउटा गाडीमा एकजना प्रहरी बसेर सहरको राउन्ड लगाइरहन्छ ।
 
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाका लागि भन्दै साउदी सरकारले चैत २४ गतेदेखि २४ घन्टा कफ्र्युको घोषणा गरेको छ । त्यसैले अब कम्पनीभित्रको काम पनि बन्द हुन्छ होला । पहिला त हामीले बिहान ७ देखि बेलुका ५ बजेसम्म काम गर्नुपथ्र्यो । पछि साउदी सरकारले दिउँसो ३ बजेदेखि नै कफ्र्युको घोषणा गरेपछि हाम्रो ड्युटी दिउँसो १ बजेसम्म मात्रै हुन थाल्यो । हामी मास्क, पन्जा, स्यानिटाइजर लगाएर काम गर्छौँ । तर, कफ्र्यु बढाएपछि साउदीका सबै कम्पनीले ड्युटी समय घटाए । हामी त कम्पनीभित्रै बस्ने भएकाले समस्या थिएन । अन्य कम्पनीले भने कम्पनीकै गाडीमा कामदारलाई कम्पनी र कोठासम्म पु-याउँथे । अब २४ घन्टा कफ्र्यु हुने भएपछि कम्पनीभित्र पनि सामान हुँदैन । सायद कोठाभित्रै बस्नुपर्छ होला । 

अबदेखि खाद्यान्न लिन जान पनि समस्या भएको छ । बाहिर चारैतिर सुनसान छ । सबै पसल बन्द छन् । प्रहरी ठाउँ–ठाउँमा देखिन्छन् । गेटबाट निस्कन सकिने अवस्था छैन । सरकारले खाद्यान्न लिन जाने समय तोक्छ होला । त्यही समयमा मात्र बाहिर निस्कनुपर्छ । विश्वभर नै आतंक फैलिँदा मलाई पनि सर्छ कि भन्ने डर लागिरहन्छ । तर, हामी कम्पनीभित्रै छौँ, त्यसैले आत्तिनुपर्ने अवस्था छैन कि भन्ने पनि लाग्छ । यस्तो अवस्थामा आफ्नै परिवारसँग हुन पाए डर कम हुन्थ्यो होला । अहिले परिवारलाई सम्झिरहेको छु । 

साउदीमा कोरोना भाइरसका कारण मंगलबारसम्म ३८ जनाको मृत्यु भएको छ । २ हजार ७५२ मा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ५५१ जनालाई निको भइसकेको छ । त्यो संख्यामा हामी नपरौँ भन्ने कामना गर्दै यतिवेला हामी कम्पनीभित्रैको बन्द बसाइबाट कामना गरिरहेका छौँ । 

(साउदी अरबबाट)