• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कुमारी लामा
२०७७ बैशाख ६ शनिबार १०:४६:००
सम्झना

असंगत समयमा बाँच्नेहरूलाई

२०७७ बैशाख ६ शनिबार १०:४६:००
कुमारी लामा

रुमानी उडानमा वेगिने किशोरी समयदेखि निराशाले थिल्थिलो पारेको विसंगतिपूर्ण मनस्थितिको भुक्तभोगी हुन् उनी । तर, एकाएक परिवर्तन ! त्यो चमत्कार ! आफ्ना सीमित घेराबाट उम्किएर जब उनले नियाल्न थालिन्, मायाको श्रमले कुँजिएका महिलाका नियति, सम्भवतः त्यही समयबाट सुरु भएको हुनुपर्छ उनको कायाकल्पित समय । जतिखेर उनीभित्रको अन्तर्विरोध आक्रोशको मुस्लो भई निस्कियो, उनका लेखनीमा । त्यसै बखतबाट उनी भएकी हुन्– जनमनकी पारिजात । 

धेरैका लागि पारिजात मसिना औँलाहरूमा पुत्पुताइबस्ने चुरोटको धुवाँ र प्रत्येक साँझ जम्ने नशालु समयकै पर्याय छिन् । युवामन उनले बिताएको समयको सिको गर्न लागिपर्छन्, एक महान् लेखक हुने लालसा संगालेर । ती कलिला भावुकता नाजायज पक्का होइनन् । त्यस्तै युवाले न हो, पछि देशका धेरै मोर्चा सम्हाल्ने । किशोरवयमा थोरै लहड, अराजकता र रुमानीपन जरुरी छ । पारिजात नवप्रतिभाहरूको पछि नै लाग्ने रैछिन् । या भनाैँ, उनले त्यसखाले युवालाई घरको ढोका जहिल्यै खुला राखिदिने गरेकी थिइन् । त्यसैले उनी सहजै स्विकार्छिन्, प्रतिभाहरूसँग मलाई मोह हुन्छ, ईष्र्या होइन ।

पारिजातीय मिथ छ्याप्छ्याप्ती बजारमा यति छ कि आज पनि धेरै उनको शिरीषको फूलकी सकम्बरीमा अल्झिबस्छन् । दाबी गरिदिन्छन् कि सकम्बरी पारिजातकै अल्टर इगो हो । यो निश्चय नै पारिजात बुझाइको मात्र एक पाटो हो ।

पारिजातीय मिथ छ्याप्छ्याप्ती बजारमा यति छ कि आज पनि धेरै उनको शिरीषको फूलकी सकम्बरीमा अल्झिबस्छन् । दाबी गरिदिन्छन् कि सकम्बरी पारिजातकै अल्टर इगो हो । यो निश्चय नै पारिजात बुझाइको मात्र एक पाटो हो । उनी अनेक आयाम भएकी लेखक हुन् । 

तर, एक मात्र पाखो देख्न सजिलो छ । त्यसभन्दा भित्र पसेर बुझ्न खास समय, लगाव र ध्येयको खाँचो पर्छ । जो धेरैमा आजकलको टाइट समयमा अनुकूल नपर्न सक्छ, पारिजातलाई बुझ्न । पारिजातले अंगालेको प्रगतिशीलताको बाटो र जीवनको अन्तिम घडीसम्मको उनको प्रतिबद्धताको उत्खननचाहिँ आजको माग हो । सीमान्तकृतहरूको मुद्दाले निश्चित स्थान पाएको यो समय पारिजात विचार र उनका कृतिहरूको पुनः अध्ययनको खासोखास समय हो ।

भलै पारिजातले राजनीतिक, सामाजिक, विश्वपरिवेश अनेक विषयमा लेखेकी थिइन्, तर पंक्तिकारको ध्येय भने उनले महिला विषयमा उठाएका केही मुद्दातिर मात्र केन्द्रित छ । उनले उठाएका महिला सवालका केबल केही पक्ष केलाउँदा पनि उनको विचारको सघनता प्रस्टिन्छ । महिलाको आजको शोषित–पीडितको अवस्थाका विषयमा उनको प्रस्ट धारणा थियो– ‘महिला मायाको श्रम गर्छन् । यस्ता श्रमलाई कसैले गन्दै गन्दैनन् । 

मायाको श्रमलाई कसले गनोस् ।’ (मेरो भागमा परेको अस्मिता २) मायाको श्रम यानिकि घरको काम । परिवार र एकनिष्ट विवाह प्रणालीको विकाससँगै महिला घरभित्रको धन्दामा सीमित पारिए । डरलाग्दो शोषण त्यहीँबाट सुरु भयो । महिलाको श्रमको कुनै मूल्य रहेन । किनकि उनीहरू बेकारमा बसी खाने जिनिस मानिए । बच्चा जन्माउनु र घरको काम गर्नु, बस् । झिसमिसे बिहानबाट अबेर रातसम्म खटिनुपर्ने महिला घरमा खाएर बस्ने बेकार मान्न थालिएपछि न हो, महिला शोषणले उग्र गति लिएको । पारिजातले मायाको श्रम भनी यही सत्यलाई औँल्याएकी थिइन् । 

पारिजातले तीस, पंैतीस वर्षअघि नै यति महत्वका साथ उठाएको महिला शोषणका कुरा आज झन् बढी सान्दर्भिक भएका छन् । आजका शिक्षित महिलाको दैनिकी झन् बढी कष्टकर भएको छ । उनीहरू दोहोरो जिम्मेवारीको मारमा छन् । साठीदिने सुत्केरी बिदा सकेर जागिर खान जाने महिला आज पनि गानिएको छाती निचोरेर फाल्न बाध्य छन् । जागिरे टन्टाबाट घर पुग्दा च्याँच्याँ गर्ने नानी मात्र नभई घरभरिका काम पनि उनैको हो । त्यसबाहेक शिक्षित, आत्मनिर्भर महिलामाथि बढिरहेका अनेकखाले हिंसाका घटनाले दिमाग हल्लाउँछ । 

घरघेराबाट बाहिर निस्किएका महिलालाई चोक, गल्ली मात्र नभई आफ्नै अड्डाका सहकर्मीसम्मको के–कसो नजर छ, विचार गर्नु जरुरी छ । घर र कार्यालयका अनेक जिम्मेवारीबीच असुरक्षित मानसिकतामा बाँच्न विवश छन्, आजका शिक्षित र आत्मनिर्भर महिला पनि । पारिजातले महिलामाथिका हिंसा, बलात्कार र असुरक्षित अवस्थाबारे अनेकन् लेखमा लेखेकी थिइन्, जो आज झन् चोटिलो बनेको छ । 

उनले उठाएको महिला विषयक मुद्दामा पर्छ सौन्दर्य प्रतियोगिता र महिला शरीरमाथिको शोषण । उनले एक अन्तर्वातामा भनेकी थिइन्– ब्युटी कन्टेस्ट नारीहरूको शरीरमाथि ठूलो शोषण हो । महिलालाई दास समाजमा जस्तो साम्राज्यवादी मुलुकमा सामान्तवादी र पुँजीवादी समाजमा पनि दास बनाउने र मनोरञ्जन गर्ने त हो ।

महिला शरीरमाथिको दमनको चरम सीमामा रहेको आजको इन्टरनेटीय समयमा उनले ०४७ सालतिर नै बोलेको कुरा सान्दर्भिक छ । आज महिला पुँजीवाद र उपभोक्तावादको चंगुलमा फसेका छन् । महिला शरीर अनेक ज्यादती र दोहनका सिकार छन् । ब्युटी कन्टेस्ट त देखिने अनुहार मात्र हो, जो निकै प्रतिष्ठित पनि लाग्छ । तर, यस्ता प्रतियोगिताको अन्तर्यमा लुकेको यथार्थ भने निकै खतरनाक छ । 

पारिजात ती सम्भावित खतरातिर उतिखेरै सचेत थिइन् । त्यसैले उनले भियतनाममा लडिरहेका अमेरिकी सैनिकको मनोबल बढाउन भनेर लगिएकी तत्कालीन विश्व सुन्दरी रीता फारियाको चेतनाप्रति चुकचुकाएकी थिइन् । आजको अमेरिकी पुँजीवादी धारणाको हामी साक्षी छौँ । उसको लागि कुनै निरीह देशभरि सैनिक डुलाउनु र बमबारी गर्नु उत्सवमा गरिने आतिसबाजीभन्दा खास फरक देखिन्न । अझ डरलाग्दो त महिला स्वतन्त्रताको नाममा पहिलो विश्व मानिएका गिरोहले बहुराष्ट्रिय कम्पनीका उत्पादनका विज्ञापनमार्फत तोकिदिने महिला सुन्दरताका मानक झन् डरलाग्दा छन् । 

घर र कार्यालयका अनेक जिम्मेवारीबीच असुरक्षित मानसिकतामा बाँच्न विवश छन्, आजका शिक्षित र आत्मनिर्भर महिला पनि । पारिजातले महिलामाथिका हिंसा, बलात्कार र असुरक्षित अवस्थाबारे अनेकन् लेखमा लेखेकी थिइन्, जो आज झन् चोटिलो बनेको छ । 

एभलिन रिडका महिला विषयका सान्दर्भिक लेखहरू अनुवाद गराई प्रकाशनको जिम्मेवारी लिएर नेपाली महिलासम्म पु¥याउनु पारिजातको प्रगतिशील चेतनाकै उपज थियो । उनी महिलामाथि भएको शोषण र उनीहरूले चाल्नुपर्ने कदमबारे भलिभाँती जानकार थिइन् । 

एक्काइसौँ शताब्दी महिला शरीरमाथिको दोहनको चरम समय भएको छ । सौन्दर्य प्रशोधन, फेसन, सिनेमा, पोर्नोग्राफी, विविधखाले शरीर व्यवसाय हुँदै इन्टरनेट स्पेससम्म पनि साइबर सेक्सको विकास गरी महिला शरीरको शोषणका लागि लागिपरेका छन् । पारिजातले त्यसबखत उप्काएको सौन्दर्य प्रशाधन सामाग्रीहरू विश्व–बजारमा व्याप्त भई नेपालजस्तो देशसम्म पकड जमाउने तर्खरमा थियो । 

अभिजातवर्गीय महिला त एक हिसाबले त्यस वेला नै सुन्दर हुने होडमा अनेक सामग्रीका लती थिए । बिस्तारै मध्यमवर्गीय महिलातिर पनि सर्दै गरेको त्यस्ता सौन्दर्य प्रसाधन सामग्रीको प्रयोगप्रति उनी सचेत थिइन् । उनले सावधान गराएको पैंतीस वर्षपछि विश्वमा महिला शरीर दोहनले नयाँ रेकर्ड कायम गरि नै सकेको छ । नेपालमा पनि देखिएका छन्, त्यसका असरहरू । 

आज सौन्दर्यको नाममा महिलाको शरीरको कुनै भाग बनिन बाँकी छैन । नाक, आँखा, ओठ, स्तन, कपाल सबै परिवर्तन गरिँदै छन् । हुँदा–हुँदा अब उनीहरूको शरीरको कुनै ठाउँ खाली छैन बनिन र उनिन । अनौठो लाग्ने तर सत्य कुरा आज उनीहरू सौन्दर्यको नाममा निप्पल पियर्सिङदेखि क्लिटोरलउड पियर्सिङसम्म पुगेका छन् (ब्युटी एन्ड मिसोजिनी, सिला जेफ्रिस) । महिला शरीर खासमा चरम दोहनमा छन् । केही उदारवादी नारीवादीले खनिदिएको मेरो रोजाइ यानिकि ‘माइ चोइस’ नामक घातक भाष्यको दलदलमा फस्दै गए महिला । 

आफ्नो प्राकृतिक रंगरूपका महिला क्रमशः प्लास्टिक भएका छन् । पारिजातको संकेत यही खतरातिर थियो, जो निरन्तर भइरहेको छ । यसैबखत एउटा प्रश्न दिमाग हानिरहेको छ । उनीहरूले लाइरहेको ‘माई चोइस’ रटान खासमा उनीहरूकै च्वाइस हो त ?

महिलाका विषयमा उनले भनेको अर्को कुरा उत्तिकै चिन्तनयोग्य छ । उनले ‘आत्मबोध’ नामक लेखमा भनेकी थिइन्, ‘...हामी नारी जाति प्रकृतिले नै त्यत्तिकै शक्तिशाली र आत्मनिर्भर थियौँ । ...आज हजारौँ वर्षको शोषणको संस्कारले ग्रसित छौँ ।’ चुरो यही छ, महिला शोषणको । उनीहरू आदिम समयमा प्रकृति नजिक थिए, उनीहरूको आफ्नै थियो, जीवनका विविध पर्यावरण ।
 
तर समयसँगै विकासको नाममा परिवारको जन्म, विवाह, अनेक सामाजिक, सांस्कृतिक मूल्यहरूको क्रमिक वृद्धि र पुरुषको हैकमको सुरुवात । त्यसै समयबाट बिस्तारै मानिँदै गइयो, महिलालाई कमजोर र सुरक्षा गरिनुपर्ने प्राणी । तर, देहातको गर्मी र लु सनसनीबीच चर्चरी पैताला फुटाएर श्रम गर्ने महिला कसरी कमजोर हुन् ? हिमाल र पहाडमा हिउँपहिरो झेलेर आफ्नो पसिनामा अन्न फलाउने आमा कसरी कमजोर हुन् ? काठमाडौंका सिटीहल होस् या नैकापतिरका श्रमजीवी सर्किनी या म्हेपीका पाटीतिर वास बसेर पनि, श्रम गरी नानीहरूलाई चारो जोहो गर्ने आमाहरू कसरी कमजोर भए ? 

पारिजातका लेखभरि छरिएका यस्ता प्रश्नहरूले सचेत जोकोहीलाई एकपटक सोच्न बाध्य पार्छ । महिलाको यस अवस्था बनीबनाऊ परिवार, सामाज, र महिला अमैत्री काइदाका उपलब्धि हुन् । ती पुरुषमैत्री सामाजिक मान्यताका फन्दामा जकडिएका महिला आज शोषणको चरम समयमा छन् । यस असंगत समयमा ‘टाइट जीवन’ (पारिजातकै शब्द) बाँचिरहेकाहरूभित्र सल्किन जरुरी छ, तीव्र विद्रोह र आक्रोश यस व्यवस्थाप्रति । जो महिलालाई वस्तुसरह मान्दछ । आफ्नो टाइट जीवनबाट मुक्तिको खातिर अब पारिजातपथमा लाग्न सके उनीप्रतिको सच्चा श्रद्धा हुनेछ ।