बन्द गर्नोस् तपाईंको घरको झ्यालढोका
हल्लिरहेको मलमलको पर्दा
नचढ्नू अपराह्न
बरन्डा, छत र बार्दलीहरूतिर
तपाईंको भव्य कम्पाउन्डको भित्ता छुँदै छुँदै
तपाईंको पटांगिनीतिर आँखा डुलाउँदै डुलाउँदै
म यतिखेर आफ्नो घर फर्किरहेछु
लकडाउनमा छ यतिखेर तपाईंको सवारी
तपाईंको मन्दिर, अड्डा, अदालत
गाडी, एम्बुलेन्स, दमकल, बस
तपाईंको सिंहदरबार
शीतलनिवास
सरकार र सम्पूर्ण देश
तर, ठीक यति नै वेला
खुलेको छ मेरो घरको बाटो
खुलेको छ मेरो पाइताला
त्यही खुला पाइताला चाल्दै चाल्दै
म आफ्नो घर फर्किरहेछु
बोकेको छु झोलामा
दशौँ दिनको गह्रुंगो भोक
खुट्टामा हाँकिरहेछु
सयौँ किलोमिटरको थकान
सुकाइरहेछु आँखामा आँसुको गण्डकी
जुन दिनदेखि बन्द भयो
तपाईंको घरको ढोका
तपाईंका कारखाना, औजार
र तपाईंकै हातबाट तप–तप खस्ने
मेरो रगतको थोपाजस्तो ज्याला
त्यही दिनदेखि खुलेको हो मेरो घरको बाटो
एउटै लागिरहेछ
यतिखेर मलाई
तपाईंको बन्द झ्याल र लकडाउन सरकार
जो सोच्छ कि
आफू ठीक भए ठीक हुन्छ सबथोक
आफू बन्द भएपछि
बन्द हुन्छ गरिबको पेट
जसले दिएको छ
संकटको यस घडीमा
एक अनुपम छनोटको सुविधा मलाई
‘कि म भोक रोजूँ
अथवा रोग ?’
रोग त कहिले आइपुग्ने हो
मेरो फोक्सोको नलीसम्म !
मलाई थाहा छैन
त्यसै पनि यो आइरहेकै छ, गइरहेकै छ
तर, भोक त सर्वदा मेरो पेटभित्रै छ
जो हरेक साँझ बिहान आइरहन्छ
मात्र आइरहन्छ
र, त्यही आइरहने भोकको चप्पल सिएर
त्यही भोकको छतरा ओढेर
तपाईंको सहरबाट हिँडेको
दशौँ दिनसम्म पनि
जब म पुग्दिन आफ्नो घर
मलाई पहिलोचोटि यस्तो लागिरहेछ
कि असाध्यै टाढा रैछ मेरो देश
गलत छन् तिनीहरू
जसले कोरेका हुन् संसारको मानचित्र
बनाएका हुन् ग्लोब पृथ्वीको
कृपया सच्याउनोस् त्यसलाई
सयौँ किलोमिटर दौडिदा पनि नपुगिने देश
कसरी त्यति सानो हुन सक्छ ?
कति समय लाग्ला देश छिचोल्न
तपाईंको कारगेट सवारीलाई ?
अथवा तपाईंको सुपर पुमा हेलिकोप्टरलाई ?
थाहा छैन
तर मलाई लागिरहेछ
तपाईंजस्तै मान्छेले बनाएको हो त्यो मानचित्र
जसले एउटा सानो थोप्लामा कैद गरेको छ
दुःखको यति ठूलो देशलाई
मान्नुस्
उस्तै छ तपाईंको सहर र नितान्त मौलिक सरकार
जसले एक रातको अतिरिक्त सौजन्यता
र एक छाकको सानो अनुकम्पासमेत
बाँड्न सकेन मलाई
र पहिलोचोटि यस्तो लागिरहेछ
कि तपाईंको सहर कदाचित मेरो देश होइन
पहिलोचोटि भन्न म असमर्थ छु
कि तपाईंको देश मेरा लागि पराया (देश होइन
त्यसैले पैदलै पैदल
खाली खुट्टा
म आफ्नो देश भेट्न दौडिरहेछु
कि म यतिखेर घर फर्किरहेछु
देश भनेको त
यस विपत्तिमा
आफ्नै घर त रहेछ आखिर !
जहाँ पर्खिरहेकी छिन्
देशजस्तै नियास्री मेरी बुढी आमा
हेरिरहेका छन् मेरो बाटो
देशजस्तै मायालु श्रीमती र केटाकेटी
हिँड्दाहिँड्दै चप्पलको फित्ता चुट्टिदा
तिर्खाले ब्याकुल हुँदा
भोकले बेहोस ढल्दा
कहिल्यै बन्द भएनन् त्यहाँ
केटाकेटीका बार्दली आँखा
आमाको पटांगिनी छाती
४०० किलोमिटरभन्दा पर पुगेपछि
थकित थकित
आज एक्कासि सम्झिरहेछु
लकडाउनमा त सिमाना पो बन्द हुनुपर्ने !
गाउँ, सहर, नाका
हदै भए तपाईंको घर पो बन्द हुनुपर्ने !
यसै कसरी बन्द भइरहेछ ‘देश’ ?
कहिले भुत्क्याउँछ होला मेरो सास
यस महामारीले ?
ठ्याक्कै भन्न सक्दिनँ
तर, म भन्न सक्छु
हजारौँ वर्षअघिदेखि नै
लकडाउनमा छ मेरो पेट
र त्यत्तिकै वर्ष पुरानो हो
यो लकडाउनसँग मेरो लडाइँ
सरकार सोधिरहेछ यतिखेर मेरो इच्छामृत्यु
जो उसैको सुविधाअनुसार
मरिदिनलाई दौडिरहेछु
यदि यही महाव्याधीको भ्रुणबाट
अथवा मेरो मृत्युको गर्भबाट
मेरै अन्तिम पुस्ताको जन्म हुन्छ भने
फेरि एकपटक
म भोकले मर्नुभन्दा अगाडि
रोगले मर्न तयार छु
हिँडिरहेछु
निरन्तर हिँडिरहेछु
तपाईंको सहर छाडेदेखियता
आज दशौँ दिनपछि पनि
थकाइ नभनी
निद्रा नभनी
पैदलैपैदल दौडिरहेछु
तैपनि अझै म आफ्नो घर पुगिसकेको छैन
लकडाउनमा–म आफ्नो घर फर्किरहेछु
उफ् ! कत्ति टाढा रैछ मेरो देश ?