समाज विज्ञानका आधारभूत मान्यताले सधैँभरी परिवर्तनका आयामबारे व्याख्या र विश्लेषण गर्छ । तथापि हरेक घटनाले एक किसिमको परिवर्तनलाई संस्थागत गरेको देखिन्छ ।कोरोनोले विश्वजगत् आक्रान्त भएको वेला, यसले समग्र समाज एवं विश्व समाजमा केही परिवर्तनलाई पक्कै स्थान दिनेछ । यहाँ रोग र प्रकोपसँगको समाज र यसले स्थापित गर्न सक्ने नयाँ मूल्य–मान्यताबारे प्रस्ट्याउने कोसिस गरिएको छ ।
परिवर्तित सामाजिक आयतन
समाजमा घट्ने हरेक घटनाको निश्चित असर हुन्छ । हरेक घटनाले स्थापित सामाजिक बनोट, बुझाई, एवं जीवनशैलीलाई आमूल परिवर्तन गर्ने गरेको पाइन्छ । अझ, हरेक घटनाको आफ्नै गति, समय, धार रहेको हुन्छ । समग्रमा यसले समाजको आयतन, संरचना र स्थायित्वलाई प्रभाव पारेको हुन्छ ।
अहिलेको कोरोना भाइरसले समस्त जीवको स्थापित शैलीलाई बदलेको छ । मानवदेखि आश्रित जीवसम्म, चर, अचर सम्पूर्ण प्राणीको जीवनशैली अर्कै बन्न पुगेको छ । एक किसिमको जीवनको तालिका, दायरा, शैली सम्पूर्ण रूपमा परिवर्तन भएको छ । केही चिजको विघटन भएको छ भने केही नयाँ परिवेशको उदय भएको छ ।
आध्यात्मिकतालाई केबल समय बिताउने माध्यम ठान्ने मानिस, अहिले यसलाई जीवन पद्धतिको रूपमा विकसित गरिरहेको पाइन्छ । तसर्थ, परिवारभित्र भौतिक दूरी बढे पनि भावनात्मक दूरीको आयतन कोरोनाले केही हदसम्म कम गरेको छ ।
जुन किसिमको सामाजिक आयतनमा रमाउँदै हामी जीवन बाँचिरहेका थियौँ, त्यो आयतन पूरै परिवर्तित भएको छ । निस्फिक्री जीवन एकाएक संकुचित भएको छ । तर, यसले एक किसिमको नयाँ माहोल सिर्जना गरेको छ । हराएको पारिवारिक सामिप्यता, एकअर्काका लागि समय, परिवारसँग बिताउने समयको पुनर्गमन भएको छ । सामाजिक रूपमा परिभाषित परिवारको अर्थ अहिले धेरै हदसम्म देख्न पाइन्छ । जुन कोरोनाको उपज हो ।
आर्थिक खुसीभन्दा सामाजिक जीवनको खुसीको आनन्द धेरैले लिएको देखिन्छ्र । तथापि, रोगको संवेदनशीलतालाई बुझ्दै भौतिक दूरीको नियम पालना गर्नुको विकल्प छैन ।
यसैगरी, कोरोनाले सहर र गाउँको तात्विक भिन्नतालाई उजागर गरेको छ । पुँजीवादी अर्थ व्यवस्थाको केन्द्र रहेको सहर र भावनात्मक अर्थको पुँजी रहेको गाउँको मूलभूत बुझाइ यसले छर्लंग पारेको छ । हाम्रो (गाउँ) र मेरो (सहर) बीचको खाडललाई यसले अझ गहिरोसँग प्रस्तुत गरेको देखिन्छ । रोगले सहर र गाउँ नभने पनि मर्नु परे पनि आफ्नो माटोमा भन्ने पुरानो उखानलाई अहिलेको परिस्थितिले स्थान दिएको देखिन्छ । उपभोक्तावादी संस्कृति र सधैँ चलायमानको आधारमा निर्देशित हाम्रो सामाजिक जीवन, स्थिर र स्थिर प्रकृतिमा रूपान्तरण हुन पुगेको छ ।
अर्को पाटो जुन विश्व–समाजमा परिवर्तन भएको छ, त्यो हो पुरानो पुस्ताको अवसान । कोरोना संक्रमणले धेरै युरोपियन मुलुकको एक पुस्ताको जीवन लिएको छ । अर्को अर्थमा, विकसित मुलुकमा आश्रित वृद्ध जनसंख्याको एउटा ठूलो तप्का यस कोरोना संक्रमणको चपेटामा प-यो । त्यति हुँदाहुँदै पनि रोगको माहोलले थोरै भए पनि प्रेम, जीवन, हाँसो, मर्यादालाई समाजको सानो मूल ठान्ने पुँजीवादी अर्थले जीवनको प्रश्न गर्न सिकाएको छ ।
आध्यात्मिकतालाई केबल समय बिताउने मध्यम ठान्ने मानिस, अहिले यसलाई जीवन पद्धतिको रूपमा विकसित गरिरहेको पाइन्छ । तसर्थ, परिवारभित्र भौतिक दूरी बढे पनि भावनात्मक दूरीको आयतन कोरोनाले केही हदसम्म कम गरेको छ ।
प्रकोप, समाज र दूरी
नेपाल धेरै हदसम्म प्राकृतिक प्रकोपसँग सामीप्यता राख्छ । तर, प्रकोप, प्राकृतिक मात्र नभएर अन्य रूप र स्तरमा पनि हुन्छ, रोगको प्रकोप, युद्धको प्रकोप, भोकको प्रकोप आदि । प्रकोपलाई परिभाषित गर्ने क्रममा समाजशास्त्री इनरिको क्वारेन्टेलीले मूलभूत रूपमा प्रकोपलाई एक्ट अफ गड, एक्ट अफ नेचर र एक्ट अफ म्यान र वुमनको रूपमा परिभाषित गरेका छन् ।
अर्थात्, प्रकोप भनेको भगवान्बाट निर्देशित हुन्छबाट अहिलेका आउँदा यो मानिसले सिर्जना गरेको घटनासम्मको व्याख्या भएको पाइन्छ । तथापि, प्रकोपलाई अहिलेको युगमा मानिस र उसको क्रियाकलापले गर्दा उत्पत्ति भएको भनेर समाजशास्त्रीले व्याख्या गरेको पाइन्छ । ऐतिहासिक रूपमा ठुल्ठूला रोग र प्रकोपको उत्पत्ति एक किसिमको अडरमा आएको देखिन्छ । जस्तै, १७२० को प्लेग, १८२० कोलेरा, १९२० को स्प्यानिस फ्लु र अहिलेको २०२० को कोरोना भाइरस ।
मानव जगत्को हरेक कालखण्डमा यी र यस्ता प्रकोपले समाजको संरचना र स्थापित मूल्य–मान्यतालाई नयाँ रूप र ढाँचा प्रदान गरेको पाइन्छ । मृत्युदरलाई पनि हिसाब गर्ने हो भने यसले एक किसिमको नयाँ पद्धतिको विकास गरेको देखिन्छ । नेपालमै हरेक वर्षजसो आउने प्राकृतिक प्रकोपदेखि मौसमअनुकूल आउने फ्लु र रोगले हजारौँ मानिसको मृत्यु भएको आँकडा छ ।
०७२ को विनाशकारी भूकम्पको प्रकोप र प्रभावको हिसाब अहिलेको समाज र आउने धेरै पुस्ताले तिर्ने देखिन्छ । प्रकोपको अर्थ एक रूपमा नरहेर बहुआयामिक देखिन्छ । अहिले देखिएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि जुन किसिमको सामाजिक दूरीको परिभाषा अहिले व्याप्त छ, त्यो ज्यादै अपूर्ण र अयोग्य छ ।
सामाजिक दूरी (सोसियल डिस्टेन्सिङ) भन्दा पनि विश्व स्वास्थ्य संगठनले यसलाई भौतिक दूरी (फिजिकल डिस्टेन्सिङ) को रूपमा व्याख्या गर्न जरुरी छ । पछिल्लो चरणमा विश्व स्वास्थ्य संगठनले यो बुझाइलाई केही हदसम्म परिमार्जित गरेको भान हुन्छ । तर पनि समस्त रूपमा अहिले पनि सामाजिक दूरीकै रूपमा यो बुझाइ रहेको छ । यसले समस्या निम्त्याउने देखिन्छ । विकसित देशमा विकेन्ड कल्चर, घुम्ने स्वच्छन्दता, पार्टी कल्चर, क्लबिङ आदि ज्यादै हुने हुँदा त्यस्ता चिज प्रोत्साहित नहोऊन् भनेर सामाजिक दूरी भनिएको हो । तथापि ‘सामाजिक रूपमै कसैले कसैलाई सहयोग नगर्ने हो’ भन्ने अर्थमा यसको प्रयोग भएको देख्दा समाजको अर्को पाटोलाई उजागर गरेको देखिन्छ ।
नेपालको हकमा पनि सघन रूपमा हुने भेटघाट, विवाह, पार्टी आदि रोक्न सामाजिक दूरीको व्याख्या आएको हो । सामाजिक दूरीको तादम्य सामाजिक जीवनलाई सहज र सजिलो बनाउनका लागि हो । तर, यसले नजानिँदो तरिकाले सामाजिक बहिष्करणको मुद्दालाई अझ बढावा दिएको देखिन्छ ।
०७२ को भूकम्पमा जोडिएको नेपाली समाज, फेरि सामाजिक दूरीको आफूअनुकूल व्याख्याले बहिष्करण, उपेक्षा, सामाजिक दरारको चक्रव्यूहमा फसेको भान हुँदै छ । भूकम्पको त्रासदीमा हातमा हात जोडेर, एकअर्काको सहयोगका लागि जुटेको नेपाली समाज, कोरोनाको कहरले छुट्टिन पुगेको छ । तर पनि सामाजिक दूरीको मूल अर्थ एकले अर्कालाई सामाजिक बहिष्करण गर्नु्भन्दा भौतिक दूरी घटाउने र भावनात्मक दूरी बढाउने भन्ने नै हो । शंका, आशंका, डर र भयको उपस्थितिले हरेक नेपालीको जीवनमा अझ संशयपूर्ण बनाएको देखिन्छ ।
रोगको सामाजिक समझ
हरेक समाजले आफू बसेको परिस्थितिअनुरूप रोगको विस्तार र प्रकोप भोगेको हुन्छ । समाजशास्त्रीले रोगको उत्पत्ति र फैलनुको पछाडि हरेक समाजको निश्चित जीवनशैली, वर्ग, उमेर समूह र समुदायको भूमिकासँग जोडेर हेरेको पाइन्छ । समाजशास्त्रीले रोगलाई केबल प्रकृति र जीवविज्ञानसँग हेरेर व्याख्या गरे अपूर्ण हुन्छ भनेका छन् । टालकोट पार्सनले बिरामी हुनुलाई चलिरहेको नित्यकार्यभन्दा विमुख हुनु अथवा ‘विचलित व्यवहार’को संज्ञा दिएको पाइन्छ ।
अहिलेको कोरोना संक्रमणले गर्दा भएको मृत्युको अभिलेखीकरणले मात्र संख्यामा मृत्यु भएको देखाउँछ, तर यसले अहिले सम्पूर्ण पृथ्वीमै रहेको मानिसहरूको ‘विचलित व्यवहार’बारे बताउँदैन । आफूले गरिराखेको नित्य कार्य सम्पादन गर्न जब हामी असमर्थ हुन्छौँ, हामी बिरामीको रूपमा रहन्छौँ । अर्थात्, अहिले सम्पूर्ण प्राणी जगत् नै बिरामीको रूपमा रहेको छ, हाम्रा नित्यकर्म, क्रियाकलापबाट विमुख भएका छौँ । नेपालमा रोगबारेको सामाजिक बुझाइ अनि ग्रहणशीलताको पनि कमी रहेको देखिन्छ । बिरामी भएर, खुट्टा चलाउनसम्म नसक्ने भएपछि मात्र हामी बिरामी बन्छौँ, अझ बुझ्ने भाषामा भन्दा उठ्न नसक्ने गरी खाटमा ढल्यौँ भने पक्का बिरामी । तसर्थ, अरूले आफूलाई बिरामी घोषित नगरेसम्म हामी आफ्नो कार्य नियमित रूपमै चलाउँछौँ ।
यी सब सोचका पछाडि कमजोर आर्थिक स्थिति अनि कमजोर राज्य संरचनाको रूपमा यसलाई व्याख्या गर्न जरुरी छ । राज्यको आर्थिक सहयोग अनि सक्षम स्वास्थ्य प्राणालीले गर्दा नै हरेक बिरामीले रोगबाट मुक्ति पाउन सक्छन् । तर, बजार निर्देशित स्वास्थ्य अवस्था, बिचौलियाको राज्य सञ्चालनसम्मको प्रभाव अनि प्रकोपका वेला चर्को मूल्यद्वारा जनताको ढाड सेक्ने व्यवसायी हुँदासम्म समस्त स्वास्थ्य अवस्थामा आमूल परिवर्तन आउने देखिन्न । यसरी नै कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको पूर्ण अभिलेखन हुन जरुरी छ । तथापि यो कार्य अहिले नै हुन नसक्ला । तर, भविष्यमा यसको अभिलेखन हुनुपर्छ ।
मृत्युको तहगत विभाजन उमेर समूहको आधारमा, वर्गका आधारमा, लिंगका आधारमा, सामाजिक जीवनशैलीका आधारमा विश्लेषण गर्न जरुरी छ । जसले आउने दिनमा कस्तो सामाजिक, मानसिक अनि आर्थिक जीवनशैलीको प्रत्यक्ष प्रभावमा रोग रहेको हुन्छ भन्ने जानकारी दिन सक्छ ।
अन्त्यमा
प्रकोप र रोगको आयतन जस्तो बुलन्द र मजबुत भए पनि सामाजिक एकता र हौसलाले नै यसबाट पार पाउन सकिन्छ । डर र संशयको यो सघन संकटमा एकले अर्कोको सहयोग गर्नुको विकल्प छैन । भौतिक रूपमा दूरी कायम गरी भावनात्मक रूपमा सम्बन्धलाई अझ घनीभूत बनाउनु जरुरी छ ।
अबको समाजको मूलभूत रूप दुई–तीन क्रिया र प्रक्रियामा बदलिने देखिन्छ । पहिलो, समाज अझ प्रविधिमुखी हुँदै जानेछ । सामाजिक जीवनशैलीलाई बदलिनेभन्दा पनि प्रविधि आश्रित जीवनको विकास र त्यसको माध्यमबाट जीवन निर्देशित हुनेछ । टेक्नोक्रेटिक मोडल विश्वासिलो अनि अझ मैत्री हुँदै जाँदा आफूले अवलम्बन गर्ने आत्मअनुशासनको कमी हुनेछ ।
दोस्रो, समूहिकताको अर्थ र परिभाषा केबल पार्टी, सभा, सम्मेलनलाई मानिने तर अन्य समय यो स्थिर प्रकृतिको एकलताबाट गुज्रिने देखिन्छ । तेस्रो, विश्व समाजको शक्ति समीकरणमा आधारभूत परिवर्तन हुने देखिन्छ । शक्तिको उद्देश्य मात्र आफ्नो प्रभुता देखाउनेभन्दा पनि सहयोगको माध्यमबाट धेरै अल्पविकसित र विकासशील राष्ट्रमाथि कब्जा जमाउने हुनेछ । चौथो, चुनौतीको रूपमा निम्नवर्ग र माध्यम वर्गका जीवनसँगको टकराव देखिनेछ । आउने दिन यी र यस्ता वर्गका लागि समाज अझ डरलाग्दो हुनेछ । फ्रेडरिक ऐंगेल्सले प्रयोग गरे झैँ ‘सोसल मर्डर’को अर्थ अबको समाजमा देखिन्छ कि भन्ने डर छ ।