• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
प्रमिला देवकोटा 
२०७७ बैशाख २० शनिबार १०:२७:००
साहित्य

राजनेताको लफडाउन

२०७७ बैशाख २० शनिबार १०:२७:००
प्रमिला देवकोटा 

‘ए नानी यो लफडाउन भनेको के हो ?’ प्रधानमन्त्रीले लकडाउनको घोषणा गरेलगत्तै धनकुमारले छोरीलाई फोन गरेर सोध्यो । ‘बा लफ होइन लक हो । लक भनेको बन्द गर्नु डाउन भनेको तल हो ।’ गाउँकै स्कुलमा प्लस टु गर्दै गरेकी छोरीले भनी । 

 

साहुले लफडाउन भएपछि काम हुन्न भनेका थिए । छोरीले तल बन्द गर्ने भनी । उसलाई तलका मान्छेको काम बन्द गर्नु लफडाउन हो कि जस्तो पनि लाग्यो । तर, आफ्ना राजनेता प्रधानमन्त्री भएका वेला तलका मान्छेको ख्याल राख्छन् भन्ने सोचेर उसलाई छोरीको र साहुको कुरा चित्त बुझेन । त्यसैले ऊ लफडाउनको नाम सुधार्नतिर पनि लागेन । 

 

काठमाडौंमा दश वर्षदेखि साहुको भारी बोक्ने धनकुमारलाई यो वर्ष झनै काम गर्नुपर्ने थियो । गाउँमा दश कक्षा जान ठिक्क परेको छोरो छ । राम्रै पढ्छ । छात्रवृत्तिमा डाक्टर पढ्ने सपना देखेको छ उसले । सके त उसलाई कोचिङ हाल्ने धनकुमारको रहर छ । छोराछोरीले गजब पढिदिए आफ्नो पैताला र तालुले बुढेसकालमा आराम पाउथे कि भन्ने उसको आशा छ । 

 

आफ्नो बोझ कम गर्न धनकुमारले आफ्नी श्रीमती तुलसीदेवीलाई पनि एक महिनाअगाडि मात्रै काठमाडौं बोलाएको थियो । साहुकै सल्लाहमा तुलसीदेवीलाई उसले सजिलो काम रोजिदिएको थियो, डोकोमा साग बेच्ने । ऊ भक्तपुर जाने र डोकोमा साग ल्याएर टोल–टोलमा बेच्छे । त्यो कामबाट पहिलो महिनामै ३-४ हजार नाफा भएपछि उनीहरू मख्ख थिए । 

 

तर, लफडाउन के हो भन्ने थाहा नभएकाले उनीहरूमा अलिकति बेचैनी भने थियो । तर, आफ्ना प्रधानमन्त्रीमाथिको भरोेसाले बेचैनी तनावमा रूपान्तरण हुन पाएन । ऊ धनकुमार प्रधानमन्त्रीको ठूलो फ्यान हो र राजनेता भन्न मन पराउँछ । किन फ्यान भयो उसलाई मेसो थिएन । तर, उसलाई राजनेता किन भन्छ भन्नेमा ऊ स्पष्ट छ । पछिल्लोपटक भोट हाल्न जाँदा बसमा कसैले भन्यो, केपी ओली भनेको राजनेता हो । यो देशको दुःख कसैले मेटाउँछ भने उनैले मेटाउँछन् । त्यसैले सूर्यमा भोट हालौँ ।’ त्यही दिनबाट हो उसले दुःख मेटाउने केपी ओलीलाई राजनेता भन्न जानेको ।

जुन दिन उसको राजनेताका बारेमा समाचार बज्दैन, त्यसदिन ऊ निकै निराश हुन्छ । कहिले त गतिलो निद नै पर्दैन । तैपनि पहिलो दिनको लफडाउनको कमाइको मजा सम्झेर ऊ मख्ख थियो ।

धनकुमार बुढाबुढी कोटेश्वरनजिकै बारीमा टिनको छानामुनी बस्छन् । राति सुत्दा जहाज उडेको आवाज पनि हिजोआज बन्द भएको छ । सडकको गाइँगुइँ हल्ला पनि शान्त छ । यो सबै परिवर्तनको पछाडि आफ्ना राजनेताको हात रहेको धनकुमारले बुझेको छ । 

 

लकडाउन हल्ला चल्नासाथ धनकुमार र तुलसीदेवीको कमाइ ह्वात्तै बढ्यो । पैसा निकै कमाइ भएकोमा दुवैजना खुसी थिए । उसले हजुरआमाबाट सुनेको थियो, महामारीमा त मान्छे फुत्त–फुत्त ढल्छन् र मरिहाल्छन् । ‘तर, महामारी आएर पनि देशमा फुत्त–फुत्त मान्छे ढलेनन् । यो त उही राजनेताको कामको फल हो ।’ उसले सोच्यो । 

 

भोलिपल्ट लफडाउन सुरु भयो । धनकुमार सबेरै पसल पुग्यो । पसलमा ग्यास लिनेको लाइन झनै बढी थियो । जति ग्यास बोक्न पायो उति पैसा आउने । उसले त्यो दिन गन्नै नसक्ने गरी ग्यास बोक्यो र अरू दिनभन्दा दोब्बर कमायो । 


कोठामा पुग्दा तुलसीदेवी आएकै थिइन । एकछिन पछि तुलसीदेवी आइपुगी । डोको खाली थियो । उसले साग बेच्न थालेदेखि आधा डोको लिएर घर फर्किन्थी । तर, त्यो दिन पूरै बेचिसकिछ । ‘साग त बिहानै सकियो ।’ तुलसीदेवीले मख्ख पर्दै भनी । 

 

‘होइन यो लफडाउन भनेको त राम्रो कुरा रहेछ । मलाई पनि आज त फुर्सद नै भएन,’ धनकुमारले भन्यो, ‘हाम्रा राजनेताले जे गर्छन् हाम्रा लागि गर्छन् ।’ धनकुमारलाई समाचार सुन्न खुब मन पर्छ । खास गरी आफ्नो प्रिय प्रधानमन्त्रीको समाचार । रेडियो बज्ने मोबाइल फोन छ, ऊसँग । कोठामा त १४ इन्चको सोनीको टिभी छ नै उनीहरूसँग । साहुजीबाटै अघिल्लो महिना २ हजारमा किनेका थिए । 

 

जुन दिन उसको राजनेताका बारेमा समाचार बज्दैन, त्यसदिन ऊ निकै निराश हुन्छ । कहिले त गतिलो निद नै पर्दैन । तैपनि पहिलो दिनको लफडाउनको कमाइको मजा सम्झेर ऊ मख्ख थियो । काम पनि बिहान मात्रै गरे हुने र पैसा दिनभर गरेभन्दा बढी कमाइने । ‘यस्तो सधैँ भइदिए पो हैन बुढी ?’ उसले भन्यो । बुढी पनि खुसीले मुस्कुराई । 

 

लकडाउन भएको भोलिपल्ट पनि धनकुमार ग्यास बोक्न पसलतर्फ हिँड्यो । तर, पसल पुगेपछि साहुले भन्यो, ‘अब ग्यास सकियो । आज पाँचवटा पनि छैन । सामान लिन पनि सबै मोटरसाइकल लिएर आउन थाले । तिमी अब पानी बोक्ने काम गर ।’ 

 

हिजोको आजै ह्वात्तै काम घटेपछि धनकुमार निराश भयो । कहाँ ग्यास बोकेको तीस रुपैयाँ, कहाँ पानी बोकेको पाँच रुपैयाँ । उसले मनमनै हिसाब ग¥यो । साहुले भन्यो, ‘पानी दिनको तीसवटाभन्दा बढी बोक्न पाइन्छ । चामल बोक्न परे म बोलाउँला । अनि कमाइ राम्रै हुन्छ पिर नलेऊ ।’

 

लफडाउन भनेको त अप्ठ्यारो कुरा रहेछ कि क्या हो । उसलाई झड्का लाग्न थाल्यो । तर, फेरि सोच्यो, ‘होइन, राजनेताले चलाएको देशमा कहाँ अप्ठ्यारा आउँछन्, आउँदै आउँदैन । राजनेताले परार नै भनेका हुन्, ‘सुतीसुती खान पाइन्छ ।’ पानी मात्रै बोकेर जीविको त कसरी चल्ला !

 

गाउँमा ठूलाबडा भनाउँदाहरू छोएको पानी खाँदैनथे । अरू त अरू राजनेतालाई मान्नेहरू नै खाँदैनथे । तर, यहाँ पानी बोकेर घर–घर पु-याउन पाउनु पनि त ठूलै उपलब्धि हो नि । उसले फेरि आफ्ना राजनेतालाई सम्झ्यो र मनमनै गम्यो, ‘उनकै शासनमा दुनियाँ यस्तो भयो । मैले पानी बोकेर दुनियाँले खाने भयो ।’ 

 

८ बजेभित्र पसल बन्द गर्नु भन्ने प्रहरीको उर्दी थियो । त्यसैले पसलेले भन्यो, ‘भोलि बिहान चारै बजे खोल्नुपर्छ अनि सजिलो हुन्छ । आज अलि लोड हुने भो फटाफट गर ।’ उसले धमाधम पानी बोक्यो । एकै घरमा चार–पाँच जार । ‘लफडाउन त झनै मजाको हुँदै गयो ।’ उसले आफ्नो ढाड सोझ्याउँदै सोच्यो । 


त्यो दिन उसले पनि यसोउसो गर्दा अघिल्लो दिनजत्तिकै कमायो । त्यसपछि ऊ चाँडोचाँडो कुखुरा पसल पुग्यो र एक किलो मासु किन्यो । घर पुगेर आफैँ पकाउन थाल्यो ।

 

बुढी आइपुगी । आधा साग त डोकोमै थियो । ‘आज त मलाई साह्रै नरमाइलो लाग्यो बुढा । यो लफडाउनले त गाह्रो होलाजस्तो छ,’ बुढीले भनी । मेरो त झनै राम्रो कमाइ भो । तेरो के भो बुढी ?’ उसले सोध्यो । ‘कसैले साग किन्नै मानेन । हिजोकै छ भन्छन् । नयाँ ठामतिर जाम भनेको पुलिसले लखेट्यो,’ तुलसीदेवीले भनी ।

 

‘हेर, सरकारको कुरा मान्न पर्छ । हाम्रो भविष्य सरकारकै हातमा त छ । हेर त कति पछि मासुभात खान पाइयो ।’ दुवैले मजा मानेर मासुभात खाए । अर्का दिन धनकुमार ४ बजे नै उठ्यो । तुलसीदेवी अघिल्लो दिनकै सागमा पानी छर्केर लिएर हिँडी । धनकुमार पुग्दा साहुजीले पसल खोलेकै रहेनछन् । अँध्यारै थियो । 

 

कुरिरह्यो । तुलसीदेवी त्यही नजिकै चोक पारेर भुइँमा टुसुक्क बसी । मर्निङ वाकमा हिँड्ने फाट्टफुट्ट देखिए । साहुजी ५ बजेपछि बल्ल आइपुगे । ‘आज त पानीको अर्डर पनि एकदम कम छ । बसिराख के हुन्छ,’ साहुजीले भन्यो । 


धनकुमार कुरिरह्यो । पानी लिन आउनेजतिले बाइकमा लिएर गए । चामल बोक्ने एकदुई मौका मिल्यो, पानी भने फाट्टफुट्ट आयो । ‘हिजै लगे लानेले । तिम्रो काम आज त्यति होलाजस्तो छैन,’ साहुजीले भन्यो ।

 

धनकुमारको हिजोको खुसीमा आजै बादल लाग्यो । ऊ दिक्क भयो र त्यही पसलमा यताउता गरिरह्यो । फेरि उसले आँखा चिम्ल्यो र राजनेताको अनुहार सम्झ्यो । 

 

बिहान ८ बजे धनकुमारको हातमा जम्मा तीन सय रुपैयाँ थियो । हिजो उसले कुखुराको मासुमा खर्च गरेको चार सय सम्झ्यो र पछुतायो । लफडाउनको तेस्रो दिनमै धनकुमारलाई गाह्रो होला जस्तो भयो । तर, उसले सोच्यो, ‘राजनेता भएको देशमा खानै नपाई मरिँदैन । हदै भए छोराछोरीलाई ट्युसन पढाउन नपाइएला ।’ 

 

ऊ खाटमा पल्ट्यो र सोच्न थाल्यो, ‘साँच्चै गाह्रो हुन्छ त ? फेरि सोच्यो, ‘पहिला त दिनभर कुर्दा त हातमा पाँच सय पर्न मुस्किल हुन्थ्यो । अहिले बिहान एकछिन खट्दा तीन सय राम्रै कमाइ हो । राजनेताको देशमा गाह्रो हुँदैन ।’ त्यसपछि ऊ रेडियोमा कान थापेर सुन्न थाल्यो । 

 

अर्काेदिन ५ बजे पुग्दा पसल खुलिसकेछ । साहुजी रिसायो, ‘चारै बजे आउनुपर्दैन, राति नै तीन–चार बोरा सामान गइसक्यो । अलिअलि पैसा आउँथ्यो ।’ त्यो सुनेर ऊ चुकचुकायो । 

 

मानिसहरू फटाफट सामान भर्दै थिए । र, बाइकमा ओसार्दै थिए । त्यो दिन उसले पसलबाट एक बोरा पनि सामान बोक्न पाएन । तर, केही जार पानी भने बोक्न पायो ।

 

८ बज्नै लाग्दा साहुजीले सोध्यो, ‘अनि कति भो कमाइ ?’ उसले गोजीमा पैसा झिक्यो र गन्यो, ‘जम्मा एक सय पचहत्तर ।’ ‘लौ अब तिम्लाई गाह्रो हुन्छ । घर गएको भए हुने,’ साहुजीले भन्यो । 


उनले भित्रबाट पाँच किलो चामल झिके अनि एक किलो दाल निकालेर दिए । ‘ल यो थपथाप गरेर खानु । यो लकडाउन बढ्छ । यसको पैसा तिर्नुपर्दैन । म भोलिबाट पसल बन्द गर्छु । सक्छौ भने घर जाँदा हुन्छ ।’ 

धनकुमारलाई तुलसीदेवी लफडाउन तोकेर हिँडिरहेको कुरा मन परेको थिएन । सरकारको कुरा नकाटे हुने र आठै बजे घर फर्के हुनेजस्तो लाग्थ्यो । तर, के गर्नु आफ्नो कमाइ थिएन । सरकारलाई साथ दिन सघाउन सकिएन । ऊ जे होस् निराश थियो । त्यसको अर्काे कारण पनि थियो, उसका राजनेता नबोलेको धेरै भएको थियो । टिभी हेर्थ्यो, राजनेताको अनुहार नदेखिँदा दुःखी हुन्थ्यो । रेडियोमा कान थापेर कोठाभित्रै बस्थ्यो । राजनेताको बारेमा समाचार नबज्दा तनाव बढ्थ्यो ।

 

उसले साहुको घर जाऊ भन्ने सल्लाहमा ध्यान दिएन । राजनेताको उपस्थितिमा जीवन गाह्रो हुँदै छ भन्ने उसलाई विश्वास नै छैन । ऊ घर पुग्यो । तुलसीदेवीको साग आज पनि राम्ररी बिकेनछ । ‘यही सागले अलिअलि भएको पैसा पनि सकिने भयो,’ उनले भनी । 

 

‘पिर नगर यी चामल आयो । यसले भात त खान पाइयो नि,’ धनकुमारले सम्झायो । 

 

अर्काे दिन सबेरै तुलसीदेवी साग बोकेर बाहिर निस्की । धनकुमारले त्यो दिन बीस जारजति पानी बोक्न पायो । सय रुपैयाँ कमाइ भयो, एक घन्टामा । ऊ फक्र्याे र एन्टेना मिलाएर टिभी हेर्न बस्यो । थोरै कमाइले ऊ त्यति निराश भएन । ‘एक घन्टाको सय ठीकै हो दिनभरको कमाइ थोडी हो र !’ उसले हिसाबमिलान ग-यो ।

 

तुलसीदेवी आएर बाहिर इँटाको चुलो बनाउन थाली । धनकुमारले भन्यो, ‘अनि ग्यास के भयो ?’ तुलसीदेवीले भनी, ‘सकियो ।’

 

ग्यास पनि बोक्ने धनकुमारलाई अर्काे ग्यास पाइने आशा थिएन । अप्ठ्यारो पर्दा यसो सघाउने साहुले पनि एउटा पनि ग्यास नभएको बताएका थिए । उपाय त्यही दाउरा बाल्नु थियो । उसले तुलसीदेवीलाई फकाउने प्रयासमा लाग्यो । ‘ठीकै छ आगोमा पकाएको त गजब मीठो हुन्छ । मैले सुनेको, दिलकुमार भन्दै थियो, आजकल होटेलमा आगोमा पकाएको खाना झन् महँगो हुन्छ रे । हेर त हाम्रो कस्ता दिन आए, यहीँ, राजनेता बस्ने ठाउँमै आगोमै पकाएर खान पाइने भो ।’ तुलसीदेवीले धनकुमारलाई रिसाएको नजरमा हेरी, तर केही बोलिन ।


उनीहरूको दैनिकी कष्टकर हुँदै गयो । दिनमा सय कमाइ र तुलसीदेवीको सागबाट पचासजति नाफा हुन्थ्यो । नबिके ऊ लुकीछिपी बिहान ९ बजेसम्म साग बेची हिँड्थी र कोठामा फर्किन्थी । त्यसपछि दाउरा बटुल्न हिँड्थी । खाना पाक्दा जहिले दिउँसो हुन्थ्यो र एक छाकले दिन टथ्र्याे ।

 

धनकुमारलाई तुलसीदेवी लफडाउन तोकेर हिँडिरहेको कुरा मन परेको थिएन । सरकारको कुरा नकाटे हुने र आठै बजे घर फर्के हुनेजस्तो लाग्थ्यो । तर, के गर्नु आफ्नो कमाइ थिएन । सरकारलाई साथ दिन सघाउन सकिएन । ऊ जे होस् निराश थियो । त्यसको अर्काे कारण पनि थियो, उसका राजनेता नबोलेको धेरै भएको थियो । टिभी हेथ्र्यो, राजनेताको अनुहार नदेखिँदा दुःखी हुन्थ्यो । रेडियोमा कान थापेर कोठाभित्रै बस्थ्यो । राजनेताको बारेमा समाचार नबज्दा तनाव बढ्थ्यो ।

 

धनकुमार प्रतीक्षामा थियो, आफ्ना राजनेताले पक्कै केही न केही गर्नेछन् । एकदिन राजनेता झुल्किए टिभीमा । श्रीमतीलाई छेउमा राखेर धनकुमार एकतमासले टिभी हेर्न थाल्यो । बीचबीचमा ताली पनि बजायो, धनकुमारले । उसको राजनेताले भने, ‘तपाईंहरू जीवन रोज्ने कि स्वतन्त्रता ? एउटा मात्रै रोज्नुपर्नेछ,’ त्यसो किन भने उसले बुझेन, राजनेताप्रति धनकुमारको पूर्ण विश्वास थियो, राम्रो भनेको होला भनेर उसले ताली बजायो । अनि प्रधानमन्त्रीले १४ वर्ष जेल बसेको प्रसंग सुनाए । त्यसपछि त झन् उसलाई आफ्नो जीवन कहाँ कहाँ सजिलो र सुखी लाग्यो ।

 

तुलसीदेवी भोलिपल्टबाट साग बेच्न नजाने भई । धनकुमार भने पानी बोक्न गइरह्यो । पानी बिक्री पनि बिस्तारै कम हुन थाल्यो । पैसा कहिले पचास त कहिले पच्पन्न मात्रै हुन थाल्यो । उनीहरूको कोठामा चामल सकियो । दाउरा टिप्न निस्कँदा किन्न जान पनि भ्याएनन् । छरछिमेकका साथीहरू घर गइसके । पैँचो माग्ने ठाउँ पनि थिएन । तुलसीदेवीले भाडा तिरेर बाँकी भएको पाच सय रुपैयाँ धनकुमारलाई दिएर चामल किन्न पठाई । ऊ पसल खोज्न निस्कियो । रासन किन्ने पसल बन्द थिए । बरु केही औषधि पसल अझै खुला थिए । त्यहीवेला उसलाई मोटरसाइकलमा हुइँकिने पुलिसले डन्डा देखाउँदै घर पठायो । पसल बन्द गरी बसेका साहुलाई फोन गर्ने हिम्मत उसमा आएन । ऊ रित्तो हात कोठा फर्कियो । 

 

तर, कहिलेको चिउरा रहेछ । दुवैले बिहानबेलुकै चिउरा खाए । आफ्नी बुढीको निराश अनुहार देखेर उसले फकाउँदै भन्यो, अस्ति सुनिनस् राजनेताले भन्नुभएको अर्थले सरकारले मजदुरका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ ।


भोलिपल्ट साहुकोमा पुग्दा ऊ डकारेको डका-यै भयो । अनि ‘धने के भो ? कति डकार्छौ ?’ साहुले सोध्यो । ‘होइन । पेट पोल्ने रोग छ । हिजो चिउरा खाएर सुतियो ।’
अनि चामल छैन ? भात खाएनौ ?’


‘चामल सकियो । दिउँसो किन्न हिँडेको पसल बन्द ।’ ‘तिमीहरूजस्तालाई राहत दिन थालेको छ रे । त्यतै जाऊ,’ साहुले भन्यो । धनकुमार खबर सुनेर दंग प¥यो । ‘आफूलाई चाहिएकै वेला राजनेताले कति चाँडो समस्या बुझे ।’ ऊ वडातिर हिँड्यो ।

 

‘नाम लेखाएको छ ?’ वडामा कसैले सोध्यो । ‘छैन,’ धनकुमारले भन्यो । ‘अब अर्को हप्ता आउनु ।’ ऊ निराश भयो । पैसा पनि कमाइ हुँदैन एक हप्ता कसरी जोहो गर्नु ! घरबेटीले पनि सरकारको कुरा मानेनन् र महिना नबित्दै भाडा माग्न आइपुगे । उसले अलिकति चामल र दाल किनेर घर गयो । 

 

तर, कोठामा पुग्दा तुलसीदेवी बम्केर बसेकी थिई । कारण दाउरा लिन मनोहरा खोलातिर जाँदा पुलिसले दुई घन्टा उभ्याएर करुना के हो ? कहाँबाट आयो र कसरी सर्छ भनेर पढाएछ । ‘अब म दाउरा खोज्न सक्दिनँ,’ तुलसीदेवी बम्किई ‘आज त पकाम्ला भोलि के खानु ! काम नभएको मान्छेलाई ग्यास आयो भने पनि तिम्रो साहुले देलान् त !’

 

ऊ भने रेडियो सुन्न बस्यो । त्यहीवेला मोबाइलको घन्टी बज्यो, ‘घर जाने हो हिँडेर ?’ धनकुमारले उत्तर दियो, ‘होइन यतै बस्ने बाहिर ननिस्कनु भनेको छ सरकारले ।’ 

 

बाँच्न के गर्ने भनेर सोच्न नसकेकी तुलसीदेवी झटपट बोली, ‘जाम् घर । यहाँ बाँच्न सकिन्न, तिम्रो राजनेताको भर छैन ।’ धनकुमारले भन्यो, ‘घरभित्रै बस्नु भनेको छ त । केही दिन कुरम् । सरकारले हामीलाई खानेकुरा दिन्छ रे । नाम त लेखाएँ नि आज ।’ 

 

फोन राखेपछि श्रीमान्लाई घर जान मनाउन थाली तुलसीदेवी, ‘हेर बुढा, राजनेता प्रधानमन्त्रीले घरमा बस्नु भनेको हो, कोठामा होइन ।’ धनकुमारले त त्यता सोचकै थिएन । हो त राजनेताले त घरमा बस्न भनेका थिए, ऊ त कोठामा थियो । घर जानु त राजनेताकै आदेशको पालना गर्नु थियो । अनि उसले फोन लगायो र आफूहरू पनि जाने बतायो । भोेलिपल्ट साँझ काठमाडौंबाट निस्के उनीहरू । 

 

बाटोमा मानिसहरूको ताँती थियो । बच्चा बोकेका, झोला टाउकोमा हालेका । चाउचाउ खाँदै, बिस्कुट खाँदै, बाटोमै सुत्दै, सडकैसडक हिँडिरहे । बाटोमा हिँडिरहँदा अन्तिमपटक राजनेताले भनेको वाक्य पटक–पटक सम्झियो । जीवन रोज्ने कि स्वतन्त्रता ? दुई शब्दको भेद छुट्याउने कोसिस गर्दागर्दै एघारौँ दिनमा उनीहरू घर पुगे । अनि बुढी तैँले टेकिङ भनेको सुनेकी छस् ?’ उसले थाकेर बेहाल भएकी बुढीलाई सोध्यो, ‘त्यही गरेम् के हाम्ले । हेर यही गर्न अम्रिका युरोपबाट मान्छे आउँछन् । हामीले त यस्तो महामारीको वेला गर्न पायाैँ ।’

 

हिँडाइले पूरै शरीर पिलोजस्तो दुखेको थियो । उसलाई धनकुमारको कुराले कत्ति पनि राहत मिलेन । ऊ छोराछोरीलाई समेत नबोलाई पिँढीमा पल्टिई । मोबाइलमा ब्याट्री नभएर बाटोभर समाचार सुन्न नपाएको धनकुमारले हत्तपत्त रेडियो खोल्यो र समाचार लगायो । समाचार महत्वपूर्ण रहेछ । ‘हिजो राति सरकारले दल दर्तासम्बन्धी अध्यादेश ल्याएको छ । र, त्यसलाई राष्ट्रपतिले हस्ताक्षर गर्नुभएको छ ।’

 

धनकुमारले हत्तपत्त तुलसीदेवीलाई सुनायो, ‘देखिस् सरकारले अध्याय ल्याएछ । मजदुरी गर्नेबारेको नयाँ कार्यक्रम ल्यायो होला ।’ तुलसीदेवीको अनुहार एक्कासि उजेलियो । ऊ झटपट उठी र सोधी, ‘अनि त्यो कार्यक्रमले के गर्छ रे ?’


उसले त्यो विवरण त बुझेकै थिएन । ऊ फेरि रेडियो सुन्न केन्द्रित भयो । समाचारमा उसका राजनेताको दल दर्तासम्बन्धी भनाइ आयो, यो अध्यादेश दल फुट्न चाहनेका लागि सजिलो पार्न ल्याइएको हो ।’ यो सुनेपछि तुलसीदेवीले भनी, ‘हाम्रो त दल छैन नि है बुढा ?’ त्यसपछि उसले झ्याप्पै रेडियो बन्द ग-यो ।