• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सञ्जु साम्पाङ
२०७७ बैशाख २० शनिबार ०८:२८:००
सम्झना

परदेशी दाजुलाई बहिनीको चिठी

२०७७ बैशाख २० शनिबार ०८:२८:००
सञ्जु साम्पाङ

 

ध्वाँसोले कालै भइसकेको बाँसुरीले
नयाँ जीवन कहिले पाउने होला ? 

प्रिय दाजु   
सेवा, नमस्कार 


कोरोेनाको त्रासले आहत भएको मानसिक अवस्थाबाट तिमीलाई हरपल सम्झना छ दाजु ! रोग र भोकसँग संघर्ष गरिरहेको विरक्तलाग्दो परिवेशबाट ‘स्वास्थ्यको ख्याल राख है’ भन्ने निरन्तर आग्रह पनि छ तिमीलाई । 

 

विश्व थुर्थुर भइरहेको यस अवस्थामा त्यहाँ खाडीमा पनि तिमी त्यसरी नै उकुसमुकुसिएको होला । सरकारले लकडाउन घोषणा गरेपछि कम्पनीले पनि त काम बन्द गरेर मजदुरहरूलाई रुममै राखेको होला । घर फर्कने हो भने पनि तिमी शंकाकोे घेरामा पर्ने निश्चित छ यो वेला । 

 

दाजु, हेर आज आफ्नै हातसँग, साससँग त्रसित र सशंकित हुनुपर्ने कस्तो दिन आयो ? यस्तो दिन भोग्नुपर्ला भनेर हामीले सायदै सोचेका थियौँ होला । तिमीले कल्पेको हुनुपर्छ, परदेशी जीवनमा ड्युटीमा सिनियरको गाली खानुपर्ला । बिरानो ठाउँमा कहिलेकाहीँ भोकै पनि बस्नुपर्ला । तर, यति धेरै त्रासमा बाँच्नुपर्ला भनेर तिमीले सोचेकै थिएनौ होला, त्यसरी सोचेका थिएनौँ हामीले पनि । 

 

हामी स्वदेशमै निरीह बन्न बाध्य छौँ, तर कम्तीमा परिवार साथमा छ । तिमी विरानो ठाउँमा छौ । तिम्रो साथमा परिवार छैन । स्वदेशको पोल्टामा खुसी भर्न परदेश हिँडेको तिम्रो यहीवेला अथाह माया लागेर आउँछ । 

 

घरमा साना नानीहरू, गाता उप्किसकेको पुरानो कक्षाको किताबहरू, फित्ता चुँडिएको चप्पल, चुहिरहेको खोल्मा र सुँगुरखोर, मधुरो दृष्टि बोकेर मोतीबिन्दु पालिरहेकी बुढी आमा अनि बाछिटाबाट जोगिन हरदम प्रयासरत तिम्रो आफ्नै सुइलुते घर । सबैसबैले तिमीलाई सम्झिरहेको छ । अहो ! अनि तिम्री जहानको निधारमा उमेरमै बसेका ६÷७ वटा कङ्ल्याङकुङ्लुङ धर्साहरू, त्यही धर्सामा खुसी भर्न तिमीले तय गरेका थियौ यति लामो दूरी । 

 

कहिलेकाहीँ सोच्छु, साँच्चै के पो महँगियो संसारमा ? जन्म, शिक्षा, खानेकुरा, बिहे, सम्बन्ध, कपडा, संस्कार कि संस्कृति ? हो सबै नै महँगोे भयो । मान्छे जन्मिनुअगाडि नै खर्चहरूको लामो लस्कर लाग्छ । अनि आउँछ भरणपोषण, स्याहारसुसार र शिक्षाको गतिलो भारी । भारी त कहाँ शिक्षाको हो र ? शिक्षा किन्नलाई बगाउनुपर्ने पैसाको बिटाको पो हो त । अब दिमागभन्दा पहिला पैसा चाहिने भयो पढ्नलाई । अनि बाटोमा ‘रेमिटान्से’ भट्भटेले छोडिदिने कुइरीमण्डल धुँवा ! जसले हरदम बिल्ला गरिरहेझैँ लाग्छ । 

 

त्यो मोबाइलमा सपरिवार बसेर खिचेको एउटै फोटो छैन । बडेमानको टिभी त कोठामा छ, तर कुनै मनपर्ने कार्यक्रम हेर्न सबैजना सँगै बसेको सम्झना छैन । घरनजिकै भव्य स्कुल त छ, तर, तिमीले बगाएको पसिनाको थोपा पढाउने मास्टर छैन । विकास र समृद्धि भनेको के यही हो त दाजु ?

 

मान्छेहरू अचेल गाउँमा हिँड्नै छाडे । रातो नम्बर प्लेटवाला दुईपांग्रे र चारचक्के सबैतिर गुडेकै छ । गरिब झन् गरिब भएकै छ, धनी उकासिएकै छ । सायद यी सबै कारुणिक दृश्यले बाध्य बनाए तिमीलाई आफ्नो क्षितिजभन्दा पर अर्कै संसार खोज्न । 

 

प्रिय दाजु, तिमीलाई थाहै छ, आजभन्दा १०–१५ वर्षअगाडि समाजमा यस्तो चित्र थिएन । मेरो सेन्टअप जाँचको तयारी गर्दैगर्दा सुनसान रातमा तिमीले बजाएको बाँसुरीको धुनसँगै जागा बस्थेँ । भावविभोर बन्थेँ । साह्रो दामी सुखद पल थियो त्यो ! एकदम शान्ति ! अन्त, एकाबिहानै तिमीले बजाउने हार्माेनियमको मिठासमा मग्न भएर कुवाको जरुवा पानी गाग्रीमा भरी कम्मरमा बोकेर ल्याउनु, कति आनन्ददायक काम थियो त्यो । विनातनाव, विनाझन्झट !

 

त्यो समय मेरो गाउँ सबभन्दा सुन्दर लाग्थ्यो मलाई । जहाँ कुनै प्रतिस्पर्धा थिएन, ‘तँ साइकल चढिस्, म भट्भटे चढ्छु’ भन्ने अस्वस्थ बाजी थिएन, रिस थिएन, इबी थिएन । थियो त सादगीले भरिपूर्ण सरल जिन्दगी ! आहा ! कति सुमधर, सम्झना मात्र बाँकी छ अब दाजु । 

 

जब बर्खा लाग्थ्यो, आली ताछ्ने मेलोमा हुने हाम्रा गफहरू, धानको ब्याडमा कसले छिटो बिउ मुठा पार्ने प्रतिस्पर्धा, अनि उपन्यासका कहानीहरू कति अपनत्वले भरिभराउ थिए ती दिनहरू । 

 

हेर त समयको खोल सर्लक्कै बदलिएर कति चाँडै हाम्रो जिन्दगीले कोल्टे फेरेछ । न त तिम्रा छोराछोरीले पढ्ने वेलामा मैलेजस्तो बाँसुरीको धुन सुन्ने मौका पाए, न त हार्मोनियमको कर्णप्रिय आवाज नै । न पाए उनीहरूले बाबुको न्यानो अंकमाल, न पाए रौद्र रूपको दर्शन नै । उनीहरूका लागि बुबा भनेकै फेसबुक म्यासेन्जरको एप बनेको छ, जहाँ तिमी कामबाट लखतरान भएर आउँछौ वेलावेलामा । 

 

अनि विदेशबाट फर्केपछि पुसैँले भनेको पनि सम्झन्छु के म, ‘थेट् सुत्नु नपाउने ठाउँमा चैँ फर्केर पनि गइँदैन ल’ । अनि आफ्नो देशमा कसैसित, केहीसँग नडराउनेहरू पनि अर्काको देशमा चाहिँ अलार्मसँग खुबै डराउँछन् रे नि हो दाजु ? तिमीलाई पत्र लेखिरहँदा सबैको अनुहार पालैपालो मेरो आँखामा आइरहेको छ, जो विदेशमा अलार्मसँग रिसाउँदै र बोससँग मुर्मुरिँदै, बाध्यताको रस्सीमा कसिएर नुनिलो आँसु पिउन विवश छन् ।

 

धन्न रेमिट्यान्स, गर्नु ग-यौ नेपालको अर्थतन्त्र उकास्न । साँच्चै हो दाजु रेमिट्यान्स छ, र त गाउँमा छ सबैको हातमा ठूलाठूला मोबाइल । घरघरमा बडेमानको टिभी र टायल्सजडित आधुनिक पाइखाना । भान्साघर होइन, किचेन छ, खोल्सी होइन बाथरुम छ । धुँवा आउने दाउरे चुलो होइन, किचेनमा ग्यासको सिलिन्डर छ । अनि असंख्य निजी स्कुल छन् र छन् त्यहाँ पढ्ने रेमिट्यान्स पुस्ताका विद्यार्थी ।

 

त्यो मोबाइलमा सपरिवार बसेर खिचेको एउटै फोटो छैन । कोठामा बडेमानको टिभी त छ, तर कुनै मनपर्ने कार्यक्रम हेर्न सबैजना सँगै बसेको सम्झना छैन । बाहिरबाट हेर्दा चिटिक्क परेको किचेन त छ, तर भित्र हाँसो, खुसीसहितको पारिवारिक माहोल छैन । घरनजिकै भव्य स्कुल त छ, तर, तिमीले बगाएको पसिनाको थोपा पढाउने मास्टर छैन । विकास र समृद्धि भनेको के यही हो त दाजु ?

 

याद त आउँदो होला तिमीलाई पनि तिम्रो दुब्लो घरको, त्यसलाई खाइलाग्दो बनाउन पाए भन्ने मनमा लाग्दो हो, छोराछोरीको भविष्यको खातिर टन्नै पैसा जमाइदिउँ र उनीहरूलाई सुरक्षित जीवन दिउँ भन्ने लाग्दो हो । तर, के त्यहीँ बसेर मात्र यो सबै सम्भव होला र दाजु ? तिमी कतिन्जेल परदेशमा बसेर घरदेशको जिम्मा लिइरहने ?

 

आजसम्म काम गराउनेको इतिहासले पुस्तकका दोकानहरू भरिए । विश्वविद्यालयका पाठ्यक्रमहरू रंगिए । काम गर्नेहरूको इतिहास कहिलेबाट लेखिएला दाजु ? तिमीहरूको इतिहास लेखिएको दिन बल्ल थाहा पाउनेछ दुनियाँले, कसरी लाखौँ युवाले सास फेर्न बिर्सिएका थिए परदेशमा ! अरूको जीवन सपार्न आफ्नो बलबैँस कसरी सकाएका थिए विरानो माटोमा ! अनि यो इतिहास पनि कहाँ नयाँ हो र ? हाम्रा अनगिन्ती पुर्खाले त्यसरी नै सीमापारि जिन्दगी बिताए, बिसाए । आफ्नो रगत र पसिनाले अर्कोको जमिन ओभानो बनाए, कहिले ‘वीर गोर्खाली’ बनेर, कहिले ‘नेपाली बहादुर’ बनेर, कहिले रातो बाकसमा बन्द भएर । ओहो ! सबै सम्झेर ल्याउँदा त मन एक तमासले दुखिरहन्छ दाजु । 

 

अब एकपल्ट गहिराइमा पुगेर सम्झ ल, कोठेबारी र घु-यानलाई । सुपारीका बोटहरूमा लहरिएका मरिचका पातहरूलाई हेरेर जिन्दगीलाई उँभो हेर्न थाल । जुठेल्नामा उम्रिएर तरुनो भएर फल दिइरहेको गोलभेँडाका बिरुवालाई सम्झ । आँगनमा छरिएर घरको सौन्दर्यलाई उकासिरहेका अनेकौँ फूलहरूलाई सम्झ । बाँकी जीवन यतै बिताउन जसरी पनि घर आउनैपर्छ । कान्लाकान्ली र अम्रिसोबारीले पनि सायद तिम्रै नाम सुुसेल्दै होलान् । घरका बस्तुभाउले घरमूली मिस गरिरहेका होलान् । परदेशमा बगाएको पसिना आफ्नै घरमा बगाउँदा यो विरानिँदै गएको गाउँको मुहार कस्तो देखिएला ? 

प्रिय दाजु, 


म अब यही चाहना राख्छु कि, त्यो ध्वाँसोले कालै भइसकेको बाँसुरीका प्वालहरूले नयाँ जीवन पाउनेछन् । माकुराले जालो लगाइसकेको हार्मोनियमका कीहरूमा तिम्रा औँला नाच्न थाल्नेछन् । बर्खामा कुलो र मेलोको रमाइलो आवाज मिसिएर गाउँ फेरि सजीव हुनेछ । ब्याडेहरू खेतालाको हराभराले जीवन्त हुनेछन् । मंसिरमा धान काट्दा पाँजामाथि बसेर काँचो दाल खाने तिम्रो आदत फेरि देख्न पाइनेछ । 

उही तिम्रो बहिनी 
काँकडभिट्टा, झापा