२०६३ साल । असारे झरीमा निथ्रुक्क भिजेको छ, दार्जिलिङ सहर । सामान्य होटेलको सामान्य कोठामा वास छ । काठमाडौंबाट नेपालयको पलेटी–संगीतको निम्तो बोकेका संगीतकर्मी आभासका साथमा म छु । झन्डै हप्ता दिन बसाइ भयो होला, प्रायः दिन नबिराई ‘के छ, कसो छ ?’ भन्दै घरीघरी कोठामा आइरहनुहुन्छ– कर्म योञ्जन, कुमार सुब्बा । मणिकमलजीको त मुखैमा झुन्डिएको छ, ‘के गरौँ फुर्सदै हुन्न, तपाईंहरूसँग बात मार्न पनि ।’
चन्दन लमजेल, डेजी बराइली, दावा ग्याल्मो, पवन गोले, रिमला मोक्तान, इन्दिरा रसाइली, शंकर गुरुङ, वाङ्गेल लामाको हुलमा पेमा लामा भने आफ्नो स्कुले बेफुर्सदी फलाकिरहेका हुन्छन् । यही मण्डलीमाझ शान्ति ठटाल दिदी, वसन्त क्षेत्री, बद्रीदुर्गा खरेल, नगेन्द्र गोरखा र हिमालय दर्पण पत्रिकाका विमल राई पनि प्रायःजसो छुट्दैनन् । वास्तवमा यी सबै संगीतकर्मीहरूमा संगीतकार दिव्य खालिङलाई आशीर्वाद दिने कोही अग्रजहरू थिए, कोही बालसखा हितैषी, सहकर्मी र शिष्यसरहका भाइबहिनी पनि थिए । सबैको अनुहार, हृदयमा त्यसवेला दिव्यको मृत्युको आलो समवेदना थियो । दिव्यसँग गाँसिएको स्मृतिसँग गहिरो दुःख र पीडा थियो । सबैले आ–आफ्नै अनुभूति र पारामा दिव्यलाई सम्झिन्थे– कतिले उनका रचना र संगीत गाइदिएर वातावरणलाई भावुक र बोझिलो पनि बनाइदिन्थे ।
दिव्यको समवेदनासँग गाँसिएको त्यो झरीमय दार्जिलिङ छाडेको पनि आज वर्ष दिन नाघिसकेछ । हिजै जस्तो लाग्छ– देवेन्द्र भट्टराई र कुमार आलेले दिव्य सिकिस्त भएर ओछ्यान परेको सन्दर्भमा ‘प्रेयसीका यादहरू’ प्रकाशित गरेको ! दिव्यप्रति देखाइएको अगाध लगाव, माया र चिन्ता पत्रिकामा पढ्न पाएपछि नै नेपाली संगीतप्रति अनुराग राख्ने धेरैले थाहा पाएका थिए, उनको जीवन–मृत्युको दोसाँध घडीमा छ ! रेडियोबाट फाट्टफुट्ट गीतहरू बज्नुबाहेक दिव्य चासो र चर्चाको दृष्टिमा कुनै सुदूर टापुमा निर्वासित भएझै बनेका थिए ।
त्यसपछिका केही सातामा एकाएक यो पनि सुनेँ– सिकिस्त दिव्यले दार्जिलिङ (सिलिगुढी) तिरै फिर्न चाहे । झन्डै चार दशकअघि आफ्ना पूर्वजहरूको थलोकिलो र मौलो पहिल्याउ“दै नेपाल भित्रिएका सिर्जनशील युवक दिव्य आफ्नो यौवन बितेपछि, ऊर्जा छिनेपछि दीर्घरोगी शरीर लिएर किन र के कारणले उता गए त ? मजस्तै धेरै शुभचिन्तकको माझ यो प्रश्न जागिरह्यो । हुन सक्छ– जुन उत्साहका सुन्दर सपनाहरू बोकेर नेपाललाई आफ्नो ठानेर आएका थिए, सही अर्थमा उनले यो माटोलाई आफ्नो पाएनन् कि ? अथवा यसो भनौ“, लामो ओछ्यान परेका दिव्यले आफ्नो बा“की आयुको अन्तिम घडीलाई साक्षात्कार गरिसकेका थिए कि ? वा जुन आफ्नो देह छ, त्यसलाई आफू जन्मेकै माटोमा विसर्जन गर्न चाहेका थिए कि ?
यति हो, राजीखुसीले भने पक्कै होइन, गह्रँुगो मन–मुटु लिएर ती उता गएका थिए भनी लख काट्न सकिन्छ । भन्नुपर्दा, नागरिक हैसियतले दिव्य ‘नेपाली’ थिएनन् वा हुन सकेनन् । तर, दिव्य आफ्नो आत्मा, वचन र सुकर्मले भने सधैँ खाँटी नेपाली रहे । यसको सही प्रमाणका रूपमा दिव्यले आफ्नो जीवनकालमा नेपाल र नेपालीका लागि गरेको अमूल्य योगदानको सही दस्ताबेज ‘दिव्य संगीतकार दिव्य खालिङ’ स्मृतिग्रन्थ अघिल्लो साता मात्रै सार्वजनिक भएको छ । ग्रन्थका सम्पादक छन्, स्वयं दिव्यकै श्रीमती ग्रेसा खालिङ, प्रकाश सायमी र भुवन देवकोटा । एकता प्रकाशनद्वारा प्रकाशित तीन सय चालीस पृष्ठको स्मृतिग्रन्थमा वरिष्ठ–कनिष्ठ, स्वदेशी–विदेशी पाँच दर्जनभन्दा बढी स्रष्टाका रचना समेटिएका छन् । यो सुन्दर ग्रन्थमा मैले आफ्नो नाम राख्ने अवसर पाइनँ, तर आफ्नै कारणले । कहिले पूर्वी दसगजाको बासिन्दा बनेर, कहिले अरू कार्यव्यस्तताका आफ्नै कारणले ।
दिव्य खालिङ सन् १९५२ मार्च २८ तारिखका दिन दार्जिलिङ मिसन कम्पाउन्डको सानो घरमा जन्मिए । पिता स्यामसन र माता मार्थ खालिङका माइला छोरा दिव्य, सानैमा पोलियो रोगबाट थलिए । शारीरिक रूपमा केही कमजोर भए । तर, थिए साह्रै चञ्चल र चकचके । पिता स्यामसनले छोरालाई भुलाउन हार्मोनियम किनेर ल्याइदिए । त्यहीँ हार्मोनियम सुरमा भुल्न थाले, सारेगाम सिके, अनि संगीतप्रेमी काकाबाट थप हौसला पाए । संयुक्त परिवारमा जन्मे हुर्केका दिव्य १२ वर्षको उमेरमा नै दार्जिलिङ सन्त कोलोस्वस चर्चमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन थाले । र, किशोर उमेरमा नै गाउने, बजाउने, गीत लेख्न पनि पोख्त भएबापत आफन्तलगायत सबैबाट प्रशस्तै स्याबासी पाए दिव्यले ।
दिव्य खालिङले चौध वर्षको उमेरमा दशम कक्षा पास गरेर डाक्टर हुने सपना बोकेर साइन्स पढ्न थाले । तर, गीत र संगीतप्रतिको उनको अगाध लगावले साइन्स पढ्न छोडेर लागे संगीत सिर्जनातिर । १७–१८ वर्षमा नै उनी कुशल संगीतकार, गीतकार र गायकका रूपमा स्थापित भए । यही समयमा उनले थुप्रै राष्ट्रिय जागृति गीतदेखि प्रायः सबै प्रकारका गीत गायकगायिकाको मागअनुसार सिर्जना गरेर गाउन दिए । २१ वर्षको उमेर पुग्दा पढाइतर्फ स्नातक गरे अनि १९७३ मा पहिलोपल्ट अम्बर गुरुङ, गोपाल योञ्जनकै पाइला पछ्याएर पुख्र्यौैली देश नेपाल पसे ।
दिव्य नेपाल आएर सन् १९७३ देखि १९७६ सम्म जम्मा तीन वर्ष इसाई धर्ममा आस्था राख्नुको कारण दार्जिलिङदेखि उनको सम्पर्क चर्चसँगै थियो । त्यही सम्पर्क सूत्रले उनको सुरुमा काठमाडौं आएपछि इसाई धर्म गीत–संगीत सिर्जनामा लागिपरे । यही समय कालिम्पोङमा जन्मिएर काठमाडौंमा हुर्किएकी ग्रेसा सादेम्बास“ग दिव्यको परिचय हुन पुग्यो । जुन सम्बन्ध बिस्तारै प्रेममा झाँगिँदै गयो । दिव्य गोदावरी सेन्ट जेभियर्स स्कुलमा अंग्रेजी र संगीतको शिक्षक भएर काम गर्न थाले । इसाई धर्मसम्बन्धी रेडियो कार्यक्रममा पनि समय दिँदै यता ग्रेसासँगको प्रेम सम्बन्धलाई पनि निरन्तरता दिइरहे । दिव्य र ग्रेसाले जव दुवैजनाले घरजम गरेर बस्ने मनसाय गरे तब ग्रेसाका माइती र दिव्यको घरमा दुवैजनाको अभिभावकबाट असहमतिको स्थिति सिर्जना भयो । दिव्य घाइते हृदय बोकेर दार्जिलिङ फर्किए अनि आफ्नो घरमा बसेर माउन्ट हरमन स्कुलमा संगीत प्रशिक्षक भई काम गर्न थाले । ग्रेसाको अभाव छटपटिएको आफ्नो मुटु र मनस्थितिलाई सिर्जनामा लगाए । झन्डै अढाइ वर्षको समय दर्जनौ“ गीतहरू सिर्जना गरेर मनमनै संकल्प गरे– यी गीतहरू नेपालमा नै गएर रेकर्ड गर्छु र नेपाली संगीत पारखीलाई सुनाउ“छु । ती गीतमध्ये एउटा थियो–
प्रियसीका यादहरू कोरिएको मुटु
एकान्तमा आएर फुकाएर हेर ।
सन् १९७८ मा फिल्म निर्देशक प्रताप सुब्बाको नाटक ‘रातको प्रथम प्रहर’मा दिव्यको गीत र संगीत थियो । प्रविधि, प्रस्तुति र संगीतको सफल संयोजनले नाटक अत्यन्तै उत्कृष्ट र लोकप्रिय हुन पुग्यो । त्यही नाटक टोलीमा मिसिएर दिव्य फेरि सन् १९७९ को सुरुतिर पुनः काठमाडौं आए । पूरै काठमाडौंमा यो नाटकको निकै लोकप्रियता छायो । नाटकको ख्यातिस“गै दिव्यको संगीत सिर्जनाले पनि प्रशस्तै चर्चा पायो, यही चर्चाबीच नारायण गोपाल, दिनेश अधिकारी, कञ्चन पुडासैनी, क्षेत्रप्रताप अधिकारीजस्ता गायक र गीतकारसँग दिव्यको सम्बन्ध हुन पुग्यो । वास्तवमा यहीँबाट दिव्यको जीवनले नयाँ मोड लियो, जुन मोडमा फेरि फेला पारे दिव्यले झन्डै अढाइ वर्षअगाडि काठमाडौंमा नै छाडेकी आफ्नी प्रेयसी ग्रेसा सादेम्बालाई । यी दुईबीचको आत्मिक प्रेम सम्बन्धका अगाडि सबै कुरा तपसिलमा गए, पुराना कुराहरू बिर्सिएर अनि घरपरिवारले सम्झौता गरे, दिव्य र ग्रेसालाई चर्चमा लगेर वैवाहिक बन्धनमा बाँधिदिए । यही खुसियालीमा दिव्यले उत्साहित भएर गीत लेखे संगीत गरे–
मायाको आधारमा सम्झौता नै हुन्छ
दिन पर्ने जे छ
लिनुपर्ने जे छ
त्यो बराबर हुन्छ ... ।
सन् १९७९ या भनौँ २०३५÷३६ सालतिर मैले यस्ता सचेत गीतकार, संगीतकार र गायक दिव्य खालिङको नाम सुनेको थिएँ । तर, उनको सांगीतिक जीवनबारे मलाई त्यति गहिरो जानकारी थिएन । जब मैले सेन्ट जेभियर्स स्कुलमा संगीत शिक्षक भएर काम गर्ने मौका पाएँ, त्यसपछि मात्र मैले दिव्यका कर्णप्रिय सांगीतिक सिर्जनाहरू सुन्ने अवसर पाएँ । तर, धार्मिक आस्थाका मामिलामा दिव्य इसाई हुन् भन्ने थाहा पाउँदा (धार्मिक कट्टरता र अन्धभक्त आफू नभए पनि) मेरो परम्परावादी संकुचित मन अलिकति खिन्न भयो ।
वरिष्ठ संगीतकार अम्बर गुरुङका होनाहार शिष्यमध्ये एक ‘दिव्य’ नै थिए, दिव्य खालिङ । हामी दुईबीच व्यक्तिगत रूपमा खासै घनिष्टता थिएन, तर पनि सांगीतिक नाताले हामीबीच आत्मीयता भने पक्कै थियो । मैले एक दिन रेडियो नेपालको आँगनमा दिव्यलाई इसाई हुनुपर्ने कारण सोधेँ ।
इसाई धर्म प्रतिबन्धित रहेको त्यो अवस्थामा दिव्यले निर्भयका साथ सहजै जवाफ दिए, ‘मेरो बाजे–बज्यै इसाई, मेरो आमा–बाबु इसाई । म धर्म परिवर्तन गरेर इसाई नभई जातिमा खालिङ–राई भनेझैँ धार्मिक आस्थामा म जन्मजातै इसाई हुँ ।’
दिव्यको यो स्पष्टीकरण मलाई मन पर्यो । वास्तवमा दिव्य मानवीय समवेदना भएका भावुक सिर्जनाकार थिए । त्यसैले दिव्यले कसैको अज्ञानता र अशिक्षालाई आधार बनाएर धर्म परिवर्तन गरेको मैले थाहा पाइनँ । पछि, मैले फेरि कतै सुनेँ, ‘इसाई भएकै कारणले दिव्यले नेपाली नागरिकताबाट वञ्चित हुनुपर्यो ।’ त्यो भनाइप्रति सुरुमा म त्यति आश्वस्त रहिन“ किनभने धेरै इसाईले यहाँ नजन्मे पनि नागरिकता पाएका छन् । दिव्य मात्र अपवाद हुनु सायद नियतिको खेल हो कि ? कुनै प्रलोभन, स्वार्थ र चाटुकारिताविना नागरिक बन्न आउनेका लागि भने यत्रो ‘प्रपञ्च’ ? जब कि यहाँ अरूहरू क–कसले, कसरी, कुन हैसियतमा नागरिकता लिइरहेका छन् भन्ने घामजत्तिकै छर्लंग छ ।
तैपनि नेपाली गीत–संगीत–साहित्यकला सिर्जना भन्दै मरिमेट्ने ‘अनागरिक दिव्य’ हरूको सूची यहाँ निकै लामो छ । यिनको हारगुहारको सुनुवाइ कतै भएको छैन, न त कतै तिनको उजुरी नै दर्ता भएको छ । दिव्यजस्तै रनजित गजमेर, तुलसी घिमिरे, प्रताव सुब्बा, बन्नी प्रधान, श्रवण घिमिरे, निरुता सिंह, तृप्तिजस्ता कलाकर्मीलाई विशेष प्रावधानसहित इज्जतका साथ देशले आफ्नो नागरिक बनाउन सक्नुपर्छ । यिनलाई नागरिकता दिँदैमा देशमा कुनै प्रलय भइहाल्ला भन्ने लाग्दैन । नेपाली संगीतमा गीत, संगीत, स्वरको त्रिवेणी–चिनारी राख्ने थोरै सिर्जनाकर्मीमा पर्छन्– दिव्य खालिङ । उनको सिर्जनाहरूमा मेचीपारिका सुवास छँदाछँदै पनि अरूभन्दा पृथक् । विशेषतः समकालीनभन्दा मौलिक र नयाँ पुस्ताका लागि पनि स्वीकार्य र कर्णप्रिय विशेषता हुनुले दिव्यका सिर्जनालाई अझ दिव्य बनाएको छ ।
इसाई धर्म प्रतिबन्धित रहेको त्यो अवस्थामा दिव्यले निर्भयका साथ सहजै जवाफ दिए, ‘मेरो बाजे–बज्यै इसाई, मेरो आमा–बाबु इसाई । म धर्म परिवर्तन गरेर इसाई नभई जातिमा खालिङ–राई भनेझैँ धार्मिक आस्थामा म जन्मजातै इसाई हुँ ।’
प्रसंग म २०३८ साल (सन् १९८०) मंसिरमा श्री रत्न रेकर्डिङ संस्थानको महाप्रबन्धकमा नियुक्त भएँ । उमेर थियो, केही न केही गरौँ भन्ने सोच थियो मनमा । त्यहीअनुरूप २०३९ सालतिर संस्थानले प्रकाशन गरेको हालसम्मको डिक्स रेकर्डहरूमध्ये सबैभन्दा बढी जसको डिक्स बिक्री हुन्छ उसैलाई नगद पुरस्कारसहित आठ गीत भएको एउटा सिंगो प्ले रेकर्ड गर्न दिने निर्णय गर्यो । भण्डार र बिक्रीको अभिलेख दाँज्न लगाउँदा लोकगीततर्फ कुमार बस्नेत र आधुनिकतर्फ नारायण गोपाल पुरस्कृत हुन पुगे । जसको पुरस्कार रकम थियो रु. १५०० ।– मात्र प्रमाणपत्रसहित । त्यो समय नारायण गोपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक थिए, हामी दुवै महाप्रबन्धकको मासिक तलब थियो रु. १३५० ।–
नारायण गोपाल महाप्रबन्धक भएपछि संस्थानमा आफैँले गरेको केही अशोभनीय निर्णयले पनि विवादमा परेका थिए र मीतज्यू गोपाल योञ्जनसँग पनि त्यति सहज अवस्था थिएन । गीतकार रत्नशमशेरसँग पहिल्यै सम्बन्ध टुटिसकेको थियो । उनले विकल्पका रूपमा अम्बर गुरुङ र नातिकाजीसँग सहकार्य गरेर केही गीतहरू गाए । तर, उनको स्वभावले यो सम्बन्ध त्यति लामो गएन । टुट्यो र यसरी पुराना एकसेएक गीतकार–संगीतकारको संगत छुटेपछि नारायण गोपाल एक्लै थिए, तर रत्न रेकर्डिङ संस्थानले दिएको आठवटा गीत रेकर्ड गर्न उनलाई राम्रा शब्द र संगीत अति आवश्यक थियो । यही अवस्थामा दिव्य खालिङसँग नारायण गोपालका सम्बन्ध सांगीतिक रूपमा सहकार्य गर्ने अवसर जु-यो । यस्ता उत्कृष्ट गीत नारायण गोपालका स्वरमा डिक्स रेकर्ड हुन पुग्यो–
–मायाको आधारमा सम्झौता नै हुन्छ
दिनुपर्ने जे लिनुपर्ने हुन्छ
त्यो बराबर हुन्छ ...
–प्रियसी यादहरू कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेर
–सधैँ नै म हाँसे तिमीलाई रुवाई
आज सारा खुसी म दिन तयार छु
–विपना नभई बाँधी दिने मभित्रको मेरो सपना
म मरे पनि रहिरहने मेरा प्यारा प्यारा सपना
यी ४ गीत दिव्य खालिङकै रचना–संगीत थिए । अरू दुई गीतमा दिव्य खालिङको संगीत थियो–
–तिमीलाई भुल्दा म एक्लो परेँ
शब्द : कञ्चन पुडासैनी
–म त लालीगुराँस भएछु
वनभरि फुलिदिन्छु
शब्द : क्षेत्रप्रताप अधिकारी
दिव्य खालिङको संगीतपछि बाँकी दुई गीतमा शम्भुजीत बाँस्कोटाका दुवै संगीत र नीर शाहको शब्द– ‘पर्खिबसेँ आउँला भनी मेरो उठ्ने पालो’ र डा. विश्वम्भर प्याकुरेलका– ‘तिमीले भनेका सारा देव छोएर, किरिया खान कहाँ सक्छु र ?’ भन्ने जस्ता कर्णप्रिय गीत र संगीत पनि समावेश थिए ।
२० को दशकदेखि नै गायकका रूपमा चर्चामा आएका नारायण गोपाललाई दिव्य खालिङको शब्द र संगीतले गायकको फेरि अर्को उचाइमा पु-यायो जुन उचाइले गर्दा फ्यानहरू स्वरसम्राट्को पगरी गुथाउन पनि पछि परेनन् । सुनेको थिएँ– उनलाई यो पगरी त्यति मन परेको थिएन ।
यिनै गीत र संगीतले गर्दा अम्बर गुरुङ, कर्म–गोपाल योञ्जन, नाति–शिवशंकर, बच्चुकैलाश, शरण रञ्जित र जितेन्द्र बर्देवाकै हाराहारीमा दिव्य खालिङलाई उभिन सक्ने बनायो ।दिव्यले फुटकर गीत मात्र लेखेर वा संगीत भरेर चित्त बुझाएनन् । थुप्रै नाटक, गीति नाटक, अपेरा र फिल्ममा पनि संगीत दिएर आफ्नो प्रतिभा प्रमाणित गरेका छन् । मैले अन्तिमपटक दिव्यलाई शम्भु राईको श्रद्धा रेकर्डिङ स्टुडियोमा भेटेको सम्झना छ । उनी त्यो समय कुनै अनाम फिल्मका लागि कथाको खोजी र चलनचल्ती दोहोरी गीतको चक्करमा व्यावसायिक हुन खोज्दै हार्मोनियम पिट्दै थिए । मलाई लाग्छ– दिव्यका मौलिक शैलीसँग पटक्कै मेल नखाने उनको पछिल्लो अवधिका सिर्जनाबारे मैले असन्तुष्टि व्यक्त गर्दा उनले ‘आफ्ना मित्रमण्डलीका आग्रहमा बाँधिनुपरेको’ सत्यलाई स्विकारेका थिए ।
२००७ सालको जनक्रान्तिमा काँधमा बन्दुक बोकेर प्रवासबाट नेपाल भित्रिएका हजारौँ शिक्षित नेपाली युवामाझ एक अग्रजको सुनाम हो– दान खालिङ । दान एक साहित्यकार थिए, शिक्षाविद् थिए । तिनै दान खालिङका सहोदर भतिजा थिए दिव्य खालिङ । यी दुई काका–भतिजको जीवनमा दुःखपूर्ण संयोग र काकतालीहरू जुटेका छन् । दुवै नेपाललाई आफ्नो सम्झेर दसगजापारिबाट यता आए, जीवनको अन्तिम घडीमा दुवै उतै फर्किए । आजीवन अविवाहित, प्रजातन्त्रका योद्धा, सामाजिक चेतनाका संवाहक, ८० वर्षको उकालीमा हिँड्न लागेका श्रद्धेय दान खालिङ आजभोलि महानगरी सिलिगुढीको कुनै एकान्तवासमा छन् भन्नुपर्दा नमीठो लाग्छ ।
नेपालबाट भेट्न जोसुकै पुगून्, कसैसँग गुनासो हुँदैन दान खालिङको । बरु एउटा आग्रह भने सधैँ हुने गर्छ, ‘मेरो मृत्यु जहाँ होस्, कृपया मलाई मेची नदीको बीचमा लगेर जलाउनुहोला । ता कि मेरो चिताको खरानी र धुवाँ मेरो जन्मथलो दार्जिलिङ र मेरो कर्मथलो नेपालको आकाशमा बाँडिँदै छरियोस् ।’ त्यस्ता आदर्शवादी नेपाल र नेपालीलाई अत्यन्तै माया गर्ने दान खालिङका भतिजा दिव्य खालिङ आज हाम्रा सामु छैनन् । तर, उनको अमर सिर्जनाहरू सम्पूर्ण नेपाल र नेपालीलाई नासोका रूपमा या भनौँ सम्पत्तिका रूपमा छाडेर गएका छन् । भोलि दिव्यको परिचय पक्का नेपालीमा दरिनेछ, यसमा कुनै शंका छैन । तर, दुःखको कुरा नेपाली नागरिकताको प्रमाणपत्रमा भने सधैँ रहनेछन् ‘अनागरिक दिव्य’ ।