• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजेन्द्रप्रसाद अधिकारी
२०७७ बैशाख २७ शनिबार ०७:३४:००
साहित्य

सामन्त र सकुनीको पासा

२०७७ बैशाख २७ शनिबार ०७:३४:००
राजेन्द्रप्रसाद अधिकारी


(१)
कुनै यस्तो देश छ
जहाँ सरकार छ 
सरकार चलाउने पार्टी छ
पार्टीभित्र शीर्ष सामन्त, र
सरकार चलाउने सकुनीहरू छन् ।

 

(२)
देशभर विदुरहरू 
विचारसहित छटपटिएका छन्
सकुनी पासा बोकेर 
सामन्तलाई जुवाको दाउमा लगाइरहेको छ
सत्ता र सामन्तको अगाडि
टिक्दैनन् विदुर र विचारहरू
टिक्छन् केवल सकुनी र पासाहरू ।

 

(३)
जलोस् 
देश जलेर 
फरक पर्दैन सामन्तलाई
ऊ जुवा खेलेरै काल जित्ने परिकल्पनामा मस्त हुन्छ
सकुनी र पासाको अगाडि
सामन्त
खरानीलाई नै सम्पत्ति देख्छ, र 
आल्हादित भइरहेको हुन्छ ।

 

(४)
सामन्त
मात्र जीवन देख्छ
मृत्युको आभाष समेत हुँदैन उसलाई
सत्ता र शक्तिको मातमा
विजय मात्र देख्छ
हारको अन्दाजसम्म हुँदैन उसलाई
सकुनीले ओछ्याएको थर्की र 
थर्कीमाथि फालिएको पासामा
विदुरहरू कहिल्यै जित देख्दैनन्
त्यसैले सकुनी र सामन्तसँग
विदुर र विज्ञानलाई मिलाउनै सकिँदैन ।

 

(५)
दियोको बत्तीसँग पुतली झुम्मिएझैँ
सामन्त
पासामै झुम्मिरहन्छ
अमूल्य जीवन र
ऐतिहासिक क्षणको 
बोध गर्न पनि ऊ सकिरहेको हुँदैन 
मात्र सकुनीको आँखामा
आफ्नो अस्तित्वको ऐना हेर्छ
गमक्क फुल्छ, र
पासासँगै 
सामन्त
आफ्नो अमूल्य समयलाई
थर्कीमा निरर्थक 
बारम्बार फालिरहन्छ, र
निरन्तर हारिरहन्छ