• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
राजेश विद्रोही
२०७७ बैशाख ३१ बुधबार ११:१३:००
समाज

पुरनीदेवी भन्छिन्– छिमेकीले पनि सापटी दिन छोड्यो

२०७७ बैशाख ३१ बुधबार ११:१३:००
राजेश विद्रोही

 

निभेको चुलोमाथि थाल । थालमाथि बासी भात । बासी भातमाथि प्याज, हरियो खुर्सानी र नुन । छेउमा लम्पसार छ पुरानो विस्तरा । बालबालिका कोही नाग्नैभुतुंगै भुइँमा खेलिरहेका छन्, कोही आमा आउने बाटो हेरिरहेका छन् । यो दृश्य हो, सप्तरी खड्क नगरपालिका–३ गरुराहाकी २८ वर्षीया पुरनीदेवी रामको घरको l 

 

दैनिक अरूको घरमा काम गरेर जीविका चलाउँदै आएकी पुरनीदेवीलाई लकडाउनले निकै सास्ती थपिदिएको छ । अहिले पुरनीदेवीकोे चुलोमा आगो बलेको छैन । उनी भन्छिन्, ‘झगौ, के देतौ ओहिना खाइले । आबतें परोसियो नै दै छौ सापटी । कोना चलेबै गुजरा बन्दीमें । कोना पालबै बालबच्चा । दिमाग नै काम करैछै । (काम नगरी खान त्यसै कसैले दिन्छ र । अब त छिमेकीले पनि सरसापटी दिन छोड्यो । कसरी चलाउनु गुजारा । कसरी पाल्नु बालबच्चा । दिमागले काम गर्दैन ।)


पुरनीदेवी सानै छँदा उनका बुबा र आमा बिते । उनका दाइ–भाइ छैनन् । तीन बहिनीको परिवार छ, उनको । जग्गाजमिन छैन । पुस्तौँदेखि आमाबुबा बसेको १० धुर ऐलानी जमिनमा चलेको छ गुजारा । तीनै बहिनी सानै थिए । आमाबुवा बितेपछि उनीहरु टुहुरा भए। 

 

दुई बहिनीका अविभावक थिइन्, पुरनीदेवीकी जेठी दिदी । उनको बिहे भएपछि बहिनीको जिम्मा पुरनीदेवीको काँधमा आयो । फुसको झुपडीमा पुरनीदेवी जुरमी बस्न थालिन् । गाउँसमाजले पुरनीदेवीको पनि बिहे गरिदिए । अब कान्छी बहिनी एक्लै घरमा भइन् । त्यसपछि बहिनीलाई रेखदेख गर्न र पुरनीदेवी माइतीमै बसिन् ।

मैथिलीमा एउटा भनाइ छ, ‘कलालके बेटा भुखे मरै त कहै दारुए पिके मातल छै ।’ अर्थात्, कलालको छोरा भोकले छटपटाउँदा रक्सीले मातेको भन्छन् । यतिवेला सरकारले सीमान्त मानिसलाई यस्तै व्यवहार गरिरहेको छ। 

 

बुबाको मृत्यु भएपछि परिवार चलाउन जेठी घुरनी र माइली पुरनी गाईभैँसी चराउन छुट्टाछुट्टै जमिनदारको घरमा बसिन् । पुरनी भन्छिन्, ‘एक वर्ष गाउँकै मसिलाल चौधरीको घरमा काम गरेर आमालाई पालेँ । जेठी दिदी कंचिरा गाउँमा नोकरी बसिन् ।’ दुई बहिनीको कमाइले परिवार चलिरहेको थियो । केही वर्षअघि आमाको मृत्यु भयो । पुरनी भन्छिन्, ‘त्यसपछि हामी टुहुरा भयौँ । जिम्मेवार मान्छे परिवारमा कोही रहेनन्।’ 

 

अहिले माइतीघरमै बसेर गुजारा चलाएकी छिन्, पुरनीले । कान्छी बहिनी जुरमीको विवाह गर्ने जिम्मेवारी पनि पुरनीकै काँधमा छ । जुरमीलाई आमाको धेरै सम्झना छैन । उनी पुरनीलाई नै आमा ठान्छिन् । जुरमीको विवाह गर्ने उमेर पुगिसकेको छ । उसको विवाह कसरी गर्ने पुरनी चिन्तामा छिन्।  

 

अभिभावकविहीन पुरनीले भुतही गाउँको एक गरिब केटोसँग सामान्य तरिकाले विवाह गरिन् । पुरनीलाई समाजले नै मागी विवाह गरिदिएको हो । पुरनीको विवाहको पनि १५-१६ वर्ष बितिसकेको छ । श्रीमान् श्यामकुमार राम पनि ज्यालादारी नै गर्छन् । पुरनीको केही वर्षको फरकमा लहरै ३ छोरी र २ छोरा छन्। 
 

०००

पुरनीका ५ छोराछोरी उनको बाटो हेरिरहेका थिए । एकछिनमा पुरनी घर आइपुगिन् । उनको हातमा थियो, गाउँबाट मागेर ल्याएको गहुँको पिठो । सबैको नजर उसको हातको पोकामा थियो । पुरनीले हतारहतार पिठो मुछिन् । चुलोमा आगो बालिन् । चुलोवरिपरि पाँचैजना बच्चा बसे । उनीहरू आमाले रोटी पकाएको टुलुटुलु हेरिरहेका थिए।

 

लकडाउनको महिना दिन भइसक्यो । ज्यालादारीमा काम गर्ने मजदुरहरूलाई जीवन बाँच्न कठिन भइसकेको छ । पुरनीजस्तालाई गाउँमा उसै त जीवन बाँच्न गाह्रो थियो, त्यसमाथि लकडाउन थपियो । 

 

सरकारले ज्यालादारीमा जीवन बाँच्ने मजदुर तथा दलित विपन्न परिवारलाई राहत बाँड्ने निर्णय गरेको छ । निजी संघसंस्थालगायतलाई गाउँ पसेर राहत नबाँड्न सरकारी उर्दी छ । राहत दिनेहरूलाई सरकारको राहत कोषमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको छ । तर, लकडाउनको महिना दिन बितिसक्दा पनि सरकारको राहत विपन्न परिवारले अहिलेसम्म पाएका छैनन् । 

 

पुरनीदेवीको गाउँका अधिकांश मानिस ज्यालामजदुरी गर्छन् । त्यो गाउँमा ६ सयको हाराहारीमा दलित तथा विपन्न परिवार बस्छन् । थोरै परिवारले खाडी मुलुकबाट आएको पैसाले इँटाले घर बनाएका छन् । थोरै परिवार गाउँकै जमिनदारको सस्तो जमिन महँगोमा किनेर जमिनवाला पनि बनेका छन् । केहीले जस्ताको घर खड्याए । तर अधिकांशको बाँच्ने आधार हो, दैनिक ज्यालादारी । 

 

मैथिलीमा एउटा भनाइ छ, ‘कलालके बेटा भुखे मरै त कहै दारुए पिके मातल छै ।’ अर्थात्, कलालको छोरा भोकले छट्पटाउँदा रक्सीले मातेको भन्छन् । यतिवेला सरकारले सीमान्त मानिसहरूलाई यस्तै व्यवहार गरिरहेको छ ।