• वि.सं २०७७ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2020
श्याम साह
२०७७ जेठ ३ शनिबार ०९:४६:००
फिल्म

नेटफ्लिक्सपछि सिनेमाको बजार

२०७७ जेठ ३ शनिबार ०९:४६:००
श्याम साह

 

इतिहासको व्याख्या गर्ने क्रममा ‘मोड अफ प्रोडक्सन’लाई केन्द्रमा राखेर गरिने व्याख्या माक्र्सवादी व्याख्या हो । जसले मूलतः वस्तु उत्पादनको प्रमुख स्रोत रहेको श्रम तथा त्यसको शोषणमा आधारित नाफा र नाफा उत्पादनको संरचनाको भौतिकवादी व्याख्या गर्छ । जसलाई सजिलो भाषामा भन्दा पूँजीपति वर्गले मजदुरलाई न्यूनतम ज्याला मात्र प्रदान गरी वस्तुको मूल्यबाट आफ्नो नाफा आर्जन गरेका हुन्छन् । जसलाई माक्र्सले अतिरिक्त मूल्यको नाम दिएका थिए ।

 

त्यसैको आधारमा पुँजीमाथि पुँजीपति वर्गको कब्जा र सर्वहारा वर्गको शोषण हुने आधार निर्माण गर्दछ । जसलाई पछि नवमाक्र्सवादीहरूले ‘मोड अफ प्रोडक्सन’ले मात्र पुँजीवादी समाज व्यवस्थाको विश्लेषण गर्न नसक्ने र त्यसलाई थप ‘मोड अफ एक्सचेन्ज’को आधारमा व्याख्या गर्ने गरेको पाइन्छ । उत्पादन प्रणाली जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण बजार प्रणाली पनि हो । जसले मूलतः पुँजीको लगानी, नाफा र पुँजीको विस्तारजस्ता पुँजीको आधारभूत चरित्रलाई थप व्याख्या गरेका छन् । यिनै मूल चरित्रको आधारमा वस्तुको उत्पादन मात्र नभई वस्तुको वितरणसमेत यस व्यवस्थाको मूल केन्द्र हो भन्ने मान्यता अगाडि बढाएको पाइन्छ । 

 

कोरोनाका कारण विश्व अर्थतन्त्र डामाडोल भइरहँदा ‘नेटफ्लिक्स’को बजार भने ठीक उल्टो छ । बिबिसीका अनुसार कोरोनाको कहरबीच तीन महिनामा एक करोड पचास लाख थप दर्शक नेटफ्लिक्ससँग जोडिए । 


सिनेमाको उत्पादन र वितरणलाई माथि उल्लेखित यिनै ‘मोड अफ एक्सेन्ज’का आधारमा व्याख्या गरियो भने कसरी सिनेमाको बजार प्रणालीमै भएको अन्तरसंघर्ष तथा समस्याले नयाँ बजार प्रणालीको खोजी र यसै प्रक्रियाअन्तर्गत ‘नेटफ्लिक्स’, ‘एमेजन प्राइम’, ‘डिजनी हटस्टार’ तथा ‘बुट’जस्ता सिनेमाका वैकल्पिक बजार विधिहरूको जन्म भएको थाहा पाउन सकिन्छ ।

 

सिंगल थिएटरबाट मल्टिप्लेक्ससम्मको यात्रामा त्यहाँ पनि थुप्रै परिवर्तन भएका छन् । सुरुमा सिनेमा हिट वा फ्लप हलमा कति दिन चल्यो भन्नेमा मापन हुन्थ्यो । त्यसैका आधारमा व्यापार पनि हुन्थ्यो । प्रतिस्पर्धा पनि रिलिज भएका सिनेमाका बीच हुन्थे । मल्टिप्लेक्सको आगमनपछि कति दिन चलेभन्दा पनि सीधै व्यापार कति भयो भन्ने कुराले असर गर्न थाले । त्यसमा कुन फिल्मले कति सो पाउने तथा कहिलेसम्म चल्ने भन्ने कुराले असर गर्थ्याे । नेटफ्लिक्सभन्दा अगाडि मूलतः सिनेमाको बजार संरचना यही नै हो । यद्यपि सिडी, डिभिडी, टेलिभिजनमा रिलिज हुने र युट्युबजस्ता माध्यम देखिए पनि बजारको चरित्र नै परिवर्तन गर्ने सामर्थ्य बनिसकेको थिएन । 

 

सिनेबजार प्रणालीका अन्तरविरोध


कुनै पनि संरचनाका आफ्नै सीमितताहरू हुन्छन् । जसले गर्दा त्यहीँभित्र अन्तरविरोधहरू सिर्जना हुने गर्छ । जसले नयाँ विकल्पको खोजी गर्छ । यदि त्यसो हुन नसकेमा त्यो संरचनाको अन्त्य हुन सक्छ र नयाँ संरचनाले जन्म लिन्छ । मूलतः कुनै पनि परिवर्तनको संरचनावादी नियम यही हो । माथि उल्लेखित सिनेमाको उत्पादन र वितरणभित्र थुप्रै प्रकारका अन्तरविरोध थिए । जसको पहिलो अन्तरविरोध थियो, उत्पादनमा असीमितता र वितरणमा सीमितता ।

 

सुरुसुरुमा थोरै मात्र फिल्म बन्थे । जसले गर्दा वितरणमा समस्या थिएन । ग्ल्यामरको उद्योग भएकाले उत्पादन धेरै हुन थाल्यो, तर वितरणको माध्यम मूलतः त्यही सिंगल थिएटर हल थिए । जसले गर्दा निश्चित पुँजीपतिहरूले मात्र त्यस बजारलाई कब्जामा लिए । उनीहरूले नै पालैपालो त्यसलाई प्रयोग गरेर बजारमाथि कब्जा जमाए । ठूलाठूला निर्माता तथा स्टारहरूका फिल्म निश्चित पर्व र समयमा रिलिज हुनु अरू कुनै कारण नभएर यही बजार व्यवस्थामाथिको कब्जा थियो । जसले गर्दा वैकल्पिक धारकासहित अन्य सिनेमाले बजार नै पाउन सकेनन् ।

 

समीक्षकको नजरमा एउटा फिल्म राम्रो हुने, तर हलमा गएर हेर्नसमेत नपाउने अवस्था सिर्जना भयो । भारतीय अभिनेता इरफान खानले राष्ट्रिय फिल्म फेयर पुरस्कार पाएको ‘पानसिंह तोमार’ तीन वर्षसम्म रिलिज नै भएन । भारतमा एक वर्षमा हजारभन्दा बढी फिल्म बन्छन् । कतिपय फिल्मले ‘पानसिंह तोमार’को जस्तै अवस्था भोग्नुपर्छ । यसो हुनु भनेको उपभोक्ता आफ्नो रुचिबाट वञ्चित हुनु पनि हो । 

 

प्रत्येक हप्ता नेपालका हलहरूमा नेपाली, हिन्दी र अंग्रजी फिल्म रिलिज हुन्छन् । झट्ट हेर्दा फिल्म छान्ने स्वतन्त्रता दिएजस्तो देखिन्छ, तर हामी त्यही फिल्म हेर्न बाध्य हुन्छौँ जुन सिनेमा हलमा देखाइएको हुन्छ । 

 

सेन्सर यसको अर्को अन्तरविरोध हो । ‘मोड अफ एक्सचेन्ज’अन्तर्गत विश्व व्यवस्थामा संसार आफैँ पुँजीवादी व्यवस्थाको साझा बजार हो । स्रोत, श्रम तथा उत्पादन कुनै पनि देशको निजी हुँदैन, विश्व बजारमार्फत संसारभर फैलिन्छ । त्यसरी नै कुनै एक देशमा निर्माण भएको फिल्म त्यही देशको दायरामा सीमित रहँदैन । हलिउडदेखि बलिउडसम्मका सिनेमा नेपालमा रिलिज हुनुको कारण त्यही हो ।

 

भाषा नबुझे पनि सबटाइटल हेरेर चाइनिज, जापानिज, कोरियन तथा इरानी फिल्महरूको दर्शक बढ्नुको कारण यही हो । तर, प्रत्येक देशले त्यस फिल्मलाई आफ्नो समाजअनुकूल बाँध्न खोज्छन् । संस्थागत नियम र प्रणालीमार्फत त्यसलाई नियन्त्रण गर्न खोज्छन् । नियन्त्रणका माध्यम हलहरू नै हुन् । नेपालमा चलचित्र विकास बोर्डले गर्ने त्यही हो । चलचित्र आफैँमा एउटा बृहत् साहित्य हो, त्यसैले यसमा हुने सेन्सरको विरुद्धमा संसारभर कुनै न कुनै रूपले आवाज उठ्ने गरेको पाइन्छ । नेपालमै समेत ‘दासढुंगा,’ ‘वधशाला’जस्ता चलचित्रले लामो समयसम्म झन्झट खेप्न बाध्य भए । 

 

यसको अर्को अन्तरविरोध हो, समय । हलमा प्रदर्शन हुने अधिकांश फिल्म समयको लम्बाइ एक घन्टा तीस मिनेटदेखि बढीमा तीन घन्टासम्मका हुने गर्छ । त्यसभन्दा बढी लम्बाइका फिल्म यसका लागि उपयुक्त हुँदैनन् । त्यसभन्दा कम समयका फिल्म पनि हलमा देखाइँदैन । तर, यस्ता थुप्रै प्रयोगात्मक सिनेमाहरू बनेका छन्, जसको बजार अहिले केवल युट्युबमा मात्र सीमित छन् । यो त फिल्मको समयको कुरा भयो ।

 

हेर्ने उपभोक्ताकै समयको अन्तरविरोध अहिलेको वितरण प्रणालीसँग छ । उपभोक्ताले सिनेमा हलको समयअनुसार आफ्नो समय निकाल्नुपर्ने बाध्यता छ । अझ चलेको फिल्ममा त टिकट नपाएर फर्किनेहरू पनि छन् । उपभोक्ता आपूmअनुकूल फिल्म हेर्ने होइन, हलले तोकेको समयमा आफूलाई ढाल्नुपर्ने बाध्यतामा छन् । 

 

वैकल्पिक तथा कलात्मक सचेतताका दृष्टिले बनाइएका फिल्मका निम्ति अहिलेको बजारव्यवस्था कहिल्यै उपयुक्त भएन । वैकल्पिक चलचित्रहरूमा उसले बजार नै देखेन । टेलिभिजन पनि सुरुमा राज्य नियन्त्रित थियो, पछि बजार नियन्त्रित भयो । समय नियन्त्रित त पहिलेदेखि नै थियो । 

 

प्रविधिको व्यापकता

 

कुनै समय फिल्मको व्यापार कति दिन हलमा चल्यो भन्ने आधारमा हुन्थ्यो । त्यसवेला फिल्म चक्काहरूमा वितरण हुन्थ्यो । नयाँ फिल्मको रिलिज नाम चलेका सहरहरूमा मात्र हुन्थे । किनकि, रिलसहितको चक्का निश्चित संख्यामा मात्र निर्माण हुन्थे । एउटै सहरका हलहरूका पनि फरक समयमा प्रदर्शन गर्नुपर्ने बाध्यता थियो । नाफा कमाउन फिल्म धेरै दिन चल्नुपथ्र्यो । चलिसकेको फिल्मको धेरैपछि भिडियो क्यासेट बनाएर पनि बेचिन्थ्यो ।

 

डिजिटल प्रविधिको सुरुवातपछि फिल्मको उत्पादन मात्र डिजिटल भएन, सिनेमा हलहरू पनि परिवर्तन भए । वितरणको प्रविधि पनि सफ्टवेयरमा हुन थाल्यो । संसारभर फिल्महरू एकैपटक रिलिज हुन थाले । पहिलो एक–दुई साताकै व्यापार निर्णायक मानिन थालियो । भिडियो क्यासेट प्लेयरको ठाउँ सिडी तथा डिभिडीहरूले लिए । त्यसपछिको परिवर्तन इन्टरनेटको परिवर्तन हो । युट्युब तथा टोरेन्टजस्ता डाउनलोड गर्न मिल्ने साइटहरूले सिडी र डिभिडीलाई लगभग विस्थापित गराए । तर, फिल्मको व्यापारमा भने सिनेमा हल अझै पनिकेन्द्रमै छ ।

 

 सिनेमा हल केन्द्रित बजार व्यवस्थाको विकल्पको संकेत दिँदै आएको छ, नेटफ्लिक्स, एमेजन प्राइम, डिजनी हटस्टारजस्ता अनलाइन माध्यमहरू । सन् २०१७ मा ‘रोमा’ फिल्म नेटफ्लिक्सबाटै रिलिज भयो, जसले एक विधामा ओस्कारसमेत जित्यो । गत वर्ष अल पेचिनो, रोबोर्ट दे निरोलगायतले अभिनय गरेका ‘द आइरिस म्यान’ रिलिज भयो । बन्दाबन्दीमा सबै हलहरू बन्द भएको अवस्थामा भर्खरै दिवंगत इरफान खान अभिनित अन्तिम चलचित्र ‘अंग्रेजी मेडियम’ डिजनी हटस्टारबाट रिलिज भयो । यसले सिने दुनियाँमा नयाँ बजार निर्माण हुन लागेको प्रस्ट संकेत दिन्छ । 

 

हलिउडमा सुपर हिरोहरूको कारखाना सञ्चालन गरिरहेका ‘मार्बेल’जस्ता कम्पनीहरूले समेत यस विषयमा सोच्न थालेका छन् । यसले निर्माण गर्ने बजार ‘भ्युअर’ र ‘सब्सक्राइबर’मा आधारित छ, आफ्नो गुण तथा प्रभावका आधारमा यसले प्रतिस्पर्धा गर्न पाउने भए । समयको यसमा कुनै बन्देज भएन । सेन्सरको झन्झटबाट पनि यसले एक हदसम्म पार पाउने भयो । उदाहरणका लागि अनुराग कश्यप निर्देशित ‘सेक्रेड गेम’ भारतका सायदै कुनै च्यानलबाट प्रदर्शित हुन सक्थ्यो ।

 

यसभन्दाअगाडि पनि थुप्रै फिल्म भारतमा रिलिज हुन नसकेर विदेशबाट रिलिज भए । सिरियल टाइपका टेलिभिजन सोहरूले पनि वैकल्पिक र प्रभावकारी बजार पाए । एउटा पूरै कथालाई महिना वा वर्ष दिनभरि देखाइरहनै परेन । इच्छाअनुसार हेर्ने बजारको निर्माण यस व्यवस्थाले गर्न थाले ।

 

सन् २०१७ मा ‘मनी हाइस्ट’को सो नेटफ्लिक्सले लिनुभन्दाअगाडि स्पेनिस च्यानलबाट दुईवटा सिजन रिलिज भइसकेको थियो । र, यसले खासै गतिलो बजार लिएको थिएन । यसमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कलाकारसमेत आफूले निर्वाह गरेका पात्र हराउने भए भन्ने विषयमा चिन्तित थिए । त्यसै सन्दर्भमा तेस्रो सिजनको रिलिजको सम्झौता नेटफ्लिक्ससँग ग-यो । र अंग्रेजी भाषामा समेत डब गरेर प्रदर्शनमा आयो । त्यसपछि बाँकी सबै इतिहास भयो । 

 

कोरोना एक ‘क्याटालिस्ट’


विश्वभरि फैलिएको कोरोनाको कहरले प्रभावित नगरेको कुनै क्षेत्र छैन । ड्यानियल क्रेग अभिनित जेम्स बोन्ड सेरिजको फिल्म ‘नो टाइम टु डाई’को समय एक वर्ष स-यो । प्रदर्शनको तयारीमा रहेको बलिउडको रोहित सेट्टीको ‘सूर्यवंशी’को मिति अनिश्चत छ । नेपालमै पनि कैयन फिल्मले रिलिजको मिति कुरेर बसेका छन् ।प्रतिस्पर्धात्मक पुँजीवादी युगमा समय आफैँ पैसा हो । सिनेमा दुःख झन् ठूलो छ । सार्वजनिक ठाउँ भेला भएपछि यसमाथि अनिश्चितताको बादल कहिलेसम्म रहने हो अनुमान गर्न गाह्रो छ ।

 

यसबीच नेटफ्लिक्सको बजार हेर्ने हो भने ठीक उल्टो छ । बिबिसीका अनुसार कोरोनाको कहरबीचको तीन महिनामा एक करोड पचास लाख थप दर्शक नेटफ्लिक्ससँग जोडिएका छन् । आफैँले उत्पादन गरेको क्रिस हेम्सवर्थ र रणदीप हुड्डाले अभिनय गरेको ‘एक्ट्राक्सन’ यसैबीचमा रिलिज भए । गएको अप्रिल महिनामा मात्र त्रिपन्नवटा फिल्म र सोहरू रिलिज भए । यसैगरी अमेजन प्राइम, डिज्नी हटहस्टारजस्ता अरू पनि कम्पनीहरूले यस क्षेत्रमा प्रतिस्पर्धा गर्न थालेका छन् । अर्थात्, स्थापना भएको केही वर्षदेखि बजारमा आफ्नो पकडका लागि प्रतिस्पर्धा गर्दैगर्दा यस कोरोनाको बन्दले यस क्षेत्रलाई बल नै पु-याएको देखिन्छ । 

 

०००


जतिसुकै संकटग्रस्त अवस्थामा भए पनि सिनेमाको बजारको अहिलेसम्मको केन्द्र सिनेमा हल नै हो । यसमा हुने नाफाको आयतन, यसको बजारको व्यापकता तथा फैलावट र हलमै गएर हेर्ने सिनेमा संस्कृति कोरोनाको समयलगत्तै एकैपटक परिवर्तन नहोला । र यो एकैपटकमा परिवर्तन हुने कुरा पनि होइन । यो निरन्तरको अन्तरविरोध र संरचनामा हुने क्रमिक परिवर्तनले कुनै बिन्दुमा पुगेर हुने हो । नेटफ्लिक्सको सुरुवात र यसको व्यापकतालाई यस्तै परिवर्तनको प्रस्थान बिन्दु मान्न सकिन्छ ।