• वि.सं २०७७ जेठ २४ शनिबार
  • Saturday, 06 June, 2020
आकाश महर्जन 
२०७७ जेठ ६ मंगलबार ११:१२:००
समाज

कोरोनाविरुद्ध ‘सामाजिक खोप’ 

२०७७ जेठ ६ मंगलबार ११:१२:००
आकाश महर्जन 

भाइरस के हो ? 

 

कोरोना भाइरसको संक्रमणले लाग्ने रोग कोभिड–१९ को महामारीले अहिले विश्व आतंकित छ । स्मरणीय रहोस्, सन् २००३ मा महामारीका रूपमा फैलिएको सार्स रोगको संक्रमण पनि एक प्रजातिको कोरोना भाइरसकै कारण भएको थियो ।कोरोना भाइरसले हाम्रो शरीरमा के असर गर्छ भन्ने कुरा थाहा पाउन सुरुमा भाइरस भनेकै के हो र भाइरसले कसरी काम गर्छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । 

 

हाम्रो शरीरमा दशौँ अर्बको संख्यामा कोषहरू हुन्छन् । हाम्रो शरीरमा रहेका विभिन्न अंगहरूमा विभिन्न प्रकारका कोष हुन्छन् । ती कोषले गर्ने विभिन्न गतिविधिको संयोगबाट हाम्रो शरीर चलिरहेको हुन्छ र हामी जीवित रहन्छौँ । तर, कुनै एक कोष आफैँमा पनि एक जीवित प्राणी मान्न सकिन्छ । किनभने एउटै कोषले पनि स्वतन्त्र रूपमा खान, बढ्न र ‘सन्तान उत्पादन’ गर्न सक्छ । खासमा पृथ्वीमा लाखौँ प्रजातिका एक–कोषीय जीवहरू पाइने कुरा त हामी सबैलाई थाहा भएकै कुरा हो ।


तर, भाइरस भने बडो अनौठो प्राणी हो । खासमा यसलाई जीवित प्राणी नै पनि भन्न मिल्छ कि मिल्दैन भन्ने कुरा पनि विवादित छ । किनभने भाइरसलाई केही खानु पनि पर्दैन र कुनै अर्को जीवको कोषभित्र प्रवेश नगरेसम्म यसले स्वतन्त्र रूपमा सन्तान उत्पादन गर्न पनि सक्दैन । कुनै होस्टभित्र (भाइरस कोषभित्र छिरेर सन्तान उत्पादन गर्ने प्रक्रियामा गिसकेपछि भाइरस छिरेको कोषलाई होस्ट भनिन्छ) नछिरेसम्म भाइरस निष्क्रिय रही एउटा अति सूक्ष्म कणका रूपमा मात्र अस्तित्वमा रहन्छ । यस भाइरस कणलाई भाइरियोन भनिन्छ ।

 

कोभिड–१९ को खोप आविष्कार भइहाले पनि विश्वभर सहज वितरणको अवस्थासम्म पुग्नका लागि केही महिनादेखि केही वर्ष पनि लाग्न सक्छ । यस्तो अवस्थामा आम मानिसले अहिले गर्न सक्ने भनेको दैनिक व्यवहारलाई केही समयका लागि परिवर्तन गरी ‘सामाजिक खोप’ निर्माण गर्ने हो । 

 

भाइरसहरू अति सूक्ष्म हुन्छन्, एक इन्चको १० लाख भागको एक भाग जति मात्र । भाइरसहरू ब्याक्टेरियाभन्दा पनि करिब हजार गुना साना हुन्छन्; ब्याक्टेरियाहरू आफैँ मानव कोषहरूभन्दा निकै साना हुन्छन् । भाइरसहरू यति साना हुन्छन् कि तिनीहरूलाई सामान्य माइक्रोस्कोपको प्रयोग गरेर हेर्दा पनि देख्न सकिन्न, इलेक्ट्रोन माइक्रोस्कोप नै चाहिन्छ । 

 

भाइरस कण तीन चीजको सम्मिश्रणबाट बनेको हुन्छ : न्युक्लेइक एसिड- जसमा सन्तान उत्पादन गर्नका लागि आवश्यक कोड निहित आणुवंशिक पदार्र्थ डिएनए वा आरएनए हुन्छ; न्युक्लेइक एसिडको सुरक्षाका लागि अवश्यक प्रोटिनबाट बनेको रक्षात्मक कवच; र लिपिड मेम्ब्रेन जसले प्रोटिनको कवचलाई घेरेको हुन्छ । लिपिड मेम्ब्रेन भने कुनैकुनै भाइरसहरूमा मात्र पाइन्छ, जस्तै इन्फ्ल्युएन्जा भाइरस र अहिले महामारी फैलाइरहेको कोरोना भाइरस । 

 

सामान्यत एक किसिमको भाइरसले कुनै प्राणीको कुनै एक वा दुई अंग वा प्रणालीका कोषहरूमा मात्र संक्रमण फैलाउन सक्छ । त्यसबाहेकका कोषहरूमा सो भाइरसले कुनै प्रभाव पार्न सक्दैन । उदाहरणका लागि रुघाखोकीको भाइरसले श्वासप्रस्वास प्रणालीका अंगहरूमा मात्र संक्रमण फैलाउन सक्छ भने एचआइभीले हाम्रो रोग प्रतिरोधी प्रणालीको टी-कोषमा मात्र । भाइरस कुनै माध्यमबाट हाम्रो शरीरमा छिरिसकेपछि त्यसले उपयुक्त होस्ट कोषको खोजी गर्छ । आफूले संक्रमित गर्न सक्ने होस्ट कोष भेट्टिएपछि भाइरस सो होस्ट कोषको सतहमा रहेको रिसेप्टरमा गएर टाँसिन्छन् । यसरी टाँसिनका लागि भाइरसको बाहिरी सतहको बनावट रिसेप्टरको बनावटसित मिल्दो हुनुपर्दछ । 

 

भाइरसले दुई तरिकाले होस्ट कोषलाई संक्रमित बनाउन सक्छ । पहिलो, भाइरसले आफूभित्र रहेको आणुवंशिक पदार्थ होस्ट कोषभित्र पठाउँछ । दोस्रो, भाइरस आफैँ कोषभित्र छिरेर आफ्नो डिएनए वा आरएनए छोड्छ । भाइरसले कुन तरिकाले संक्रमित पार्छ भन्ने कुरा भाइरसको प्रजातिमा भर पर्छ । दुईमध्ये जुनै तरिकाले भाइरसको आणुवंशिक पदार्थ कोषमा छिरे पनि त्यसपछिको प्रक्रिया भने उही हो । 

 

हाम्रो हरेक कोषभित्र हजारौँ प्रकारका इन्जाइमहरू हुन्छन् । यी इन्जाइमहरूको काम भनेको हाम्रो कोषभित्र हुने सबै प्रकारका रसायनिक प्रक्रियाहरूका लागि वातावरण तयार पार्ने हो । इन्जाइमविना कोषहरूभित्र कुनै पनि रसायनिक प्रक्रियाहरू हुन सक्दैन र कोषभित्र ऊर्जा उत्पादन हुने कार्य बन्द हुन्छ । कोषमा ऊर्जा उत्पादन भएन भने हाम्रो शरीरका कुनै अंगले काम गर्न सक्दैन । 

 

उदाहरणका लागि माल्टोज नामक पदार्थ ग्लुकोजका दुई अणुहरू मिलेर बनेको हुन्छ । माल्टेज नामक इन्जाइमले ती दुई ग्लुकोजका अणुहरूबीचको बन्धनलाई तोडिदिन्छ र ग्लुकोजका अणुहरू छुट्टिन्छन् । ग्लुकोजका ती अणुहरू हामीले सास फेर्दा लिएको अक्सिजनसँग रसायनिक प्रतिक्रिया गर्छ र ऊर्जा उत्पादन गर्छ । माल्टेजजस्ता हजारौँ इन्जाइमहरू हाम्रा हरेक कोषहरूमा हुन्छन् र हरेक इन्जाइमको आफ्नै छुट्टै काम हुन्छ । 

 

यस्तै इन्जाइमहरूमध्ये राइबोजोम एक विशिष्ट प्रकारको अति जटिल इन्जाइम हो । राइबोजोमको काम भनेको मेसेन्जर आरएनएले कोषभित्रको डिएनएबाट लिएर आएको निर्देशनबमोजिमको प्रोटिनको उत्पादन गर्नु हो । राइबोजोमले यसरी उत्पादन गर्ने विभिन्न प्रोटिनहरू हाम्रो शरीरका विभिन्न प्रणालीहरूको सञ्चालनका लागि प्रयोग हुन्छन् । 

 

भाइरस होस्ट कोषभित्र छिरिसकेपछि प्रोटिन उत्पादन गर्ने यही संयन्त्रलाई हाइज्याक गर्छ । अर्थात् भाइरसको आणुवंशिक पदार्थ (डिएनए वा आरएनए) ले होस्ट कोषको राइबोजोमलाई भाइरस आफूलाई चाहिने प्रोटिन तथा अन्य पदार्थहरू उत्पादन गर्न निर्देशन दिन्छ ।

 

राइबोजोमलाई उक्त निर्देशन कहाँबाट आएको हो भन्ने कुरा पत्तो हुँदैन; त्यसको काम त निर्देशन आएबमोजिमका प्रोटिनहरू उत्पादन गर्ने न हो । यसरी होस्ट कोषको राइबोजोमले भाइरसको सन्तान उत्पादनका लागि आवश्यक सबै पदार्थहरूको उत्पादन गर्छ र नयाँ भाइरसको उत्पत्ति हुन्छ । यस्तो प्रक्रिया सो होस्ट कोषभित्र कैयौँपटक तीव्र गतिमा चल्छ । अर्को शब्दमा, होस्ट कोषले भाइरस उत्पादन गर्ने मेसिनका रूपमा काम गरिरहेको हुन्छ । र, भाइरसको संख्या पर्याप्त पुगेपछि ती भाइरसहरू कोष विस्फोट गरेर बाहिर निस्कन्छ । यसरी निस्केका भाइरस यही प्रक्रिया दोहो-याउन अर्को होस्ट कोषमा छिर्छ । यो प्रक्रिया अति तीव्र गतिमा चल्छ र भाइरसबाट संक्रमित कोषको संख्या तीव्र गतिमा बढ्छ । 

 

कोरोना भाइरस संक्रमण के हो ? 

 

कोरोना भाइरस हाम्रो शरीरमा आँखा, नाक वा मुखबाट छिर्छ । यसरी शरीरभित्र पसेको भाइरस व्यक्तिको फोक्सोमा पुग्छ । फोक्सोको सतहमा अर्बौँ कोष हुन्छन्, जसलाई इपिथेलियल कोष भनिन्छ । कोरोना भाइरस यी कोषहरूको सतहमा टाँसिन्छन् र आफ्नो आणुवंशिक पदार्थ (कोरोना भाइरसमा आणुवंशिक पदार्थका रूपमा आरएनए हुन्छ) कोषभित्र पठाउँछ । यसरी फोक्सोमा भाइरसको संक्रमण सुरु हुन्छ । यसरी संक्रमित कोषहरू तीव्र गतिमा नष्ट हुन सुरु हुन्छन् । संक्रमण सुरु भएको करिब १० दिनमा फोक्सोका लाखौँ इपिथेलियल कोषहरू नष्ट हुन्छन् भने अर्बाैँ भाइरसले फोक्सोमा डेरा जमाइसकेको हुन्छ । तर, भाइरसको संक्रमणका कारण खासै केही लक्षणहरू भने देखा परिसकेको हुँदैन । 

 

भाइरसले पर्याप्त मात्रामा कोषहरू नष्ट गर्न थालेपछि हाम्रो शरीरले संक्रमित स्थानमा रोगप्रतिरोधी कोषहरू पठाउन सुरु गर्छ । हाम्रो शरीरको रोग प्रतिरोधी प्रणाली निकै जटिल छ । त्यसको व्याख्याका लागि छुट्टै लेख आवश्यक पर्छ । सहजताका लागि यसरी बुझौँ – भाइरस (वा अन्य कुनै बाहिरी पदार्थ) शरीरभित्र छिरेर संक्रमण फैलाउन थालेपछि हाम्रो शरीरको रोगप्रतिरोधी प्रणालीले सो कुरा थाहा पाउँछ र संक्रमणलाई निष्क्रिय पार्न थुप्रै प्रकारका कोष तथा पदार्थहरूको उत्पादन गर्छ । ती कोष तथा पदार्थहरू संक्रमित स्थानमा पुगेर भाइरसहरूलाई आक्रमण गर्दा हाम्रो शरीरको तापक्रम बढ्नुका साथै संक्रमित स्थान केही सुन्निन्छ । यसरी तापक्रम बढ्दा प्रतिरोधी कोषहरूलाई काम गर्न सहज हुनुका साथै भाइरसहरूलाई संक्रमण फैलाउन गाह्रो हुन्छ । 

 

तर, कोरोना भाइरसले ती रोगप्रतिरोधी कोषहरूलाई पनि आक्रमण गर्छ । कोरोना भाइरसको आक्रमणका कारण प्रतिरोधी कोषहरू अस्तव्यस्त हुन्छन् र शरीरले आवश्यकभन्दा बढी प्रतिरोधी कोषहरू संक्रमित स्थानमा पुग्छन् । यस्तो अवस्थामा संक्रमित कोषहरू मात्र नभई स्वस्थ कोषहरूमा पनि असर पुग्न थाल्छ । अधिकांशमा यो अवस्था केही समयका लागि मात्र चल्छ । केही समयपछि शरीरको रोगप्रतिरोधी प्रणाली नियन्त्रणमा आउँछ र भाइरसहरू नष्ट हुन्छन् । तर, शरीरको रोगप्रतिरोधी प्रणाली कमजोर भएका व्यक्तिहरूमा भने संक्रमणले निरन्तरता पाउँछ । यस्तो अवस्थामा भाइरसले फोक्सोको सतहमा रहेका कोषहरू नष्ट गर्छन् । 

 

फोक्सोभित्र स–साना एल्भियोलाई नामक वायुकोषहरू हुन्छन्, जसको काम भनेको श्वासप्रश्वासबाट फोक्सोभित्र छिरेको अक्सिजनलाई मुटुबाट कार्बनडाइअक्साइड बोकेर आएको रगतमा भरेर कार्बनडाइअक्साइडलाई शरीरबाहिर निकाल्ने हो । तर, फोक्सोको सतहमा रहेका कोषहरू भाइरसले नष्ट गर्दा एल्भियोलाईहरू एक्स्पोज हुन्छन् । र, शरीरभित्र र बाहिरका ब्याक्टेरियाहरूले एल्भियोलाईहरूलाई सजिलै आक्रमण गर्न सक्ने वातावरण बन्छ । यस्तो अवस्थामा बिरामीलाई निमोनियाको संक्रमण भएर श्वासप्रश्वासमा कठिनाइ हुन्छ । त्यसमाथि शरीरको रोगप्रतिरोधी प्रणाली भाइरसविरुद्ध लडिरहेको कारण थप कमजोर बनिसकेको हुन्छ, जसका कारण ब्याक्टेरियाको संक्रमण तीव्र हुन्छ र बिरामीको मृत्यु हुने सम्भावना बढ्न थाल्छ।

 

कोभिड–१९ को खोप अहिलेसम्म तयार भइसकेको छैन । खोप आविष्कार गर्नका लागि थुप्रै खोजअनुसन्धानहरू भइरहेका छन् । तर, आविष्कार भइहाले पनि विश्वभर सहज वितरणको अवस्थासम्म पुग्नका लागि केही महिनादेखि केही वर्ष पनि लाग्न सक्छ । यस्तो अवस्थामा हामी आममानिसले अहिले गर्न सक्ने भनेको हामीले गर्ने दैनिक व्यवहारलाई केही समयका लागि परिवर्तन गरी ‘सामाजिक खोप’ निर्माण गर्ने हो । यो भनेको दुई सामान्य कुराहरू हुन् : आफू संक्रमित नहुने र आफ्नो कारण अरूलाई संक्रमित हुन नदिने । यसका लागि दुईवटा सामान्य कुराको पालना गर्दा पुग्छ ।

 

पहिलो, समयसमयमा साबुनपानीले हात धुने । साबुन वास्तवमा भाइरसविरुद्धको निकै प्रभावकारी औजार हो । साबुनले भाइरसको बाहिरी कवचलाई पूर्ण रूपमा नष्ट गर्छ । बाहिरी कवच नष्ट भएपछि भाइरसभित्र रहेका आणुवंशिक पदार्थहरू निष्क्रिय हुन्छन् । दोस्रो, सामाजिक दूरी । सामाजिक दूरी बनाउने कार्य त्यति सहज छैन । तर, यसको प्रतिफल अमूल्य साबित हुनेछ ।