• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डा.तीर्थबहादुर श्रेष्ठ 
२०७७ जेठ १० शनिबार १०:१७:००
पर्यावरण

प्रकृतिविना हामी बाँच्दैनौँ, तर हामीविना प्रकृति बाँच्छ

२०७७ जेठ १० शनिबार १०:१७:००
डा.तीर्थबहादुर श्रेष्ठ 

जीवन र जगतकाे चर्चा गर्दा मान्छेपिच्छे विचार फरक हुने गर्छ । जातिपिच्छे, धर्मपिच्छे, राष्ट्रपिच्छे सोच र विचारमा भिन्नता देख्छौँ । आज जीवन र जगत्को सबै चर्चालाई पाखा लगाएर विश्वभरका मानिसलाई एउटै चर्चामा केन्द्रित हुन बाध्य बनाइदिएको छ, एक अदृश्य सूक्ष्म विषाणु कोरोना भाइरसले । यस भूमण्डलको जल, स्थल, वायु, आकाश र प्रकाश सबैतिर आफ्नो प्रभुत्व जमाएर बस्न सफल मानव जाति एक अपरिचित नवआगन्तुक विषाणु अर्थात् भाइरसको बसमा निरीह सावित भएको छ । 

 

ज्ञान, विज्ञान र प्रविधिमा उच्चतम स्थान ओगटेका सम्पन्न र समृद्ध राष्ट्र निरीह छन्, त्राही–त्राही छन् । पृथ्वीभरका मानिस आक्रान्त छन् । यो किन भयो, कसरी भयो कसैलाई थाहा छैन । पृथ्वीमा मानिसको भार नै पो बढी भयो कि वा मानिसले आफ्नो धर्ती मायाको प्रकृतिसँग उचित सम्बन्ध पो कायम राख्न सकेन कि !

 

प्राकृतिक सन्तुलनको तुला नै भत्किन थाल्यो कि आदिइत्यादि कुरा खेलाउँदै ‘लकडाउन’को गृहबन्दी बनेर एकान्तमा रहँदा भित्तेपात्रोमा सन् २०२० को मे २२ तारिखले ‘विश्व जैविक विविधता दिवस’को दिनमा आइपुगेको संकेत ग-यो ।

 

यही दिवसको अवसरमा २०६६ जेठमा चितवन राष्ट्रिय निकुञ्जछेउमा एउटा कार्यक्रम भएको थियो । ‘इको क्लब’मा संलग्न स–साना बालबालिकामाझ एउटा प्रश्न राखेको थिएँ– यदि यस संसारमा जहाँ गए पनि मान्छे मात्र देखिने भयो, न आकाशमा कुनै चरा देखिन्छ, न पानीमा माछा देखिन्छ, न त कतै हरियाली वन नै देखिन्छ । यस्तो संसारमा बस्न सकिन्छ वा सकिँदैन ?

 

विश्वका जलचर, स्थलचर, नभचर सबै प्राणी निर्भीक महसुस गर्दै सल्बलाउन थालेका छन् । मानव जाति भने के गर्ने कसो गर्ने भन्दै निरीह जीवन बाँचिरहेको छ ।  

 

बालबालिकाले भने, ‘हामीलाई त्यस्तो संसार चाहिँदैन । हामीलाई आकाशमा चरा उडेको, पानीमा माछाहरू सल्बलाएको, वनजंगलमा वन्यजन्तुहरू विचरण गरेको र बारीबगैँचामा पुतली माहुरीहरू झुम्मिएको संसार चाहिन्छ ।’ यो विश्वलाई जीवन्त र जिउनयोग्य बनाइराख्न यहाँको जैविक विविधताको संरक्षण अपरिहार्य हुन्छ भन्ने कुरामा हामी सहमत भयौँ । 

 

‘काग कराउँदै छ, पिना सुक्दै छ’ भनेझैँ मानिसको जनसंख्या वृद्धि हुने क्रम भने घट्न सकेन । वैज्ञानिकहरूको भनाइ रहेको छ कि यस पृथ्वीमा मानव प्रजाति (होमो सेपियन्स) स्थापित भएर दुई खुट्टामा ठाडो उभिएर हिँडडुल गर्ने भएपछि त्यसको दुई लाख वर्ष बित्दा विश्वमा मानिसको जनसंख्या एक अर्ब पुगेको थियो । त्यसपछि मात्रै १२३ वर्षपछि अर्को एक अर्ब जनसख्ंया थपियो ।

 

यस प्रकार दुई अर्बको जनसंख्या पुगेको वर्ष थियो सन् १९२७ अर्थात् विसं. १९८४-०८५ मा जन्मिएका थिए हाम्रा भैरव दाइ (भैरव रिसाल) । आज लिम्पियाधुरामा नेपालको झन्डा गाड्न सफल भएको अवस्था छ । नेपालको दार्चुला जिल्लाको त्यस क्षेत्रमा भैरव रिसाल जनगणना गर्दैगर्दा २०१८ सालताका नै पृथ्वीमा अर्को एक अर्ब जनसंख्या थपिइसकेको थियो । तीन अर्बको त्यो जनभार आज ७ अर्ब ६० करोड जनसंख्या बोकेर बसेको छ । यस पृथ्वीको आफ्नो प्रकृतिका लागि मानव जनसंख्याको यस्तो वृद्धि आफैँमा एउटा ठूलो चुनौती हुँदै आएको छ । 

 

यस पृथ्वीको जैविक विविधता एवं पारिस्थितिक प्रणालीको आवधिक मूल्याङ्कन गर्ने सिलसिलामा गत वर्ष सन् २०१९ को वैज्ञानिक प्रतिवेदन प्रकाशित भएको थियो । उक्त प्रतिवेदनअनुसार यस पृथ्वीको ७५ प्रतिशत भूभागलाई मानिसले आफ्नो अनुकूल फेरबदल गरिसकेको छ र प्रकृतिले त्यो पीडा सहँदै छ । यस पृथ्वीको जलमण्डलको ६६ प्रतिशत जलाशय मानव क्रियाकलापको वातावरणीय प्रभावले प्रदूषित छ ।

 

यस्तै गरेर जल र स्थलको मिलन हुने सिमसार क्षेत्रहरू ८५ प्रतिशत विनाश भइसक्यो । मानव क्रियाकलापका प्रतिकूल प्रभावले गर्दा पृथ्वीको जीवमण्डलबाट १० लाख जीव प्रजाति (पशुपक्षी, जीव वनस्पति) लोप हुने खतरामा रहेको बताइन्छ । आगामी दशक वर्षभित्रै अधिक जीव प्रजाति लोप हुने खतरामा पुग्ने आकलन छ । पृथ्वीको जीवमण्डलमा देखापरेको संकटलाई अझै बल पु¥याउने काम जलवायु परिवर्तनले गर्न थालेको छ । 

 

वर्तमान विश्वको अर्थव्यवस्था एवम् पुँजीवादी विकासको संरचनाले गर्दा वायुमण्डलमा कार्बनको सञ्चय अप्रत्यासित ढंगले बढ्न गएको छ । पृथ्वीको तापमान दिनप्रतिदिन उकालो लाग्दो छ । जैविक विविधताको ह्रास र जलवायु परिवर्तनको प्रभावलाई लिएर विभिन्न चिन्ता व्यक्त हुने क्रममा सन् २०१९ ले एउटा नवीन विषाणु ‘भाइरस’ मानव मात्रको बीचमा अर्को चिन्ता फैलाउने काम ग-यो ।

 

यतिवेला एसिया, युरोप, उत्तरी अमेरिका, दक्षिणी अमेरिका, अफ्रिका तथा अस्ट्रेलिया सबै महादेशका मानिस स्तब्ध छन् । एकातिर प्रकृतिको क्षय र अर्कोतिर महाव्याधीको उद्भवका बीच च्यापिएर हामी सबै आक्रान्त छौँ । कसैलाई थाहा छैन, उपाय के होला । यसैबीच यस वर्षको संयुक्त राष्ट्रसंघले सन् २०२० को जैविक विविधता दिवसको नारा सार्वजनिक गरेको छ, जसले भन्छ, ‘हाम्रा समाधानका उपायहरू प्रकृतिमा भेट्टाइन्छ ।’

 

उपरोक्त आशावादी नाराभित्र डुबुल्की मा-यौँ भने हामीलाई ज्ञान हुनेछ प्रकृतिविना हामी बाँच्न सक्दैनौँ । तर, हामीविनाको प्रकृति भने अझ जीवन्त हुनेछ । कोभिड–१९ को संक्रमण रोक्न जब मानिस ‘लकडाउन’मा बस्न थाले मानव सागरको छालमा छचल्किने विश्वका नगर र महानगरहरू, उद्योगधन्दा र कलकारखानाका कोलाहलमा तरंगित हुने औद्योगिक क्षेत्रहरू, मनोरञ्जनमा उछलकुद मानिसैमानिसको छालमा उर्लने सामुद्रिक तटहरू वा विशाल रंगशालाहरू आज सबै शान्त छन् ।

 

रेल, मोटरगाडी, पानीजहाज र हजाईजहाजहरू पनि स्थिर छन् । मात्र २-४ महिनाको यस अवधिमा वायुमण्डल स्वच्छ हुन थालेको संकेत मिलेको छ । कार्बन उत्सर्जन १७ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ । ‘नासा’को अध्ययनले चीन र भारतको आकाशमा नाइट्रोजन डाइअक्साइटको मात्र ह्वात्तै घटेको देखाएको छ । काठमाडौंकै आकाशमा पनि त्यो नाइट्रोजन डाइअक्साइड प्रदूषण ५० प्रतिशतले घटेको छ । धुवाँधुलो र तुवाँलोले छेकिने हिमदृश्यहरू आजभोलि छर्लङ्ग देखिन थालेको छ । संक्षेपमा भन्नुपर्दा पृथ्वीको प्रकृतिले आफूलाई शुद्ध बनाउने मिर्मलीकरणको अवस्था सिर्जना भएको छ । 

 

आजसम्मको जानकारीअनुसार जंगली पशुपक्षीलाई कोरोना भाइरसले सताएको छैन । वन्यजन्तु एवम् सामुद्रिक पशुपक्षी मानिसको बस्ती, सहर, बजारमा समेत सल्बलाउन थालेका थुप्रै उदाहरण प्रस्तुत हुन थालेको छ । पर्यटक लडिबुडी गर्ने थाइल्यान्डका समुद्री किनारामा कछुवाले फुल पारेका छन् । दक्षिण अफ्रिकाका गल्लीहरूमा पेन्गुइनहरू हिँड्दै छन् ।

 

इटालीका सहरमा मृग र भालु आउन थालेका छन् । यी कुरा विश्व वन्यजन्तु कोषका निर्देशकले समेत भनेका छन् । समग्रमा भन्नुपर्दा विश्वका जलचर, स्थलचर, नभचर सबै प्राणी निर्भीक महसुस गर्दै सल्बलाउन थालेका छन् । मानव जाति भने के गर्ने कसो गर्ने, भन्नेमा बिचल्लीबीच निरीह छ । त्यसको एउटा उदाहरण अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले हाइड्रोक्सिल्कोरोक्विनको सेवन गर्न थालेको घटनालाई लिन सकिन्छ । 

 

एकातिर कोरोना भाइरसको महामारी र अर्कोतिर जलवायु परिवर्तनको प्रकोपले विश्वभरका मानिस चिन्तित छन् । आक्रान्त छन् । यस घडीमा अनगिन्ती समस्या हाम्रासामु खडा हुन थालेका छन् । तिनका निराकरणको बाटो पहिल्याउने क्रममा यस वर्षको जैविक विविधता दिवसको नारा ज्यादै मननीय छ । नाराले भन्छ, ‘हाम्रा समाधानका उपाय प्रकृतिभित्रै भेट्टाइन्छ । (आवर सोलुसन्स आर इन नेचर) 

 

समाधानका उपाय खोज्नुपर्ने समस्यामध्ये कोभिड–१९ बाट उन्मुक्ति, जलवायु परिवर्तनलाई नियन्त्रण एवम् पृथ्वीको प्राकृतिक स्रोत र साधनको संरक्षण सर्वोपरी अवस्थामा छन् । यी तिनवटै समस्याको समाधानका उपाय प्रकृतिमा खोज्नुभन्दा पहिले मानिसले आफ्नै प्रकृति (बानी, व्यवहार, आचरण) र प्रवृत्तिमा सुधार गर्नुपर्ने हुन्छ । यी तीनवटै समस्यासँग जुध्न अन्तर्राष्ट्रिय साझा सोच र दह्रो सहकार्यको आवश्यकता पर्छ । आर्थिक वा राजनीतिक स्वार्थका लागि यी तीन समस्यालाई अघि सार्ने काम हुन थाल्यो भने प्रकृतिले केही गर्न सक्दैन । मिलेर सहकार्य गरेर अघि बढ्न सक्यौँ भने प्रकृति सधैँ दयावान् हुन्छ ।