• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिनेश अधिकारी
२०७७ जेठ १० शनिबार ०९:३३:००
साहित्य

हराएको देश

२०७७ जेठ १० शनिबार ०९:३३:००
दिनेश अधिकारी

 

१.हराएको देश

 

देशभित्र काम नपाएपछि
पेटले डोहो-याएर विदेश पु-यायो
पसिना रोपेँ त्यो बिरानो भूमिमा
र, त्यसको आर्जन पठाउञ्जेलसम्म
पटक–पटक देशले
स्याबासीको शब्द–वृष्टि गरायो
अहिले विपत् परेर 
आफ्नै माटोमा फर्कन्छु भन्दा
टेक्नै दिएन देशले मेरो आँगन
उल्टै सुरक्षाकर्मी लगाएर
सिमानाबाटै फिर्ता पठायो
के गर्नु अब यो नागरिकता बोकेर मैले ?
एकाएक पृथ्वीबाट मेरो भन्ने देश हरायो

 

टेक्ने ठाउँ नभएपछि 
जीवनमा कतै बिहान हुँदोरहेनछ 
कुनै दिन 
मेरी छोरीसँग भेट भयो भने
सुनाइदिनू– कसैले
यसरी आफ्नै भनेको देशले 
तिम्रो बाबुलाई 
पराइ भूमिको चिहान बनायो ! !
     
 

२. विपत्तिको वरदान

 

देशको सारा विपत्ति 
उसका लागि सम्पत्ति बनेर आयो

 

कुहिएको दाल–चामल
महँगो मोलमा बेच्न भ्यायो
यही मौका
टाठाबाठासँग उठबस बढायो
राहतको खाद्यान्न खानेहरू
धमाधम बिरामी पर्न थाले
उसले भने
औषधि आयातको फेरि अर्काे ठेक्का पायो !

 

यसरी यो विपत्ति 
उसका लागि वरदान भएर आयो !!