• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मनोज पण्डित
२०७७ जेठ १० शनिबार १०:५४:००
समाज

डिस्क्लेमर : यो लेख नपढ्नुहोला

खासमा दासत्वमा सहजता हुन्छ, तिमी सहजताका दास हौ

२०७७ जेठ १० शनिबार १०:५४:००
मनोज पण्डित

 

सुरुमै मैले लेख्नैपर्छ, डिस्क्लेमर । यो लेख तिमीले पढ्नका लागि लेखेको हैन । तथापि पढ्यौ भने बुझ्नेवाला छैनौ । बुझिहाल्यौ भने यसले तिमीमा असहजता सिर्जना गर्छ । असहजता बढ्यो भने टकराब हुन्छ । अनि हिंसा उत्पन्न हुन्छ । त्यसैले अराजकता बढ्छ र मानवता गुम्छ । मानवता गुम्यो भने मानव विलीन हुन्छ । मानव विलीन भएको क्षण के हुन्छ भनेर भन्ने शब्दहरू छैनन् । तर, मलाई थाहा छ, तिमीले यो लेख पढ्नेछौ । नगर भनेको गर्नु तिम्रो बाध्यता हो । नहेर भनेको हेर्नु तिम्रो चरित्र हो । यो लेख पढ्नुअघि तिमीलाई भन्नैपर्ने हुन्छ । यति भन्दाभन्दै पनि तिमीले जे सोचेर पढ्ने निर्णय ग-यौ, तिमीले त्यो पाउनेवाला छैनौ । केवल निराश हुनेछौ । 


यो निराश बनाउने लेखको सुरुवात शीर्षकबाट गरौँ । शीर्षक नै वाहियात लागेको हुनुपर्छ तिमीलाई । लेख लेख्ने अनि नपढ भन्ने ? नपढ्ने लेख किन लेख्नु ? लेख पढिन्न भने यसको अर्थ के ? कसैले पढोस्, कसैले नपढोस् भन्ने चाहने हो भने किन प्रकाशित गर्नु ? आफैँसँग राख्ने । यी प्रश्नहरू तिम्रो मस्तिष्कमा उठिरहँदा तिमीलाई मैले भन्नैपर्छ, के लेखको आफ्नै स्वतन्त्र अस्तित्व हुन सक्दैन ? के नपढ्दैमा लेख लेख रहँदैन र ? लेख लेखनकै लागि काफी हो नि ।

 

तिमीले नपढ्दैमा लेखको अर्थ र अस्तित्व हुँदैन भन्नु नदेखेको कारण देउता छैन भन्नुजत्तिकै हो । तिमीलाई मेरो उत्तर चित्त बुझिरहेको छैन भन्ने मलाई थाहा छ । मेरो आवश्यकता तिमीलाई चित्त बुझाउनु पनि होइन । तिम्रो चित्तै बुझ्नुपर्छ भन्ने मेरो बाध्यता पनि होइन । मेरो घेरा त यही शब्दहरूको संसार बनाउन मात्र हो । त्यसपछि त तिम्रै क्षेत्र हो । तिमीले चित्त नबुझाउँदैमा मेरो शब्दहरूको संसार ध्वस्त हुने होइन ।

 
तिमीसँग नांगिनका लागि केही पनि छैन । किनकि, तिमी आफैँमा केही होइनौ । त्यसैले तिमीलाई आफू केही हुँ भन्ने बनाउन बाध्यता छ । तिमी बाध्य छौ । तिमी बन्धनमा छौ । त्यसैले दास छौ ।

 

अहो ! म अलिकति बहकिएँ । बहकिनुमा मजा पनि आउँछ । मेरो कुरा तिमीलाई जायज नलाग्न सक्छ । विडम्बना ! तिमी हरेक कुरामा जायजता खोजिरहन्छौ । जायज लागे मात्र ती कुरा तिमी सही मान्छौ । जायजताको बन्धनमा अनेकौँ अस्तित्व तिमीबाट निषेधित हुन्छन् । तिमीले जायज ठह-याएको भन्दा नाजायज भनेको संख्या असंख्य गुणा धेरै छ । 


जायज तिम्रो परिधिको घेराबन्दीमा सीमित भएको छ । तिमी आफ्नो घेरा तोडेर बाहिर निस्कन सक्दैनौ । अनि ती नाजायजहरूलाई जीवनभर बहिष्कार गर्नमै व्यस्त हुन्छौ । तिमीले आफ्ना लागि बनाएका अर्थहरूको बन्धनमा जायजताको मापदण्ड खोज्छौ । तिम्रा अर्थहरू सतही र सीमित छन् । तिमी सीमित छौ । त्यसकारण तिम्रा जायजताको भार यो लेखले बोक्नुपर्छ भन्ने छैन । 


फेरि शीर्षकमै आऊँ । शीर्षक तिमीलाई शीर्षकजस्तो नै लागेन होला । लाग्दैन पनि । स्वाभाविक हो । तिमीलाई ती कुरा स्वाभाविक लाग्न सक्छ, जुनमा तिमी हुर्कंदै आयौ । तिम्रा अनुभवको चस्माबाट स्वाभाविकतालाई किन सीमित गर्नु । सीमित त तिमी छौ । स्वाभाविकता त असीमित छ । वास्तवमा यो लेखको कुनै शीर्षक छैन । के लेखलाई शीर्षक नै चाहिन्छ ? के लेख शीर्षकविना लेखिनु र छापिनु हँुदैन ? तिमी शीर्षकविनाको लेख परिकल्पना गर्न सक्दैनौ । यही प्रचलनमा तिमी निर्माण भयौ । तिमी प्रचलनभन्दा बाहिर कहाँ जान चाहन्छौ र ? वास्तवमा जान नसकेर नचाहेको हो । तिम्रो चाहना तिम्रो सामथ्र्यताले निर्माण गरेका हुन् । त्यसैले तिमी प्रचलनका दास हौ ।

 

खासमा दासत्वमा सहजता हुन्छ । त्यसैले तिमी सहजताको दास हौ । तिमी सधैँ जहाँ पनि सहजता नै खोजिरहेका हुन्छौ । तिम्रो सोच त्यही सहजताको परिधिभित्र सीमित छ । त्यसकारण सोच आफैँमा दास प्रवृत्तिको छ । दासको यो आरोप लागेपछि तिम्रो कन्सिरीको रौँ ठाडो भइरहेको म देख्दै छु । तिमी कसैले आफूप्रति आरोप लगाएको मन पराउँदैनौ । तिमीलाई लाग्छ, तिमी चोखो छौ । र, कुनै पनि आरोपको हकदार छैनौ । तिमी आफूप्रति उठ्ने हरेक प्रश्नसँग विमति राख्छौ । तिमीलाई लाग्छ, तिमीप्रति कुनै ठूलो षड्यन्त्र भइरहेको छ । तर, तिमी आफैँभित्र खोज्दैनौ, ती षड्यन्त्र तिमीले आफैँभित्र गरिरहेका छौ भन्ने तथ्य । 


हो, तिमी नै हौ त्यो षड्यन्त्रकारी, जसले दासत्वको षड्यन्त्र गरिरहेको छ । तिमीलाई लागिरहेछ, हैन यो लेखकले के भन्न खोजिरहेको हो ? लेखकले जे भन्न खोजेको हो, त्यो त उसले लेखिहाल्छ । तिम्रो आवश्यकता लेखकले के भन्न खोजेको भन्ने होइन । तिम्रो आवश्यकता त तिमीले लेखबाट के लिन्छौ भन्ने पो हो त । लेखक तिमीप्रति जिम्मेवार नभएजस्तै तिमी पनि लेखकप्रति जिम्मेवार हुनुपर्छ भन्ने छैन । तिमी आफूकेन्द्रित भए पुग्छ । तर, तिमी त्यो हुन चाहँदैनौ । तिमीलाई लेखकसँग टकराव गर्नु छ । लेखकको लेखले तिम्रो अहमतालाई चुनौती दिएको ठान्छौ । त्यसैले तिमी लेखकका लागि निर्णायक बन्ने भ्रमको सिर्जना गर्न खोज्छौ । 


लेखका बारेमा तिमीले केही नियम बनाएका छौ । लेख सिलसिलेवार र बुझिने हुनुपर्छ । लेखले दिनुपर्छ– आनन्द, ज्ञान वा सूचना । तिम्रा नियमहरू तिमीले सधैँ सजिलै पाइरहनुपर्छ । तिमीले आफूले चाहेको अरूले सजिलै देओस् भन्ने अवधारणा बोकेर बाँचेका छौ । र, लेखले पनि त्यस्तै काम गरोस् भन्ने चाहन्छौ । तिमीले चाहेको किन कसैले दिन बाध्य होस् ? दिनेले त आफूले चाहेको पो दिन्छ ।

 

आफूसँग भएको पो दिन्छ । तर, तिमी दिनेले चाहेकोजस्तो होइन, पाउनेले चाहेकोजस्तो हुनुपर्छ भन्ने निरंकुश सोच बोकेर बसेका छौ । त्यसैले तिमीले बुझ्ने लेख अरूले लेखिदिनुपर्ने । लेख नबुझ्नुको अर्थ लेखकको कमजोरी होइन, तिम्रो कमजोरी हो । तिमीले लेख बुझ्न नसकेको तिमीसँग क्षमतामा कमी हो । स्थिर शब्दलाई बुझ्न नसक्ने तिमी गतिशील मानवलाई कसरी बुझ्न सक्छौ ? लेखलाई तिमीले बुझ्ने कोसिस गर्नुपर्छ । तर, तिमीविना कोसिस बुझ्नुपर्ने मान्यता बोकेर बसिरहेका छौ । बाल्यकालमा आमाले भात खुवाएजस्तै गरी लेखकले तिमीलाई लेखको अर्थ र भाव खुवाइदिनुपर्ने ठान्छौ । तिमी नवजात शिशु होइनौ । लेख सिलसिलेवार नहुँदा तिमीलाई गाह्रो हुन्छ । अनि तिमी लेखलाई अस्वीकार गर्छौ ।


यो तिम्रो अस्वीकारभन्दा पनि लेखले तिमीलाई अस्वीकार गरेको हो । लेख सिलसिलेवार छैन भन्नु तिमी नै सिलसिलेवार नहुनु हो । समस्या लेख सिलसिलेवार नहुनुमा हैन, समस्या तिमी एउटै प्रकृतिको सिलसिलेवार वा बाँधेर बस्नुमा हो । सिलसिलेवारको अनन्त सम्भावना हुन्छन् । तिम्रो सम्भावनाको सीमितता छ ।


तिमी आफूमा भएको समस्याको कुण्ठा अरू अस्तित्वमा लाद्छौ, त्यसमा तिमीलाई मजा आउँछ । तिमीलाई अरूकोमा खोट पहिल्याउँदा मादकता चढेर आउँछ । तिमी गेल्टमा बाँचिरहेका छौ । त्यसैले तिमी फूललाई तिमी फूल देख्न सक्दैनौ । तिमी अस्वस्थ छौ र त्यसबाट भाग्न खोजिरहेछौ । त्यसैले स्वस्थ पनि बन्न सक्दैनौ । स्वस्थ बन्न अस्वस्थतालाई आत्मसात् गर्न सक्नुपर्छ । तिमी यो भनाइ बुझ्दैनौ । किनकि, विपरीतलाई बुझ्दैनौ ।

 

विपरीतको अस्तित्वलाई आत्मसात् गर्न नसक्दाको द्वन्द्वले तिम्रो जीवन पेन्डुलम भएको छ । न तिमी खुसी हुन सक्छौ, न दुःखी । दुःखी हुँदा तिमी खुसी हुने चाहना राख्छौ । खुसी हुँदा यो छुट्ला कि भनेर दुःखी भइरहन्छौ । तिमी वास्तवमै पीडा नै चाहन्छौ । पीडाविनाको परिकल्पना तिमीले गरेका नै छैनौ । तिमी पीडासँग बाँधिएका छौ । पीडा हुँदा मात्र तिमीलाई आफू छु जस्तो लाग्छ । पीडाबाट मुक्त भएको क्षण तिम्रा लागि आफूविनाको क्षण लाग्नेछ । त्यसैले तिमी स्वतन्त्र हुन सक्दैनौ । स्वतन्त्र हुन त्याग्नुपर्छ । त्याग्न तिमीले जानेकै छैनौ । प्राप्तिका सर्तबाहेक अरू तिम्रा लागि सार्थक हुनै सक्दैनन् । तिमी त्यागमा पनि प्राप्ति खोज्छौ । त्यो पूर्ण त्याग, जहाँ त्यागको प्राप्ति पनि त्याग गरिन्छ । तिम्रो विवेकले त्यस्तो त्याग ठम्याउनै सक्दैन । 

विपरीतको अस्तित्वलाई आत्मसात् गर्न नसक्दाको द्वन्द्वले तिम्रो जीवन पेन्डुलम भएको छ । न तिमी खुसी हुन सक्छौ, न दुःखी । दुःखी हुँदा तिमी खुसी हुने चाहना राख्छौ, खुसी हुँदा यो छुट्ला कि भनेर दुःखी भइरहन्छौ ।

 

तिम्रो विवेकले धेरै कुरा ठम्याउन सक्दैन । तिमी विचारलाई सर्वशक्तिमान ठान्छौ । विचारको सामथ्र्य एकदम सीमित छ भन्ने कुरा तिमीलाई थाहा छैन । तिमी विचारलाई मानक ठान्छौ । विचार निरीह छ । तापनि विचार तिमीलाई दास बनाउन सफल छ । भनेपछि तिमी कति निरीह होलाऊ त ? त्यसैले तिमी विचारको मालिकपनको गुनगानमै आफ्नो अस्तित्व देख्छौ । विचारको परिधिबाट तिमी स्वतन्त्र कहिल्यै हुन सक्दैनौ । विचारहरूको दासत्वभित्रबाट तिमीले पूर्ण स्वतन्त्रता कसरी पाउँछौ ?


पूर्ण स्वतन्त्रताको विषयमा मसँग पनि शब्दहरू छैन । शब्दहरूले म स्वतन्त्रताको कुरा गर्न सक्दिनँ । हेर त कति कमजोर छन् शब्दहरू । तैपनि तिमी शब्दहरूको गुच्चा खेलेर रमाइरहेका छौ । आकार र आकृतिबाट बनाएका शब्दहरू, अनि ती शब्दहरूलाई वस्तुहरूसँग जोडेर बनाएका पुलरुपी अर्थहरूको कारागारबाट मुक्त हुनेबारे तिमीले कहिल्यै सोच्न सकेनौ । शब्द र अर्थको तिमी बन्दी हौ । तिमीलाई देखेर सहानुभूति लागेर आउँछ । तिमीले आफू को हो भनेर कहिल्यै पनि खोजी गरेनौ । तर भन्नैपर्छ, तिमी वास्तवमा केही र कोही पनि होइनौ । तिमी त थुप्रै तत्वहरूको जोडबाट बनेको सम्मिश्रण हौ । केलाउँदै छोडाउँदै जाने हो भने तिमी प्याज जस्तै हौ–पत्रैपत्रले जेलिएको । तर, तिमी पहिचानको आवरणमा देखाएर आफूभित्रको खोक्रोपनलाई केही थान लुगाले ढाकेका छौ ।


तिमीसँग नांगिनका लागि केही पनि छैन । किनकि, तिमी आफैँमा केही होइनौ । त्यसैले तिमीलाई आफू केही हुँ भन्ने बनाउन बाध्यता छ । तिमी बाध्य छौ । किनकि, तिमी बन्धनमा छौ । त्यसैले दास छौ । दासहरूको कुनै अस्तित्व हुँदैन । केवल उनीहरू मालिकका सम्पत्ति हुन् । तिम्रा मालिकहरू तिमीलाई क्षणक्षणमा शृंगार्दै मोलतोल गरिरहेका हुन्छन् । बेचिरहेका हुन्छन् । तिमीलाई आफू बेचिएको पनि हेक्का हुँदैन । त्यसैले तिमी बेचिरहन्छौ । वस्तुजस्तै टुक्रा–टुक्रामा । बारम्बार दास भनिरहँदा तिमीमा रिस उम्लिरहेको छ । तर, तिमी आफ्नो रिस प्रकट गर्दैनौँ । किनकि, तिमीलाई आदर्शको ऐनामा आफूलाई हेर्नुपर्छ ।

 

जहाँ रिसाएको अनुहार नराम्रो देखिन्छ । तिमीलाई आफू नराम्रो त देखिनु नै छैन । त्यसैले रिसलाई तिमी लुकाउँछौ । कति कुरा लुकाउँछौ है तिमी, र लुकाएका कुरा कहाँ लुक्छन् र सधैँ । अन्धकार गुम्सिएर, दबिएर राख्न सके पनि ती कुनै न कुनै दिन विस्फोट भएर छताछुल्ल हुन्छन् । तिमी विस्फोटका लागि तयार बारुद हौ, अन्धकारको अँध्यारोमा प्रशोधित भएको । आफूभित्र भएको यो भयावह सम्भावनालाई तिमीले आँखा चिम्लिदिएका छौ ।

 

तिमीलाई लाग्छ, आँखा चिम्लिँदैमा अस्तित्वहरू विलीन भएर जानेछन् । तिमी भ्रममा बाँच्न बाध्य छौ । भ्रमहरूले तिमीलाई क्षणिक सुरक्षा प्रदान गर्छन् । तर, तिमी आफूभित्रको त्यो अन्धकारबाट मुक्त हुन सक्दैनौ । आफूभित्रको अन्धकारको चिच्याहट नसुन्न तिमी कानमा कपास कोच्छौ । तिमी त्यो अन्धकारबाट दौडिएर भाग्न खोजिरहेका छौ र छट्पटिइरहेछौ । तर, भागेर कहाँ पुगिन्छ, तिमीलाई थाहा छैन ।

 

उज्यालोका लागि दौडिरहेछौ भने अँध्यारोसँग भागेर कसरी पुग्न सकिन्छ र ! तिमीलाई विपरीतबारे थाहा छैन भनेर फेरि दोहो¥याउनुपर्ने हुन्छ । तिमीलाई सेतो र कालोबीचको सम्बन्ध थाहा छैन । किनकि, तिमीले बनाएको विपरीत शब्दको अर्थमै अपूर्णता छ । तिम्रा अर्थहरू अपूर्ण छन् । डिस्कनेरीमा सीमित शब्द–अर्थको तिम्रो परिधिबाट मुक्त भएर मात्र तिमी बुझ्न सक्ने छौ, अँध्यारो र उज्यालोको सम्बन्ध । सेतो र कालोको आलिंगन । तिमीलाई यसरी नै विपरीतहरूमा टुक्रा र कमजोर बनाएका छन् । र विपरीतताको एउटा खेमामा तिमीलाई असुरक्षित बनाएका छन् ।

 

तिमी विपरीतको शृंखलाबद्धमा एउटा कित्तामा उभिएर अर्को कित्तासँग निरन्तर लडिरहेका छौ । अनि आफूलाई लडाकु भन्छौ । बहादुरीताको प्रतीक ठान्छौ । तिमी अनावश्यक लडाइँ लडेर घाइते भएका छौ । तिमी युद्धलाई शान्तिको मार्ग ठान्छौ । बुद्धलाई बन्दुक थमाएर हिटलरलाई शान्तिवार्तामा बसाल्छौ । तिम्रो नियति विध्वंसबाहेक अरू केही छैन । तैपनि तिमी चाहनाहरूको महल बनाउन व्यस्त छौ । त्यसैले तिमीलाई सधैँ केही न केही चाहिरहने र पाइरहनुपर्ने । तिमीले पाएनौ भनेजस्तो लडाइँ पनि लड्न तयार हुने, तर आफूले पाउन केही दिन तयार नहुने । 


पाउनका लागि केही दिनुपर्छ भन्ने सन्तुलनको सिद्धान्त तिमी मान्दैनौ । त्यसैले मैले पनि तिमीलाई केही दिन चाहिनँ, जो तिमी चाहन्छौ । र, त्यही दिन चाहेँ, जुन तिमी चाहन्नौ । ताकि तिमीलाई थाहा होस्, नचाहँदा–नचाहँदै पनि धेरै कुरा तिमीले पाइरहेका हुनेछौ । चाहँदा–चाहँदै पनि धेरै कुरा तिमीले नपाइरहेका हुनेछौ । 


यो लेख तिम्रो विरुद्धमा छ । त्यसैले त नपढ भनेको थिएँ । लेखले तिमीलाई केवल प्रश्न, अपमान र गाली दिएको छ । त्यसबाहेक यस लेखमा अरू के नै छ र ! शब्दहरूले तिमीलाई पीडा दिएका छन् । म त्यही दिन चाहन्छु । मैले यो लेख लेख्नुको मूल उद्देश्य नै तिमीलाई पीडाको अवस्थामा पु-याएर सोध्नु हो, पीडा कसलाई हुन्छ ? शब्दहरूले तिम्रो शरीरलाई त केही फरक पार्दैन । फरक पार्छ त तिम्रो शरीरभित्र निर्माण भएको अवधारणाहरूको गुजुल्टोलाई, जसलाई तिमी आफ्नो सो सेल्फ मान्दछौ ।

 

तिमी केवल अवधारणा त हौ, तर त्यही अवधारणाहरूको पोको आफूलाई अवधारणाभन्दा माथिको शाश्वत अस्तित्व स्थापित गराउन प्रयत्न गर्छौ । तिमी हरक्षण प्रयत्न नै गरिरहेका हुन्छौ । त्यसैले तिमी डर र दबाबमा हुन्छौ । कतै आफ्नो अवधारणा भत्किने त हैन ?

 

समुद्री किनारामा बच्चाहरूले खेल्न बनाएको घर समुद्रको छालले विलीन गराइदिएजस्तै तिमी पनि विलीन हुन सक्छौ । त्यही भएर आफ्नो परिधिमा आउने बहुरूपी छालहरूसँग तिमी डराउँछौ । तिमी सधैँ डराइरहेका हुन्छौ । त्यसैले तिमी आफूलाई बलिया भित्ताहरूमा लुकाउन खोजिरहेका हुन्छौ । त्यसैको परिणाम तिमी अवधारणाको भित्ताहरूभित्र कैद हुन्छौ । यो अवधारणाहरूको जेलबाट बाहिर निस्कन तिमीसँग आँट छैन । तिमी वास्तवमै भन्दा डरको घर हौ, जहाँ डराउनुलाई आदर्श मानिन्छ । डर देखाउनुलाई धर्मै अनि डरको विभिन्न फेसन डिजाइन भइरहन्छ । 


तिमी आफ्ना अवधारणाहरूको बन्दीगृहभित्र सम्झौतामा बाँचिरहेका छौ । र, सम्झौताहरूमा तिमी रमाइरहेका छौ । यो बन्दीगृह तिम्रो घर बनिसकेको छ । त्यसैले यो घर नभत्कियोस् भन्ने तिमी चाहन्छौ । त्यसैका लागि दौडधुपमा व्यस्त हुन्छौ । कसैले पनि यो घरलाई बन्दीगृह नभनिदेओस् भन्ने तिमी चाहन्छौ । र, त्यस्ता लेखहरू लेख्न रुचाउँछौ, जसले तिम्रो घरलाई कसरी रंग्याउन सकिन्छ भनेर तिमीलाई सुझाब र टिप्स देओस् । 


त्यसैले डिस्क्लेमर लेखिदिएको पहिले नै । किनकि यो लेखले तिम्रो घरलाई बन्दीगृह भन्नेछ । तिम्रा रंगीबिरंगी मालाहरूलाई फलामका सिक्रीको हत्कडी हुन् भनेर तिम्रो मादकतामा खलल पैदा गर्नेछ । तिमी यो सुनेर छट्पटिँदै दौडन थाल्यौ भने तिम्रा हत्कडीहरू तोडिनेछन् र घर भत्किनेछ । घर भत्कियो भने तिमी बेघर हुन्छौ । अनि तिमीले हरेक सहजता गुमाउनेछौ । सहजता गुमेपछि तिमीले संघर्ष गर्नुपर्छ, यो गतिशीलतासँग । गतिशीलतासँग सम्झौता गर्दा कम्तीमा सधैँ क्रियाशील हुन्छौ । हरक्षण सचेत हुन उत्प्रेरित हुन्छौ ।

 

बन्धन र बाध्यताहरूको बोझ गतिशीलतामा छुटिसकेको हुँदा तिमी हलुका हुन्छौ र उड्न सक्छौ । तिमी नितान्त गतिशील मात्र हुन्छौ । जसका उपजमा तिमी तिमी रहन्नौ, गति मात्र रहन्छ । तिमी विलीन र मुक्त हुन्छौ । अनि बल्ल तिमी स्वतन्त्र हुन्छौ, सबै बन्धनहरूबाट । र, अन्त्यमा स्वतन्त्रता स्वयंबाट । सुन्दर ट्र्याजेडी हुनेछ । तिमीले तिमी गुमाउनेछौ । र, बाँकी रहन्छ...। 

 

फेरि अर्थहरूका नभेटिने अस्तित्व । तिमीलाई त्यस्तो अस्तित्वसँग कुनै सरोकार छैन । तिमीले आफ्नै सत्य बनाएका छौ र सपनाहरू । तिम्रा सत्यहरू तिम्रा सपना हुन् र तिम्रा सपना तिम्रा सत्य । सत्यहरू भत्किँदा र सपनाको मलामी जाँदा तिमीलाई धेरै नै पीडा हुनेछ । तर, म यो पीडा तिमीलाई दिन चाहन्नँ, अरू किसिमका पीडा दिए पनि । यो पीडाले तिमीलाई बदल्न सक्छ । त्यसैले तिमीलाई तिम्रो सत्य र सपनाको सिमेन्ट र इँटाले बनेको आसियाना सदा यसरी नै चम्किरहोस् भन्ने शुभकामना छ ।

 

त्यसैले सुरुमै डिस्क्लेमर लेखिहालेको हुँ । र, अन्त्यमा पनि डिस्क्लेमर राख्नैपर्छ । यदि तिमीले यो लेख पढ्यौ र तिम्रो आसियाना भत्कियो भने त्यसको जिम्मेवारी यो लेखले लिनेछैन । किनकि, यो लेख नै होइन । मैले केही लेखेकै छैन । यो तिमीसँगको एकोहोरो मन्थन मात्र हो । तिमी अर्थात् यो डिस्क्लेमरका बाबजुद पढ्ने साहस बटुलेर बसेका छौ । जसलाई रिस उठिरहेको छ, यो के पढेँ भन्ने उल्झन भएको छ । अनि केही पीडा । म त केवल शब्दहरूको गुजुल्टो मात्र हुँ ।