• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रकाश सपूत
२०७७ जेठ १७ शनिबार ०९:५०:००
समाज

देशभित्रैको सिमानासँग कहिलेसम्म लडिरहने ?

सिमानामा लड्नुपर्ने वेला ‘देशभित्रको सिमाना’सँग लड्नुपर्‍यो

२०७७ जेठ १७ शनिबार ०९:५०:००
प्रकाश सपूत

 

तिवेला देशको सिमानाका लागि लड्नुपर्ने थियो । तर, मलाई ‘देशभित्रकै सिमाना’ले कालापानी पुग्न दिएन, लिम्पियाधुरा पुग्न दिएन । सिमानामा लड्नुपर्ने वेला आफ्नै देशभित्रको सिमानासँग लड्नुप-यो । ‘मान्छे हुन’ पहिला लड्नुपर्‍यो । देशभित्रका थुपै्र सिमानाविरुद्ध लड्नुपर्‍यो । 


देशभित्रैको सिमाना भत्काउन मेरा पुर्खाले कैयौँ दशक बिताए । तर, सकेनन् । मेरो पुस्ता पनि त्यही सिमाना भत्काउन आजसम्म पनि लड्नुपरेको छ । आफ्नै लागि मात्रै अझै लड्नु परेपछि देशका लागि कहिले लड्ने ? आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ ? 


मलाई पनि सिमानामा गएर यो देशका लागि लड्ने मन थियो । तर, कथित उपल्लो जातका भन्नेहरूले हामीलाई लखेट्न छाडेको छैन । आज नवराज लखेटिए । तिनीहरूले कहाँ नवराजलाई मात्रै लखेटेका थिए र ! तिनीहरूले दलितलाई लखेटेका थिए । डुमलाई, कामीलाई, दमाईलाई, सार्कीलाई, चमारलाई, मुसहरलाई लखेटेका थिए । 

 

आफ्नै देशभित्र ‘मान्छे’ ठानिएको छैन, म कुन देशका लागि लड्न जाउँ ? कुन सिमानामा लड्न जाउँ ? मेरो देश खोज्न म कहाँ जाउँ ? भारतीयले बनाएको कुन बाटो भत्काउन जाउँ?

महामारीले भन्दा छुवाछुतको घटनाले रुन बाध्य बनायो । सारा संसार महामारीबाट त्रसित भइरहेको यस्तो संकटको समयमा सारा गाउँ मिलेर एउटा जातलाई लखेटे । जातलाई लखेट्न लकडाउन नलाग्दो रहेछ । दलितलाई लखेट्न कोरोनाको डर नहुँदोरहेछ । कोरोना अचानक आइपरेको समस्या हो । यो कुनै दिन निर्मूल भएर जानेछ । यसरी नै एकदिन छुवाछुत पनि हटेर जानेछ भन्ने सोचेको थिएँ । तर, तीन हजार वर्षदेखि दलित भएकै कारण लखेटिनुपर्ने विडम्बना अझै अन्त्य भएन । भाग्दाभाग्दै मर्नुपर्ने अवस्थाको अझै अन्त्य भएन । 


कोरोनाका कारण सामाजिक दूरी कायम राख्नुपर्ने भयो । तर, मानिसहरू सामाजिक दूरी कायम गरेर बस्न सकिरहेका छैनन् । शताब्दीऔँअघिदेखि सामाजिक, सांस्कृतिक, आर्थिक दूरी बनाएर बस्न बाध्य दलितको मनोविज्ञान महसुस गर्ने कोही गैरदलित छ ? कोही छैन । सोच्दा पनि कति भयानक र कहालीलाग्दो छ, युगौँदेखिको विभेदको दूरी ।

 

कोरोनाको सामाजिक दूरीभन्दा डरलाग्दो विभेदको दूरी सयौँवर्षदेखि दलितले खेप्नुपर्‍यो । गैरदलितलाई दुई महिना सामाजिक दूरी बनाएर हिँड्दा कति गाह्रो भयो ? दलितलाई सयौँ वर्षदेखि सामाजिक दूरी कायम राख्न बाध्य पार्दा कति मन दुख्यो होला ? के कुनै गैरदलितले अन्दाज गरेको छ ? तीन हजार वर्षदेखिको सामाजिक दूरीको पीडा के कुनै गैरदलितले सोध्यो ?


आत्मसम्मानमा परेको ठेस सहन नसकेर दलितले आत्महत्या गर्दा हाँसेर भन्नेहरू थिए, ‘कामी दमाईको बुद्धि हुँदैन । खान नपाएर म¥यो ।’ दुई महिना सामाजिक दूरी अपनाउँदा मानसिक समस्या भएर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढ्यो । दलित भएर सामाजिक दूरी अपनाउँदा कति मानसिक समस्या भयो होला ? मनको रोग कति भयानक हुँदोरहेछ अहिले बुझ्दै होलान् गैरदलितले । मानसिक समस्याको असर कस्तो हुँदोरहेछ अहिले थाहा पाउँदै होलान् । कस्तो हुँदो रहेछ, कसैलाई छुन नहुँदाको पीडा ? कस्तो हुँदोरहेछ, टाढिएर बस्दाको पीडा ? कोरोनाले सबै देखाइदियो ।  


०००


देशभर लकडाउन लाग्यो । सारा मान्छे घरभित्र थिए । समाज स्थिर भयो । टाढा बस्नुपर्ने, कसैलाई नछोईकन बस्नुपर्ने बाध्यता केही क्षणका लागि भए पनि अन्त्य भयो । एकछिनलाई आफू दलित भन्ने बिर्सिने अवसर मिल्यो । तर, यस्तोवेलामा पनि समाजले त्यो घाउ बल्झाइदिन्छ । समाजले ‘तँ अछुत नै होस्’ भन्ने तीर फेरि रोपिदिन्छ । चुपचाप बसिरहेका वेला फेरि घटना दोहोरिन्छ । अहो ! मेरोजस्तै थरको युवक मारियो । मेरोजस्तै जातको दलित मारियो । फेरि दिमागमा हान्छ, ‘म अछुत हुँ ।’ आफु दलित हुँ भन्ने बिर्सिनै पाइन्न । पटकपटक घाउ बल्झाइरहन्छ समाज । 

कोरोना आयो, साझा समस्या बन्यो । सीमा मिचियो, साझा समस्या बन्यो । नक्सा फेरियो, साझा समस्या बन्यो । निर्मला पन्त बलात्कृत भइन्, साझा समस्या बन्यो । तर, दलित युवती बलात्कृत हुँदा, दलित युवा पे्रम गरेकै कारण मारिदाँ यो देशमा कहिल्यै साझा समस्या बन्दैन । प्रधानमन्त्रीदेखि सांसदसम्म कोही बोल्दैन । सीमित मिडियाबाहेक तमाम मिडिया मौन बस्छन् । बरु दलितभित्रकै कमजोरी कोट्याउँदै सामाजिक सञ्जालमा झुल्किन्छन् । 


सरकार बारम्बार भनिरहन्छ, ‘कोही भोकै मर्नुपर्दैन । कोही छुवाछुतका कारण मर्नुपर्दैन ।’ तर, अजित मिजारहरू मारिन्छन् । नवराज विकहरू मारिन्छन् । अंगिरा पासीहरू बलात्कृत हुन्छन् र मारिन्छन् । घटना दोहोरिन छाडेको छैन । 


पे्रमकै कारण नवराज मारिएन, प्रेमकै कारण अजित मिजार मारिएन, प्रेमकै कारण अंगिरा बलात्कृत भइनन् । उनीहरू मारिनुपर्ने कारण ‘जात’ थियो । मर्नैपर्ने कारण ‘दलित’ थियो । 


नवराज विकले प्रेम गरेको थियो । पे्रमिका लिन साथीहरू लिएर गयो । प्रेमका कारण यस्तो हिम्मत अन्य जातका युवकले देखाउलान्, तर उनीहरू मारिँदैनन् । किनकि उच्च ठानिएका जातलाई मार्न मान्छेहरू डराउँछन् । तर, दलित मारिन्छन् । किनकि उनीहरूलाई ‘ठकुरी हुँ’ भन्ने अवगत गराउनु छ । ‘तँ दलित होस्’ भन्ने बुझाउनु छ । दलितले प्रेम गर्न पाउँदैन भन्ने अवगत गराउनु छ । विष्टहरू दलितलाई ‘सबक’ सिकाउन चाहन्छन् । तर, ती स्वयम्लाई सबक कसले सिकाइदेओस् ? 


०००


मैले पनि स्कुल र कलेज जीवनमा धेरै गैरदलित युवतीसँग संगत गरेँ । गीत गाउँथेँ, नाच्थेँ । मेरो प्रतिभाका कारण मलाई बाहुनक्षेत्री युवतीहरूले मनपराउँथे । म पनि उनीहरूलाई मन पराउँथेँ । तर, मलाई जहिल्यै डर लाग्थ्यो, झुक्किएर प्रेम गरिहाल्छु कि ! प्रेमका कारण तिनका आफन्तले गाली गर्ने हुन् कि ! डरैडरमा मनमनै मात्र प्रेम गरियो । व्यक्त गर्न कहिल्यै सकिनँ ।

 

तिनीहरूका आफन्तले देख्ने गरी तिनीहरूसँग संगत गर्न, घुम्न, डुल्न डर लाग्थ्यो । तिनको घर जान डर लाग्थ्यो । घर गइहाले पनि ढोकाबाट भित्र छिर्न अझै डर लाग्थ्यो । त्यो डरविरुद्ध नवराजले विद्रोह ग-यो । युवतीले पनि हिम्मत दिइन् । प्रेमिकाले हिम्मत दिएपछि नवराजलाई केही गर्ने आँट थपियो । प्रेमिकाको हिम्मत पाएपछि केही नयाँ गर्ने आँट आउँछ, केवल पे्रमका लागि । तर, विडम्बना ! दलित भएकै कारण त्यो हिम्मत दुर्घटनामा पुगेर टुंगिन्छ । 


पे्रम गर्नु नै गल्ती देखाएर पे्रमीलाई मारिन्छ । प्रेमिकालाई जोगाइन्छ । र, अन्तिममा प्रेमका लागि युवक सहिद हुन्छ । शिर उठाउन खोजेको दलितलाई फेरि ‘तिमीहरू दलित नै हौ’ भन्ने ‘ठप्पा’ लगाइन्छ । कहिल्यै नमेटिने गरी ‘अछुत’को छाप फेरि लगाइन्छ । ‘दलित हुँ’ भन्ने कहिल्यै बिर्सिन दिइन्न ।


घटना केही समयपछि सेलाउँछ । अपराधीले सजाय पाउँदैन । पीडितले न्याय पाउँदैन । बाहिरबाट हेर्दा समाज शान्त र मिलेर बसेकोजस्तो देखिन्छ । सबै मान्छे उस्तैउस्तै देखिन्छन् । सबै मानिस सामान्य जीवनमा फर्किन्छन् । ठीक त्यतिखेर फेरि कतै न कतै छुवाछुतका कारण दलितले ज्यान गुमाउन पुग्छन् । जब घटना बाहिर आउँछ, दलितलाई मानसिक तनाव हुन्छ । घटनाको जिम्मेवार त्यही गैरदलित समुदायबाट हुन्छ, जसले दलितबाट भोट लिएका हुन्छन्, काम लिएका हुन्छन् । 


०००


पटकपटकको राजनीतिक आन्दोलनपछि पनि जात व्यवस्था जस्ताको तस्तै छ । धार्मिक अन्धविश्वास जस्ताको जस्तै छ । ‘छुवाछुतमुक्त’ भनेर कागजमा देखियो होला, नारामा लेखियो होला । तर, विभेद उस्तै छ । अशिक्षित मानिसमा भएको अन्धविश्वास त कम गराउन सकिन्छ । तर, शिक्षित मानिसमा भएको अन्धविश्वास हटाउन गाह्रो छ । किनकि शिक्षित मानिसमा अहम्ले काम गरेको हुन्छ । अन्धविश्वासभन्दा पनि अहम् बढी छ । उपल्लो जातको हुँ भन्ने घमण्ड र भ्रम छ । 


चेतनाको मुख्य स्रोत राज्य व्यवस्था नै हो । राज्य दलितको बारेमा मूकदर्शक छ । विभेद गर्नेहरूलाई अदृष्य शक्ति र आड दिएर बसेको छ । गैरदलितले भरिएको राज्य संयन्त्र छ । उनीहरू दलितलाई समानताको नारा मात्रै बाँडेर राजनीति गरिरहन चाहन्छन् । 


अब यो लडाइँ दलित मात्रै लडेर सकिँदैन । दलितले त तीन हजार वर्षदेखि लड्दै आइरहेको छ । खोइ परिवर्तन भएको ? अब लड्ने चेतना भएका गैरदलितले पनि हो । तब मात्रै आफ्नै देशभित्रको सिमाना भत्काउन सकिनेछ । तर, आज एकाध सचेत गैरदलितहरू छुवाछुवविरुद्ध लागे पनि समाजका अन्य मानिस अहम् बोकेर बाँचेका छन् ।

 

माथिल्लो जातको हुँ भन्ने आडम्बर बोकेर बाँचेका छन् । उनीहरूको घरबाहिर र घरभित्र गर्ने चरित्र फरक छ । स्कुलमा छुवाछुत गर्नुहुँदैन भन्ने पाठ पढाउने प्राध्यापकले घर र टोलछिमेकमा छुवाछुत गर्छन् । आफ्नो प्रतिष्ठा र सामाजिक वर्चश्व कायम राख्न अहम् प्रदर्शन गर्छन् । त्यो अहम् भत्काउन साझा चेतना निर्माण गर्नुपर्छ । त्यसका लागि सबै समुदायका मानिसले पहल गर्नुपर्नेछ । 

 

देशको सिमानाको मुद्दा साझा भएजस्तै छुवाछुतको मुद्दा पनि साझा भइदिए म पनि कालापानी लिम्पियाधुरामा गएर लड्थेँ । तर, विडम्बना ! यो देश अहिलेसम्म उपल्लो जातको बिर्ताजस्तो भएको छ, जहाँ दलितले देशका लागि भन्दा देशभित्रकै सिमाना भत्काउन सधैँ लडिरहनुपरेको छ ।