• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
शिवहरि ज्ञवाली
२०७७ जेठ १७ शनिबार ०८:४५:००
इतिहास

दानदक्षिणाको जातशास्त्र

जब विपत् आउँछ, तब धर्मको प्रचार किन सुरु हुन्छ ?

२०७७ जेठ १७ शनिबार ०८:४५:००
शिवहरि ज्ञवाली


‘बर्तन’ नभको मान्छे पूजामा कसरी जान्छस् ? गाएत्री मन्तर त भन्न जान्दैनस् !

बासँगै कुमाल गाउँमा सत्यनारायण पूजा लगाउन जान मेरो दाइहरूसँग प्रायः झगडा पर्थ्याे । 

‘अरू’कोमा तिमीहरू जान्छौ । कुमालकोमा जान देओ न त ।’ बाले यति भनेपछि ‘द्विज’को हैसियत नपाएको म पनि पुरेत बन्न पाउँथेँ । दक्षिणाको लोभले स्कुल छाडेरै भए पनि बाको पछि लाग्थेँ । 


व्रतबन्ध नगरेको ब्राह्मणलाई पुज्ने चलन थिएन । व्रतबन्ध गराउँदा सबै जजमानलाई निम्तो जाने चलन भएकाले ब्राह्मण–क्षेत्री समुदायमा कसको व्रतबन्ध भयो–भएन सबैलाई जानकारी हुन्थ्यो । उनीहरू दुईपटक जन्मिन्छन्, एकपटक आमाबाट र अर्कोपटक व्रतबन्ध गरेपछि भन्ने मान्यता थियो । त्यसैले मनुस्मृतिजस्ता (अ)धर्मशास्त्रले उनीहरूलाई ‘द्विज’ भनेको छ । 


‘लाहुर’बाट फर्केका अधिकांश मगर र कुमालले वैशाख पूर्णिमापछि सत्यनारायण लगाउँथे । उनीहरूकोमा बा जाने भनेकै हजुरआमाको ‘असामी उठाउन’, कामका लागि बोलाउन या त सत्यनारायणको पूजा गराउन मात्रै होे । बाका आफ्नै जजमान थिए, जो अरू पुरेतलाई पूजा गर्न बोलाउँदैनथे । बालबच्चाको न्वारनमा नाम राखिदिएबापत बालाई दक्षिणा त आउँथ्यो । तर, न्वारनको कर्म गराउन जानु पर्थेन । 


तिनताक बा कुमाल गाउँकै स्कुलमा पढाउनुहुन्थ्यो । म गाउँकै अर्को स्कुलमा पढ्थेँ । पूजाको ‘सिजन’ सुरु भएपछि कुलबहादुर घर्तीमगर र थमन साठीघरेबाहेक अरू सबै ब्राह्मण शिक्षकहरू हप्तामा दुई–तीन दिन हराउँथे । बाजस्तै उनीहरूलाई पनि स्कुलमा होइन, जजमानीमा जान भ्याइनभ्याइ हुन्थ्यो । 

जब विपतकाे अवस्था सिर्जना हुन्छ, त्यसपछि हाम्रो समाजमा निश्चित धर्मलाई परोपकारी धर्मको रूपमा प्रचार गर्न तँछाडमछाड गरिन्छ । कोरोनाको महामारीको सन्दर्भमा पनि यस्तो प्रयास भइरहेकै छन् ।

 

पूजाबाट फर्केपछि हामी तीन भाइको अर्को झगडा सिदादानको रूपमा आएको चामलभित्र पैसा खोज्न, बाको दक्षिणा गन्न र प्रसादको रूपमा आएका फलफुल र रोटी बाँड्नमा हुन्थ्यो । नियमित जजमानहरूबाट आउने सिदादान र दक्षिणाको तुलनामा मगर र कुमालहरूबाट आउने सिदादान–दक्षिणा धेरै हुन्थ्यो । त्यसमाथि आमाका लागि समेत छुट्टै दान आउँथ्यो । हामी मख्ख पथ्र्याैं । बा ‘घरकै जजमानहरू छुचा छन्’ भन्दै भुतभुताउनुहुन्थ्यो । 


म ‘पुरेत’ बनेको अर्को दिन स्कुलमा मेरो छुट्टै रवाफ ! दक्षिणाको पैसाले ‘धनर्कली आमा’को पसलबाट तिलवाला मिठाइको सिंगै पोको आउँथ्यो । धेरैजसो साथीहरूसँग पारिवारिक नाता लाग्थ्यो । मिठाइ बाँड्थेँ । बाँकी रहेका कुमाल, मगर र दलित समुदायका साथीले मलाई घोडा बनेर स्कुलभन्दा केही पर रहेको पाँकुरीको रूखसम्म बोकेमा मात्र दिन्थेँ । साथीहरू घोडा बन्थे र म उनीहरूमाथि चढ्थेँ । 


एक दिन कुमाल गाउँमा आगलागी भयो । गाउँमा सबैले एक–एक मानाका दरले चामल सहयोग गर्ने भन्ने निर्णय भयो । हरि कुमालका बाजे हाम्रै घरमा धेरै वर्ष बँधुवा मजदुरको रूपमा काम गरेका थिए । उनकी श्रीमती सुत्केरी भएकीले उनलाई आमाले तोकिएको अन्नका अलावा दुई पाथी मकै थप्नुभयो । हजुरआमालाई यो मन परेन । स्कुलबाट फर्किएपछि बालाई आमाविरुद्ध कुरा लगाइदिनुभयो । ‘कुजातलाई केका गुनले थपेर दिएको ?’ भन्दै हाम्रै अगाडि आमाले कुटाइ खानुभयो । 


घरमा जोगी, भान्जा–भान्जी खलक र घरकै पण्डितबाहेक अरूलाई दान–दक्षिणा दिन वर्जित थियो । आमा अरूको दुःख देख्नै नसक्ने । गाउँमा खान–लाउन दुःख पाउने भनेकै कुमाल, दलित र मगर समुदायका केही परिवार थिए । तर, आमालाई सहयोग गर्नका लागि हाम्रो कथित उच्चजात र पण्डित परिवारको धङधङीले रोक्थ्यो । बाका लागि उनीहरू केबल हाम्रा ‘सिजनल’ आम्दानी र श्रमका स्रोत मात्र थिए । 

 

जात-व्यवस्थाको मूल


प्रायः हिन्दू कर्मकाण्डहरू निश्चित उमेर, वर्ण र लिंगकालाई निषेध गरिएको पाइन्छ । यद्यपि, सत्यनारायण पूजामा ब्राह्मणले शूद्रहरूबाट समेत दान लिन पाउँछन् । यस्तो दानले ब्राह्मणलाई आर्थिक रूपमा सहयोग त पुग्ने नै भयो, त्यसमाथि सत्यनारायण ब्रतकथामा उल्लेखित कथामार्फत् आम गैरदलित समुदायको दिल–दिमागमा जात–व्यवस्था र अन्धविश्वासको प्रचार गर्न सकिने भयो । यो ब्रतकथा मूलतः क्षेत्रीय (राजा) र वैश्य (व्यापारी)हरूमाथि ब्राह्मण (पुरेत)हरूले नारायण देवताको कृपामार्फत् कसरी नियन्त्रण गर्न सक्छन् भन्ने ‘ब्राह्मण शक्ति प्रदर्शन’मा आधारित छ । 


अन्य भौतिक वस्तुजस्तै जात–व्यवस्थामा आधारित समाज पनि कुनै खास परिस्थितिमा उत्पन्न हुन्छ । ईसापूर्व सातौँ शताब्दी मान्ने गरिएको उपनिषद्कालदेखि नै वर्णमा आधारित समाजको विरोधलाई ईश्वरमाथिको अनास्थाका रूपमा प्रचार गरियो । देवी–देवतालाई उपहारसहित पूजा गर्ने प्रचलनलाई शासकहरूले ‘शक्ति आर्जन’ र ब्राह्मण पुरोहितहरूले ‘अर्थ आर्जन’को स्रोतका रूपमा उपयोग गरे ।

 

यसले आमनागरिकमा समग्र मानवकल्याण दर्जनौँ देवीदेवताको पूजाआजा र ब्राह्मण दान–दक्षिणामा निर्भर गर्छ भन्ने धारणाको विकास भयो । यस्तो अवधारणा सजिलै गैरसाक्षर गाउँलेका दिल–दिमागमा घुसाउनका लागि श्रुति–स्मृति, पुराण, महाभारतजस्ता धर्मशास्त्रले मुख्य रूपमा योगदान पु-याए । फलस्वरूप दान–दक्षिणा पाउने वर्ग र दिने वर्गबीचको आर्थिक तथा सांस्कृतिक असमानताको खाडल गहिरिँदै गयो । 


प्राचीन हिन्दू समाजमा शासक वा राजा ब्राह्मणहरूका मुख्य यजमान थिए । उनीहरूको जिम्मेवारी प्रजाको स्वास्थ्य र समृद्धिका लागि यज्ञ लगाउनु थियो । यसलाई सैद्धान्तिक रूपमा भन्दा राजाको निरंकुशता ब्राह्मणहरूमा निर्भर थियो । यसले आम हिन्दूमा पनि ब्राह्मणलाई राजाको वरदानको रूपमा हेर्ने सामाजिक र धार्मिक चिन्तनको विकास गराइदियो । र, त्यस्ता देशको विधि निर्माणमा ब्राह्मणहरूको सर्वोच्चतालाई कुनै न कुनै रूपमा स्थान दिइयो । 


शासक र ब्राह्मण वर्गबीचको गठजोडले ब्राह्मणहरूलाई थप सम्पत्ति र सामाजिक सम्मान दियो । ब्राह्मणको रोजीरोटीको संरक्षणका लागि अवर्णहरूलाई सामान्य धार्मिक अनुष्ठानबाट समेत निषेध गरियो । मन्दिर, मठहरूको निर्माण र नियमित अनुष्ठानका लागि राज्यको स्रोतको दोहन सुरु भयो । उल्टो, दान लिइदिएकोमा ब्राह्मणप्रति नै आभारी हुनुपर्ने अवस्थाले धार्मिक अनुष्ठान सम्मान प्राप्तिको अवसर हो भन्ने व्यापक जनधारणा बन्यो ।

 

कुनै मामुली कानुनको उल्लंघन गरेमा ब्राह्मणलाई खुवाउनु वा उसलाई जरिवाना तिर्नू, गाई दान गर्नू जस्ता सजाय तोकियो । फलस्वरूप शुद्ध र अशुद्धको ब्राह्मणवादी सिद्धान्त निर्माण भयो । हिन्दू राजनीतिमा धर्मनिरपेक्षको अध्ययन गरेका लियो इ. रोज (१९७४)ले ब्राह्मण धर्मगुरु र क्षत्रीय राजतन्त्रको सहजीवी सम्बन्ध नेपालमा बीसाँै शताब्दीको आरम्भसम्म र भारतमा मुगलकालअघिसम्म कायमै रहेको उल्लेख गरेका छन् । 


प्रचलित इसाई, इस्लाम, हिन्दू र बौद्ध धर्ममा परिवार र निजी सम्पत्तिलाई बारम्बार निषेध गरिएको पाइन्छ । यद्यपि, हिन्दू धर्ममा निजी सम्पत्तिको निषेध ‘शूद्र’हरूलाई मात्र थियो (मनु, १०, १२९) । ब्राह्मणहरूलाई शूद्र र श्रमिक वर्गबाट ‘अन्न’ दान लिन निषेध भए पनि भूमि, आभूषण, घर, गाई, घोडा भने लिन सक्थे (मनु ४, २२९–२३४) । त्यत्ति मात्र होइन, शूद्रहरूका महिलामाथि समेत उनीहरूको विशेषाधिकार थियो (मनु, ३, १३) ।

 

रचनाकाल ईसापूर्व २००–३०० मानिएको मनुस्मृतिले हिन्दू विधिशास्त्रको आधारको रूपमा ब्राह्मणहरूलाई ज्ञान (कर्मकाण्ड, यज्ञानुष्ठान) र दान दिने–लिने कार्यमा विशेषाधिकार प्रदान गरेको थियो भने शूद्रहरूलाई अरू तीन वर्णको सेवाबाहेकका कामलाई निषेध ग-यो । यसको जगमा धर्मप्राप्तिका लागि कन्यादान, गोदान, भूमिदान र आभूषण दानको अवधारणाको विकास भयो । धनविना नैतिक दायित्व पूरा गर्न नसकिने धार्मिक मान्यताले आफ्ना प्रजालाई दान दिनु हिन्दू शासकको मुख्य दायित्व हुन्थ्यो । यसलाई अझ स्पष्टसँग भन्दा ब्राह्मणलगायतका ‘द्विजहरू’ मात्र यस्तो दान पाउन लायक हुन्थे ।


महाभारतको शान्ति र अनुशासन पर्व र अग्नि, मत्स्य र वराह पुराणमा दान महिमाबारे बारम्बार चर्चा गरिएको छ । त्यसो त हरित स्मृति, गरुड पुराण, संस्कार भाष्करजस्ता कर्मकाण्डी ग्रन्थले यज्ञ र वैदिक संस्कार गराउने ब्राह्मणहरूलाई राजाले पैसा र जमिन दान दिनुपर्ने बताएका छन् । भनिएको छ– ब्राह्मणलाई जति अन्नदान गर्छ, त्यत्ति नै वर्ष शिवलोकमा जान्छ, जसले दूध दिने गाई दान दिन्छ, ऊ गाईको रौँबराबर विष्णुलोकमा रहन्छ र जसले आभूषणसहित सुन्दर स्त्री दान दिन्छ, ऊ चन्द्रलोकमा रहनेछ (देवी भागवत ९ः३०) ।

 

त्यस्तै कठोपनिषद् (१ः८) मा ब्राह्मण देवतासमान भएकाले उसलाई पर्याप्त भोजन नगराउनेको बालबच्चा र सन्तानको सर्वस्व नाश हुने बताइएको छ । यसबाट हिन्दू समाजमा दान–दक्षिण परोपकारमा आधारित नभएर विशुद्ध आमनागरिक (शूद्र) माथिको शोषणको हतियार हो भन्ने स्पष्ट बुझिन्छ । 

 

दानको शक्ति-सम्बन्ध


धनबज्र बज्राचार्यकृत लिच्छविकालका अभिलेखहरूमा राजा मानदेव, उनकी श्रीमती राज्यवती र आमाले बौद्ध संघ, विहार, ब्राह्मण र भिक्षुहरूलाई जग्गा र दान-दक्षिणा दिएका थुप्रै सन्दर्भ छन् । मल्लपुरी जितेपछि राजा मानदेवले ब्राह्मणहरूलाई धन-दान गरेको र राजा अंशुवर्माले ब्राह्मणहरूलाई पुराण दान गरेका उदाहरणले पनि राजा वा राज्य-सत्ता, वित्तीय समर्थन र ब्राह्मण वा बौद्धिक ज्ञानको लेनदेनलाई उजागर गर्छन् ।

 

अहिलेसम्म पाइएका लिच्छविकालका अभिलेखमा संवत्सहितको पहिलो अभिलेख मानदेवको चाँगुको स्तम्भलेख हो । त्योभन्दा पुरानो मानिएको चाबहिल अभिलेखमा उल्लेख गरिएको दान–धर्मबारेको व्यवस्थाले मानदेवभन्दा अघिदेखि नै दरबारमा पुरोहित राख्ने, राज्यस्रोतबाट उसको शाखासन्तानको भरणपोषण गर्ने, ब्राह्मणहरूलाई दान-दक्षिणा दिने प्रचलन सुरु भएको अनुमान गर्न सकिन्छ । लेखक राजेन्द्र महर्जनले ब्राह्मण र शासकबीचको एकको राजनीतिक र वित्तीय समर्थन, अर्काेको दार्शनिक र वैचारिक पोषणलाई ‘ज्ञान र सत्ता’को अन्तरसम्बन्धको दक्षिण एसियाली नमुना भनेका छन् । 


जोसँग शास्त्र र साहित्यको ज्ञान छ, ऊ सम्पत्तिको हकदार हुने तथा राज्यका सल्लाहकार र गुरु-पुरोहित हुने परम्परा पनि जात–व्यवस्थासँग जोडिएर आउँछ । पृथ्वीनारायण शाहको पालामा शूद्रहरूले अपराध गरेमा दासदासी बनाएर बिक्री गरिन्थ्यो । र, यसबाट आएको पैसा दरबार नछिराउनू र फकिर फकिडा अतीत जोगी सन्न्यासी ब्राह्मणहरूलाई दक्षिणा भोजन चलाइदिनू भन्ने उनको उपदेश थियो ।

 

महेशचन्द्र रेग्मीका अनुसार सन् १७९१-१८१५ को गोर्खा साम्राज्य विस्तारको अभियानमा कुमाउलगायत मध्य र पश्चिम नेपालमा समेत बिर्ता, गुठी र अन्य धार्मिक संस्थाहरूको अधिकांश जग्गा ब्राह्मणहरूको स्वामित्वमा थियो । र, ब्राह्मणहरूले उपयोग गरिरहेको वा नयाँ किनेको जग्गालाई करमुक्त गरिएको थियो । यसरी बिर्ता र वृत्ति पाएका ब्राह्मणहरू आफ्ना क्षेत्रका जनतालाई धर्मकर्म गराउने (धर्माधिकारी), साधारण शिक्षा दिने, साक्षर पार्ने काममा संलग्न हुन्थे । 


राज्यले ब्राह्मणहरूको दान–दक्षिणामा कति लगानी गथ्र्याे भन्ने अन्य धेरै उदाहरणमध्ये वि.सं. १८५३ मा मोरङबाट तत्कालीन मुकाम विजयपुरका सुब्बा धौकलाल सिंहले ‘तोसिखाना’मा बुझाएको खर्च विवरण एउटा बलियो आधार हो । सुब्बाले कुल ४ हजार ९८४ रुपैयाँ १४ आनाको खर्च विवरणमा सरकार र राजपरिवारका सदस्यबाट ब्राह्मणहरूलाई दान-दक्षिणा मात्र कुल रकमको २५ प्रतिशत अर्थात् १ हजार २४२ रुपैयाँ त ब्राह्मणलाई दान-दक्षिणा दिएकोसँग सम्बन्धित थियो । 


त्यसो त आधुनिक नेपालको इतिहासमा बहादुर शाहले बाँधेको वि.सं. १८४९ को स्थितिमा पनि ‘आफ्ना पूज्यबाहेक जजमानले अर्कोलाई नपुजनू, ब्राह्मणले आफ्ना जजमानबाहिक अन्त पुजाउन नजानू’ भन्ने व्यवस्था गरिएको थियो । पुरेत ब्राह्मणको आर्थिक अवस्थालाई मजबुत बनाउन राज्यको यस्तो नीतिगत व्यवस्थाले कति परिवारको आर्थिक अवस्था मजबुत बन्यो ? यो छलफलको विषय हुन सक्छ । तर, यस्तो व्यवस्थाले नेपाली समाजमा जातमा आधारित-अर्थतन्त्रलाई भने पक्कै बढावा दियो । 


राजा सुरेन्द्रको पालामा बनेको वि.सं. १९१० को मुलुकी ऐनले ब्राह्मणहरूलाई धर्माधिकारीका रूपमा झन् बलियो आर्थिक आधार दियो । ‘धर्माधिकार्को’ महलमा पातकीले ब्राह्मणलाई टीका लाउन नभए पनि दान–दक्षिणा दिन हुने उल्लेख गरिएको छ ।

 

त्यस्तै बच्चा जन्मेपछि छैटीका दिनसम्म र सितलाको महामारीको समयमा समेत अरू देवकार्य, पितृकार्य गर्न नभए पनि ब्र्राह्मणहरूलाई दान–दक्षिणा र भोज गराउन हुने व्यवस्था गरिएको थियो । त्यसैगरी जुनसुकै किसिमले आशौच बार्दा पनि अन्त्यमा ब्राह्मणलाई गोदान र सिदा–दक्षिणा गरेपछि मात्र शुद्ध हुने कानुनी व्यवस्थाले ब्राह्मण र दान–दक्षिणालाई बलियोसँग संस्थागत ग-यो । 


मैले आफ्नै आँखाले मुलुकी ऐनको उपाध्यायकोे हाडनातासम्बन्धीको सजाय ‘अंश सर्वस्व गरी... जात पतित् गरी... धपाई दिनू’ भन्ने व्यवस्थाको २०६६ सालसम्मको प्रभाव देख्ने अवसर मात्र पाइनँ, बरु अहिले आएर यो घटनाको सम्बन्ध दान–दक्षिणाको ब्राह्मण–अर्थतन्त्रसँग पनि उत्तिकै जोडिन्छ भन्ने बुझ्न पाएँ । एक जजमानको घरमा भाउजू र देवरबीचको सम्बन्धबाट बच्चा जन्मिएपछि गाउँका सबैजसो ब्राह्मणहरू दुई समूहमा बाँडिए ।

 

बच्चाको न्वारन गरिदिए माइलाबालाई भात–पानी बार्ने र पुरेत नमान्ने र न्वारन नगरिदिए पुरेत नमान्ने समूह । दुवै समूह माइलाबालाई आफ्नो पक्षमा पार्न दक्षिणा नपुगेको भए थप्ने प्रस्ताव गरिरहेका थिए । तर, भातपानी नै बार्ने जजमानको धम्कीका सामु माइलाबाले न्वारन नगर्ने पक्ष लिए । हाम्रा जजमान फेरिए । बच्चाको परिवारको गाउँबाट उठीवास भयो ।

 
त्यसो त राणा शासनकालमा समेत देशभर रहेका मन्दिरका पुजारी, विभिन्न धार्मिक सभा, पर्व र सम्मेलनहरू र ब्राह्मण समुदायका विद्यार्थीको पठनपाठनका लागि वार्षिक बजेट र त्यसको व्यवस्थापनका लागि ‘दानाध्यक्ष’ पदको सिर्जना गरियो । वि.सं. १९६३ सालमा पण्डितराज रंगनाथ पौडेललाई ‘दानाध्यक्ष’को रूपमा नियुक्ति दिँदा उनको काम र कर्तव्यको रूपमा शास्त्र पढेका स्वदेशी तथा विदेशी पण्डित, भिक्षुहरूलाई मासिक तलबभत्ता, स्वागत सत्कार उनीहरूको स्तरअनुसार दान–दक्षिणा उपलब्ध गराउने तोकिएको थियो ।

 

त्यस्तै ब्राह्मणहरूलाई पढाउनका लागि राखिएका गुरुहरूलाई मासिक तलब दिने, शास्त्र अध्यापन गराइरहेका विदेशीलाई आफ्नो देशमा फर्कंदाका लागि बिदाई र उचित दानको व्यवस्था गर्ने, तुलादान र अन्य धार्मिक दानका लागि राजपुरोहित र दानाध्यक्षको सल्लाहमा ब्राह्मण पुरोहित र उनीहरूलाई दिने दानदक्षिणा तय गर्ने गर्नुपथ्र्याे । यसका अलावा दरबारमार्फत् गरिने धार्मिक अनुष्ठानका लागि ब्राह्मण छान्ने, दानदक्षिणाको जोरजाम गर्ने, देशभित्रका मन्दिरका नियमित र विशेष धार्मिक कार्यक्रमको व्यवस्थापन गर्ने र धार्मिक संस्कारअनुरूप यस्ता कार्यक्रम भए-नभएको दरबारलाई रिपोर्ट गर्ने पनि उसको काम हुन्थ्यो । 


प्रायः सुन्ने गर्छु ‘ब्राह्मण छुचो र लोभी हुन्छ ।’ पहिले त रिस उठ्थ्यो । तर, आजभोलि हाम्रो हिन्दू समाज नै किन लोभी भयो र त्यसमध्ये पनि ब्राह्मण किन सबैभन्दा लोभी भयो भन्ने बुझ्दै छु । नेपालको विधिशास्त्रको इतिहासमा जयस्थिति मल्लकालको ‘मानव न्याय शास्त्र’ महत्वपूर्ण दस्ताबेज हो, जुन नारदस्मृतिमा आधारित थियो । नारदस्मृति नै एक मनुस्मृति थियो ।

 

जसको प्रभाव मुलुकी ऐन हुँदै हालको मुलुकी संहितामा धर्म, विवाह र मृत्यु संस्कारसम्बन्धी प्रावधानमा प्रतिबिम्बित हुन आएको छ । जो जहिले पनि अरूबाट पाउन मात्र अभ्यस्त छ, ऊ दिन जान्ने कुरै भएन । यस्तो प्रवृत्तिले कालान्तरमा कथित ‘द्विज’हरूलाई नै दिने वा परोपकारको भावनाबाट पर पु¥यायो र दान–दक्षिणामार्फत् जातव्यवस्थाको अपरिवर्तनीय दृष्टिकोणलाई निरन्तरता दिइरह्यो । 


जब विपत्को अवस्था सिर्जना हुन्छ, त्यसपछि हाम्रो समाजमा निश्चित धर्मलाई परोपकारी धर्मको रूपमा प्रचार गर्न तँछाड-मछाड गरिन्छ । कोरोनाको महामारीको सन्दर्भमा पनि यस्तो प्रयास भइरहेकै छन् । यद्यपि, ऐतिहासिक प्रमाणले हिन्दूधर्मको परोपकारी दानसँग कुनै साइनो भएको देखाउँदैन ।

 

‘परोपकार पुण्याय, पापाय परपीडनम्’को सम्बन्ध त बरु ब्राह्मणलाई दान-दक्षिणा दिएर पाप मोचन र स्वर्गलोकको भ्रमपूर्ण यात्रासँग जोडिएको छ । त्यसैले विपत्को समयमा कुन धर्मले दानलाई प्रवद्र्धन गरेको छ वा गरेको छैन भन्ने बहस गर्नुभन्दा धर्मको आडमा बनेका सामाजिक संरचनाले समाजको पिँधमा रहेका दलित तथा सीमान्तकृत समुदायलाई कसरी थप पीडित बनाइराखेको छ भन्ने हेर्नु महत्वपूर्ण हुन्छ ।