• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ बैशाख ११ शनिबार ०८:०४:००
साहित्य

लोकतन्त्र भर्सेज जोकतन्त्र

२०७८ बैशाख ११ शनिबार ०८:०४:००

‘आबुई !’ 
हिँडेको विपरीत दिशाबाट कटेको मान्छे देखेर चकित हुँदै लोकतन्त्रले भन्यो, ‘क्या हो यस्तो ?’
‘अरे ! देख्दै मैजस्तो छ त !’
सोचे, ‘यहाँ ऐना कसले राख्यो ? हैन कस्तो आविष्कार हो यो ? ऐनाको मान्छे त आफैँतिर आफैँजसरी पो हिन्थ्यो । नयाँ ऐनाको के आविष्कार हो ?’
यो त ऐनाजस्तो छैन ठ्याक्कै मैजस्तो । काटीकुटी मैजस्तै । फेरि यो म भए, म चैँ को ?’
‘ओ, हेलो !’
लोकतन्त्रले काटिसकेको ‘फोटोकपी’लाई बोलायो–
‘ह्वाट्स योर नेम ?’
‘के हो पारा ? दिनदहाडै अंग्रेजी गैरछ त ?’
फोटोकपीले भन्यो –‘पिइयो कि क्या हो ?’
‘पिएकोजस्तो चैँ भैरछ ।’ 
लोकतन्त्रले भने, ‘ठ्याक्कै उस्तै, दुरुस्तै, मैजस्तै कसरी देखिरहेछु त ?’
फोटोकपीले भन्यो, ‘उस्तै छ त किन नदेखियोस् !’
चकितम् मुडमा लोकतन्त्रले भन्यो, ‘नाम चैँ के नि ?’
‘लोकतन्त्र’
‘त्यो त मेरो नाम हो’
‘त्यो त मेरो नाम हो ।’
‘हैन मेरो नाम हो ।’
‘हैन मेरो नाम’
‘कस्तो सिल्पट मान्छे रैछ !’
लोकतन्त्र जंगियो –
‘मलाई जिस्काएको ?’
‘कस्तो सिल्पट मान्छे रैछ’
फोटोकपीले फेरि कपी हान्यो –
‘मलाई जिस्काएको ?’
दिक्क मान्दै लोकतन्त्रले भन्यो– ‘उफ्, तँ
कहाँबाट आको ?’
ङिच्च हाँस्दै फोटोकपीले भन्यो – ‘म यहीँबाट आको !’ 
सोध्यो– ‘तँ चैँ कहाँबाट आको ?’
लोकतन्त्रले भन्यो– म पनि यहीँबाट आएको । 
‘खुब हुन्छ ?’
फोटोकपीले भन्यो–
‘मलाई थाहा छ, कहाँबाट आको’
‘लु भन त ?’
लोकतन्त्रले सोध्यो–
‘म कहाँबाट आएको ?’
फोटोकपीले भन्यो– ‘विदेशबाट !’
‘इस् हो ?’
लोकतन्त्रले भन्यो–
‘विदेशबाट बा आउनुभा हो ! ००७ सालमा ।’
‘त्यही प्रजातन्त्र भन्ने बुढा हैन ?’
जानेझैँ जसरी फोटोकपीले भन्यो –
‘हाम्रा ‘बा’ पनि लडेका हुन् तेरा बाका लागि । चौध वर्ष त जेलै बस्नुभाका भन्नुहुन्छ वेलावेला ।’
‘अँ, सुनेथेँ मैले नि !’ 
लोकतन्त्रले भन्यो–
‘तर उहाँबाटै सुनेकोले चुटकिला हो कि जस्तो लाइराथ्यो ।’
‘धत् ! अपवित्र बोल्ने ? बाले चुटकिला हान्नुहुन्न ।’
फोटोकपीले भन्यो –
‘किला हान्नुहुन्छ । किला गाड्नुहुन्छ । नउप्किने, नफुत्किने गरी । सत्तामा !’
‘यो त हो । किला त गाड्नुभा’छ सत्तामा ।’
लोकतन्त्रले भन्यो– ‘तर यतिसम्म मजबुत किला कसरी गाड्नुभो ? नहल्लिने नउप्कने गरी !’
सानसाथ फोटोकपीले भन्यो– ‘सेटिङ हो नि त !’ 
‘बाइ द वे, म जोकतन्त्र !’
परिचय दिँदै जोकतन्त्रले भन्यो –
‘सीधै बालुवाटारबाट !’
‘बाफ्रे’
जिब्रो टोक्दै लोक’ल तन्त्रले भन्यो–
‘सीधै बालुवाटारबाट ?’
आँखा झिम्क्याउँदै जोकतन्त्रले भन्यो –
‘सेटिङ हो नि त !’ 
लोकतन्त्रले सोध्यो– ‘जोकतन्त्र जिनिस के हो ?’
‘सीधै डेमोक्रेसी हो । लोकतन्त्र !’
जोकतन्त्रले भन्यो– ‘बाद्वारा छोराहरूका लागि बाले शासन गर्ने प्रणाली !’
लोकतन्त्रले सोध्यो– ‘अनि नाम किन जोकतन्त्र ?’
जोकतन्त्रले सोध्यो– ‘नेपाली माटो सुहाउँदो बनाएको नि !’
लोकतन्त्रले सोध्यो– ‘यु मिन, पञ्चायतजस्तो ?’
‘फ्लेवर अलिअलि !’
जोकतन्त्रले भन्यो– ‘महेन्द्र सरकारपछिको उहाँ त हो !’
चकित हुँदै लोकतन्त्रले सोध्यो, ‘भन्नलाई प्रजातन्त्रका लागि यति उति वर्ष जेल बसेँ भन्ने । फ्लेवर चैँ पञ्चायतको झिक्ने ?’
चकित पार्दै जोकतन्त्रले भन्यो –‘सेटिङ हो नि त !’
‘पटक–पटक सेटिङ भन्दै छस्,’ लोकतन्त्रले भन्यो, ‘के हो यो सेटिङ चैँ ?’ ‘बाको योजनाहरूको संग्रह र त्यसलाई लागू गर्ने विधि हो ।’
जोकतन्त्रले भन्यो, ‘यस्ता कुरा बाटोमा उभिएर के गर्नु ? जाम बरु लस्सी खान !’
‘कुरो त ठिकै हो ।’
लोकतन्त्रले सोध्यो– ‘जाने चैँ कहाँ ?’
जोकतन्त्रले भन्यो– ‘होटल मेरियट !’
‘हैट् ! मेरियट ?’
आत्तिँदै लोकतन्त्रले भन्यो, ‘त्यही नि बाका छोरासँग । अपहरण हुनु छैन ।’
‘पाप नसोच्नुस् !’ जोकतन्त्रले भन्यो, ‘बाले अपहरण गर्नुहुन्न !’
‘बाले लोकतन्त्रको अपहरण गर्न लागे भनेर जहीँतहीँ हल्ला छ,’ लोकतन्त्रले भन्यो, ‘यस्तो नहोला कसरी भन्नु ?’
‘हुल्लडहरूले जे पनि हल्ला गर्छन् ! यस्तो हल्लाको पछि कुद्नु हुन्न ।’
जोकतन्त्रले भन्यो, ‘बरु अघि कुद्नोस् । मेरियटतिर ! क्यै हुन्न ।’ 
‘ठिकै छ ।’ लोकतन्त्रले भन्यो, ‘तर नि आशंका नि !’
‘यो आशंका फजुल छ । बा लोकतन्त्रकै लागि १४ वर्ष जेल परेका मान्छे हुन्,’ जोकतन्त्रले भन्यो, ‘त्यसैले सेटिङमा अपहरण छैन ! बरु चौध वर्षको जेलजीवन र अयोध्याबारेको किस्सा सुनाउँला ।’
‘बा चौध वर्ष लोकतन्त्रका लागि जेल पर्नुभो,’ जोकतन्त्रले दोहो¥यायो, ‘ठ्याक्कै १४ वर्ष !’
‘२४ नै वर्ष परून् न ?’ लोकतन्त्रले भन्यो, ‘दोहो¥याइरहन पर्छ ? कति परे, अझ कतिले सहादतै प्राप्त गरे ।’
‘अरू बसेकोजस्तो हैन बा बसेको,’ जोकतन्त्रले भन्यो, ‘अरूले लोकतन्त्र ल्याए । गणतन्त्र ल्याए । बाले जोकतन्त्र ल्याउनुभो । त्यसैले अरू बस्नुभन्दा बा बस्नु फरक छ ।’
‘अनि ?’
‘अनि त्यही भो । बाका कारण म आएँ ।’
जोकतन्त्रले भन्यो, ‘बा १४ वर्ष जेलवास जानुभो । राम १४ वर्ष वनवास गए । बाटोमा ठ्याक्क भेट भएछ ।’
‘तोइट ! राम त्रेतायुगमा वनवास गएका’
लोकतन्त्रले भन्यो, ‘बा कलियुगमा जेल गएका । बाटोमा भेट हुन्छ कहीँ ? हावा !’
‘सेटिङ हो नि त सेटिङ’
जोकतन्त्रले भन्यो–
‘मिलाएसि भेट हुन्छ ।’
लोकतन्त्रले भन्यो– ‘अनि के भो त ?’ 
‘बा र रामको घनिष्ट दोस्ती जम्यो ।’
‘त्यसपछि ?’
‘त्यसपछि बा जेलतिर जानुभो । राम चैँ वनतिर !’
जोकतन्त्रले भन्यो–
‘ठ्याक्कै के, प्रचण्डजी पेरिसडाँडातिर, माधवजी धुम्बाराहीतिर जस्तो !’
‘अनि भेट भएन ?’
‘किन नहुनु ?’
जोकतन्त्रले भन्यो– ‘बा जेलबाट नि फर्किनु । राम वनवासबाट नि फर्किनु । बाटोमा फ्याट्ट भेट भो । त्यसैवेला श्रीराम र श्रीबाबीच यता नि रामराज्य बनाउने कुरा भएछ । अनि सहमतिमुताबिक यता पनि रामराज्यको आधिकारिक दूतावास राख्ने कुरा भएछ । बाले फेरि के दूतावास मात्रै ? यतै जन्मिदिनोस् एउटा अयोध्या यता पनि बनाम् भन्नुभएछ । रामले पनि हुन्छ भन्दिनुभएछ ।’
‘यस्तो नि हुन्छ ?’
लोकतन्त्रले भन्यो–
‘अनि उहिल्यै जन्मिसकेको मान्छे फेरि जन्मिन मिल्छ ?’
‘किन नमिल्नु ?’
जोकतन्त्रले भन्यो, ‘जोकतन्त्रमा मिल्छ । लोकतन्त्र जस्तो हो र ? सेटिङ हो नि त ! देख्नुभएन अयोध्या निर्माणको काम सुरु भैसक्यो ।’
‘जनता महामारीले ग्रस्त छन् ।’
लोकतन्त्रले भन्यो–
‘यस्तो वेला अस्पताल नबनाएर मन्दिर बनाउँदै हिँड्नु । अयोध्या थाप्दै हिँड्नु कत्तिको जायज हो ? जनतालाई बाँच्ने अधिकार हुन्न राम राज्यमा ?’
‘रामराज्यमा कोभिड नै हुन्न ।’ 
जोकतन्त्रले भन्यो–
‘रामायणमा कहीँ कोभिडको चर्चा छ ?’
लोकतन्त्रले भन्यो, ‘छैन !’
‘छैन भने केको फुरफुर’
जोकतन्त्रले भन्यो–
‘रामराज्यमा तिम्रो अस्तित्व छैन । त्यसैले फुरफुर नगर । चुप बस । 
थप्यो –
‘भन ! जीवन रोज्ने कि स्वतन्त्रता ?’