• वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ ७ शनिबार ०७:१८:००
साहित्य

नेपालको व्यापारिक इतिहास बताउने आत्मकथा

२०७९ जेठ ७ शनिबार ०७:१८:००

तपाईंलाई अचम्म लाग्न सक्छ, आजभोलि जसरी सीमावर्ती भारतीय बजारका नेपालीहरू गएर किनमेल गर्छन्, विगत चार–पाँच दशकअघिसम्म त्यसैगरी भारतीयहरू नेपाल आएर किनमेल गर्थे । अहिले रक्सौल, जोगबनीजस्ता भारतीय बजारमा नेपालीको भिड लाग्ने गर्छ, पहिले वीरगन्ज, विराटनगरजस्ता सहरमा भारतीयको त्यस्तै भिड लाग्थ्यो । कारण नेपालमा तेस्रो मुलुकबाट आयात गरिएका सामग्री पाइन्थ्यो, भारतमा पाइन्नथ्यो । त्यसो हुनाले भारतीय उपभोक्ता नेपालका सीमावर्ती बजारहरूमा किनमेलका लागि आउने र उनीहरूको भिड नै लाग्ने गरेको प्रसंग वरिष्ठ व्यवसायी तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले आफ्नो आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’मा उल्लेख गरेका छन् । 

उद्योगदेखि अटोमोबाइलसम्मको व्यावसायिक क्षेत्रमा दुगड परिवारले नमेटिने पदचाप छाडेको छ । तर, मोतीलालले जीवनको उत्तरार्धमा आएर आफ्ना अन्य क्षेत्रका कतिपय व्यवसाय छोड्दै जलविद्युत् विकासमा आफूलाई केन्द्रित गरेका छन् । जलविद्युत् उत्पादन ठूला व्यावसायिक घरानाको कमै प्राथमिकतामा परिरहेको अवस्थामा उनले तीन सय २१ मेगावाटका विभिन्न परियोजना सम्पन्न गर्दै छन् । आत्मकथा ‘कृषि उद्यमदेखि जलविद्युत्सम्म’मा उनले आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनयात्राका यस्तै रोचक र महत्वपूर्ण पक्षलाई प्रस्तुत गरेका छन् ।

जीवनभर आयात निर्यात व्यापार तथा उत्पादनमा काम गरिरहेको व्यक्तिले विद्युत् क्षेत्रमा किन लगानी गरे भन्ने विषयमा उनले बुँदागत रूपमा पुस्तकमा उल्लेख गरेका छन् । पछिल्लो समय सरकारले विद्युत् उत्पादनलाई प्राथमिकता दिएको, यसको उत्पादनका लागि कच्चा पदार्थ आयात गर्नु नपर्ने– मुलुकमा बगिरहेको पानीबाटै यो उत्पादन गर्न सकिने कारणले विद्युत्मा लगानी गरेको उनले विस्तृतमा व्याख्या गरेका छन् । शाकाहारी जैन दुगड परिवार हत्याहिंसाबाट टाढै रहने गरेको र यो धार्मिक र सांस्कृतिक दृष्टिकोणले पनि जलविद्युत्को लगानी सबैभन्दा उत्तम देखेको उनले उल्लेख गरेका छन् । जलविद्युत् वातावरण जोगाउने, वनजंगल जोगाउने तथा कार्बन उत्सर्जन घटाउने हरित ऊर्जा भएकाले आफूले मानिआएको धार्मिक आस्थासँग पनि विद्युत्मा लगानी उपयुक्त देखिएकाले यस क्षेत्रमा हात हालेको उनले उल्लेख गरेका छन् । ‘मृत्युपछि मेरो अस्तु विद्युत् उत्पादन गरेका दुई नदी लिखुखोला र ल्याप्चेखोलामा सेलाइदिऊन्’ भनेर आफ्नो कामप्रतिको मात्रै नभई आफूलाई कर्मको अवसर दिने प्रकृतिप्रतिको श्रद्धा पनि उनले व्यक्त गरेका छन् । 

दुगडका हजुरबुबा भारतको बिकानेरबाट नेपाल आएका थिए । बिकानेरमा उनीहरू कृषि पेसा गर्दथे, त्यसैको निरन्तरतास्वरूप उनीहरू भारतको कुसमाहाट हुँदै विराटनगर आएर व्यापार–व्यवसायमा पनि लागे । सुगनमल–चाँदमल, चाँदमल–लुनकरण दुगड ग्रुप हुँदै आजको एमभी दुगड ग्रुपसम्मको व्यावसायिक यात्रालाई क्रमबद्ध रूपमा रोचक ढंगले व्याख्या गरिएको छ । उनका बुबा र हजुरबुबाले सुरु गरेको व्यापार–व्यवसायलाई आफ्ना दाजु तोलाराम दुगडले कसरी विस्तार गरे भन्ने विषयमा उनले विस्तारपूर्वक व्याख्या गरेका छन् । सफल राजनीतिज्ञ र व्यवसायी तोलाराम नेपाली कांग्रेस पार्टीको कोषाध्यक्ष पनि बनेका थिए । नेपालमा व्यावसायिक विकासको इतिहासका रूपमा रहेका यस्ता तथ्य अर्थतन्त्रका विषयमा चासो राख्नेहरूका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्न सक्छन् । धेरैलाई थाहा नहुन सक्छ, विराटनगर सहर सुरुमा विकास गर्दा यसको नाम नेपालगन्ज राखिएको थियो । नेपालगन्ज भन्ने अर्को सहर छ भन्ने त्यहाँका मानिसले थाहा पाएपछि त्यसलाई गोग्राहा नाम राखिएको रहेछ, त्यसपछि मात्रै विराटनगर भएको रहेछ । विराटनगरमा औद्योगिक तथा व्यावसायिक इतिहासका बारेमा पनि पुस्तकमा महत्वपूर्ण विषय उल्लेख छ । 

कुनै समय राजपरिवारका कुनै सदस्यले दुगडलाई एकल लाइसेन्स दिने मात्रै नभई तत्कालीन नेपाल औद्योगिक विकास निगम (एनआइडिसी)बाट ऋणसमेत मिलाइदिने प्रतिबद्धता गरेका रहेछन् । तर, मदिरा उद्योग लगाउनु आफ्नो धार्मिक आस्थाविपरीत हुने हुनाले आफूहरूले नगर्ने भनेर व्यावसायिक अवसरलाई नै अस्वीकार गर्ने काम गरेको पुस्तकमा उल्लेख छ । 

आफूले आयात–निर्यात व्यापार गर्दाका विवरण मात्रै होइन, प्रमाणका रूपमा पुराना दस्तावेजको संकलन पनि पुस्तकमा समेटिएका छन्, जुन अर्थतन्त्रबारे चासो राख्नेहरूका लागि उपयोगी हुने देखिन्छ । त्यसवेलाका राजपत्रका सूचना, बिलबिजक, प्रमाणपत्रलगायत दस्तावेजको संग्रह पनि पुस्तकमा गरिएको छ । विगतमा नेपालले कुनै वस्तु निर्यात गर्‍यो भने त्यही वस्तु सरकारले करका रूपमा लिने प्रचलन रहेछ । उदाहरणका लागि तोरी निर्यात ग¥यो भने सरकारले तोरी नै करका रूपमा लिने गरेको तथ्य अहिलेको पुस्ताका लागि नौलो हो । 

यो पुस्तक दुगड परिवारको व्यक्तिगत र व्यावसायिक यात्राको विवरण मात्रै होइन, नेपालको व्यापार व्यवसायको इतिहासका रूपमा पनि रहेको छ । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रमोद प्रधानले सम्पादन गरेको यो पुस्तक भाषागत रूपमा पनि आकर्षक छ । 


नेपालले विगतमा आयात–निर्यातमा धेरै नीतिगत प्रयोग गरेको थियो । उदाहरणका लागि कुनै वेला नेपाली व्यवसायीले केही वस्तु आयात गर्नुपर्‍यो भने निर्यात गर्नैपथ्र्यो । निर्यात गरेर पाउने ‘बोनस भौचर’का आधारमा आयात गर्न पाइन्थ्यो । नेपालबाट जुट, हस्तकलाका सामग्री निर्यात हुन्थ्यो, जति निर्यात गरेको हो त्यसको ४० देखि ६० प्रतिशत मात्रै आयात गर्न पाइन्थ्यो । पछि त्यसलाई ८० प्रतिशतसम्म बनाइएको थियो ।

एउटा व्यापारीले निर्यात गरेको बोनस भौचर अर्को आयातकर्ताले किनेर पनि त्यसबाट आयात गर्न पाउँथ्यो । नेपालको आयात–निर्यात व्यापारलाई सन्तुलित गर्ने र अनियन्त्रित रूपमा आयात गर्न नदिन त्यो व्यवस्थाले राम्रो काम गरेको लेखकले उल्लेख गरेका छन् । त्यस्तै, त्यसमा सुधारसहितको कुनै व्यवस्था गर्न सके अहिलेको अत्यन्तै ठूलो व्यापार घाटा कम गर्न मद्दत हुन्थ्यो कि ? सोचनीय छ । बोनस भौचरको व्यवस्था खारेज गरेर आयातमा खुला अनुमतिपत्र (ओपन जनरल लाइसेन्स)को व्यवस्था लागू गरेपछि आयात गर्नका लागि निर्यात गर्नैपर्ने बाध्यता हट्यो, जसले देशमा आयात अनियन्त्रित भएको लेखकको पनि बुझाइ छ ।

नेपालले आयातका लागि बोलकबोल प्रणाली पनि प्रयोगमा ल्याएको थियो, तर छोटो समयका लागि । जसले बढी लाभ दिने हो, बोलकबोलमार्फत त्यसैलाई आयातको अनुमति दिने गरिन्थ्यो भन्ने उनले उल्लेख गरेका छन् । वस्तु विनिमयप्रथा पनि नेपालको आयात व्यापारमा चलेको थियो । खासगरी सोभियत संघलगायत साम्यवादी मुलुकका सरकारी कम्पनीलाई नेपालबाट सामान पठाउने र त्यति नै मूल्यबराबरको सामान नै उसले नेपाल पठाउने गरिएको प्रसंग लेखकले उल्लेख गरेका छन् । गिफ्ट तथा पार्सल प्रणाली, झिटीगुन्टा प्रणालीलगायतले नेपालको आयात व्यापारमा विकृति बढाएको प्रसंग उनले उल्लेख गरेका छन् । बोनस भौचर प्रणालीमै धेरै मूल्यका सामान आयात गर्न पाइयोस् भनेर निर्यात गर्दा बढी मूल्यको बिल काटी अनियमितता गर्ने गरिएको कुरा पनि उनले उल्लेख गरेका छन् । त्यसको एउटा उदाहरण कार्पेट काण्ड हो । 

दुगड समूह नेपालबाट जुट निर्यात गर्ने पहिलो व्यावसायिक घराना भएको पनि लेखकले उल्लेख गरेका छन् । नेपालको जुट निर्यातमा भारतले त्यही वेलादेखि नै अवरोध गर्ने गरेको थियो । अहिले पनि विभिन्न गैरकर अवरोध खडा गरेर भारतले नेपालको निर्यातमा वेलावेला अवरोध गर्ने गरेको छ, त्यो इतिहासदेखि नै चलिआएको हो भन्ने लेखकले उल्लेख गरेका छन् । एकपटक नेपालबाट जसले पहिला कोलकाता बन्दरगाहमा गएर नाम टिपायो, उसैले जुट निर्यात गर्न पाउने व्यवस्था भारतले ल्याएकोरहेछ । को पहिला कोलकाता पुग्ने भन्ने प्रतिस्पर्धामा नेपाली व्यापारीहरू भारतको पूर्णिया पुगेर डाकोटा जहाज चार्टर्ड गर्ने गरेको रोचक प्रसंग पनि लेखकले उल्लेख गरेका छन् । 

नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि राजपरिवारका सदस्यहरूलाई समेत विदेश जानुपरेको अवस्थामा भारतीय बैंकमा अनुरोध पठाउने र उनीहरूबाट सटही सुविधा लिनुपर्ने बाध्यता थियो भन्ने तथ्य पनि पुस्तकमा छ । पुस्तकमा नेपालको इतिहासको विभिन्न कालखण्डको व्यापारिक घटनालाई सिलसिलेबार रूपमा प्रस्तुत त गरिएको छ । तीमध्ये यस्ता अनेकन घटनाहरूलाई अझै विस्तारमा लेख्न पाएको भए अझै राम्रो हुने थियो । नेपालले आयात–निर्यात व्यापारमा गरेका विभिन्न प्रयोग र त्यसले पारेका राम्रा र नराम्रा असरबारे प्रत्येकको फरक–फरक अध्याय बनाउन सकिन्थ्यो । विगतमा निकै बलियो रहेको निर्यात व्यापार आजको दुर्दशामा कसरी आइपुग्यो भन्ने विषयमा थप उदाहरणसहितको अध्याय बनाउन सकिन्थ्यो । दुगड ग्रुप नेपालमा सवारीसाधन आयात गरी बिक्री गर्नेमध्येमा पनि अग्रणी हो, त्यससम्बन्धी यात्राको पनि छुट्टै र विस्तृत अध्याय बनाउन पाएको भए अझै रोचक हुन सक्थ्यो । अर्को, संस्करण निकाल्दा लेखकले पक्कै पनि यी विषयमा ध्यान दिनुहुनेछ भन्ने आशा लिन सकिन्छ । 

यो पुस्तक दुगड परिवारको व्यक्तिगत र व्यावसायिक यात्राको विवरण मात्रै होइन, नेपालको व्यापार–व्यवसायको इतिहासका रूपमा पनि रहेको छ । वरिष्ठ पत्रकार तथा साहित्यकार प्रमोद प्रधानले सम्पादन गरेको यो पुस्तक भाषागत रूपमा पनि आकर्षक छ ।