• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ श्रावण १४ शनिबार ०७:०५:००
सम्झना

रुम नम्बर ट्वान्टी फाइभ

२०७९ श्रावण १४ शनिबार ०७:०५:००

किरण मानन्धर होस्टल गए । बोर्डमा लेखिएथ्यो– रुया होस्टल । देख्दै भव्य दरबारजस्तो । त्यहाँ मेडिकलका विद्यार्थी बस्ने रहेछन् । चारजना विद्यार्थी बस्ने रहेछन्– देख्दै डरलाग्दा । मोटा ज्यान भएका । पाखुरा ठूला भएका । बक्सिङ प्रतियोगितामा भाग लिन तयारी गरिरहेकाजस्ता । लामा दाह्री भएका, पहलमानजस्ता ।  


‘वनारस है ! छुरा हान्ने, रिवाल्वर हान्ने ! गुन्डा बस्ने ठाउँ । बाटो हिँड्दा पनि राम्ररी हेरेर हिँड्नुपर्ने । खाल्डो हुन सक्छ । खाल्डोमा हालेर भक्कुमार कुटेर लुटपाट गरेर हिँड्न सक्छन् ।’ 


किरणले काठमाडौंमा साथीहरूले भनेको झलक्क सम्झिए । ‘धत् ! सुतेको वेलामा यिनीहरूले मेरो घाँटी न्याके भने ? मेरो जुडो–कराँते त कामै लागेन नि ! परान गैगो नि ।’ 


कोठाको भित्तामा एउटा राम्रो पेन्टिङ झुन्ड्याएको देखे– डा. राधाकृष्णको । ‘कलाकार रहेछन् भने त नकुट्लान् कि ?’ 
उनले सोधे, ‘यहाँ कलाकार नि बस्छन् कि क्या हो ?’


हिन्दी र अंग्रेजी दुवै नजान्ने किरणले सोधेको उनीहरूले बुझेनन् । ट्वाल्ल परेर हेरे । त्यो देखेर किरणलाई झन् डर लाग्यो । 
यसरी भएन । उनले बाहिरबाट चारवटा इँटा ल्याए । आफू सुत्ने खाटमा दुईपट्टि राखे । 


उनीहरूले सोधे, ‘हे ! क्यु रखा है ?’ 


हिन्दी फिटिक्कै नजान्ने किरणले भने, ‘सेक्युरिटी है !’ 


सेक्युरिटी व्यवस्था चुस्त गरेर किरण सुते । 


०००
रुचि चित्रकलामा । पढ्न भनेसि पटक्कै मन नलाग्ने । चित्र लेखेर बस्यो भनेर घरमा सधैँ गाली खाने । बाको इच्छा किरणलाई डाक्टर साप, इन्जिनियर साप वा त्यस्तै साप बनाउने । कलाकारलाई कसैले साप नभन्ने । चित्र कोरेर, डाक्टर इन्जिनियर नबन्ने । महेन्द्र आदर्श विद्यालयबाट पढाइ सुरु गरेका किरण जुद्धोदय पब्लिक स्कुल भर्ना हुन्छन् ।

चित्रकलाको रुचि ज्युँकात्युँ । पढाइप्रतिको अरुचि ज्युँकात्युँ । त्यतिवेला बालाजु पार्क बन्दै थियो । उनी बाइसधारा गइरहन्थे । त्यहीँ गुलाफको चित्र बनाउँदै थिए । कलाकार चन्द्रमानसिंह मास्के पुगेछन् । मास्केलाई उनको चित्र मन परेछ । उनले किरणको चित्रको तारिफ गरे । मास्केले उनलाई आफ्नो भिजिटिङ कार्ड दिएर घर बोलाए । घर गएर उनले ‘यो मान्छेले बोलाएको छ’ भनेर बालाई कार्ड देखाए । कार्ड हेरेर बाले भने, ‘यो त अंग्रेजी पढाउने मान्छे हो । ठूलो मान्छे हो । तिमी पनि अब अंग्रेजी पढ्ने भयौ ।’ छोराले अब अंग्रेजी पढ्ने भो भनेर बा गदगद भए । 


भोलिपल्टदेखि उनी बिहानै मास्केको घर जान थाले । त्यो क्रम तीन हप्तासम्म चल्यो । तीन हप्तापछि किरणको मनमा चिसो पस्यो, ‘यो कतै बाको षड्यन्त्र त होइन ? केटोले केही गर्दा पढेन भनेर यिनीसँग कुरा गरेर यिनका घरमा मलाई नोकर त राखेनन् ?’ उनलाई विरक्त लाग्न थाल्यो । अनुहारको रङ बदलियो । देखेर मास्केले सोधे, ‘आज तिम्रो मुड ठीक छैन कि क्या हो ?’ 


किरणले भने, ‘किन चाहियो ? तरकारी किन्ने मान्छेको नि मुड ठीक भैराख्न पर्छ र ? मेरो मुडले तपाईंको तरकारीको स्वादमा फरक त पार्दैन !’


मास्केले भने, ‘तिमीले ल्याएको तरकारी मैले खाएकै छैन । यस्तो मान्छे नि कलाकार बन्छ ? खै हात ? यो हातै ठीक छैन । आँखै ठीक छैन । मनै ठीक छैन ।’


किरणले सोचे– हो साच्चै ! मैले फलफूल, तरकारी किन्दा राम्रो–नराम्रो हेर्दिनँ । हातले छोएर चेक पनि गर्दिनँ । फेरि किन्न लगायो भनेर मनमा क्रोध छ, विरक्ति छ । यसरी त कलाकार बन्दिनँ । 


भनेँ, ‘भोलिदेखि म राम्रो ल्याउँछु ।’


त्यसपछि मास्केले भने, ‘अब पुग्यो । ल्याउनुपर्दैन । गुरुपूर्णिमाको दिन पूजा सामग्री लिएर आउनू, म सिकाइदिन्छु ।’ भोलिपल्ट किरणले असनबाट एक मोहरको पूजासामग्री किनेर पातमा राखी लगे । घरबाट थाली ल्याउँदा पेन्टिङ सिक्न जान लागेको थाहा हुन सक्थ्यो । मास्केले भने, ‘तिम्रा आमाबा त एकदमै शुद्ध हुनुहुँदो रहेछ । पातमा राखेर पठाउनुभएछ ।’ 


मास्केले जेलमा बस्दा बनाएको कृष्णको चित्र देखाए । जेलमा खाना पकाउँदा निस्केको अंगारले बनाएको त्यो चित्र निकै सुन्दर थियो । 


उनको सिकाइ शैली अनौठो थियो । किरणलाई बाहिर बोलाउँथे । बाहिर खेतमा जब नानीहरू पाउजु लगाएर आउँथे– गुच्चाले ट्वाक्क हिर्काइदिन्थे । भन्थे, ‘उ फर्किनासाथ चित्र लेख्नुपर्छ है बाबु । त्यतिवेला उसको हिस्सी परेको रूप आउँछ ।’
जवान युवतीहरू देख्दा जिस्काउथे । उनीहरूको ‘रियाक्सन’लाई चित्रमा उतार्न लगाउथे । कलकत्ता स्कुल अफ आर्ट्सबाट डिप्लोमा गरेका मास्केसँग किरणले तीन वर्षसम्म चित्रकला सिके । 


किरणका बालाई चित्रै बनाएर खानुभन्दा बरु पुलिसमा जानु तैबिसेक थियो । पुलिस क्लब बन्दै थियो । उनलाई त्यहाँ पठाए । उनले इँटा ओसार्नेदेखि सबै गरे । त्यहीबेला नेपालको लागि जुडो र कराँते सिकाउन दुईजना जापानिज आएका थिए । उनीहरूको नेपाली नाम रामबहादुर र श्यामबहादुर राखेका थिए । तिनै रामबहादुर र श्यामबहादुरसँग किरणले जुडो, कराँते सिके । यो सिक्दा उनलाई ‘एनोटोमी’को धेरै ज्ञान आयो । जसलाई उनले चित्रहरूमा प्रयोग गरे । 


चित्रकलामा राम्रो गर्न थालेसि मास्केले उनलाई रामानन्द जोशीकहाँ लगे र भने, ‘यो धेरै राम्रो विद्यार्थी हो मेरो । यिनलाई इन्डिया पठाउन पर्‍यो ।’ त्यतिवेला नेपालमा चलन के थियो भने बम्बैमा पढेर आएकाले बम्बै जाऊ भन्थे, वनारसमा पढेर आएकाले वनारस जाऊ भन्थे । लखनउबाट आएकाले लखनउ । कता जाने उनमा कन्फ्युजन थियो । उनी वनारस जाने भए । 


चोरेरै स्कुल लेभल पास गरेका किरणले एकल चित्रकला प्रदर्शनी गरिसकेका थिए । शशी शाहलाई सुनाए, ‘दाई म त पढ्न वनारस जाने भएँ ।’ शाहले भने, ‘बम्बै जाने नि किरणजी ! त्यहाँ त अब फिल्मको हिरोइन देखिन्छ । हिरो, ठूलो–ठूलो घर देखिन्छ ।’ 


तर किरणलाई यसको के वास्ता ? न त उनलाई हिरोइन हेर्ने इच्छा, न त ठुल्ठूलो घर हेर्ने नै । दिनभर घुमे पनि, झगडा, लुटपाट, बदमासी जे गरे पनि साँझमा आएर बनाउने त पेन्टिङ नै थियो ।


भारतका चित्रकार, प्रोफेसर रामचन्द्र शुक्लाको एकल चित्रकला प्रदर्शनी काठमाडौंमा थियो– नेपाल–भारत सांस्कृतिक केन्द्रको हलमा । त्यसवेला किरण १३ वर्षका थिए । १३ वर्षे किरणलाई आधुनिक अमूर्त पेन्टिङबारे के थाहा ? ती पेन्टिङहरू उनलाई मन परेन र उल्टाइदिए । शुक्लाले बोलाए, ‘इधर आना !’ 

उनलाई त्यसै बस्दा छटपटी हुन थाल्छ । क्यानभासमा केही न केही कोरिरहन्छन् । रङ पोतिरहन्छन् । उनलाई पेन्टिङसँग औधी प्रेम छ । पेन्टिङ मात्रै होइन, पेन्टिङ गर्दा प्रयोग गरिएको रङ पुछ्ने झुम्रोसमेत जतन गरेर राख्छन् ।


साथीहरूले भने, ‘खुब मान्छे कुट्दै हिन्थिस् । आज कुटाइ खाने भइस् ।’
किरणले भने, ‘तिनले सक्दैनन् । बूढो त हो नि । एकै झापडमा जान्छन् !’


किरण शुक्लाको अगाडि पुगे । 
‘पेन्टिङ कस्तो लाग्यो ?’
‘राम्रो छैन !’ 
‘किन उल्टाएको त ?’
‘मैले बुझिनँ त्यसैले !’
‘उल्टाएसि बुझ्यौ त ?’ 
‘बुझेँ !’
‘के बुझ्यौ ?’
‘कपडा रहेछ !’
‘तिमी पनि पेन्टिङ बनाउछौ र ?’ शुक्लाले सोधे । 


किरणले भने, ‘बनाउँछु ! तिम्रो बनाइदिऊँ ? अनुहार, दारी सब दुरुस्त बनाइदिन्छु ।’


‘भयो पर्दैन । म तिम्रो घरै आउँछु । तिम्रो पेन्टिङ हेर्न ।’


‘हुन्न, हुन्न ! मलाई मेरो बाउले देख्नासाथ कुट्छन् । ‘चित्र बनाइबस्ने कुलंगार’ भनेर । तिमीलाई कुटे भने थेग्दैनौ । बुढो ज्यान छ । खुत्रुक्कै हुन्छौ ।’


‘उसो भए मैले तिम्रो चित्र कहाँ हेर्ने त ?’ शुक्लाले सोधे । 


किरणले भने, ‘भोलि बाइसधारा आऊ ! त्यहीँ देखाउँछु ।’


बाइसधारामा उनले आफ्नो काम गर्ने ठाउँ देखाए । खुला आकाश, खाली जमिन । 


शुक्लाले शोधे, ‘तिम्रो पेन्टिङचाहिँ खै त ?’


‘पख्नोस् !’


किरण रुख चढे । रुखको माथि प्लास्टिकमा बेरिराखेको पेन्टिङ झिकेर ओर्लिए । उनको त्यो दुर्गति देखेर शुक्ला खिन्न भए ।


शुक्लाले भने, ‘यो राखिछोड ! स्कुलको पढाइ सकिनासाथ वनारस आऊ पेन्टिङ पढ्न !’


किरणको स्कुले पढाइ सकियो । उनलाई फसाद पर्‍यो । वनारस जान कसलाई भन्ने ? कसरी जाने ? साथीभाइलाई भन्दा कासीवास नि जान्छ ? भन्थे ।


घरमा भन्ने कुरा भएन । उनले दिदीलाई भने । दिदीकै सल्लाहबमोजिम इन्जिनियर पढ्ने भन्दै किरण वनारस गए । प्रवेश परीक्षामा एक्जामिनर तिनै शुक्ला रहेछन् । किरणलाई डर लाग्यो । यी बुढाले पक्कै फेल गर्दिन्छन् । नेपालमा तिम्रो चित्र राम्रो छैन भन्दिएको छ । ‘तँ तँ म म’ भनेर कुरा गरेको छ । तर, शुक्लाले उनको काम मन पराइएको र सेलेक्ट भएको, दोस्रो वर्षदेखि पढ्न आउनू भने । किरणले पहिल्यै वर्षदेखि पढ्ने अड्डी लिए । पढ्ने भए । कलेजको होस्टल थिएन । उनलाई मेडिकल कलेजका विद्यार्थी बस्ने होस्टेल पठाइदिए । उनीहरूले किरणलाई मेडिकल स्टुडेन्ट नै सोचेछन् । उनीहरूको नयाँ स्टुडेन्टलाई र्‍यागिङ गर्ने चलन रहेछ । उनलाई के थाहा र्‍यागिङ ?


रातको १ बजे ढोकासोका फोडेर उनीहरू आए । उनको दिमागमा काठमाडौंका साथीहरूले सुनाएको वनारसका डाँकाहरू मात्रै थियो । यही रैछन् डाँकाहरू भनेर राखेको इँटा टिपेर बजाइदिए । उनीहरू रगतपच्छे भए । त्यसपछि भएभरका विद्यार्थी आएर उनलाई पिटपाट पारे । भएभरका पैसा र सामान खोसे । उनलाई बाँधेर गार्डेनमा राखे । 

चित्रकार किरण मानन्धर चित्रकला पढ्न भारतको बनारस पुगे । त्यहाँ उनी रुम नम्बर ट्वान्टी फाइफमा बस्न थाले । साथीहरूले भनेका थिए, ‘यो कोठाको पैसा तिर्नुपर्दैन । खाना पनि मेसमा खानू !’ त्यही रुमबाट सुरु भयो किरणको खास कलायात्रा ।


त्यो सन्देश तत्काल उनको कलेजमा पुग्यो । प्रोफेसर शुक्लासहित डिनसम्म यो खबर पुग्यो । ‘किरणलाई त बोल्न पनि आउँदैन । उसले के भनेर यस्तो गरे ?’ लौ अब मेडिकलवालासँग फाइट पर्ने भयो भनेर दलबलसहित कलेजको टोली त्यहाँ पुग्यो । त्यहाँका डिनले किरणलाई कलेजबाट निष्कासित गर्नुपर्ने कुरा गरे । तर, उनका डिनले यो आफ्नो विद्यार्थी भएकाले यसो गर्न नमिल्ने भनेर आफ्नो घर लगे ।


डिनले लुगा फेरेर ब्रेकफास्ट खान आऊ भने ! किरणसँग अर्को लुगै थिएन । उनलाई ब्रेकफास्ट खान जानभन्दा झ्यालबाट हामफालेर भाग्नै सजिलो लाग्यो । उनी भागे । 


त्यसपछि उनी रेलवे स्टेसनमा गए । त्यहाँ ३ महिना गुजारे ! त्यहाँ उनको नाग भन्ने चित्रकारसँग भेट भयो । उनीहरू दुवै चित्र बनाउँथे ।


रेल्वे स्टेसनमा बस्दै गर्दा किरणको एक क्यान्टिनवालासँग भेट भयो । किरण वेलाबखत त्यही क्यान्टिनमा बस्थे । क्यान्टिनवालाले पुरी पकाएर बनाएको टुक्राटाक्री दिन्थे । कहिलेकाहीँ सिंगै पुरी दिन्थे । उनलाई लोटरी परेकोजस्तो हुन्थ्यो । रेलवे स्टेसनमै सुत्थे । कलेज जान्थे । उनी दुप्लाउँदै गए । वेलावेला भोकले रिंगटा चलेर ढल्थे । तर, किरण होटल अशोकामा बसेको छु भनेर कलेजदेखि घरसम्म फुर्ती लगाउँथे । त्यहाँ नेतादेखि गुन्डासम्म भेट हुन्थ्यो । संगत गुन्डाहरूसँग भो । तर, उनको स्वभावले उनीहरूजस्तै काम गर्न दिएन । ‘यो कलाकार बन्छ’ भनेर गुन्डाहरूले माया गर्थे । गुन्डाहरूले तँलाई गजब खाने ठाउँ लैजान्छु भनेर हस्पिटल लगे । जहाँ फोगटको खाना खान पाइने रैछ । कुखुराको मासु उनलाई बास्नाले नै पुग्यो । दूध पनि जति भन्यो त्यति ।


यसरी कति दिन चल्ने ? उनले गुन्डाहरूसँग होस्टलमा बस्ने इच्छा गरे । तर, पैसाविना कसरी ? त्यसमाथि होस्टल नेपालीलाई नदिने रैछ । एउटा अन्तर्राष्ट्रिय होस्टल रैछ । त्यहाँ कि त रसियन विद्यार्थी बस्ने कि त भारतीय नै । नेपालीले कसरी पाउनु ? गुन्डाहरूले पहिलो २५ नम्बर रुमको ताला फोरेर किरणलाई बस्न दिए । भने, ‘पैसा पनि तिर्नु पर्दैन । खाना नि मेसमा खानू !’


त्यसपछि उनलाई आराम भो । बल्ल कलामा तन मन दिएर काम गर्न पाए । त्यहाँ उनको धेरै कलाकारहरूसँग भेट भयो । धेरै साथीहरू बने । त्यहाँ उनले आफ्नो कालाकारितालाई निखार्ने मौका पाए । 


त्यही होस्टलमा बिपी कोइराला आउँथे । बिपी साहित्यिक मान्छे, कलाका बारेमा पनि उत्तिकै जानकार थिए । उनलाई मनपर्ने पेन्टिङ थियो– मोनालिसा । उनले मोनालिसाको विषयमा धेरै कुरा गर्थे । 


भन्थे, ‘बाबु तिमी फ्रान्स जानुपर्छ । लुभ्र म्युजियम हेर्नुपर्छ’ बाहिर त कस्ता–कस्ता कलाकार हुन्छन् । 


‘त्यो कुन मार्ट रे ?’ बिपी सोध्थे । 


किताबमा पढेको आधारमा किरणले भने, ‘मो मार्ट !’ 

‘ए मो मार्ट !’


बिपीले भने, ‘एकजनाले मेरो पोर्टे«ट बनाएथे । ‘मलाई देऊ न’ भनेको सय फ्रेन्चफ्र्यांक चाहिन्छ भन्यो । मैले दिन्न भनेँ । त्यो त गज्जबको कलाकार रैछ । उसले मेरै अगाडि पेन्टिङ च्यातिदियो र खुट्टाले किचिमिची पारेर फ्याँकिदियो । त्यसपछि लाग्यो– ओहो यो ठाउँमा त चित्र बनाउनुपर्ने रैछ ।’ 


मैले भनँे, ‘म ५० फ्रेन्चफ्र्यांक दिन्छु ! बनाइदेऊ न ।’ 

उसले भन्यो, ‘हजार दिए नि म बनाउदिनँ । जुन बन्यो बन्यो । अब फेरि बन्दैन ।’


कलाकृतिको विशेषता नै यो हो कि त्यो संसारमा एकै असली प्रति हुन्छ । उही कलाकारले उही ठाउँमा उस्तै गरी बनाउन थाले पनि त्यो त्यही बन्दैन । संसारको त्यही अमूल्य युनिक पिस थियो– मोनालिसा ! 

तस्बिर : दीपेन्द्र ढुंगाना


बिपी लुभ्र म्युजियम गएछन् । सुरुमा उनलाई थाहै थिएन रे ! बिपीले किताबहरूमा त धेरै पढेका थिए मोनालिसा भनेर । बिपी अफिसियल भिजिटमा फ्रान्स गएका थिए । जब मोनालिसाको पेन्टिङ भएको ठाउँमा पुगे । उनलाई अचम्म लाग्यो– एकजना केटीको सानो चित्रको दुई साइड बन्दुक बोकेका दुई सिपाही छन् । हेर्न भिड लागेको छ । पालो पर्खिएका छन् । उनी त्यहाँ सामेल नभई म्युजियमबाट फर्किए । 


भोलिपल्ट उनले ड्राइभरसँग सोधे, ‘किन त्यो केटीको तस्बिरअघि मानिस त्यसरी भिड लागेका ?’ ड्राइभरले भने ‘ती त मोनालिसा हुन् । तपाईंले हेर्नुभएन ?’


मोनालिसा सुनेसि बिपीले त्यो हेर्ने इच्छा गरे । ड्राइभरले अफिसियल भ्रमण कार्यक्रम सकिएकाले ट्याक्सी चढाएर अर्को गेटबाट लगे । 


बिपीले भने, ‘मैले त अगाडि बसेर पलेटी मारेर हेरेँ नि ! जति हेरे पनि हेरूँ हेरूँ लाग्ने रहेछ ।’ 


त्यसपछि बिपीले अंग्रेजीका ३–४ वटा किताब किने । 


बिपीले भने, ‘एकपटक लुभ्र म्युजियमचाहिँ जानुपर्छ ।’ 


किरणले भने, ‘त्यहाँ जान धेरै पैसा लाग्छ । मसँग पैसा धेरै छैन ।’ 


‘एउटा खुत्रुके राख्ने नि !’ बिपीले ‘आइडिया’ दिए, ‘तिम्रो अवार्डसवार्ड आउँदा त्यहीँ खसाल्ने । तिमीले चित्र बेच्दा, काम गर्दा आउने पैसा पनि त्यसैमा राख्ने ।’


अन्ततः किरणले फ्रान्स जाने पैसा जुटाए । एउटा वर्कसपमा भाग लिन फ्रान्स गए । फ्रान्स गएसि किरणलाई भाषाको समस्या प¥यो । भाषा नजानेसि कम्युनिकेसन नै ठप्प । त्यहाँ नेपाल नभन्ने नेपल्स भन्ने फ्रेन्चहरू सोध्थे– ‘कहाँ छ नेपल्स ?’ व्याख्या गर्नाको गाह्राले किरण फुल सिट पेपरमा नक्सा बनाउथे, चीन तिब्बत र भारतको बीचमा रेखा कोर्दै भन्थे– ‘यहीँ हो !’


किरण राति सुतिराथे, एक मान्छे देखे– दाह्री पालेका, जोगीजस्तो पहेलो लुगा लगाएका भारतीयजस्ता । जोगीजस्ता देखिने उनी भारतीय कलाकार रहेछन् । विरानो मुलुकमा उनले बोल्नै पाएका थिएनन् । तिनै कलाकारसँग बोले । उनैले किरणलाई रङ किन्ने ठाउँ देखाए । नाइफ पेन्टिङ कसरी गर्ने सिकाए । 


विश्वविद्यालय जीवनमा समेत कहिल्यै नाइफले पेन्टिङ नगरेका किरणले नाइफले पेन्टिङ बनाए । नाइफ फ्रान्समै किनेका थिए । एउटी महिलाले उनको काम हेरिन् । उनलाई अंग्रेजी आउने रहेछ । उनले भनिन्, ‘ओहो ! यो त एकदमै राम्रो रहेछ । एउटा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदै छ । त्यसमा दिनुपर्छ ।’


किरण छक्क परे । उनले भने, ‘यस्तोमा त अलि कपाल फुलेको वरिष्ठहरूले पो दिने त ! म त भर्खरको मान्छे । यहाँ सबै कपाल फुलेका मान्छे छन् । १५ वर्षपछि भाग लिन आउँछु ।’  


महिलाले भनिन्, ‘तिमीले केही गर्न पर्दैन । बस् ! यो पेपरमा सही गर । पेन्टिङ बुझाऊ ।’ 


प्रतिस्पर्धामा किरणको चित्र अवार्डेड भयो । उनले नौ महिनालाई फ्रान्सको रेसिडेन्सी पाए । उनले यसबीच ठूलो म्युरल गरे । फ्रेन्च भाषा सिके । धेरै फ्रेन्च साथीहरू बनाए । संगत र साधनाले कलाकारितामा निखारता ल्याए । उनी फ्रान्समै स्थापित हुन पुगे ।


नेपाल आएर उनले पल्पसा आर्ट ग्यालरी खोले । पल्पसाको अर्थ हुन्छ– आकाश गडगडाएर निस्किने झिल्का अर्थात् चट्याङ । उनको मनमा पेन्टिङ चट्याङ नै जसरी निस्किन्छ र उनी त्यसलाई क्यानभासमा उतार्छन् । रित्तो क्यानभासका अगाडि बस्दा उनलाई सबैभन्दा गाह्रो महसुस हुन्छ । 


उनलाई पेन्टिङको भूत कसरी चढ्यो, उनी आफैँलाई थाहा छैन । उनी ६ दशकदेखि कला सिर्जनामा छन् । कलाका बारेमा धेरै पढेका छन् । देश–विदेशका धेरै कलाकारसँग संगत छ । तर ‘कला के हो ?’ भन्दा यही हो भन्न उनीसँग उत्तर छैन । धेरै कलाकार ‘कला नै मेरो जीवन हो’ भन्छन् । तर, उनी यसलाई हावादारी कुरा भन्छन् ।


उनलाई बाल्यकालको एउटा धमिलो सम्झना छ । एक दिन आमासँग उनी विष्णुमतीको मुहान गए । आमाले पूजा गर्नुभो । टपरीमा बत्ती बालेर खोलामा बगाउनुभो । त्यो बत्ती बग्दै गयो । उनले आँखाले भ्याउन्जेल त्यो निभेन । अझै पनि उनको मनमा त्यो बत्ती निभेको छैन । त्यो उनको पहिलो कला इम्प्रेसन थियो । त्यो बत्ती उनले आफ्नो जीवनमा सबैभन्दा धेरै पेन्टिङमा उतारेका छन् । अहिलेसम्म पनि उनलाई त्यो बत्तीले छोडेको छैन । 


त्यतिवेला अक्सर विदेश पढेर आएका कलाकार नेपालमा आएर जागिर खान्थे, या अध्यापनतिर लाग्थे । किरणले कहिल्यै जागिर खाएनन् । नेपाल फर्केसि आफ्नै ग्यालरी खोले र कलाकर्ममा समर्पित भए । यसबीच देश अनि विदेशमा यति धेरै एकल प्रदर्शनी गरे कि सयवटा कटेसि गन्नै छाडिदिए । एकै पेन्टिङ सम्झिनुपर्दा धरहरामा बनाएको लामो पेन्टिङ सम्झन्छन् ।


उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपति बने । त्यहाँको कार्यकाल सकिएसि फेरि आफ्नै स्टुडियो फर्के र कलाकर्ममा व्यस्त रहे । उनलाई त्यसै बस्दा छटपटी हुन थाल्छ । क्यानभासमा केही न केही कोरिरहन्छन् । रङ पोतिरहन्छन् । उनलाई पेन्टिङसँग औधी प्रेम छ । पेन्टिङ मात्रै होइन, पेन्टिङ गर्दा प्रयोग गरिएको रङ पुछ्ने झुम्रासमेत जतन गरेर राख्छन् । ईश्वरमा आस्था राख्ने किरणका चित्रहरू देवीदेउताबाटै प्रभावित छन् । उनी चित्रमा प्रायः महिलालाई चित्रित गर्छन् । प्रायः एउटा मात्रै आँखा बनाउँछन् । मुख्य आँखा मनलाई मान्छन् । भन्छन्, ‘मनले देखेसि पुगिगो नि ।’ उनी पेन्टिङको शीर्षक दिँदैनन्, दर्शक तथा पारखीले त्यसलाई स्वतन्त्र रूपले हेरून्, धारणा बनाऊन् भन्ने उनको चाहना हुन्छ । उनी त्यसलाई दर्शकप्रतिको समर्पण ठान्छन् । यही समर्पणलाई थिम बनाएर गरिएको प्रदर्शनी ‘समर्पण’ अहिले सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ । 


उनी विगतलाई सम्झिन र त्यसैबारे घन्टौँ कुरा गर्न रुचाउँछन् । फ्रान्समा भेटिएका जोगीजस्ता कलाकार पटक–पटक उनको सपनामा आउँछन् । आमाले बगाएको बत्ती पटक–पटक सम्झनामा आउँछ । होस्टलको रुम नम्बर २५ र वनारसको कठिन संघर्षका दिन अनि त्यहाँको सिकाइको ऊर्जाले उनलाई अनवरत कला सिर्जनाका लागि हौस्याइरहन्छ । उनी हौसिरहन्छन् र सिर्जिरहन्छन् ।