
अचेल गुरुहरू सडकमा छन् । गुरुहरू सडकमा हुनुको आफ्नै सुख छ, आफ्नै दुःख छ । सुख मान्नेको सुख यो छ कि गुरुहरूकै जुलुस सडकमा भएसि बाटो हिँड्दै गर्दा कदाचित ज्ञानको तिर्खा लागिहालेमा कुनै गुरुकुल धाइराख्नु पर्दैन । कुनै विद्यालय, महाविद्यालय वा विश्वविद्यालय धाइराख्नु पर्दैन । ‘खै खै गुरुजी एक पसर ज्ञान दिनुस् त’ भन्दै मागेर एक पसर ज्ञान फाँको हालेर उग्राउँदै हिँड्न पाइन्छ । बाटोमा अलि कम भयो जस्तो लागे थप्न पाइन्छ ।
सुख मान्नेको दुःख यो छ कि शिक्षकहरूले त्यस्तो हरियालीयुक्त, त्यस्तो राम्रो सडकमा आन्दोलन गर्दा दुबो माडिएको छ । लहलह पलाएका घाँस ढल्किएका छन् । कपुरको हाँगा भाँचिएका छन् । बकाइनोको पात झरेका छन् । धुपीका डाँठका केही बोक्रामा दर्फर्याएका छन् । धुपीकै केही पातहरू टिपेर विद्यावृद्धिको आसमा बुकमार्क बनाउँदै किताबमा घुसारिएका छन् । त्यति मात्रै होइन, केही फुलिसकेको फूलको पत्रदलमा गम्भीर क्षति पुगेको छ । केही फूलका कोपिला नै चुँडिएका छन् । केही फूल टिपिएका छन् । भावुकताको मेयरस्तरीय टुकुचा उर्लिएर लाइटर र ग्यालिन बोकेर सडकमा उक्लिन–उक्लिन लागेको छ–
‘नटिप्नु हेर कोपिला
नचुड्नु पाप लाग्दछ,
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ ।’
अस्ति मात्रै अ–रोक्य द्रुत बसका लागि भनेर बनाएको द्रुत लेनको भर्खरै लगाएको रातो रंग गाउँगाउँबाट आएका गुरुहरूले माटैमाटो भएका जुत्ताले टेकेर मैलो बनाइसके । त्यही जुत्ता लाएर लेन छेदक सेतो धर्कामा कुल्चिँदा धर्का हेरिसाध्य छैन । अझ जेब्राक्रसिङ झन् मैल्याइसके । अनार्सा पकाएको ताईजस्तो त्यस्तो चिल्लो सडक फुस्य्राइसके । के भएका यी गुरुहरू ? यत्रो सुन्दर महानगर छिर्नुअघि कि त एक जोर नयाँ जुत्ता किनेर लाउनु । कि त चक्रपथबाहिर जुत्ता खोलेर आउनु । कि त आउँदै नआउनु । बेकार सडक मैल्याएर । यत्रो पढेलेखेर पनि बुद्धि कता गएको ?
अस्ति नारा लगाउँदै हिड्ने हुँदी चारवटा हो कि पाँचवटा प्लास्टिक डिभाइडर नै ढाल्दिएछन् । ठडिराखेको डिभाइडर ढाल्दा अलछिन लाग्दैन ? यस्ता नि गुरु रे ! सम्झिँदा नि आगो लाइदिम जस्तो लाग्छ । न टायर बाल्याछ । न रेलिङ भाँच्या छ । न सडक पेटी उप्काएर इँटा हान्या छ । यस्तो नि आन्दोलन रे ! बेकार दुबोको क्षति । सडक मैल्याएको छ । एउटा गुरु त झन् फाटेर सिलाएको झोला बोकेर चुमुकचुमुक गर्दै थिए । एउटा नयाँ झोलासमेत नकिनी पुरानै झोलामा महानगर छि¥या छ । के यो पुराना पार्टीको महानगर हो ? पुराना नेताको महानगर हो ? को छ एकपटक सोच्नु छैन । थोत्रो झोला बोक्या छ । महानगर छिर्या छ । चमेली ठिटाठिटीझैँ उफ्य्रा छ । महानगरको इज्जत हुन्न ? थोत्रो न नयाँ । झोलै बोकेर हिँडेको देख्दा नि पारा तात्छ । झोलेहरू ! देख्दै पार्टीका मान्छेजस्ता । झोला किन बोक्नु ? राजनीति गर्न ? देख्दै राजनीति गर्ने मान्छेजस्ता ।
मान्छेका दुःख छन् । दुःखका कारण छन् । दुःखीका नजरमा दुःखको कारण राजनीति हो । शिक्षक भएर राजनीति गर्ने ? दुःखीको मत छ– खुरुखुर पढाउने पो त । शिक्षासेवा आयोग लडेसि चुनाव लड्नुपर्दैन । चुनावै लड्नुपर्दैन भने किन गर्ने राजनीति ? राजनीति गर्या छ । झोला बोक्या छ । झोले भएको छ । तरिका हो ? किन बोक्नु झोला ? चक–डस्टर गोजीमै हालेर हिने हुन्न ? फेरि किन बोकेर हिँड्नु ? बाटामा चक खस्यो भने उटपट्याङ केट्केटीले भित्तामा लेखेर विरुप पार्छन् । आलाकाँचा केट्केटीलाई राजनीति सिकाछ । समाज भाँडेको छ । तरिका हो ? गुरु भएर नि राजनीति गरेसि अरूले के सिक्लान् ?
उसो भए कसले गर्ने त राजनीति ? विद्यार्थीले ?दुःखीहरू भन्छन्– धत् ! विद्यार्थीले नि राजनीति गर्ने हो ? विद्यार्थीले त पढ्ने पो त हो त ! देश बिग्रेकै विद्यार्थीले राजनीति गरेर हो । अलिअलि के पढ्या हुन्छन् । राजनीति गर्नुपर्ने ? उसो भए कसले गर्ने ? किसानले ? किसानले किन राजनीति गर्ने ? किसानले त हलो ट्र्याक्टर पो जोत्ने । भाषण जोतेर हुन्छ ? मुला काउली गोलभेडा बेच्ने । दुई–चार पैसा कमाउने । दसैँमा किनमेल गर्न काठमाडौं आउने विशाल बजार घुम्ने पो त ।
मजदुरले ? मजदुरले त श्रम गर्ने । ज्याला थाप्ने । कम्पनीलाई नाफामा पुर्याएर बोनस खाने । ज्याला, बोनस नदिए ? उपवास बस्ने । उपवास बस्नाले मोटोपन घट्छ । स्वास्थ्य राम्रो हुन्छ । धर्म पनि हुन्छ । तर राजनीति नगर्ने । स्वास्थ्यकर्मीले ओखती गर्ने हो । राजनीतिक संक्रमण मात्रै भयो भने नि सुई लगाउने हो । ओखती खाने र निको हुने हो । राजनीति गर्ने नै होइन । कर्मचारीले तलब खाने हो । बाँकी के खान राजनीति गर्ने हो ? तलतलै लागे अलिकति चाकडी गरेर बक्सिस खाने हो । खेलाडी, लेखक, कलाकार राष्ट्रका गहना हुन् । गहनाले राजनीति गर्ने होइन । खच्चरको घाँटीको घन्टीझैँ राष्ट्रलाई शोभा दिएर बस्ने हो ।
डकर्मीले राजनीति गर्नुहुन्न । राजनीतिक विवाद पेचिलो बन्दा गारो लगाइरहेको इँटाले हान्ने डर हुन्छ । सिकर्मीले त झन् हुन्न । विवाद चम्किँदा चौकोसले हाने भने के हुन्छ ? उसो भए कसले गर्ने त राजनीति ? बेरोजगारले ? के सोच्या देशलाई ? कोही नपाई बेरोजगारले राजनीति गर्ने ? बेरोजगारले त अनलाइन फाराम भरेर लाइन बसेर पासपोर्ट बनाउने हो । विदेश गएर दुई–चार पैसा कमाउने हो । फेसबुक र ट्विटरमा देश बिग्रियो भन्ने हो ।
अनि राजनीति पार्टीले मात्रै गर्ने ? पार्टीले किन राजनीति गर्ने ? उनीहरूले त हो देश बिगारेका । पार्टीमा राजनीति घुस्नु हुन्न । पार्टीमा त पैला स्न्याक्स सर्भ हुनुपर्छ । त्यसपछि मदिरा सर्भ हुनुपर्छ । त्यसपछि डिनर हुनुपर्छ । पुलाउमा चाहिँ चिल्लो अलि कम हुनुपर्छ । नत्र पेट फुल्न सक्छ । अनि कार्यकर्ताले ? कार्यकर्ताले किन गर्ने ? किन बन्ने कार्यकर्ता ? बन्ने कुरै नभाको जस्तो । कसैको भक्त बन्ने । आध्यात्मतिर लाग्ने ।
अन्त्यमा तिनै नेताले मात्रै राजनीति गर्ने ? नेताले किन गर्ने राजनीति खुरुखुरु पार्टी, सरकार चलाए हुन्न ? चुनाव आउँदा चुनाव लड्ने । जित्ने । राजनीतिचाहिँ नगर्ने ? तर, किन जित्ने तिनै नेताले ? चोर नेताहरूले अब राजनीति गर्न हुन्न । अनि बाँकीले ? बाँकीले ताली बजाउने केहीको वाहवाही गर्ने । बाँकीमाथि जाइलाग्ने । स्टाटसमा लाइक गर्ने । सक्दो सेयर गर्ने ।
अन्त्यमा राजनीति गर्नेचाहिँ कसले ? गोरुले ! खेतीको सिजनमा जोतेसि बाँकी समय गोरु फुर्सदमै हुन्छन् । झन् ट्र्याक्टर आएसि गोरु पूर्ण बेरोजगार छन् । सबैभन्दा राम्रो कुरा गोरुले विचार गर्न सक्दैन । गोरुको विचार नहुने हुँदा राजनीति नेक्स्ट लेभलमा पुग्छ । देश विचारभन्दा माथि पुग्छ ।