
कुशल निबन्धशिल्पी शंकर लामिछानेकृत ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ आधुनिक नेपाली निबन्ध जगत्को नयाँ घुम्ती मानिन्छ । लक्ष्मीप्रसाद देवकोटालगायतले ‘शारदा’कालदेखि नेपाली निबन्धलाई आधुनिक मोड दिएका थिए । त्यसै परम्परालाई लामिछानेले अस्तित्वचेत र विसंगतिबोधसहित नयाँ मोड दिए । लामिछानेको ०२४ सालमा मदन पुरस्कारप्राप्त कृति ‘एब्स्ट्रयाक्ट चिन्तनः प्याज’ पाँच दशकपछि पनि पाठकबीच उत्तिकै प्रिय छ । सोही कृति–विशेष तीन सामग्री यस अंकको झन् नयाँमा :
आजभन्दा पचास वर्षपछि कसैले थाहा पाउन खोज्यो भने मेरा निबन्धहरूबाट या मैले आफूउपर लेखेका कुराबाट सजिलैसँग भेट्टाउन सक्छ कि जस्तो मलाई लाग्छ । (२०२५को ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’को भूमिकाबाट)
त्यो ‘पचास वर्षपछि’ आजै हो । ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’को ५२ वर्षे यात्रामा निबन्ध र लामिछानेको विषयमा हामीले के थाहा पायौँ र के बुझ्न सकिएन, त्यो विषय त्यति महत्वपूर्ण छैन । निबन्धकारलाई लागेका मैले केही ‘एब्स्ट्र्याक्ट कुरा लेखेँ अनि मेरो अस्मिता त्यसमा राखिदिएँ, जसलाई बुझ्न मानिसलाई सजिलो हुनेछैन’ भन्ने कुरा यो भनाइको सार हो । अहिले आएर त्यो सबै सरल विषय र प्रेममा परिणत भएको छ । जटिलता केही छैन ।
शंकर लामिछाने (संवत् १९८४–२०३२)दाइले ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ शीर्षक राखेर लेखेको निबन्ध र यसको संकलनको आधी शताब्दी पुगेको विषय नेपाली साहित्य र समालोचनामा एउटा सम्झिनुपर्ने घटना हो । तर, यो निबन्ध संग्रहको ऐतिहासिकता हुँदाहुँदै पनि शंकर दाइले लेखेका जम्मा ४१ वटा निबन्धलाई लिएर हामीले छलफल र चर्चा गर्नुपर्छ, जुन यस छोटो लेखमा सम्भव छैन र त्यो एक लामो समालोचनाको विषय हो । यो लेखको उद्देश्य केवल यो संकलनको स्वर्ण वर्षको कालिक प्रसङ्लाई उठाएर केही छलफल गर्नु मात्र रहेको छ । शंकर दाइका यी ४१ निबन्ध र तिनको प्रभावबारे मैले पहिले नै यसरी लेखेको रहेछु :
‘गौंथलीको गुँड’(२०२५)मा शङ्कर दाइको प्रसिद्ध निबन्ध ‘अर्धमुदित नयन र डुब्न लागेको घाम’सहित १३ वटा निबन्ध छन् । अरू संग्रह ‘एब्स्ट्र्याक्ट चिन्तन र प्याज’ (२०२४, २०५७) मा १० निबन्ध छन् । अनि ‘गोधूली संसार’ (२०२७) मा उनका प्रायः प्रख्यात मुख्य १८ वटा निबन्ध राखिएका छन् ।
यसमा राखिएको ‘गैलरीमा एक दिन’, ‘अर्धमुदित नयन’को कथा निबन्धले शङ्कर दाइको निबन्धको एउटा अन्तर्भाषिक सन्दर्भ भएको शैली प्रस्तुत गर्छ । ‘अर्धमुदित नयन’मा अङ्ग्रेजी नै सोझै लेखिएको छ । यसको निम्ति उनले ‘गैलरी’जस्तो रङ्गमञ्च छानेका छन्, जहाँ अन्तर्भाषीय र विषयलाई खेल्ने ठाउँ हुन्छ । यसमा नेवारी र अङ्ग्रेजी भाषाका प्रयोग भएका छन् ।
जापानी शब्दावली छन् । क्लार्क होटेलको यो मञ्चमा उनको कलाकार गुजरसँग भेटघाट हुन्छ । यो थलो छान्नु शङ्कर दाइको शैली हो । यस्ता मञ्चबाट उनी नबुझिने र आमवृत्त फराकिलो भएका विषयमा प्रवेश गर्छन् । बुझिने र नबुझिने लेखनका कुरा आउँछन् । कसो कसो शङ्कर दाइको प्रभाव हामी केहीलाई परिबसेको हो कि । मैले सामना गर्ने विषय त्यस्तै हुन् ।’ (कान्तिपुर १५ माघ २०७३) ।
नेपाली निबन्धलाई अभूतपूर्व आयाम दिने लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरू पहिले नै प्रकाशित भइसकेका थिए । बालकृष्ण समका थोरै भए पनि दर्शनलाई सूक्ष्म रूपमा केलाएर सहज बिम्बहरूमा गुम्फन गरेर लेखेका निबन्धहरू शंकर दाइले यी निबन्धहरू लेख्नुभन्दा पहिला नै आइसकेका थिए । देवकोटा र समले निबन्ध लेख्दा केही अत्यन्त चाखलाग्दा सिर्जनाका चुनौती थिए । देवकोटाले निबन्ध लेख्दा राणा शासनको सामन्तकालीन चेतनालाई विनिर्माण गर्नैपर्ने थियो ।
व्यक्तिको चेतनालाई उजागर गर्ने र उसका मनका तरंगहरूलाई अभिव्यक्ति दिने कुनै माध्यमको खोजी गर्नु त्यसवेलाको सबैभन्दा ठूलो चुनौती थियो । व्यक्तिका स्वतन्त्र चिन्तनहरूलाई व्यक्त गर्ने माध्यम निबन्धबाहेक कि कविता हुन सक्थ्यो कि नाटक ।
देवकोटाले त्यो स्वतन्त्र व्यक्तिका अभिव्यक्तिका अनेकौँ आयामलाई व्यक्त गर्ने माध्यम कवितालाई छाने । तर, त्यसको पठन विशेष हुने पक्का थियो । गद्यमा कुनै विधाको रचना गर्नुपर्ने आवश्यकता थियो । देवकोटाले त्यसका निम्ति अंग्रेजी निबन्धकारहरूका उदाहरण लिए । चाल्र्स ल्याम्ब, हज्लिट, फ्रान्सिस बेकनका निबन्धहरू तिनले पढे । यिनीहरू कतिजनाका अनुवाद गरेर किताबै निकाले ।
उनको अनुबाद उनका निबन्धजस्तो बग्दैन, तर नेपालीमा देवकोटाले अलग किसिमको अभिव्यक्ति यस्तो पनि हुन सक्छ र साहित्यमा व्यक्तिको निजत्व यसरी राख्न सकिन्छ भन्ने कुरा देखाउनकै निम्ति तिनको अनुवाद गरेका थिए । फ्रान्सेली निबन्धकार वा यसका पहिला प्रयोक्ता मोतेञको मनको स्वतन्त्र प्रवाह निबन्ध हो भन्ने सिद्धान्तसँग पनि देवकोटा परिचित भए ।
शंकर लामिछानेले ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’(२०२४) प्रकाशित गरेको वेलासम्ममा नेपालमा निबन्ध लेखन भनेको देवकोटाले स्थापित गरेको विधा थियो । तर, २०२५ मा ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ शीर्षक राख्ने विषयमा शङ्कर दाइले भनेका छन्, ‘मैले आफैँ पनि अंग्रेजी, उर्दू, संस्कृतलाई प्रशस्त प्रयोग गरिदिएको छु ।
‘प्याज’ शीर्षक शंकर दाइले किन छाने भन्ने विषयमा लेख्ने हामीसँग धेरै आधार छैनन् । उनी ‘प्याज’ भन्ने सब्जीका प्रेमी भएका कारण यो शीर्षक छानेका थिएनन् ।
किताबको नाम नै एब्स्ट्र्याक्ट छ ! ।’ अंग्रेजी शब्दको प्रयोग उनले अरू निबन्धमा पनि गरेका छन् । तर, ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’मा उनले यो आत्मस्वीकृति गरेका वेला नेपाली साहित्य लेखनमा प्रयोग गर्ने युवा लेखकमा अंग्रेजी शब्दको प्रयोग गर्नुको मनोविज्ञान नयाँ साहित्यको अध्ययन गरेको कुरासँग जोडिएको छ ।
यो किताबमा मदन पुरस्कार पाउँदा शंकर दाइले भूमिकामा अनेकौँ अभिव्यक्ति दिएका छन् । पहिलो ‘मन्तव्य’ शीर्षक अभिव्यक्ति अनौठो छ । उनका निबन्धको आकर्षक र सूक्ष्म शैलीभन्दा भिन्न किञ्चित अनपेक्षितजस्तो लाग्ने भूमिका छ । तर, त्यो उनले मदन पुरस्कार ग्रहण गर्ने वेलाको भाषणमा आधारित थियो ।दोस्रोपटक २०३२ मा उनले ‘अभूमिका’ शीर्षकमा किताबमा थोरै मन्तव्य राखेका छन् । ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’का यी तीनवटा भूमिकासहित भावक अभियानले २०५७ मा ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ प्रकाशित गरेको छ ।
‘प्याज’ शीर्षक शंकर दाइले किन छाने भन्ने विषयमा लेख्ने हामीसँग धेरै आधार छैनन् । उनी ‘प्याज’ भन्ने सब्जीका प्रेमी भएका कारणले यो शीर्षका छानेका थिएनन् । ‘प्याज’ एउटा आधुनिक साहित्यमा खासगरी फ्रान्समा प्रयोग भएको बिम्ब थियो । फ्रान्सको साहित्यको विषयमा हामीलाई भन्दा शंकर दाइले हामीलाई
(मलाई) भनेको कुरासँग यो कुराको अर्थ जोडिएको थियो भन्ने आज आएर मलाई लाग्छ ।
प्यारिसमा लेखक र चित्रकारहरूको बीचमा निष्प्राण वस्तुहरूलाई जीवन्त बनाएर लेख्ने चलन थियो । यो एउटा प्रयोग भएको विषय थियो । शंकर दाइले चित्रकार पिकासोले ‘इच्छा’ वा ‘पुच्छरले समातेर खिचेको इच्छा’ भन्ने नाटकको विषयमा थाहा पाएका थिए भन्ने मलाई लाग्छ । ती फ्रान्सेली साहित्यस“ग परिचित थिए । ती पिकासो कामु, सात्र्र र सिमोन द बुभ्वाका काम र दर्शनसँग परिचित थिए ।
पिकासोले प्यारिस नाजीको कब्जामा भएका वेला यसै बस्दा दिक्क भएर भोकको विषयलाई उजागर गर्न सन् १९४१ मा माथिको शीर्षक भएको लघुनाटक लेखेका थिए, जसको १९४४को प्रस्तुतिमा झैँ पोल सात्र, पिकासो, सिमन द बुभ्वाले समेत भाग लिएका थिए । यो नाटकको निर्देशन अर्का अस्तित्ववादी लेखक अलबेर कामुले गरेका थिए ।
फ्रान्सका विद्वान् मनोवैज्ञानिक जाक लकँ पनि त्यो समूहमा थिए, तर उनले नाटकमा भाग लिए–नलिएको उल्लेख छैन । यस नाटकका पात्र अमूर्त छन् । टार्ट भोजन, प्याज, अनपामरीको मान्छे वा ठूलो खुट्टा, झिनु चिन्ता र मौनता जस्ता पात्रहरू छन् । मैले यो नाटक निकै वर्षअघि यो वर्णनसहित कहीँ फ्रेन्च भाषामा कनिकुथी पढेको थिए“ । अहिले मसँग त्यो पाठ छैन, तर यसका अरू समीक्षा र वर्णन छन् ।
फ्रान्सेलीहरूको बीचमा प्याज एक बिम्ब हुनुको अर्थ यो विसंगत वा ‘याब्सर्ड’सँग जोडिएको थियो । प्याजका पत्रैपत्र हुन्छन्, जुन छोडाउँदै जाँदा आखिर केही रहँदैन । आवरण भने टन्नै हुनु तर त्यसको निदान केही नरहनुले प्याजलाई आधुनिक अर्थको बिम्ब बनाएको प्रस्ट छ । पिकासोले सन् १९०८ मा प्याजको प्रसिद्ध निष्प्राण चित्र बनाएका छन् ।
यसमा प्याजको बिटो छ र थरिथरिका प्याज यसमा राखिएका छन् । शंकर दाइले व्यक्तिको अस्मिता वा पहिचानका तह र आवरणहरूबारे भन्दा पनि विचारको क्षेत्रमा यसको प्रयोग गरेको कुरा प्रस्ट छ किनकि उनले ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’, भनेर चिन्तनलाई नै प्याज हो भन्ने विसर्ग वा ‘कोलन’ दिएर प्रस्ट पारेका छन् । चिन्तनलाई अमूर्तभन्नु आफैँमा किञ्चित नौलो प्रयोग हो ।
चिन्तनको आकार हुँदैन । तर, चिन्तनको प्रस्टता बिम्बहरूमा खोजिन्छ । शंकर दाइको प्रयोगलाई सूक्ष्म किसिमले हेर्ने हो भने निस्किने अर्थ विसंगत साहित्यकै सन्दर्भमा व्याख्या गर्न सकिन्छ । ‘रुपरेखा’को समालोचना विशेषाङ्कमा शंकर दाइले अल्बर्ट कामुको साहित्यसम्बन्धी धारणाको लेखलाई ‘सिर्जना गर खतरनाक रूपबाट’ भन्ने शीर्षकमा अनुवाद गरेका छन् । त्यस लेखमा कामुले लेखन सहज विषय होइन र लेखक छान्न बाध्य छ र त्यसको निम्ति उसले असहज भए पनि त्यो यथार्थलाई स्वीकार गर्नैपर्छ भनेका छन् ।
यस्तो परिस्थितिमा लेखेको लेखमा ज्यान हुन्छ र त्यो सही अर्थमा साहित्य हो भन्ने कामुले जुन धारणा राखेका छन्, त्यो नेपाली साहित्यमा नितान्त नौलो कुरा थियो । हामीले त्यो वेला यो लेखलाई धेरै चाखले पढ्यौँ । शंकर दाइ नेपाली साहित्यमा फ्रान्सेली साहित्यको खासगरी अस्मितावादी धारणालाई सूक्ष्म रूपमा प्रयोग गर्ने लेखक थिए । ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’मा संकलित निबन्धहरूका विषय छनोट, शैली र उनका भूमिकाका शब्द चयनबाट हामी यो कुरा बुझ्न सक्छौँ ।
‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ शीर्षक निबन्धमा नै केदारमान व्यथित, कलाकार लैनसिंह बाङ्देलबीचको संवाद बनाएर विचारहरू राखिएका छन् । अमूर्तताको छलफलमा एउटा अमूर्त कलाकारलाई ल्याएको कुरा महत्वपूर्ण छ । भाषा र माध्यमको प्रश्न उठाइएको छ । ‘साहित्य आलुबखडा कि आऊँ ?’ र ‘औपन्यासिक पात्र’मा उही अधिसाहित्यिक वा साहित्यबारे साहित्य नै लेख्ने वा मेटा–लिटरेरी चेतना छ, शंकर दाइको । उनका धेरैजसो निबन्धमा त्यो चेतना प्रखर छ । ‘हामी पाइताला हौँ, फगत पाइताला’मा अस्मिता चेतना जनिन पहिचानको अर्थमा निबन्ध चेतना प्रस्तुत गरिएको छ ।
लामिछानेले ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ शीर्षक राखेर लेखेको निबन्ध र यसको संकलनको आधी शताब्दी पुगेको विषय नेपाली साहित्य र समालोचनामा एउटा सम्झिनुपर्ने घटना हो ।
मेरो ‘एब्स्ट्र्याक्ट चिन्तनः प्याज’ विषयममा अलिक फरक धारणा छ । यसको अर्धशताब्दी पुगेको कुरा सत्य हो, तर एउटा छोटो ४८ वर्षे जीवनका लेखनी गरेका वर्षको परिप्रेक्षमा शंकर दाइले लेखेका निबन्धहरू र विचारहरू अत्यन्त घनीभूत रूपमा आएका हुनाले सबै लेखनको अर्धशताब्दी मनाए हुन्छ । संवत् २०२५ देखि २०२७ सम्ममा उनले प्रायशः आफ्ना एकचालीस वटा निबन्ध लेखिसकेका छन् ।
अनि‘गोधूली संसार’ (२०२७) मा उनका प्रायः प्रख्यात मुख्य अठारवटा निबन्ध राखिएका छन् । यसमा राखिएको ‘गैलरीमा एक दिन’, ‘अर्धमुदित नयन’को कथा निबन्धले शङ्कर दाइको निबन्धको एउटा अन्तर्भाषिक सन्दर्भहरू भएको शैली प्रस्तुत गर्छ । माथि नै भनियो, ‘अर्धमुदित नयन’मा अंग्रेजी नै सोझै लेखिएको छ । उनले ‘गैलरी’लाई रङ्गमञ्च छानेका छन् । यसमा अन्तर्भाषीय र विषयलाई ल्याइएको छ । नेवारी, अंग्रेजी, जापानी भाषाका प्रयोगलाई उदाहरणको रूपमा लिन सकिन्छ ।
तर शंकर दाइले पारिजातको ‘शिरीषको फूल’को भूमिका २०२० सालमा नै लेखेका थिए । यो अझ पहिला लेखिएको भूमिका नेपाली साहित्यमा अत्यन्त चर्चित भयो र अहिलेसम्म छलफलको विषय भएको छ । शंकर दाइको यो भूमिकाबारे खासगरी मार्क्सवादी समालोचक, त्यसमा पनि गोविन्द भट्टले छलफल गरे । मैले २२ जनवरी १९६६ को विश्वेश्वरप्रसाद कोइरालाको डायरी प्रविष्टि ‘कल्पना’ पत्रिकामा लेखको रूपमा छापिएको पाठलाई अत्यन्त महत्वपूर्ण मानेर मेरो नाटक ‘सान्दाजुको महाभारत’ (२०७२) मा सूत्रधारलाई यसरी उद्धरण गर्न लगाएको छुः
‘कथाको रफ अखण्ड हुन्छ । कविले तटस्थताको अभावले त्यसलाई देख्न सक्तैन । पारिजातको शैली मार्मिक र उत्कृष्ट छ । यिनका कथामा भिक्षुको जस्तै एउटै भावनाको गुम्फन छ । पारिजातले आफ्नो भाषाको जोरले मात्र यसलाई उपन्यास बनाउँन सकेकी छन् । .... शङ्कर लामिछानेले भृ्मिकामा शृ्न्यवादको व्याख्या गरेका रहेछन् । विद्वतापृ्र्ण छ । मेरो विचारमा भने कथाको ‘हेतु ठीक शृ्न्यवादको विपरीत छ’ । यस उपन्यासमा जीवनप्रति अगाध ममताको मार्मिक उल्लेख छ ।
सुयोगवीर जीवनप्रति उदासीन छैन । युद्धका स्मृतिले ऊ हरघडी समातिएको छ । उसले लडाइँको सिलसिलामा जीवनको सुखको स्वाधिकार र आत्मविश्वास गुमाइसकेको छ । ... त्यस्तो जीवनले टनाटन भएको कथानकलाई शृ्न्यवाद भयो भन्न मिलेन । यसरी तुलना गर्दा हामीले सकम्बरीलाई लिनुपर्छ । सकम्बरी नराम्री छ र सायद त्यसैले उसमा हीनताभाव–इन्फेरियोरिटी छ । ऊसँग नारीसुलभ प्रेमको प्यास छ । ऊ भावुक छ । यही भावुकता र हीनताभावले गर्दा उसको ट्य्राजेडी भएको हो ।’
विश्वेश्वरप्रसाद कोइरालाले शंकरदाइको ‘एब्स्ट्र्याक्ट चिन्तन’ वा उनका अधिसाहित्यिक धारणामाथि एक उपन्यासकार, एक जीवनवादी लेखकको हस्तक्षेप गरेका छन् । कोइरालाले शंकर दाइको विद्वतालाई प्रशंसा गर्दा गर्दै पनि यस उपन्यासमाथि लेखेको शून्यवादी धारणालाई मानेका छैनन् । कोइराला पारिजातको लेखनमा बृहत्तर जीवनको शक्ति देख्छन् ।
अन्तमा, ‘एब्स्ट्र्याक्ट चिन्तन र प्याज’ को अर्ध शताब्दीलाई नेपाली निबन्धको इतिहासको कालखण्डको रूपमा हेर्ने हो भने देखिने कुरा यस्ता छन् । यो अर्ध शताब्दीमा नेपालीमा निबन्धहरू निकै लेखिए । निबन्ध लक्ष्मीप्रसाद देवकोटा, शंकर लामिछाने, कृष्णचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, तारानाथ शर्मा सबैका समानान्तर धार समातेर लेखेका देखिए । यो लेखमा पछिल्लो समयमा लेखिएका निबन्धहरूको छलफल गर्ने ठाउँ छैन । तर, हामीले एउटा कुरामा आएर अहिले मिडियाको संवादिक शैलीमा निबन्ध लेख्ने शंकर दाइको शैलीमा एउटा कुरा बुझ्नु आवश्यक छ ।
शंकर दाइ ‘गोरखापत्र’ को शनिबारको अङ्कमा निबन्ध छपाउँथे । पछि अमूक पाठकको अमूक प्रतिक्रियापछि उनले लेख्न छाडेका थिए । उनले हामीस“ग सीधै भनेका थिए । तर, मूल कुरा त्यो होइन । मूल कुरा उनीपछिको खासगरी अहिलेका निबन्ध लेखनमा शंकर दाइको जाक डेरिडाले भनेजस्तो ‘स्पेक्टर’ वा ख्याक छ, जुन मिडियाको माध्यमले लेखिने संवादिक निबन्धको युगमा हामी प्रवेश गरेको कुरा हो । यो देवकोटीय होइन, शंकर लामिछानीय परम्परा हो ।
सबै नभए पनि निकैवटा बलिया र अन्तर्संवादयुक्त निबन्ध लेखिएका छन्, लेखिँदै छन् । निबन्धलाई यसरी सम्पादक र मिडियाका मानिसले सम्झिनुको पछिल्तिर शंकर दाइका निबन्धको स्मृति रहेको कुरा डेरिडाली अर्थमा एउटा सकारात्मक सिर्जनशील विषय हो भन्ने कुरा मात्र अहिलेलाई भनिराखेर यो लेख अन्त गर्न चाहन्छु ।